शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
राष्ट्रिय मुक्ति क्रान्ति

मधेसबाट राजेन्द्र महतो यसरी उक्लिए हिमाल–पहाड

शुक्रबार, १८ फागुन २०८०, १९ : ५१
शुक्रबार, १८ फागुन २०८०

काठमाडौँ । बहुल राष्ट्र निर्माणका लागि भन्दै गठन गरिएको राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोलाई कट्टर मधेसी नेताको रुपमा चिन्ने गरिन्थ्यो । उनको भाषा, पहिरनले पनि उनी खाँटी मधेसीमा गनिन्छन् ।

मधेसमा पटक पटक भएका आन्दोलनका अगुवाइ गरेका राजेन्द्र महतो अन्य मधेसी नेताको तुलनामा पहाडप्रति बढी नै आक्रामक थिए । चाहे नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष स्व.गजेन्द्रनारायण सिंहका साथमा रहेर आन्दोलन गरेको अवस्था होस् या आफ्नै नेतृत्वमा गठन गरेको सद्भावना पार्टीबाट गरेको आन्दोलन होस्, हरेक आन्दोलनमा उनी पहाडप्रति आक्रामक देखिन्थे । त्यही भएर उनलाई पहाडले खासै रुचाउँदैनथ्यो ।

तर अहिले अवस्था फेरिएको छ । महतो सिधै मधेसबाट पहाडतिर उक्लिएका छन् । उनले आफ्नो आन्दोलनको शैली पनि परिवर्तन गर्दै हिमाल र पहाडलाई साथमा लिएका छन् ।

उनको अभियानमा लागेका केशव झा भन्छन्, ‘महतोजी कहिल्यै पनि हिमाल र पहाडको विरोधी हुनु हुन्थेन । कांग्रेस, एमाले, माओवादीका गोर्खाली सोचका नेताहरुले महतोको विरुद्धमा एक भाष्य निर्माण गरेका थिए, जुन सही थिएन ।’

नेता महतोले मधेसमा केन्द्रित भएर आन्दोलन गर्दा पनि हिमाल–पहाडका उत्पीडित समुदायको समेत कुरा उठाउने गरेको झाको जिकिर छ । तर शासकले अर्कोतिर विषयलाई डाइभर्ट गरेर त्यस्तो भाष्य निर्माण गरिदिएको उनले बताए ।

मधेस आन्दोलन गरेरमात्र मुक्ति प्राप्त हुँदैन भनेरै महतो पहाडतिर उक्लिएको बताउँदै झाले मधेसवादबाट स्वदेशवादको आन्दोलन प्रारम्भ भएको उल्लेख गरे ।

पहाडीलाई साथ

राजेन्द्र महतोले हिमाल र पहाडका आदिवासी जनजाति तथा पिछडिएका केही समुदायलाई साथमा लिएर आन्दोलन सुरु गरेका छन् । देशका सबै उत्पीडित समुदाय एकजुट भएमात्र क्रान्ति सफल हुने उनको भनाइ छ ।

आन्दोलनको तयारी गर्ने क्रममा पनि महतो तराई मधेसभन्दा बढी समय हिमाल र पहाडका जिल्लातिर व्यस्त दिए । उनले ठाउँठाउँमा प्रशिक्षण र गोष्ठी सञ्चालन गरे । उनका दस्ताबेजमा समेत मधेस केन्द्रित नभएर हिमाल–पहाडका मुद्दा पनि समेटिएको छ, जसले गर्दा उनलाई पछिल्लो समय ‘मधेसवादी नेता’को ‘ट्याग’ लगाउन नमिल्ने देखिन्छ । जबकि महतोका पुराना राजनीतिक हरेक दस्ताबेजमा तराई मधेसको मात्र चर्चा हुने गर्दथ्यो ।

अहिले उनको दस्ताबेजमा तराई मधेसको कुराभन्दा पनि समग्र राष्ट्रको पीडा र समस्या समेटेको पाइन्छ । त्यसैले उनले आफ्नो अभियानको नाम नै राष्ट्रिय मुक्ति क्रान्ति राखेका छन् ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र महतो भन्छन्, ‘राजेन्द्र महतोजीले गर्नुभएको यो कुनै नयाँ आन्दोलन होइन, पुरानै हो तर असफल भइसकेका आन्दोलनलाई नयाँ तरिकाबाट उहाँले रिभाइभ गर्न थाल्नु भएको हो ।’

पहिला विशेष गरी मधेसको कुरा उठाउने गरे पनि अहिले राष्ट्रकै कुरा उठाउन थालेको अधिवक्ता महतोको भनाइ छ । यस खालको परिवर्तन संयोजक महतोमा मात्र नभएर हरेक दल र नेतामा आएको उनको जिकिर छ । ‘पुरानो शैली र सोचले आन्दोलन सफल हुँदैन भन्ने सबैमा एउटा सोच आएको छ,’ उनले भने ।

‘नाकाबन्दी’को अपजस

मधेस आन्दोलनको क्रममा सरकारसँग हुने हरेक छलफलमा नेता महतोले मधेसबाहेक अरु मुद्दा उठाउँदैनथे । २०७२ सालतिर संविधान निर्माणको क्रममा आन्दोलनरत अवस्थामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा वार्ताका लागि बालुवाटार गएको थियो । त्यहाँ महतोले झापासहित २२ वटा जिल्लालाई मधेस प्रदेश बनाउनु पर्ने माग अघि सारेका थिए ।

त्यसपछि एमालेका अध्यक्ष केपी शर्मा ओली आक्रोशित भएर ‘समथल भूभाग देख्नै नहुने, त्यसो भए मधेसलाई बिहारमा मिलाउँदा भइहाल्यो नि’ भन्ने टिप्पणी गरेका थिए ।

सो बैठकमा रहेका तत्कालीन मधेसी मोर्चाका नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुर र राजेन्द्र महतो लगायतले अपमानित महसुस गर्दै बालुवाटार बैठक छाडेर निस्केका थिए । सो घटनापछि उपेन्द्र यादव र महन्थ ठाकुर चुप लागे पनि राजेन्द्र महतोका कार्यकर्ताले काठमाडौँमै केपी शर्मा ओलीको पुतला जलाएर विरोध गरेका थिए ।

त्यतिमात्र होइन, उनले काठमाडौँसँग कुनै सम्बन्ध नरहेको भन्दै आफ्नो पार्टी कार्यालय पनि मधेसमा सारेका थिए । उनले काठमाडौँमा रहेको केन्द्रीय कार्यालयलाई सम्पर्क कार्यालय बनाएर पर्साको वीरगञ्जमा केन्द्रीय कार्यालय खोलेका थिए ।

जबसम्म मधेसको माग पूरा हुँदैन, तबसम्म काठमाडौँ नफर्किने भनेर महतो मधेस झरेका थिए । त्यसपछि उनी लामो समयसम्म काठमाडौँ आएनन् । मधेसबाटै काठमाडौँको विरुद्धमा आन्दोलन गरे । त्यही बेला नाकाबन्दी पनि भएको थियो ।

नाकाबन्दीमा सबैभन्दा सक्रिय उनै राजेन्द्र महतो थिए । उनको जिम्मेवारी वीरगञ्ज–रक्सौल नाकामा थियो । उक्त नाकालाई उनले सशक्त रुपमा बन्द गराएका थिए ।

तर विराटनगर–जोगवनी नाका राम्रोसँग बन्द थिएन । सो नाकामा उपेन्द्र यादव खटिएका थिए । नाका खुकुलो भएपछि महतो त्यहाँ पुगेका थिए । नाका बन्द गराउन लाग्दा भएको झडपमा राजेन्द्र महतो घाइतेसमेत भए ।

त्यतिबेला पहाडीको नजरमा सबैभन्दा बढी बदनाम राजेन्द्र महतो थिए । तर अहिले तिनै हिमाल–पहाडका उत्पीडित समुदायको नेतृत्व गर्न राजेन्द्र महतो तम्सिएका छन् । महतोको अभियानमा साथ लागेका सन्तोष मेहता भन्छन्, ‘मधेस आन्दोलन गर्दा राज्यले त्यसलाई गलत रुपमा प्रचार गर्न थाल्यो, मधेस भर्सेस पहाडको आन्दोलन जस्तो व्यवहार गर्न थाल्यो, त्यही भएर त्यो आन्दोलन सफल भएन ।’

मधेस आन्दोलन विरुद्ध राज्यले पूरै हिमाल र पहाडलाई उभ्याइदिने गरेको बताउँदै मेहताले हिमाल र पहाडका जनता त्यो आन्दोलनको विरुद्धमा उभिएपछि राज्यलाई पनि त्यसमाथि दमन गर्न सजिलो भएको बताए । मधेस आन्दोलनको विरुद्धमा राज्यले हिमाल र पहाडलाई प्रयोग गर्न थालेपछि कुनै पनि आन्दोलन सफल नभएको बुझेरै राजेन्द्र महतोले हिमाल र पहाडका जनताको साथ लिएको मेहता बताउँछन् ।

आन्दोलनको स्वरुप

नेता मेहताका अनुसार अहिले आन्दोलनको कुनै स्वरुप तयार भएको छैन । पहिलो चरणमा देशभर अभियानमा आबद्ध भएका तथा आबद्ध हुन चाहने नेता तथा कार्यकर्तालाई प्रशिक्षित गर्ने र संगठन बनाउने उनको भनाइ छ । उनले भने, ‘यो कार्य कम्तीमा ६ महिनासम्म चल्नेछ । यो अभियानको पहिलो काम नै विचारको स्थापना हो ।’

राजेन्द्र महतोले राष्ट्रिय मुक्ति क्रान्ति सफल बनाउनका लागि विचारलाई प्रधान बनाएका छन् । विचारले परिपक्व नभएसम्म कुनै पनि आन्दोलन सफल नहुने उनको ठहर छ । पछिल्लो मधेस आन्दोलन लगायत विभिन्न आन्दोलन सफल नहुनुको मुख्य कारण पनि यही रहेको उनको भनाइ छ ।

राजेन्द्र महतो अगामी चैतमा अभियानको औपचारिक घोषणा गर्ने तयारीमा छन् । त्यसपछि ६ महिनासम्म प्रशिक्षण तथा संगठन विस्तारको काम हुने स्रोत बताउँछ । स्रोतका अनुसार प्रशिक्षण तथा संगठन निर्माणको काम सकेपछि मात्र एउटा पार्टीको संरचनामा जाने महतोको आन्तरिक तयारी छ ।

अहिले अभियान सञ्चालन गर्न उनले पूर्वी कमाण्ड, पश्चिम कमाण्ड र मध्य कमाण्ड गरी तीन वटा कमाण्ड बनाएका छन् । यी तीन कमाण्डभित्र विभिन्न ब्युरो पनि बनाइएको छ ।

नेता मेहताका अनुसार संगठनका संरचना अहिलेको परम्परागत भन्दा फरक हुनेछ । विभिन्न राष्ट्रियतालाई मिलाएर संगठन निर्माण हुनेछ ।

महतोको दस्ताबेजमा के छ ?

नेता महतोको अभियानको मुख्य उद्देश्य नै राष्ट्रिय मुक्ति क्रान्तिमार्फत बहुलराज्य निर्माण गर्ने हो । हाल नेपालमा ऐतिहासिक शक्तिहरु पुँजीवादी नवउदारवादी शक्ति नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीहरू असफल हुँदै गर्दा एउटा ईण्डिजिनिष्ट शक्तिको उदय अवश्यम्भावी भएको उनले आफ्नो दस्ताबेजमा उल्लेख गरेका छन् ।

नेता महतोले दस्ताबेजमा भनेका छन्, ‘अब हामीले कुनै नवउदारबादी वा नव मार्क्सवादीहरुको पछि लाग्नुभन्दा एक पटकलाई आफ्नै ईण्डिजिनिष्ट धारबाट एउटा राजनीतिक संश्लेशण गरी शान्तिपूर्ण सशक्त विद्रोह मार्फत स्वदेशी सत्ता निर्माण गर्न एक हुनु जरुरी छ ।’

देशमा एउटा वैकल्पिक शक्ति निर्माण गर्ने, अधिकार, पहिचान, सुशासन र समृद्धिका मुद्दालाई अघि बढाउने र बहुल राष्ट्रियतासहितको राज्य निर्माणको आन्दोलनका लागि गृहकार्य गर्ने आफ्नो एजेण्डा रहेको उनको भनाइ छ ।

दस्ताबेजमा भनिएको छ, ‘विगतका विद्रोहहरु तथा आन्दोलनहरुमा उल्लेख्य मात्रामा बलिदान दिइए । तत्पश्चात पनि ती सफल नहुनुको कारण वैचारिक तथा सैद्धान्तिक तयारीको अभाव थियो र नेपाली राष्ट्रिय मुक्ति क्रान्ति सम्पन्न गर्न वैचारिक तयारी प्रधान विषय बन्यो ।’

राष्ट्रिय मुक्ति क्रान्तिको बलमा नेपाललाई वहुलराष्ट्रिय राज्य संरचनाको सामुदायिक समाजवादी व्यवस्थामा रुपान्तरण गराउने महतोको दाबी छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप