शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
कविता

राजेश ढुंगानाका तीन कविता

शनिबार, २२ वैशाख २०८१, १० : ०७
शनिबार, २२ वैशाख २०८१

१) हिंसा

आतङ्कको
उद्देश्य मात्र होइन
हिंसाको
समय मात्र होइन
कुनै देश
र सिमाना पनि हुँदैन ।

बम पड्क्यो भने
उसले
आफ्नो र अर्को चिन्दैन
बन्दुकको नालले
गोलीको
यात्रा मात्र देख्छ
कुनै
गायत्री मन्त्र जप्दैन ।

मलाई मार्ने तिम्रो गोलीले
स्वयम् तिमीलाई पनि चिन्दैन
हिंसा र आतङ्कले
आफ्नै जननी पनि भन्दैन
आतङ्कको
उद्देश्य मात्र होइन
कुनै लक्ष्य पनि हँुदैन ।

हिंसाको
समय मात्र होइन
कुनै देश
र सिमाना पनि हुँदैन !

२) जीवन : फरक दृष्टि

तिमीले 
सबै थोक भोगेर
तिम्रो
निष्कर्ष थियो
जीवनको अर्थ
केही पनि होइन रहेछ !

र,
मैले भोगेको जीवनमा
म कसरी भनौँ
जीवनको अर्थ केही पनि
होइन रहेछ !
र, मुस्कान पनि होइन रहेछ !

घाउ भएर मेरो हातमा
निस्केको पीपमाथि
निरन्तर मेरी प्रेमिका
सदैव
लामो र एकोहोरो चुम्बन गर्थिन्
तब
म कसरी भनौँ
जीवन केही पनि होइन रहेछ !
जीवन मुस्कान पनि होइन रहेछ !

३. लिलामीमा मान्छे


अहिलेसम्मको
मानव सभ्यताको उचाइमा
एउटा
नयाँ इँटा थप्ने
नयाँ यात्रा प्रारम्भ गर्न
स्वयम्
मानव सभ्यतालाई
लिलामीमा राखिरहेछु यतिबेला ।


मानव सभ्यताको
टाकुरामा उभिएर
चिच्याइ–चिच्याइ
मान्छे बिक्रीको
ग्राहक खाजिरहेछु
बिक्रीमा छ मान्छे
नगद नभए उधारोमै सही
मैले
मान्छेको
मानव सभ्यताको
भार थेग्न नसकेर
मान्छे किन्ने
ग्राहकको खोजी गरिरहेछु !  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश ढुंगाना
राजेश ढुंगाना
लेखकबाट थप