शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
झापाको बालुवाटार घोटाला प्रकरण

जग्गाधनीलाई नै थाहा छैन, ४६ करोड मूल्यको जग्गा कसरी आफ्नो नाममा आयो ?

माओवादी नेता गगन पुरीको योजनामा ५८ बिघा सरकारी जग्गा हिनामिना
आइतबार, २० फागुन २०८०, १३ : ०७
आइतबार, २० फागुन २०८०

झापा । झापाको दकम नगरपालिकामा पर्ने रतुवा र दिपिनी खोलाको किनारमा ठुलो फाँट छ । कृषि फार्मदेखि केही घरसमेत रहेको त्यो क्षेत्रमा बालुवाटार भनिन्छ ।

दुई खोलाले बालुवा बगाएर ल्याउने र किनारामा थिग्रिने भएकाले उक्त स्थानलाई बालुवाटार भन्ने गरिएको थियो । २०४२ सालसम्म त्यस क्षेत्रमा बस्ती बसे पनि २०४२ सालमा रतुवा खोलामा आएको बाढीका कारण त्यहाँका घर तथा जमिन बगाएपछि मानिसहरु त्यहाँबाट विस्थापित भएको स्थानीयवासी बताउँछन् । उनीहरुका अनुसार त्यसपछि उक्त क्षेत्रमा खेती किसानी पनि बन्द भयो र ती क्षेत्र बगर हुँदै स–साना बुट्यानको झाडी बन्न पुग्यो ।

रतुवा खोलामा आएको बाढीले घर र जग्गा बगाएपछि त्यहाँका मानिस अन्यत्र गएर बस्न थाले, जसमा एक पुरी परिवार पनि थियो । हाल माओवादी केन्द्रका नेता रहेका गगन पुरीको परिवार उक्त स्थानबाट उठेर धनकुटा गइ बसेको थियो । तर २०५६ सालमा पुरी परिवार पुनः बालुवाटारमा आइ बसोबास गर्न थाल्यो ।

उक्त स्थानमा उनीहरुको नम्बरी अर्थात् लालपूर्जा नै भएको पुर्ख्यौली जमिन पनि थियो । त्यही स्थानमा उनीहरुले खेतीपाती गर्न थाले । उनीहरुले सरकारी जग्गामा पनि खेतीपाती गर्न थाले ।

सोही स्थानमा तत्कालीन सरकारले ८४ घर परिवार सुकुमबासीलाई भनेर २०३९ सालमा जग्गा समेत उपलब्ध गराएको थियो । तर बारम्बार बाढी आउने गरेको कारण ती सुकुमबासी पनि त्यहाँ बसोबास गरिरहेका थिएनन् ।

ती सुकुमबासीको जग्गामा पनि पुरी परिवारले कमाइ गर्न थाल्यो । जब माओवादी शान्ति प्रक्रियामा आयो, त्यसपछि तत्कालीन जनमोर्चाका नेता गगन पुरी भन्ने रेवतराज पुरी पनि जनमोर्चाको राजनीतिबाट माओवादी कार्यकर्ता बने ।

२०६४ सालमा निर्वाचनमा माओवादी पहिलो पार्टी बनेपछि गगन पुरी माओवादी बनेका थिए । सत्ता र शक्तिको नजिक भएपछि गगन पुरीले रतुवा खोलामा बाँध लगाएर बाढी रोक्न सफल भए । त्यसपछि उनको आँखा त्यहाँको सरकारी जग्गा जमिनमा पनि प¥यो । सुकुमबासी र आफ्नो नम्बरी जग्गासँगै पुरीले सरकारी जमिनमा पनि खेतजोत गर्न थाले । बिस्तारै परिवारका अन्य सदस्यलाई पनि त्यहीँ ल्याएर खेतीपाती सुरु भयो ।

त्यही बेला नापी कार्यालय चन्द्रगढी झापा र दकमबाट नापी लगेर उक्त जमिन वर्षौंदेखि कमाइ भएको तर नापीमा छुटेको भन्दै स्ववासीका नाममा सरकारी जग्गासमेत आफ्नो नाममा दर्ता गराउन सफल भए ।

स्ववासीका नाममा सरकारी जग्गा व्यक्तिको नाममा हत्याउँदा करिब २८ बिघा जमिन हत्याएका पुरीले पछि हालसाविकका नाममा दर्ता गरेर थप २९ बिघाभन्दा बढी जमिन आफू तथा आफ्ना परिवारका सदस्यका नाममा घुसाउन भ्याए ।

त्यसका लागि पुरीले नापी कार्यालय, झापाका तत्कालीन प्रमुख नापी अधिकृत शशीकान्त झा लगायतका व्यक्तिलाई साथमा लिइ आर्थिक प्रलोभन समेत दिएर कुल ५८ बिघा सरकारी जमिन केही आफू, आफ्नो परिवार, केही सुकुमबासी र अन्यत्रका व्यक्तिहरुका नाममा समेत दर्ता गराउन सफल भए ।

जग्गा दर्ता भएपछि पुरीले केही जग्गाजमिन बिक्री वितरण गरे भने कतिपय जग्गाहरु बैंकमा धितो राखेर ऋणसमेत लिए । यसरी सरकारी जग्गा कब्जा गरेर गगन पुरीले करोडौँ रकम कमाउन सफल भए ।

सरकारी जग्गा आफूहरुको नाममा ल्याउन सहयोग गर्ने तत्कालीन प्रमुख नापी अधिकृत शशीकान्त झाकी श्रीमती अनारदेवी झा समेतको नाममा ८ कट्ठा जमिन दर्ता गराइदिए । त्यहाँका नापी सर्वेक्षकका परिवार समेतका नाममा जग्गा दिइयो ।

त्यही समयमा केही सुकुमबासीलाई केही रकम दिएर ती जग्गा किनेर आफ्नो बनाए भने जग्गा बेच्न नमान्ने केही सुकुमबासीलाई प्लानिङको जग्गाबाट केही काटेर नाम दर्तासमेत गरिदिए । सोही जग्गामा कृषि फार्म पनि सञ्चालन गरी केही वर्ष चुपचाप बसे ।

गगन पुरीले बालुवाटारको जग्गा प्लटिङ गरेर बेच्न थालेपछि फरक राजनीतिक दल र स्थानीयले नै उजुरी गर्न थाले । पहिले खोलाको किनार रहेको र कमाइ समेत नगरेको जग्गालाई नम्बरी जग्गा भन्दै घडेरीका रुपमा बिक्री वितरण गर्न थालेपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)मा समेत उजुरी प¥यो ।

सीआइबीको छानबिनमा त्यहाँ करिब ५० बिघा सरकारी जग्गा व्यक्तिको नाममा घुसाइएको भन्दै मुद्दा चलाउन जिल्ला प्रहरी कार्यालय झापामासमेत लेखी पठायो । त्यसलगत्तै त्यस क्षेत्रका सम्पूर्ण जग्गा रोक्का भयो ।

यता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि झापाको बालुवाटारको जग्गा घोटालासम्बन्धी अनुसन्धान गरिरहेको थियो । अख्तियारको अनुसन्धानबाट त्यहाँ ५० बिघा नभएर ५८ बिघा सरकारी जमिन व्यक्तिका नाममा घुसाइ सरकारी सम्पत्तिको हानि नोक्सानी पु¥याएको कसुरमा दुई फरकफरक मुद्दामा ३५९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दासमेत दायर भयो ।

अख्तियारले विभिन्न व्यक्तिहरुसँग बयान लिएर मुद्दा दायर गरेको छ । मुद्दा दायर गरिएकामध्ये एक जग्गाधनी ओम प्रकाश पौडेलको नाममा ११ बिघा १२ कट्ठा जमिन दर्ता गरिएको पाइएपछि अख्तियारले पौडेलसँग बयान लिएको थियो ।

त्यहाँको जग्गा चलनचल्तीमा बिघाको ४ करोडको हाराहारीमा पर्ने एक स्थानीयले बताए अनुसार पौडेलको नाममा दर्ता भएको जग्गाको चलनचल्तीको मूल्य ४६ करोड रुपैयाँको हाराहारी पर्छ । तर ४६ करोड मूल्यको जग्गा धनीलाई थाहा छैन कि त्यति धेरै जग्गा कसरी उनको नाममा आयो ।

अख्तियारले लिएको बयानमा ओम प्रकाश पौडेलले आफू भूमिहीन रहेको र कहीँ कतै जग्गा भएमा सुकुमबासीका नाममा मिलाइदिन माओवादी केन्द्रका नेता गगन पुरी र नापी कार्यालय चन्द्रगढी झापाका तत्कालीन प्रमुख नापी अधिकृत शशीकान्त झालाई आग्रह गरेको बताएका छन् । जग्गा उपलब्ध गराइदिन आग्रह गर्दा एउटा सानो घडेरीमात्रै मिलाइदिन भनेको, त्यसका लागि फोटो र नागरिकताको प्रतिलिपि समेत नेता गगन पुरीलाई दिएको उनले बताएका छन् ।

फोटो र नागरिकता दिएको भए पनि आफ्नो नाममा जग्गा आएको थाहा नभएको त्यति धेरै जग्गा माग नगरेको तर के कति कारणबाट त्यति धेरै जग्गा आफ्नो नाममा आएको थाहा नभएको बयान उनले दिएका छन् ।

४६ करोड मूल्यको जग्गाको धनी ओम प्रकाश पौडेलले अख्तियारलाई दिएको बयान :

‘जिल्ला झापा, दमक नगरपालिका वडा नम्बर १३ को नक्सा सिट नम्बर १७९–००९५ को कि.नं. ३० को क्षेत्रफल ७८,५९०.०० वर्ग मिटरको जग्गाको दर्ता श्रेस्ताको प्रमाणित प्रतिलिपी मेरै हो, उक्त जग्गा कुन विधि र प्रक्रियाबाट मेरो नाममा आएको हो भन्ने कुरा मलाई थाहा छैन । आफू भूमिहीन भएको अवस्था र झापा जिल्ला सर्पट नापी कार्यालय चन्द्रगढीका प्रमुख शशीकान्त झासँग राजनीतिक जीवनका सिलसिलामा चिनजान भएको र उहाँलाई उक्त कुरा सुनाउँदा झापा जिल्लाको दमक नगरपालिकामा सर्पट नापी भैरहेको र उक्त नापी गर्दा कही कतै जग्गा उपलब्ध भए जग्गा १÷२ कट्ठा उपलब्ध गराउने बचन दिएको र सोका लागि निवेदन दिन र नागरिकताको फोटोकपी दिन भनेको हुँदा मेरा राजनीतिक जीवनका चिनजानका साथी गगन भनिने रेवतराज पुरी मार्फत नागरिकताको फोटोकपी र एक प्रति फोटो उपलब्ध गराएको हुँ । पछि बुझ्दा मेरो नाममा त्यति ठुलो क्षेत्रफलको जग्गा दर्ता गराएको बुझेँ । सो जग्गा मेरो होइन र मैले उक्त जग्गा कुनै प्रयोजनमा प्रयोग गरेको छैन । मेरो नाममा देखिएको उक्त जग्गाको धनीपुर्जा समेत मसँग नरहेको जानकारी गराउँदछु । शशीकान्त झाले मलाई जग्गा प्राप्तिका लागि निवेदन दिनु पर्छ भनेका हुन् र उक्त समयमा उनले मसँग कुनै रकम मागेनन् र मैले कुनै निकायमा कसैलाई रकम बुझाएको पनि छैन । जग्गा उपलब्ध गराइदिनु भनी शशीकान्त झालाई भनेको बखत मेरा राजनीतिक सहकर्मी गगन पुरी पनि साथै रहेकाले मैले शशीकान्त झालाई तत्काल मेरो फोटो र नागरिकता साथमा नभएको जनाउँदा उनले गगन पुरी दमक निवासी रहेकोले उहाँसँग आफ्नो भेट भइरहने हुँदा गगन पुरीलाई दिँदा हुन्छ भनेकाले मैले पछि मेरो नागरिकताको फोटोकपी र फोटो छाडेको हुँ । उक्त जग्गाको श्रेष्ता कायम हुँदा मलाई बोलाइएन र जग्गाधनीको महलमा भएको सहीछाप र दस्तखत समेत मेरो नरहेको समेत जानकारी गराउँदछु । नापी कार्यालय र मालपोत कार्यालयबाट प्राप्त विवरणका आधारमा सरकारी सार्वजनिक जनिएको जग्गा मेरो नाममा कसरी आयो भन्ने विषयमा मलाई कुनै जानकारी छैन ।’

उक्त जग्गा पनि गगन पुरी र शशीकान्त झाको योजनामा ओम प्रकाश पौडेलको नाममा दर्ता गरी पछि बेचबिखन गर्ने योजना राखेको पाइएको छ । ४६ करोडभन्दा बढी मूल्य पर्ने जग्गाको सम्बन्धमा जग्गाधनीलाई नै थाहा नभएको र उक्त जग्गा आफ्नो नभएको भनी अख्तियारमा बयान दिएका कारणले पनि उक्त जग्गा घोटालामा गगन पुरीसमेतको मिलेमतोमा सरकारी जग्गा व्यक्तिको नाममा गराइ बेचबिखन गरिएको देखिन्छ ।

स्ववासी र हालसाविकका नाममा गगन पुरी तथा उनका परिवारका सदस्य, केही सुकुमबासी र केही स्थानीयको नाममा दर्ता भएको जग्गाहरु पछि विभिन्न व्यक्तिहरुलाई विक्री वितरण गरी कतिपयले त्यहाँ घर समेत बनाइ बसेका थिए । अहिले ती सबै घर र जग्गा रोक्का मात्रै गरिएको छैन, उनीहरुविरुद्ध भ्रष्टाचारको कसुरमा विशेष अदालतमा गत फागुन १३ गते मुद्दासमेत दर्ता गरिएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप