शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
झापाको बालुवाटार घोटाला प्रकरण

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्न कार्यालय प्रमुखकै मिलेमतो

नापी अधिकृतले आफ्नै श्रीमतीको नाममा दर्ता गराए ८ कट्ठाको घडेरी
शनिबार, १९ फागुन २०८०, १४ : १५
शनिबार, १९ फागुन २०८०

झापा । झापाको बालुवाटारमा भएको ५८ बिघा जग्गा घोटालामा माओवादी केन्द्रका स्थानीय नेता गगन भन्ने रेवतराज पुरी मात्रै नभएर त्यहाँका नापी अधिकृतको पनि प्रत्यक्ष मिलेमतो भएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फागुन १३ गते विशेष अदालतमा दायर गरेको मुद्दामा नापी कार्यालय चन्द्रगढी, झापाका तत्कालीन प्रमुख नापी अधिकृत शशीकान्त झा समेतको प्रत्यक्ष मिलेमतो भएको जिकिर छ ।

तत्कालीन प्रमुख नापी अधिकृत शशीकान्त झाले सरकारी जग्गा स्थानीय माओवादी नेता गगन पुरी लगायतको नाममा दर्ता गराइदिँदा आफ्नै श्रीमतीको नाममा समेत राखेको पाइएको हो । मालपोत कार्यालय दमकले २०७५ भदौ १७ गते अख्तियारलाई पठाएको पत्रमा सुरुमा रेवतराज पुरीको नाममा दर्ता गरिएको साबिक दमक–६ को कित्ता नम्बर ३१४९४ वा पुनः कित्ताकाट भई कित्ता नम्बर ३३५२१ बनेको ८ कट्ठा जग्गा तत्कालीन नापी अधिकृत झाले आफ्नी श्रीमती अनारदेवी झाको नाममा दर्ता गराएको उल्लेख छ ।

सुरुमा रेवतराज पुरीको नाममा दर्ता गराइ त्यहाँबाट २०६७ जेठ २१ गते झाले आफ्नी श्रीमती अनारदेवी झाको नाममा जग्गा ल्याएको रेकर्ड देखिएको छ । तत्कालीन नापी अधिकृत झाको २०७५ साल पुस ७ गते मृत्यु भइसकेको छ । यद्यपि सरकारी जग्गा श्रीमतीको नाममा राखेको र करोडौँको सरकारी सम्पत्ति व्यक्ति विशेषका नाममा दर्ता गर्न सहयोग गरेको भन्दै झाकै सम्पत्तिबाट जफत गर्ने गरी झाविरुद्ध ४१ करोड ६२ लाख १९ हजार ८०१ रुपैयाँ ७५ पैसाको बिगो कायम गरी भ्रष्टाचारको मुद्दा दायर भएको हो ।

  • मृतक झाकी श्रीमतीले भनिन्– अदालतले दोषी ठहर गरे क्षतिपूर्ति तिर्न तयार छु

अख्तियारले झाको मृत्यु भइसके पनि उनले कमाएको वा बढी बढाएको सम्पत्तिको नजिकको हकदार निजकै श्रीमती अनारदेवी झाको समेत बयान लिएको थियो । बयानका क्रममा अनारदेवीले अदालतले शशीकान्त झालाई दोषी ठहर गरेमा तिर्नुपर्ने क्षतिपूर्ति रकम तिर्ने बताएकी छन् ।

यस्तो छ अख्तियारसमक्ष अनारदेवी झाले दिएको बयान :

‘मेरो श्रीमान् शशीकान्त झा नापी कार्यालय भद्रपुर, झापामा लगभग ५ वर्षसम्म कार्यरत हुनुहुन्थ्यो । उहाँको मृत्यु २०७५ साल पुस महिना ७ गते भएको हो, मृत्यु दर्ताको छायाकपी पेस गरेको छु । हालसम्म अंशबण्डा नभएको र सम्पत्तिको हकदार मेरो जेठो छोरा प्रफुल्ल कुमार झा हाल काठमाडौँ जिल्लामा बसाइ छ र हेम्स हस्पिटलमा कार्यरत रहेको छ । मेरो माइलो छोरा प्रमोद कुमार झा हाल युएसएमा बसाइ छ । मेरो कान्छो छोरा प्रशान्त झा हाल जिल्ला सुनसरी इनरुवा नगरपालिका वडा नम्बर १ गौरीशंकर टोलमा मसँगै घरमा बसाइ छ । मेरो नाममा जिल्ला झापा, दमक नगरपालिका वडा नं. १३ को सिट नं. १७९–००९५ कि.नं. १४ क्षेत्रफल २७७९.०४ को जग्गा छ । त्यो जग्गा मेरो श्रीमान् झापा नापी कार्यालयमा हुदाँखेरी नै मेरो नाममा पास गरेको हो तर कोबाट जग्गा आएको हो र के कति पैसामा किनेको हो, त्यो सबै कारोबार मेरो श्रीमानले नै सबै गर्नु भएको हो । मेरो श्रीमान् नापी कार्यालय झापामा कार्यालय प्रमुखको हैसियतले कार्यरत हुँदा दमक नगरपालिका वडा नं. १३ र १४ को सरकारी सार्वजनिक जग्गाहरू व्यक्ति विशेषको नाममा कायम गर्ने सम्बन्धमा यदि अदालत बमोजिम ठहर भएमा सो सम्बन्धी बिगो क्षतिपूर्ति तिर्न मन्जुर छु ।’

चन्द्रगढी झापाका तत्कालीन प्रमुख नापी अधिकृत शशीकान्त झाले स्ववासी दर्ताका नाममा रेवतराज पुरी लगायतका व्यक्तिको नाममा सरकारी जग्गा दर्ता गरी राज्यलाई करोडौँको हानि नोक्सानी पु¥याएको भन्दै झाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको हो ।

विशेष अदालतमा दायर भएको मुद्दामा शशीकान्त झा र उनकी श्रीमती अनारदेवी झाको हकमा यस्तो भनिएको छ–

‘जग्गा (नाप जाँच) ऐन, २०१९ को दफा ६ को उपदफा (५) र (६ग), जग्गा (नाप जाँच) नियमावली, २०५८ को नियम १५ उपनियम (५), नापी शाखा एवं नापी गोश्वाराको कार्यविधि, २०६० को बुँदा नं. २.७.५ समेतको व्यवस्थामा उल्लेख भए बमोजिम सरकारी सार्वजनिक जग्गा स्ववासी जग्गा दर्ता प्रक्रियाबाट व्यक्ति विशेषको नाममा दर्ता गर्न नपाइने स्पष्ट कानुन व्यवस्था रहेकोमा सोको विपरीत प्रतिवादी शशीकान्त झाले बदनियत राखी आफूसमेतले लाभ प्राप्त गरी, जग्गादर्ता गर्ने व्यक्तिहरूले समेत लाभ प्राप्त गर्ने गरी र नेपाल सरकार÷सार्वजनिक संस्थालाई हानि पुर्‍याउने नियतले तपसिल बमोजिमका जग्गाहरू विभिन्न व्यक्तिको नाममा दर्ता गर्ने निर्णय गरी गराइ जग्गाधनी दर्ता श्रेष्ता समेत प्रमाणित गरी गराएको पुष्टि भएको हुँदा निज प्रतिवादीले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ज) बमोजिमको कसूरजन्य कार्य भएको हुँदा निज प्रतिवादीलाई तपसिल तालिका बमोजिमको रु.४१,६२,१९,८०१.७५ (अक्षरुपी एकचालिस करोड बैसठ्ठी लाख उन्नाइस हजार आठ सय एक दशमलब पचहत्तर रुपैयाँ मात्र) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिमको जरिवानाको सजाय गरी बिगो असुल उपर हुन मागदाबी लिनुपर्ने देखिएता पनि निज प्रतिवादीको मिति २०७५।०९।०७ मा मृत्यु भएको मृत्यु दर्ता प्रमाणपत्रबाट देखिएकाले फौजदारी न्यायको मान्य सिद्धान्त बमोजिम निज उपर फौजदारी कसुरमा कैदको सजाय माग दाबी लिनुपर्ने अवस्था नरहेता पनि निज उपर मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३३ को उपदफा (२), सोही संहिताको दफा १५८ को उपदफा (२), अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९क र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४६ बमोजिम मृत्यु भएको प्रतिवादीको हकमा समेत मुद्दा चलाउन र सरकारी वा निजी बिगो, क्षतिपूर्ति वा रकम भराउन सकिने कानुनी व्यवस्था रहेकाले प्रतिवादी शशीकान्त झाको श्रीमती प्रतिवादी श्रीमती अनार देवी झासमेतबाट प्रतिवादी शशीकान्त झाले जीवित हुँदा माथि उल्लेखित कसूर गरी नेपाल सरकारलाई हानि पु¥याएको बिगो रु.४१,६२१९९,८०१.७५ (अक्षरुपी एकचालिस करोड बैसठ्ठी लाख उन्नाइस हजार आठ सय एक दशमलव पचहत्तर रुपैयाँ मात्र) निजको श्रीमती प्रतिवादी श्रीमती अनार देवी झासमेतबाट असुल उपर हुन मागदाबी लिइएको छ । साथै निज प्रतिवादीहरुलाई बिगो असुल उपर गर्ने प्रयोजनार्थ मात्र प्रतिवादी बनाइएको छ ।’

  • ५८ बिघाभन्दा बढी सरकारी जमिनमा भूमाफियाको कब्जा

झापाको बालुवाटार भन्ने स्थानको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराएको कसुरमा अख्तियारले गगन पुरी भन्ने रेवतीराज पुरी तथा उनका परिवारका सदस्यहरु श्रीमती केशावती पुरी, आमा मनमाया पुरी, देवकुमार पुरी, डिल्लीराम पुरी, देवरुपा पुरी, ममता पुरी घिमिरे, माया पुरी पाण्डे, कृष्णकुमार पुरी, प्रेमकुमार पुरी र कुलबहादुर पुरीलाई पनि विपक्षी बनाइ विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।

विशेष अदालतले दुई फरकफरक मुद्दामा मुख्य योजनाकार रहेका पुरीलाई हालसाबिक गर्दा सरकारी जमिन आफ्नो नाममा पारेको कसुरमा ६ करोड, २ लाख, ७० हजार ४ सय ९९ रुपैयाँ र स्ववासी दर्ता गर्दा ३ करोड ३५ लाख ७६ हजार ८८० रुपैयाँ गरी कुल ९ करोड ३८ लाख ४७ हजार ३७९ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

त्यसैगरी गगन पुरीकी श्रीमती केशावती पुरीको नाममा स्ववासी दर्ता गरी हिनामिना गरेको मुद्दामा ५ करोड ६२ लाख ५० हजार ८४० रुपैयाँ र हालसाबिक दर्ता गर्दा ८४ लाख ८९ हजार १६५ रुपैयाँ बराबरको सरकारी सम्पत्ति आफ्नो बनाइएको भन्दै कुल ६ करोड ४७ लाख ४० हजार ५ रुपैयाँ बराबरको बिगो कायम गरी भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

त्यस्तै परिवारका अन्य सदस्यहरुविरुद्ध पनि जग्गा जफत र भ्रष्टाचारको कसुरमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फागुन १३ गते विशेष अदालतमा दर्ता गरेको दुई फरकफरक मुद्दामा कुल ७६ करोड २८ लाख ७४ हजार ६५१ रुपैयाँ बिगो कायम गरिएको छ । विशेष अदालतमा दायर भएको स्ववासी प्रक्रियाबाट मुद्दा दर्ता हुँदा भएको सरकारी सम्पत्ति हानि नोक्सानीमा ४१ करोड ६२ लाख १९ हजार ८०१ रुपैयाँ ७५ पैसा र हालसाबिक गरी जग्गा दर्ता गर्दा ३४ करोड ६६ लाख ५४ हजार ८४९ रुपैयाँ ६५ पैसा हानि नोक्सानी भएको दाबी लिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप