बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
राजनीति

गजेन्द्रनारायण सिंहले गठन गरेको नेपाल सद्भावना परिषद् ब्युँताउँदै अनिल झा

शुक्रबार, २५ फागुन २०८०, १२ : ४२
शुक्रबार, २५ फागुन २०८०

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता अनिलकुमार झाले नेपाल सद्भावना परिषद् ब्युँताउने भएका छन् । 

नेपाल काँग्रेस छाडेर मधेसको अधिकार र पहिचानका लागि सङ्घर्ष गरेका गजेन्द्रनारायण सिंहले २०४० सालमा नेपाल सद्भावना परिषद् गठन गरेका थिए । ६–७ वर्षपछि त्यसैलाई नेपाल सद्भावना पार्टी बनाइएको थियो । 

अहिले त्यो नेपाल सद्भावना पार्टी अस्तित्वमा छैन । पुनः त्यही नेपाल सद्भावना पार्टीलाई जीवित गर्नका लागि नेता झाले नेपाल सद्भावना परिषद्बाट आफ्नो यात्रा सुरु गरेको झा निकट नेताहरू बताउँछन् । गजेन्द्रनारायण सिंहले काँग्रेसबाट विद्रोह गरी २०४० मा मधेसका लागि जहाँबाट आफ्नो यात्रा थालनी गरेका थिए, नेता झाले पनि लोसपाबाट विद्रोह गरी यात्रा थाल्नी गरेका छन् ।

नेपाल सद्भावना परिषद्बाट केही समय उनले मधेसमा काम गर्ने त्यसपछि नेपाल सद्भावना पार्टी वा त्यस्तै कुनै पार्टी बनाउने उनको तयारी छ । त्यसका लागि उनी मधेसमा छलफल सुरु गरिसकेका छन् । उनी पश्चिम मधेसको यात्रा सकाइ सकेका छन् । आजदेखि उनी पूर्वी मधेसको यात्रामा निस्केका छन् ।

लोसपाका वरिष्ठ नेता झाले नेपाल सद्भावना परिषद् ब्युँताउने विषयको बारेमा केही बताउन चाहेनन् । उनले यति भने, ‘मधेसमा घुमफिर गरिरहेको छु ।’ 

मधेसमा मधेस केन्द्रित कुनै पार्टी नै रहेन । यहाँसम्म कि दलको नामबाट तराई, मधेस शब्द समेत हटाइ सकेका छन् । ती सबै दल आफूलाई राष्ट्रिय दल भन्छन् । तर मधेसका आवाज उठाउन छाडेको अनिल झाको बुझाई छ । उनी मधेसका भेटघाट गर्दा यहीँ कुरा सबैलाई भन्दै हिँडेका छन् । 

खास गरी उनी गजेन्द्रनारायण सिंहका साथमा काम गरेका व्यक्तिहरूसँग भेटिरहेका छन् । नेपाल सद्भावना पार्टीमा काम गरेर निष्क्रिय भएका वा अन्य दलमा लागेका व्यक्तिहरूसँग पनि नेता झा भेटिरहेका छन् । पूर्वी मधेसको झापासम्मको यात्रा सकाएर एउटा सङ्गठनको रूपमा लिएर उनी अगाडि बढ्ने सोच बनाइ सकेका छन् । 

लोसपाको पछिल्लो गतिविधिबाट उनी सन्तुष्ट छैन । लोसपा अध्यक्ष महन्थ ठाकुरले गठन गरेको केन्द्रीय समितिमा आफ्नो मान्छे नपरेको भन्दै नेता झाले सुरुदेखि असन्तुष्टि जनाउँदै आएका थिए । चुनावपछि उनी पार्टीमा सक्रिय थिएनन्, त्यसपछि बनेका केन्द्रीय समितिमा अनिल झासँग रहेका कुनै पनि नेतालाई त्यसमा नराखेपछि उनी पार्टीसँग झन् दुरी बनाउन थाले । र, अहिले आफ्नै नेतृत्वमा गजेन्द्रनारायण सिंहले छाडेको राजनीतिक दर्शन र विचारलाई जीवित गर्नेतिर लागेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप