शुक्रबार, ०४ साउन २०८१
ताजा लोकप्रिय

बढ्दै गएको राजनीतिक, धार्मिक र सांस्कृतिक वितृष्णा

आइतबार, २७ फागुन २०८०, १२ : ३१
आइतबार, २७ फागुन २०८०

राजनीति, धर्म र संस्कृति हाम्रो जीवनका अभिन्न अङ्गजस्तै हुन् । यिनले प्रत्यक्ष रूपमा हाम्रो जीवनमा असर गरिरहेका हुन्छन् । विगत २८–३० वर्षदेखि हालसम्म नेताहरूले जे जस्तो राजनीतिक क्रियाकलाप गरे, त्यसका कारण आजभोलि सर्वसाधारणमा समेत राजनीतिप्रतिको वितृष्णा बढेको छ । निरङ्कुशता उखेल्न जनताले जुन उत्साह देखाए, बलिदानी दिए, त्यही किसिमको सुखशान्ति पाउने अपेक्षा राखेका थिए, परन्तु यो सबै भताभुङ्ग हुँदा सबै जनता दिक्क भए । 

यस अवधिमा कहीँकतै केही प्रगति भए पनि बाँकी समय अप्रजातान्त्रिक, खुलेआम भ्रष्टाचार र नियम–कानुन उल्लङ्घन गर्नेजस्ता काम भए । नेताहरूले भाषण मात्र गर्न थाले । सबै जनताको हितमा काम भएनन् । हाँगिएको भ्रष्टाचार, नाङ्गिएको वन र झाँगिएको बेरोजगारलाई निमिट्यान्न पार्नुको साटो मलजल थप्ने र मौलाउने काम मात्र भए । देशको मायाभन्दा आफ्नै पार्टी बलियो र फराकिलो पार्ने स्वार्थीपनतर्फ नेताहरूको ध्यानाकर्षण हुन थाल्यो । आफ्नो पार्टीइतरका नेता त नेता नै होइनन् भन्ने सोच राखियो; अरू पार्टीका नेताले गरेका राम्रा कामको सराहना गर्नुको साटो उल्टै होँच्याउने र खुट्टा तान्ने प्रवृत्ति बढाउँदै गए । प्रशासनिक संयन्त्र अस्तव्यस्त बन्यो, त्यहाँ नातावाद र कृपावादले प्रश्रय पायो । 

राजनीतिक मात्र होइन, धार्मिक क्षेत्रमा पनि यस्तै स्थिति देखापरेको छ । सनातनदेखि धार्मिक सहिष्णुता रहेको यो देशका अधिकांश जनताले पवित्र धार्मिक स्थलहरूमा भगवान् हुन्छन् भन्ने विश्वास गर्छन् । धर्मकर्म र पूजापाठ गर्नाले ईश्वर प्राप्त हुन्छ; चिताएको पुग्छ; भय, डर त्रासबाट मुक्त होइन्छ भन्ने धार्मिक विश्वास जनमानसभित्र रहिआएको छ । यही मान्यताले नै सबै अनुशासन र एउटा सामाजिक परिधिमा रहेका  छन् । पहिले धर्म नै एक कानुनका रूपमा रहेको थियो; पाप लाग्छ भन्ने मान्यताले सामान्य अपराध गर्न मान्छेहरू डराउँथे । हाल आएर यी सबै कुरा सामान्य भएका छन् । यी सबैको कारण धर्मप्रति मानिसको  विश्वास हट्दै जानु हो ।  

मेरा एक हितैषी मित्र भानु घिमिरे शिवका भक्त थिए । उनले प्रत्येक सोमबार भगवान् शिवको पूजाअर्चना गर्थे; साताको एक दिन फलफूलको भरमा दिन काट्थे र भन्ने गर्थे, ‘शिवपुराण पढ्नुभो ? स्वस्थानीको कथा कति मीठो छ हगि ? भगवान् शिवको फोटो कोठाको सिरानमा राख्नुस्, सपना राम्रो देखिन्छ । वास्तवमा धार्मिक अध्ययन चाहिन्छ, अध्ययनले मान्छेलाई उत्तम बनाउँछ ।’  

सोह्र्रश्राद्धमा बाबुको तिथिका दिनमा मात्र श्राद्ध गरिन्छ । आमाको मृत्युतिथिका दिन श्राद्ध गरिँदैन । हाम्रो संस्कारले आमाबाबुबिचमा पनि कति भेदभाव गरेको छ । कति दुःख गरेर जन्म दिने आमाको तिथिको दिनमा श्राद्ध नगर्नाले श्राद्ध नगरे पनि हुने रहेछ भन्ने धारणा सिर्जना हुन पुग्छ ।

केही साल अघिको एउटा हिउँदमा काठमाडौँ वरिपरि हिउँ परेको थियो । नगरकोट, फुलचोकीडाँडा र दामनमा हिउँ खेल्न युवायुवतीको ताँती लागेको खबर टीभी–पत्रपत्रिकामा आए । मेरा उनै मित्र भानु सोमबार हातमा अबिरले पोतेर अफिस आए र भने ‘हिउँ खेल्न जाऊँ ।’ हामीले नजाने भनेपछि ‘उसो भए म जान्छु है’ भनेर उनी हिँडे ।

भोलिपल्ट बिहान साढे ४ बजे मेरो फोनको घन्टी बज्यो । अफिसका सहकर्मीले भने, ‘हिजो भानु हिउँ खेल्न गएका थिए, हैन ?’ मैले हत्त न पत्त सोधेँ, ‘किन र हँ  ?’ 

उसले भने, ‘भानु त खत्तम भएछ ।’ म स्तब्ध भएँ । भानुको शव वीर अस्पतालमा थियो । बिहानै हामी त्यहाँ पुग्यौँ । नगरकोटबाट हिउँ खेलेर फर्कंदा सातदोबाटो (महालक्ष्मी स्थाननजिक)मा विपरीत दिशाबाट आएको मालवाहक ट्रकले उनलाई किचेछ । किच्नेबित्तिकै ड्राइभर भागेछ । ट्रकको चक्कामुनि उनी छटपटाइरहेका थिए, ट्रकको ड्राइभर नहुँदा तुरुन्त निकाल्न सम्भव भएन । बल्लतल्ल त्यहाँ सहायक चालक भेटिएपछि जगको सहायताले उसलाई निकालेर नजिकको पाटन हस्पिटल र त्यसपछि वीर अस्पताल लगिएको रहेछ । उपचारकै क्रममा उनको मृत्यु भयो । 

भर्खरका नाबालक दुई बच्चा र पत्नीसँग विछोड गराएर भगवानले न्याय गरे त ? कि भगवान् पनि मस्त निद्रामा थिए र दुर्घटनाको पत्तो पाएनन् ! जे होस्, हे भगवान ! त्यो कहालीलाग्दो र दर्दनाक घटना तिमीले नै घटाएका हौ भने बिन्ती छ, अब कहिल्यै कसैमाथि त्यो नदोहो¥याइदेऊ । यही मेरो हार्दिक प्रार्थना छ । आफूलाई भगवान्को भक्त मान्ने भानुको यस्तो किसिमको मृत्यु हुनु ठीक हुन्छ र ? भक्तकै यस्तो अवस्था हुन्छ भने अब अरूले कसरी भगवान्मा विश्वास गर्ने ! 

विगत चार–पाँच वर्षअघिको कुरा हो । धर्मकर्म, पूजापाठ र व्रतमा व्यस्त रहने कालधाराकी एक महिला तिजको व्रत बसेकी थिइन् । आफ्ना पति दीर्घायु होऊन्, सौभाग्यवती भइयोस् र लोग्नेकै काखमा मर्न पाइयोस् भनी महिलाहरू तिजको व्रत बस्ने गर्छन् । विडम्बना ! पानी समेत नखाई तिजको व्रत बसिरहेकी ती महिलाले बेलुका आफ्ना श्रीमान् मोटर दुर्घटनामा परी देहलीला समाप्त भएको खबर पाइन् । आजभोलि पनि त्यो घटना सुनेका र थाहा भएका महिला तिजको कुरा गर्दा झसङ्ग हुन्छन् । जुन उद्देश्यले तिजको व्रत बसिन्छ, त्यही पूरा नभई अझ बढी क्षति भएपछि केका लागि व्रत बस्ने ? जनमानसमा यसप्रति पनि यस घटनाले अविश्वास सिर्जना गरेको छ । 

केहीअघि असारतिर मेरा एक अधिवक्ता मित्र दोलखा भीमसेन दर्शन गर्न सपरिवार मोटरसाइकल लिएर गएका थिए । दर्शन गरेर बेलुका घर फर्कंदा बिच बाटोमा पानी आई अकस्मात् खोला बढ्न गई साथमा रहेकी श्रीमती र काखकी एक छोरीलाई बगाएर लग्यो । पछि घाउ नै घाउले लतपतिएर अचेत अवस्थामा मेरा मित्रका छोरा र स्वयं मित्रलाई  भेटिएको खबर दैनिक पत्रिका तथा एफएमहरूबाट सुन्नुप¥यो । भगवान्को दर्शन गर्न जाँदा यस्तो दुर्दशा भोग्नुपर्छ भने केका लागि धर्म गर्ने र केका लागि भगवान्को दर्शन गर्ने ?

परार सालको मङ्सिर १६ गतेको कान्तिपुर पत्रिकामा स्वर्गद्वारी जाने तीर्थयात्री बोकेको एउटा बस करिब एक–डेढ सय फिट तल खसेर दुर्घटना भयो भन्ने खबर पढियो । जसमा मेरा आफन्त पनि परेछन् । भगवान्को दर्शन गर्न गएका तीर्थयात्रीको त्यो अवस्था नहुनुपर्ने थियो, भयो । ज्यादै दुःख लाग्यो । 

हुन त एकातर्फ तीर्थ गर्न जाँदा मुत्यु हुनुलाई राम्रो मानिन्छ र यस्तालाई सिधै स्वर्गमा ढोका खुल्छ भन्ने विश्वास पनि छ, तर ती तीर्थयात्री त्यही मृत्युका लागि मात्र तीर्थमा निस्केका हुन् र ? उनीहरूका अरू पनि इच्छा र आकाङ्क्षा होलान् तर उनीहरूका ती इच्छालाई वास्ता नगरी उनीहरूलाई मृत्युको मुखमा पु¥याउनु न्यायसङ्गत होला र ? यसबाट मृत्यु चाहनेले मात्र यस्तो यात्रा गर्ने र अरूले यस्तो यात्रा गर्नै नहुने धारणा जनमानसमा बढ्न जान्छ ।  

हाम्रो समाजमा यस्ता निकै घटना देख्न र सुन्न पाइन्छ । यी घटनाले मलाई अचम्म लाग्ने गर्छ । देउताका भजन गाउने भजनशिरोमणि भक्तराज आचार्यको जिब्रो काट्नुप¥यो । उनको स्वर अझ खुल्दै गएर अझ भजन गाउने अवसर दिनुपर्ने होइन र ? 

ईश्वरबिनाको संसार कल्पना गर्न सकिँदैन र यसैमा संसार अडेको छ तर यो सारा संसारको सृष्टि र रचना आफैँले गरी संहार गर्नु कति वाञ्छनीय हुन्छ ? भएभरका सारा दोष भगवान्लाई थोपर्न खोजिएको होइन । न त म नास्तिक विचारबाट प्रभावित भएको हुँ । सुनेका र देखेका कुरालाई मात्र मैले यसमा उतारेको हुँ । 

१३औँ दिनमै मासिक, तिथि श्राद्धलाई टुङ्गाउन सकिने आधिकारिक निर्णय गराई लागु भइदिएमा यसले समग्र सबैलाई ठूलो राहत मिलेको अनुभूति हुनेछ । यसका लागि विश्व हिन्दु महासंघ तथा अन्य धार्मिक औपचारिक संघ–संस्थाहरूको ध्यानाकर्षण हुन जरुरी छ ।

हामीमा वितृष्णा बढ्दै गएको अर्को विषय हो — हाम्रो सांस्कृतिक संस्कार । यस धर्तीमा जन्मेपछि सामाजिक संस्कारसँगै हुर्कंदै–बढ्दै हामीले यो नश्वर शरीरलाई एक दिन परित्याग गर्नुपर्छ भन्ने कुरा नकार्न किमार्थ सकिन्न । समाजमा बसेपछि सामाजिक चाड–पर्व, बिहे व्रतबन्ध गर्ने र मृत्यु संस्कार पूरा गर्नुपर्ने हुन्छ । लोकलाज, डर र अर्काको देखासिकीले  हाम्रा सामाजिक संस्कार अव्यवस्थित र विकराल बन्दै गएका छन्, बिहान–बेलुकाको गर्जो टार्न मुस्किल हुने कतिपयलाई सामाजिक पूरा गर्न ठूलो समस्या हुँदै गएको पनि छ । चाडपर्व, तिथिश्राद्ध आदिमा ऋणमाथि ऋण थोपर्दै जानुपरेको छ । जसले गर्दा हाम्रो उन्नति त परै छाडौँ, अवनति हुँदै गएको छ । यस्तै अन्य व्यावहारिक समस्याका कारण हामीले कतिपय संस्कारका कुरालाई त्याग्दै गएका छौँ । गर्भाधानदेखि मृत्युसम्मका सोह्रवटा संस्कार गर्नुपर्नेमा हामीले केही मुख्य संस्कारलाई मात्र निरन्तरता दिँदै आएका छौँ । यस्तै अवस्था रहिरहने हो भने हाम्रा सबै संस्कार हराएर जानेछन् । 

खासगरी हिन्दु समाजमा मृत्यु संस्कारको कुरा गर्दा— जेठको धुप, साउनको झरी या पुस–माघको ठन्डीमा आफ्नो शरीर पनि भन्न नपाई दैनिक स्नान गर्न खोला या नदीको किनारमा जाने गरिन्छ । एक छाक अलिनो भात खाई–नखाई र मन लागी–नलागी कथा पुराण सुन्ने गरिन्छ । यसरी १३ दिनसम्म कैयौँ सास्ती झेलेर सकी नसकी समाजलाई देखाउन भोजभतेर गर्नुपर्ने परम्परा छ । श्रीमान् मर्दा श्रीमतीले रातो कपडा लगाउन नहुने लगायत नियम पालन गर्नुपर्ने हुन्छ । जसले गर्दा आफ्नो श्रीमान्सँगै कतिपय आफ्ना इच्छा र आकाङ्क्षालाई पनि तिलाञ्जलि दिनुपर्ने हुन्छ । सबैभन्दा ठूलो कुरा तन, मन वा आत्मा सेतो र सफा हुनुपर्छ । कालो मन र कपट बुद्धिलाई आशौचले ढाकेर ढाकिन्न ।

प्रायः हामी धेरै जनाको आयस्रोत भनेको कामकाज तथा नोकरी नै हो । सेतो आशौच बारेर कहीँकतै पानी पनि छोइछाइ हुन्छ है भनी केही नखाई दिनभरि खाली र भोको पेट लिएर लखतरान भई घरमै घिस्रिइघिस्रिई आउनुपर्ने अवस्थाले रोगलाई शीघ्र निमन्त्रणा गर्नु सिवाय ठोस अरु केही देखिँदैन । त्यति मात्र होइन, महिनैपिच्छे मासिक तिथि श्र्र्राद्ध गरी वार्षिक ठूलो धनराशि गुमाउनुपर्ने चलनले त सर्वसाधारणको ढाडै भाँचिदिएको कुरा जगजाहेर छ । यसरी पापबाट मुक्ति पाउन गरिने कार्यले अरू पापयुक्त कार्य सिर्जना गर्न उद्यत रहेको देखिन्छ । यस्तो कुराले के हाम्रो समाजलाई ठीक अवस्थामा राख्न सक्ला त ? सन्तानले दुःख पाउँदा के पितृहरू खुसी रहलान् त ?

यहाँनेर सोचनीय कुरा के छ भने नानाथरीका दुःख–कस्ट झेलेर आफ्नो शरीर पनि भन्न नपाई १३ दिनसम्म कठोर यातनाको तपस्या भोगिसकेपछि १३ दिनको काजक्रियापश्चात् अरू थप कार्य पनि गर्नुपर्ने व्यर्थ देखिन्छ । जस्तै ः मासिका श्राद्ध आदि । प्रत्येक महिनामा मासिका श्राद्ध गर्नुको औचित्य के ? फेरि मृत्यु हुँदाका वर्ष महिना–महिनामा श्राद्ध गर्नुपर्ने तर अन्य वर्षमा तिथि श्राद्ध गरेर मात्र पुग्ने यो कस्तो अमिल्दो कुरा ? हामीमध्ये कतिलाई दिनरात कामैकाम भनेर खटिँदा पनि मुखमा माड लाग्न हम्मे–हम्मे पर्ने गरेको छ । सबैलाई आफ््नो कामको चपेटाले फुर्सद छैन । सबै काममै व्यस्त हुनुपरेको छ । सधैँ श्राद्ध र मासिका भनेर बस्ने फुर्सद हुँदैन । हुन त हाम्रो शास्त्र लचिलो छ । कतिपय कुरा गर्नैपर्छ भन्ने छैन, यसको विकल्पमा विभिन्न उपाय बताइएको छ । यसले गर्दा एउटै कार्यमा पनि विविधता देखिन्छ । अर्को कुरा सोह्र्रश्राद्धमा बाबुको तिथिका दिनमा मात्र श्राद्ध गरिन्छ । आमाको मृत्युतिथिका दिन श्राद्ध गरिँदैन । हाम्रो संस्कारले आमाबाबुबिचमा पनि कति भेदभाव गरेको छ । कति दुःख गरेर जन्म दिने आमाको तिथिको दिनमा श्राद्ध नगर्नाले श्राद्ध नगरे पनि हुने रहेछ भन्ने धारणा सिर्र्जना हुन पुग्छ । मानिसमा पनि जे गरे पनि हुने रहेछ भन्ने भ्रम पर्छ र यसतर्फ पनि मानिसको मन मर्न थाल्छ । जसले गर्दा हाम्रो संस्कृतिका कुरा लोप हुँदै जान्छन् । हाम्रा कतिपय संस्कृति अन्धविश्वासले भरिपूर्ण छन् । बिरालो बाँधेर श्राद्ध गरेजस्तो त्यसको मुख्य हेतु नबुझी परम्परालाई मात्र धान्ने काम भएको छ । यसै सन्दर्भमा १३ दिने काम सकिएपछि वर्ष दिनसम्म आशौच बार्न बाध्य नहुने नियम बनाएर १३औँ दिनमै मासिक, तिथि श्र्राद्धलाई टुङ्गाउन सकिने आधिकारिक निर्णय गराई लागु भइदिएमा यसले समग्र सबैलाई ठूलो राहत मिलेको अनुभूति हुनेछ । यसले गर्दा सांस्कृतिक मर्यादामा पनि आँच आउने छैन र यसप्रति कसैको वितृष्णा बढ्नेछैन । बरु समाज परिमार्जित भई सरलीकरणतर्फ उन्मुख हुनेछ; आफ्नो संस्कृति र धर्मप्रतिको आस्थामा अभिवृद्धि हुनेछ । यसका लागि विश्व हिन्दु महासंघ तथा अन्य धार्मिक औपचारिक संघ–संस्थाहरूको ध्यानाकर्षण हुन जरुरी छ ।

मानिसलाई बाँचुन्जेल सेवा तथा औषधोपचारको व्यवस्था नभई मृत्युपश्चात् गरिने मुलाहिजाको कुनै अर्थ रहँदैन । त्यसकारण आफ्ना स्वजनहरूप्रति जति उपकार गर्न सकिन्छ, मृत्युअगावै हुनु उचित हुनेछ; साथै उचित समयमा उचित देखभाल गर्नसक्नु नै उसको परम कर्तव्य पूरा भएको ठहरिनेछ ।

साथै समयसापेक्ष क्रमिक रूपमा हरेक कर्मकाण्डीय पद्धतिमा समेत सरलीकरण र व्यवस्थित हुँदै जानुपर्ने देखिन्छ । हाम्रो रहनसहन जसरी परिवर्तन भएको छ । यसमा पनि सोहीबमोजिम परिवर्तन गर्नुपर्ने देखिन्छ । ढुंगे तथा कृषि युगदेखि प्रयोग गरिएको कुरा अहिले पनि लागु गर्नु त्यति उपयुक्त देखिँदैन । 

वास्तवमा कतिपय संस्कृतका पण्डितलाई यी कार्य तथा कर्मकाण्ड छोटकरीमा हुनुपर्छ, यसलाई परिमार्जन गर्नु अति आवश्यक छ भन्ने नलागेको पनि होइन; लाग्दालाग्दै म आफैँ किन जान्ने सुन्ने हुने र अघि सर्ने भन्ने मानसिकताले गर्दा आजसम्म यो पीडाबाट मुक्त हुन नपाइएको हो । यसमा पनि छोटकरीमा गर्न खोज्नेहरू अल्पबुद्धिका रहेका छन् । अर्थात् उनीहरूले गर्नुपर्ने कामभन्दा पनि आफ्नो अनुकूलता हेरी काम पूरा गर्ने गर्छन्, जसले गर्दा गर्नुपर्ने कुरालाई छाडी नगर्नुपर्ने वा नगरे पनि हुने कुरा मात्र गराउँछन् । यस्ता व्यक्तिहरूको  कामभन्दा कमाउनतर्फ मात्र ध्यान रहेको छ । शास्त्रसम्मत कुरा पनि नबिग्रने र समसामयिक तथा सबैको अनुकूल हुने गरी यसलाई परिमार्जन गर्न आवश्यक देखिन्छ । 

यसको मतलब आफ्नो धर्म–संस्कृति चटक्कै छाड्ने, राजनीतितर्फ ध्यानै नदिने भन्न खोजिएको होइन । बरु समाजमा सजिलै जीवनयापन होस्, धार्मिक एवं सांस्कृतिक मर्यादामा आँच नआओस् र यसप्रति कसैको वितृष्णा नबढोस्, राजनीतिमा पनि सबै जनता जागरुक होऊन् र सुशासनमा सबैको ध्यान जाओस् भन्ने हेतुले यसलाई परिमार्जन गर्ने हो कि भन्न मात्र खोजिएको हो । मेरा पितापुर्खाले श्राद्ध गर्दा बिरालालाई बाँधेर गर्दथे, त्यसैले हामीले पनि त्यसै गर्नुपर्छ भन्ने धारणा बोकेर बिरालै खोज्न दौडनु कतिको बुद्धिमानी होला त ? यसबारे यसै लेखमार्फत सम्पूर्ण पाठक महानुभावलाई एकपटक गम्भीरताका साथ सोच्न र सोबारे पहल गर्न सादर अनुरोध गर्दछु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

जीवन पौडेल
जीवन पौडेल
लेखकबाट थप