बिहीबार, ०५ असार २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सुन तस्करी जाँचबुझ प्रतिवेदन

आचार्य आयोगले प्रश्न उठाएपछि विवादमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो

सरकार ढल्ने भयले रोकिएको थियो पासपोर्ट अनुसन्धान
शुक्रबार, ०९ चैत २०८०, १३ : ४८
शुक्रबार, ०९ चैत २०८०

काठमाडौँ । ‘जटिल अपराध अनुसन्धान’ को मूल उद्देश्यले स्थापित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) विवादित बन्न थालेको छ । पूर्व न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले सुन तस्करीबारे ब्युरोको अनुसन्धानमा त्रुटि औँल्याएपछि यसको तटस्थता र निष्पक्षतामा गम्भीर प्रश्न उठ्न थालेको हो ।

 आयोगको सिफारिस बमोजिम अनुसन्धानमा त्रुटि गर्ने ब्युरो प्रमुख एआईजी किरण बज्राचार्यसहित ४ जना अधिकृतलाई विभागीय कारबाही भइसकेको छ । २०६७ मा स्थापित ब्युरोलाई अन्दरदेशीय अपराध र मुलुकका ठुला अपराध अनुसन्धान गर्ने अधिकार छ । प्रहरी महानिरीक्षक (आईजीपी) को मातहत हुने ब्युरोको कमान्ड अतिरिक्त महानिरीक्षक (एआईजी)ले गर्छन् । 

कुनै घटना अनुसन्धानमा जटिलता देखिएमा अनुसन्धानमा संलग्न प्रहरी कार्यालयले अनुरोध गरेपछि आईजीपीको निर्देशनमा ब्युरोको टिम परिचालित हुन्छ । यद्यपि इलेक्ट्रिक चुरोट (भेप)मा लुकाएर दुबईबाट ल्याइएको सुन र ब्रेक प्याडमा लुकाएर हङकङबाट तस्करी गरेर ल्याइएको ६० किलो सुनको अनुसन्धानमा सीआईबीको गम्भीर त्रुटि देखिएको आचार्य आयोगको ठहरपछि यो संस्था सत्तामा रहेकाको ‘शत्रु तह लगाउने’ र ‘सत्ता जोगाउने’  हतियार बनेको समेत टिप्पणी हुन थालेको छ । 

यस प्रकरणमा प्रहरी प्रधान कार्यालयले विस्तृत अध्ययन गर्नुपर्ने सीआईबीका पूर्व प्रमुख हेमन्त मल्ल ठकुरीको मत छ । ‘त्रुटि कसरी भयो भन्नेबारे थप अध्ययन हुनु जरुरी छ,’ उनले रातोपाटीसँग भने ।

राजस्व अनुसन्धान विभागले गत साउन ३ गते बरामद गरेको सुन तस्करी सङ्गठित प्रकृतिको देखिएको निष्कर्ष निकाल्दै सरकारले अनुसन्धानको जिम्मा ब्युरोलाई दिएको थियो । 

सुन प्रकरणमा त्रुटि के हो ? 

‘रेडी ट्रेड प्रालि’ले मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’मा लुकाएर हङकङबाट ल्याएको ६० किलो सुन गत साउन ३ गते राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । अर्को चाहिँ दुबईबाट भेपमा लुकाएर २०७९ पुस १० मा काठमाडौँ ल्याइएको सुनबारे त्रिभुवन विमानस्थल भन्सार कार्यालयको पत्रको आधारमा ब्युरोले अनुसन्धान गरेको थियो । 

अनुसन्धानमा ब्युरो प्रमुख एआईजी बज्राचार्य, एसपी सञ्जय सिंह थापा, डीएसपी दुर्गा दाहाल र रुगम कुँवरले गम्भीर ‘त्रुटि’ गरेको दुवै पटकको सुन तस्करीको छानबिनको अख्तियारी पाएको आचार्य आयोगको ठहर छ । ६० किलो सुनमा जोडिएका तिब्बतीयन मूलका बेल्जियन नागरिक दावा छिरिङसँग निकट जीवन चलाउनेलाई ब्युरोका अधिकारीहरूले संरक्षण गरेको आयोगको निष्कर्ष छ । दावा ठमेलस्थित होटेल भियानाका सञ्चालक हुन् । 

दावासँग ‘कनेक्सन’ देखिएपछि चलाउनेलाई प्रहरीले महाराजगन्जस्थित ब्युरोको कार्यालयमा अनुसन्धानका लागि बोलाएको थियो । तर, बयान कागज मात्र गरेर उनलाई रिहा गरियो । त्यतिमात्र होइन, ब्युरो प्रमुख बज्राचार्यको निर्देशनमा छुटेका चलाउनेले गरेको बयान कागज नाटकीय रूपमा सीआईबीका अधिकृतहरूले गायब बनाएका छन् ।

अछामको तुर्माखात गाउँपालिकाको तोषीका चलाउनेको बयान ६० किलो सुन तस्करी अनुसन्धानको कमान्ड गरेका प्रहरी उपरीक्षक (एसपी) थापाको अगाडि गराइएको थियो । त्यति बेला हिरासतमा रहेका दावा पनि उपस्थित भएको दाबी चलाउनेको छ । तर, सो कागज जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा पुगेन । यही कारण चलाउनेलाई ६० किलोमा प्रतिवादी बनाइए पनि अभियोग पत्रमा बयान कागज समावेश गरिएन ।

६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा ‘वाल्डो क्यसिनो’ पनि जोडिएको छ । सुन तस्कर चिनियाँ ‘एलेक्स’ भनेर चिनिने याओ पुचेङ्ग वाल्डोमा खेल्न गइरहन्थे । पुचेङ्गलाई भदौ १ मा सीआईबीले पक्राउ गरेको थियो । सुन तस्करीमा संलग्न मुख्य योजनाकार मध्येका एलेक्सले वाल्डो क्यासिनोमार्फत अनधिकृत रूपमा रकम हङकङ पठाउने गरेको अनुसन्धानले देखाएको छ ।

छाया सेन्टरमा सञ्चालित वाल्डो मार्फत हुन्डी कारोबारको शैलीमा एलेक्सले सुनको रकम भुक्तानी गर्ने गरेको भेटिएको छ । ब्युरोले वाल्डोको एकाउन्ट हेर्ने टेरेन्सलाई पनि बयान कागज गराएर उन्मुक्ति दिएको भेटिएको छ । आयोगले टेरेन्सलाई मुद्दा चलाउनु पर्ने राय दिएको छ । 

हस्तक्षेपमा रेकर्ड  

चलाउने र सहसचिव झलकराम अधिकारीप्रति अनुसन्धान अधिकृतहरू नरम हुनुमा तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठको ‘हस्तक्षेप’ रहेको गृह मन्त्रालयका अधिकारीहरूको दाबी छ । ६० केजी सुन तस्करीमा शङ्कास्पद भूमिका देखिएको भन्दै आयोगले अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । उनलाई परराष्ट्र मन्त्री श्रेष्ठ निकट मानिन्छ ।

अनुसन्धानमा मात्र होइन, चेन अफ कमान्डमा पनि ब्युरोका हाकिम चुकेको पाइन्छ । एआईजी बज्राचार्यले आईजीपी वसन्त कुँवरलाई बाइपास गरेर सोझै गृह मन्त्रीलाई रिपोर्ट गर्ने गरेको र मन्त्रीको आदेश बमोजिम चलेको गृहका उच्च अधिकृतहरू बताउँछन् । ‘आईजीपीलाई सुन अनुसन्धानको रिपोर्ट नै नहुने अवस्था थियो,’ एक अधिकृत सम्झन्छन् । 

ब्युरोको अनुसन्धानमा राजनीतिक हस्तक्षेप नयाँ विषय होइन । स्थापनाकालका तत्कालीन डीआईजी राजेन्द्रसिंह भण्डारीले २०६७ साउनदेखि २०६८ भदौसम्म ब्युरोको नेतृत्व गरेका थिए, जति बेला सभासद्हरु पासपोर्ट बेच्ने धन्दामा संलग्न रहेको सुराकका आधारमा अपरेसन चलाएको थियो । ब्युरोले तत्कालीन सभासद् बिपी यादव, गायत्री शाह, नारदमुनि राना र शिवपुजन यादवलाई पक्राउ गरेर मुद्दा चलाएको थियो ।

राहदानी ऐन अन्तर्गतको कसुरमा थप २५ वटा पासपोर्ट फरेन्सिक जाँच गर्न ल्याबमा पठाइयो । रिपोर्ट नआउँदै आफ्नो सरुवा भएको भण्डारी सम्झन्छन् । यसमा पनि राजनीतिक दाउपेच थियो । ‘कम्तीमा २० जना सांसद पक्राउ गर्नुपर्ने सूचीमा थिए अनि, मलाई हटाए । मेरो सरुवापछि अनुसन्धान नै रोकियो’, उनले भने ।  

तत्कालीन अवस्थामा संविधान सभा सदस्यहरूलाई पक्राउ गर्दा डा. बाबुराम भट्टराई नेतृत्वको सरकार नै अल्पमतमा पर्ने भयका कारण आफ्नो सरुवा भएको दाबी भण्डारी गर्छन् । ब्युरोले रातो पासपोर्ट प्रकरण र नक्कली चिकित्सक विरुद्ध ‘अपरेसन क्वाक’ सञ्चालन गरेर अनुसन्धानमा अब्बल प्रमाणित गर्न खोजे पनि राजनीतिक हतियार बनेको आरोप खेप्नु परिरहेको छ ।

पूर्व एआईजी भण्डारीले रातोपाटीसँग भने, ‘हाम्रो बेलामा पनि हस्तक्षेप हुन्थ्यो । व्यक्तिगत प्रयासमा हामी त्यसलाई रोक्थ्यौँ ।’ 

रातो पासपोर्टको अनुसन्धान हुँदा श्रेष्ठ नै गृहमन्त्री थिए । तत्कालीन प्रधानमन्त्री भट्टराईले आईजीपी रविन्द्रप्रताप शाहलाई बालुवाटारमा बोलाएर ‘रातो पासपोर्टको अनुसन्धान रोक्न’ भनेका थिए । त्यसपछि शाहले भण्डारीलाई दबाब दिए । ‘मैले अनुसन्धान रोक्दिनँ भनेपछि  सरुवा भएको कुरा समाचारबाट थाहा पाएँ’, उनले भने ।  

यो क्रम चलिरहेको बेला तत्कालीन मन्त्रिपरिषद् पुनर्गठन भयो । विजय गच्छदार गृहमन्त्री बने, रातो पासपोर्टको अनुसन्धान पनि रोकियो । 

रातो पासपोर्टदेखि सुन तस्करीसम्म राजनीतिक नेतृत्वको इसारामा ब्युरोका अनुसन्धान अधिकृतहरू प्रयोग भएको जानकारहरू बताउँछन् । सीआईबीको नेतृत्व गरिसकेका पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी हस्तक्षेपलाई पुरानै प्रचलन ठान्छन् । ‘हस्तक्षेप त हुन्छ । तर, त्यसलाई चिर्न सक्नुपर्छ,’ उनले भने । 

ब्युरोको ठुला अनुसन्धान 

ब्युरोले धेरै ठुला अपरेसन सञ्चालन गरेको छ । नक्कली चिकित्सक विरुद्ध २०७२ देखि नै ‘अपरेसन क्वाक’ सञ्चालन गरेको थियो । २०७२ माघमा तत्कालीन निर्देशक मल्लले सो अपरेसन सञ्चालन गरेर १२ जना नक्कली डाक्टरलाई कानुनी दायरामा ल्याए ।

२०७३ असारमा तत्कालीन डीआईजी नवराज सिलवालले देशभर एकै पटक अपरेसन सञ्चालन गरेर ३६ जना नक्कली सर्टिफिकेटधारी चिकित्सकलाई नियन्त्रणमा लिए । तत्कालीन डीआईजी सहकुल थापाले सीआईबीको नेतृत्व लिँदा ‘अपरेसन क्वाक’लाई निरन्तरता दिए । 

काठमाडौँ उपत्यकामा २०६७–०६८ तिर ‘ब्ल्याक स्पाइडर’ समूहको आतङ्क थियो । उपत्यकाका म्यानपावर र अस्पताललाई लक्षित गरेर असुली धन्दा चलाउने सो समूहले हातहतियार सहित उपत्यकामा राज गर्दै थियो । समूहका मुख्य नाइकेले आफूलाई ‘सन्दीप पाठक’को नामले चिनाउँथे । ब्ल्याक स्पाइडर समूहले म्यानपावर व्यवसायी सङ्घका तत्कालीन अध्यक्ष एलपी सावाँ र चिकित्सक डा. हेमाङ दीक्षितलाई गोली प्रहार गरे । सीआईबीले सो समूहका मुख्य नाइके पाठकलाई भारतको सिलगुडीबाट पक्राउ गरेर काठमाडौँ ल्याएको बताउँछन्, पूर्व एआईजी भण्डारी । उनले भने, ‘ब्ल्याक स्पाइडर समूहबारे अनुसन्धान गरेर ७ जनालाई मुद्दा चलाएपछि असुली आतङ्क अन्त्य भएको थियो ।’

गौशालास्थित पिंगलास्थानबाट २१ पुस २०७३ मा ३३ किलो ७५० ग्राम सुन बरामद गरियो  । सुनको अपरेसन कमाण्ड तत्कालीन एसपी मिरा चौधरीले गरिन् । नेपालगन्ज घर भएका गोपाल बहादुर शाहीले दुबईबाट सुन लिएर आएका थिए । काठमाडौँमा सुन लिन मोरङका दिलबन्धु थापा र धनुषाका सन्तोष काफ्ले खटिएका थिए ।

ब्युरोका तत्कालीन डीआईजी सिलवालका अनुसार युएईका प्रहरी अधिकारीले दिएको सुराकीको आधारमा सुन बरामद गरिएको थियो । ब्युरोले संगठित सुन तस्करी मुद्दामा अनुसन्धान गरेर ३३ जना विरुद्ध मुद्दा चलाएको थियो । ब्युरोले दुबईबाट नेपालमा हुने तस्करीमा चूडामणि उप्रेती ‘गोरे’ संलग्न रहेको निष्कर्ष निकालेको थियो । पछि तिनै गोरे समूहले २०७४ माघ ९ मा ल्याएको ३३ किलो सुन हरायो । सुन हराएपछि तस्कर समूहले यातना दिएर सनम शाक्यको हत्या गरेको छानबिन निष्कर्ष छ । गोरे अहिले जेलमा छन् ।

ब्युरोले अवैध अन्तर्राष्ट्रिय कल बाइपास विरुद्ध ठुला अपरेसन सञ्चालन ग¥यो । २०८० जेठ ३० मा ललितपुरको महालक्ष्मी नगरपालिका–५ टिकाथलीबाट ब्युरोले चिनियाँ झाओ जियानपिङ्गले सञ्चालन गरेको अन्तर्राष्ट्रिय आगमन कल बाइपास सेन्टरमा छापा मारेको थियो । ३२ वर्षीय चिनियाँले नेपाली नागरिकसँग मिलेर गैरकानुनी रुपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास धन्दा चलाएका थिए । ब्युरोले २०६८ बाट नै भीओआईपी विरुद्ध ठुलो अपरेसन सञ्चालन गरेको पूर्वएआईजी भण्डारीले जनाए ।

काठमाडौंको रानिवारी हत्याकाण्डको अनुसन्धान ब्युरोले गरेको ऐतिहासिक कदम थियो । अनाहक मारिएका इन्जिनियर हेमन्त श्रेष्ठ र उनकी पत्नी अन्जनाको हत्याको घटना १२ वर्षपछि ब्युरोका अनुसन्धान अधिकृतहरूले पटाक्षेप गरेका थिए  । २०५९ असार ३१ मा इन्जिनियर दम्पती हत्या गर्न गएकाहरूले चार वर्षीया छोरीलाई घाइते बनाएर बाथुरुममा थुनेका थिए ।

Capture

सो हत्याकाण्डको छिनोफानो गर्न धेरै मेहनत परेको बताउँछन् ब्युरोका तत्कालीन निर्देशक मल्ल । हत्यामा संलग्न रहेको आरोपमा मनराज गुरुङ र प्रमेश चौहान पुर्पक्षका लागि  थुनामा छन् ।

यस्तै अछामका ३५ वर्षीय पृथ्वीबहादुर शाहले विदेशबाट शङ्कास्पद रकम नेपाल ल्याएको आरोपमा २०७९ पुसमा ब्युरोले पक्राउ ग¥यो । अनुसन्धानले अमेरिकामा अनलाइन फ्रड गरेर शाहले नेपालमा रकम ल्याउने गरेको देखायो । ब्युरोले शाह समूहका ७ जनालाई विरुद्ध पनि ठगी र संगठित अपराध मुद्दा अघि बढायो । उच्च राजनीतिक तहसम्म पहुँच भएका शाहले अमेरिकामा ठगेर ४६ लाख डलर, ३ करोड नेपाली र १२ हजार पाउन्ड स्टर्लिङ गरी कुल  ६५ करोड नेपालमा भित्र्याएको ब्युरोले गरेको अनुसन्धानबाट खुलेको थियो । शाहले ४४ जना अमेरिकन नागरिकलाई ठगेर नेपालमा पैसा भित्र्याएका थिए । अमेरिकन नागरिकले सीआईबीमा इमेल मार्फत पठाएको जाहेरीको आधारमा ब्युरोले अनुसन्धान गरेको थियो । 

२०६८ मा बबरमहलमा माओवादी मजदुर नेता शालिकराम जमकट्टेमाथि खुकुरी र रड प्रहार भएको घटना पनि ब्युरोले नै अनुसन्धान गरेको थियो । जमकट्टेल हाल बागमती प्रदेशको मुख्यमन्त्री छन् । सो घटना छानबिन गर्न प्रहरी प्रधान कार्यालयले तत्कालीन सीआईबीका निर्देशक उपेन्द्रकान्त अर्यालको नेतृत्वमा छानबिन टोली गठन गरेको थियो । समितिमा मल्ल, शेरबहादुर बस्नेत, भूपाल भण्डारी र भूपेन्द्र खत्री सदस्य थिए ।

ब्युरोले जमकट्टेलमाथि आक्रमण पार्टी भित्रैबाट भएको निष्कर्षसहित घटनामा संलग्न चार जनालाई पक्राउ गरेर कानुनी दायरामा ल्यायो । घटनाको योजना माओवादीका तत्कालीन नेवा राज्य समिति सचिवालय सदस्य रमेश पन्तको योजनामा भएको थियो । पार्टीभित्रको द्वन्द्वका कारण जमकट्टेललाई आक्रमण भएको ब्युरोको अनुसन्धान निष्कर्ष थियो ।

उसो त ब्युरोले लामो अनुसन्धानपछि चितवन राष्ट्रिय निकुञ्जमा गैँडा सिकार गर्ने समूहको सञ्जाल पनि ‘ब्रेक’ गरेको छ । चितवनको कोराक भन्ने ठाउँका पाँच जना सिकारी अहिले जेलमा छन् । बमबहादुर प्रजाका दाजुभाइ,  रामकुमार प्रजा, बिरमानसिंह प्रजा र रणबहादुर कुमाल कहलिएका गैँडा सिकारी हुन् । रणबहादुर र वीरमान पूर्वी नवलपरासी कारागारमा छन् । चितवन राष्ट्रिय निकुञ्जमा माउ र बच्चा गैँडा मारेको अभियोग उनीहरूलाई लागेको छ । वीरमानले अहिलेसम्म ४ वटा गैँडा मारेको स्वीकार गरेका छन् । गैँडा मारेको मुद्दामा वीरमानका बुवा र आमा पनि कारागारमा छन् ।

राजकुमार प्रजालाई सीआईबीले इन्टरपोलको सहयोगमा २०७१ मा मलेसियाबाट पक्राउ गरेर नेपाल ल्याएको थियो । उनलाई चितवन जिल्ला अदालतले १५ वर्ष कैद सजाय तोकेको छ । उनले २८ वटा गैँडा मारेको मारेको स्विकारेका छन् ।

प्रजाहरूले २०७० बाट गैँडा सिकार गर्न थालेका हुन् । यद्यपि प्रजाहरूलाई प्रयोग गरेर अरू कसैले फाइदा लिएको हुनसक्ने अनुसन्धान अधिकृतहरू बताउँछन् ।

२०७४ मा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा भयो । हत्यामा संलग्न मुख्य आरोपित समिरमान सिंह बस्नेत भारतमा पक्राउ परे । बस्नेलाई ब्युरोको टोलीले भारतीय प्रहरीको सहयोगमा पक्राउ गरेर नेपाल ल्याएको थियो ।

प्रहरीको दाबी 

ब्युरोको अनुसन्धानमा राजनीतिक दबाब रहने गरेको तथ्यहरूले देखाए पनि नेपाल प्रहरी भने त्यसलाई स्वीकार गर्दैन । प्रहरी प्रवक्ता डीआईजी भीम ढकाल आचार्य आयोगको प्रतिवेदन प्राप्त भएपछि अध्ययन गरिने बताउँछन् । ‘प्रतिवेदन प्राप्त भएपछि अनुसन्धानमा भएको त्रुटिबारे अध्ययन गरेर निष्कर्षमा पुग्छौँ,’ उनले भने । ब्युरोमा राजनीतिक हस्तक्षेपबारे सोधिएको प्रश्नमा भने उनले कुनै प्रतिक्रिया दिएनन् ।

स्थापनाकालमा डीआईजीले नेतृत्व गर्ने सीआईबीमा अहिले अतिरिक्त महानिरीक्षक (एआईजी) को नेतृत्वमा चलिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप