शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
कविता

डा. अमर गिरीका तीन कविता

शनिबार, १७ चैत २०८०, १७ : ४०
शनिबार, १७ चैत २०८०

१) पशु भएको भए

कति सजिलो हुन्थ्यो तिमीलाई 
म पशु भएको भए ।

तिमीले दिएको घाँस खान्थेँ 
पेट भरिए
आँखा चिम्लिएर
र मुखभरि फिँज काढेर
मजाले उग्राउँथेँ
पेट नभरिए 
दाम्लो चपाउँथेँ 
वा किलै उखालेर 
मकैबारीतिर लाग्थेँ ।

जताजता धपाउँथ्यौ
त्यतैत्यतै जान्थेँ
जे भने पनि सहन्थेँ
जे गरे पनि मौन बस्थेँ ।

आफूलाई टोक्ने असङ्ख्य मच्छडहरूलाई 
धपाउँदै पुच्छरले
आफ्ना सन्तानहरूलाई 
प्रेमले चाट्थेँ
र मेरो घाँटीबाट
दाम्लो खोलेर
मलाई चरनतिर
कतिबेला लगिन्छ भनेर
प्रतीक्षामा बस्थे ।

कति सजिलो हुन्थ्यो तिमीलाई 
म पशु भएको भए ।

न मेरो छाती दुख्थ्यो 
न मेरो मस्तिष्क
समुद्रका छालहरूझैँ उफ्रन्थ्यो 
न मेरा आँखाहरू
लाभा भएर बग्थे
न सपनाहरू
चराका पखेटाहरूमा बसेर
आकाशतर्फ उड्थे
जति कुरूप भए पनि तिम्रो अनुहार 
मानिसको चेतना र संवेदनालाई 
बगरेले खसी काटेझैँ
जति काटे पनि
केही फरक पर्ने थिएन
कुनै प्रश्न गर्ने थिइनँ मैले
मेरो जिब्रोमा हुने थिएनन् 
धारिलो आरीजस्ता 
कुनै शब्दहरू ।

अँध्यारो र उज्यालो
सुन्दर र कुरूप
न्याय र अन्याय
समानता र असमानता
स्वतन्त्रता र बन्धन
मेरा निम्ति
कुनै अर्थ हुने थिएन 
यस्ता शब्दहरूको ।

कति सजिलो हुन्थ्यो तिमीलाई 
म पशु भएको भए ।
०००
२) महाकालीको किनारमा

जेठको प्रचण्ड धूपमा 
महाकालीको किनारमा छु म 
जोडले चलिरहेछ हावा
हावामा उडिरहेछ नदीको बालुवा 
बालुवासँगसँगै उडिरहेछन् पातहरू
हावाले उडाएको बालुवाबाट बचाउन आँखा 
फर्किएको छु म हावा बहिरहेको दिशातर्फ ।

आफ्नै भूगोल भएर पनि 
होइन कि जस्तो लाग्ने
अकथनीय पीडा बोकेर बाँचेको
छातीभित्र वेदनाको हुरी चले पनि
प्रायः बाहिर हाँसिरहने दोधारा–चाँदनी
नेपालको बाँकी भागसँग उसलाई जोड्ने
झोलुङ्गे पुलको छेउमा उभिएर
हेरिरहेछु उत्तरतिर
आँखामा आइरहेछ शारदा र टनकपुर ब्यारेजको
धमिलो धमिलो अनुहार
स्पष्ट भएर उभिइरहेछ इतिहासको चित्र
र त्यो जेठको घाम भएर दुखिरहेछ
मेरो छातीभित्र ।

वर्षौंपछि जेठको प्रचण्ड धूपमा 
महाकालीको किनारमा छु म ।
०००

३) चटामरी

जब ऐँठन अनुभव हुन्छ 
अत्यासलाग्दो यस सहरमा 
सुटुक्क निस्कन्छु म
चटामरी खान
कुनै नेवारी खाजा घरमा ।

जसरी गोपालदाइ
चिया र सिगरेट पिउँछ
जसरी जग्गु चौधरी
सुर्ती मल्छ र खान्छ
जसरी प्रत्येक साँझजसो
हीराभाइ
निस्कन्छ गाउँ बस्न
त्यस्तै नेवारी खाजा घर र चटामरी
एक आदतजस्तो
भइसकेको छ मेरा निम्ति ।

खाजा घरमा पस्नुभन्दा पहिले
बाहिरै
हावासँग मिसिएर आइपुगेको
चटामरीको सुगन्ध
मीठो लाग्छ आफ्नै बारीमा फुलेको 
गुलाफको सुगन्धझैँ
बिल्कुल मौलिक 
अकृत्रिम, आह्लादक
चटामरीको सुगन्ध सँगसँगै
अनुभव हुन्छ
अगाडि खुला छ
मेरो इतिहासको प्राचीन पृष्ठ
मेरो सभ्यताको एक ऊध्र्वगामी सिँढी
मेरो संस्कृतिको एक इन्द्रेणी फूलबारी 
अनुभव हुन्छ
खाजा घरमा होइन
म पसेको छु
परिकारहरूको सुन्दर सङ्ग्रहालयमा 
जसको निर्माणमा
नजाने कति पसिना बगाएका थिए 
मेरा पुर्खाले
कति रात बसेका थिए जाग्राम
बिरामी परेका थिए कति आमाहरू
नजाने कति दुःख सहेका थिए तिनले ।

आफ्नो सुगन्ध हराउँदै गएको यस सहरमा 
जब मलाई
आवश्यकता अनुभव हुन्छ आफ्नो सुगन्धको
र लाग्छ
आफ्नै बिनाको सुगन्ध थाहा नपाउने
कस्तुरी हुँदै गइरहेछु म
म निस्कन्छु चटामरी खान
चटामरी र पसल्नी भाउजूको निष्कपट हाँसो
खाएर प्रस्थान गर्छु म घरतिर
लाग्छ
म आफ्नै भान्छाकोठाबाट निस्किरहेछु
र अन्त कतै लाग्दैछु 
लाग्छ मेरो शरीरबाट 
बहिरहेछ आफ्नै सुगन्ध
र सुगन्धित भइरहेछ त्यसबाट 
सिङ्गो देश ।

यस ग्लोबल दुनियाँमा 
सत्तारुढ कुनै ठूलो मानिसले होइन
कुनै कर्पोरेटे बुद्धिजीवी
कुनै एलिट नागरिकले होइन
मलाई बचाउनेछन् चटामरी र सामान्य मानिसले
मेरो सुगन्ध
तिनकै प्रतिरोधले 
राख्नेछ सुरक्षित ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. अमर गिरी
डा. अमर गिरी
लेखकबाट थप