शुक्रबार, ०४ साउन २०८१
ताजा लोकप्रिय
डेंगुको प्रकोप

गाउँभन्दा सहरमा बढी हुन्छ डेंगु सङ्क्रमण, सजगता अपनाउन विज्ञको सुझाव

सोमबार, २६ चैत २०८०, ११ : १९
सोमबार, २६ चैत २०८०

काठमाडौँ । नेपालमा गाउँभन्दा सहरी क्षेत्रमा बढी डेंगु सङ्क्रमण बढी हुने गरेको पाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार काठमाडौँ, ललितपुर, भक्तपुर, सुनसरी, तनहुँ, झापा, धादिङ, कास्की, मोरङ लगायतका क्षेत्रमा बढी डेंगु सङ्क्रमित देखिएका हुन् ।

ईडीसीडीको सन् २०२२ र २०२३ को तथ्याङ्क खेलाउने हो भने अधिकांश सहरी क्षेत्रमा डेंगु सङ्क्रमित फेला परेका थिए । ९० प्रतिशत मान्छेमा डेंगुको लक्षण नदेखिने र सहरी क्षेत्रमा विभिन्न ठाउँका मान्छेको आउजाउ बढी हुने भएकाले डेंगु सङ्क्रमण बढी हुने ईडीसीडी अन्तर्गत किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख तथा वरिष्ठ स्वास्थ्य प्रशासक डा.गोकर्ण दाहालले बताए ।

‘डेंगु देखिने भनेकै सहरी क्षेत्रमा हो । डेंगु सार्ने लामखुट्टेको नेचर फरक छ । यो प्रायःजसो फोहोरमा बस्दैन । असाध्यै फोहोर ढल अथवा मलमूत्र मिसिएको पानीमा बस्दैन,’ उनले भने,  ‘यो लामखुट्टे अलि सफा खालको पानीमा बस्छ । सहरमा घना बस्ती हुन्छ । एउटै घरमा पाँचदेखि सात परिवार बस्छन् । पानी जम्मा गरेर राख्नु पर्ने हुन्छ । त्यसमा लामखुट्टेको विकास हुन्छ ।’

डेंगु सार्ने लामखुट्टे साढे एकदेखि दुई सय मिटरभन्दा बढी उडेर जान सक्दैन । सहरी क्षेत्रमा घना बस्ती हुने भएकाले छिटो डेंगु सार्ने डा. दाहालले बताए । ‘सहरमा गमलाको प्रयोग बढी हुन्छ । गमलाको तल प्लेट राखिन्छ । त्यही प्लेटमा पानीमा जम्मा भएको हुन्छ । पानीका ट्याङ्की प्रशस्त हुन्छन् । ग्यारेजहरू प्रशस्त हुन्छन् । टायरहरू जथाभावी हुन्छन् । त्यही टायरहरू भएको ठाउँमा पानी जम्छ र लामखुट्टेको विकास हुन्छ,’ उनले भने, ‘बस्ती घना हुन्छ, सहरी क्षेत्रमा विभिन्न क्षेत्रका मान्छेको आउजाउ हुन्छ । यसले डेंगु छिटो सर्ने हुन्छ ।’

ईडीसीडीको तथ्याङ्क अनुसार सन् २०२३ मा ५१ हजार २४३ जनामा डेंगु देखिएको थियो भने २० जनाको मृत्यु भएको थियो । त्यतिबेला सहरी क्षेत्रमा सङ्क्रमण बढी देखिएको थियो ।

सन् २०२३ मा सुनसरीमा १६ हजार १७४ जना, तनहुँमा ७ हजार १९३ जना, झापामा ३ हजार ८२५ जनामा डेंगु पुष्टि भएको थियो । यस्तै, धादिङमा ३ हजार २३९ जना, कास्कीमा ३ हजार ६९ जना, मोरङमा २ हजार ३२८ जना, काठमाडौँमा २ हजार ७६ जनामा डेंगु पुष्टि भएको ईडीसीडीको तथ्याङ्क छ ।

यस्तै, संखुवासभामा १ हजार १५५, कैलालीमा ९ सय ९४ र गोरखामा ७ सय ६१ जनामा डेंगु पुष्टि भएको थियो ।

ईडीसीडीका अनुसार सन् २०२२ मा देशभर ५४ हजार ७८४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको थियोे । सोमध्ये ८८ जनाको मृत्यु भएको थियो । सन् २०२२ मा नेपालका १० सहरी क्षेत्रमा डेंगु सङ्क्रमित बढी देखिएका थिए ।

यो वर्ष काठमाडौँमा १४ हजार ३७३ जना, ललितपुरमा ९ हजार ६१४ जना, भक्तपुरमा ६ हजार १४५ जना, मकवानपुरमा ५ हजार ८३७ जना, चितवनमा ३ हजार २१३ जनामा डेंगु सङ्क्रमण भएको सरकारी तथ्याङ्क छ ।

यस्तै, दाङमा २ हजार ४२८ जना, धादिङमा १ हजार ६८३ जना, रुपन्देहीमा १ हजार २१५ जना, काभ्रेपलाञ्चोकमा ५५७ जना र सुर्खेतमा ४७२ जनामा सङ्क्रमण देखिएको थियो ।

  • ९० प्रतिशतमा लक्षण देखिँदैन

डेंगु सङ्क्रमिता ९० प्रतिशतमा कुनै प्रकारको लक्षण नदेखिने डा. दाहालले बताए । तर उनीहरूबाट अन्य व्यक्तिमा डेंगु सङ्क्रमण सर्न सक्ने उनको भनाइ छ । ‘९० प्रतिशत मानिसमा डेंगुको लक्षण देखिँदैन,’ उनले भने, ‘तर उनीहरूबाट अरू व्यक्तिमा डेंगु सर्छ । व्यक्तिको इम्युनिटी पावर अनुसार व्यक्तिमा लक्षण देखिने वा नदेखिने हुन्छ ।’

  • कुन लामखुट्टेले सार्छ डेंगु ?

नेपालमा डेंगुको ‘सेरोटाइप–१, २ र ३’ बढी देखिएको डा. दाहालले बताए । ‘डेंगुका १, २, ३ र ४ गरी चार प्रकारका सेरोटाइप हुन्छ,’ डा. दाहालले भने, ‘नेपालमा सेरोटाइप–१, २ र ३ बढी देखिएको छ । सेरोटाइप–४ कुनै बेलामात्रै देखिएको छ ।’

ईडीसीडीले गरेको एक अध्ययनमा गत वर्ष डेंगु प्रकोप फैलिनुमा सेरोटाइप ३ को मुख्य भूमिका देखिएको थियो ।

  • कसरी जोगिने ?

एडिज जातका लामखुट्टेको टोकाइबाट डेंगु सर्दछ । एडिज जातका लामखुट्टे सफा पानीमा जम्मा हुने भएकाले जुनसुकै भाँडोमा हुर्कन सक्छ । एडिज जातको लामखुट्टेले जुनसुकै समयमा टोक्ने सम्भावना भएकाले डेंगुबाट जोगिन सचेत हुनु पर्ने सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनको सुझाव छ ।

डेंगुबाट जोगिन निम्न कुरामा ध्यान दिनुपर्छ–

–पूरा बाहुला भएको लुगा लगाउने

–झुलभित्र सुत्ने

–घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने

–घर, कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने

–खाल्डाखुल्डी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने

–गमलाको प्लेट, फूलदानी, कुलर आदिको पानी कम्तीमा साताको एक पटक फेर्ने

–साँझ, बिहान करेसाबारीमा जाँदा, घर बाहिर टहलिँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकुन् भनेर विशेष सावधानी अपनाउने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप