शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरमा वातावरण प्रहरी !

बिहीबार, २९ चैत २०८०, १२ : ४८
बिहीबार, २९ चैत २०८०

ललितपुर । ललितपुर महानगरपालिकाले वातावरण र पर्यावरण क्षेत्रमा काम गर्न ‘वातावरण प्रहरी’ राख्ने भएको छ । अमेरिकी सहायता संस्था यूएसएडको ‘स्वच्छ हावा’ नामक कार्यक्रम अन्तर्गत महानगरपालिकाले १५ जना नगर प्रहरीलाई तालिम दिन लागेको हो ।

बिहीबारबाट सुरु भएको तीन दिने तालिमबाट नगर प्रहरीहरूले वातावरण कसरी स्वच्छ राख्ने, सफा राख्ने, बोट बिरुवाको संरक्षण कसरी गर्ने र महानगरवासीलाई समेत यसबारे जनचेतना अभिवृद्धि गर्ने छन् । तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मेयर चिरिबाबु महर्जनले वायु प्रदूषणलाई नियन्त्रण गर्न नसके पनि न्यूनीकरणका लागि अनेक उपाय र प्रयास गर्न महानगर तयार रहेको बताए । उनले भने,‘ मेरो पहिलो कार्यकालमा ललितपुर महानगर भित्र धेरै वृक्षारोपण गरिएको थियो, कोभिडमा मानिसहरू घर भित्रै बस्नुपर्‍यो, बिरुवा पनि हुर्किए, वातावरण पनि सफा भयो । अब हामीले वातावरण प्रहरी नै भनेर फिल्डमा खटाउने छौँ । यो टोलीले स्थानीय स्तरमा जनचेतना अभिवृद्धि गराउने छ ।’ महर्जनले पछिल्लो पटक बसेको नगर सभाको बैठकमा नगर प्रहरी राख्ने निर्णय अनुरूप नै अहिले तालिम दिन लागिएको बताउँदै यो टोलीलाई आवश्यक भौतिक पूर्वाधारका लागि बजेटको व्यवस्था गरिने उल्लेख गरे । उनले ललितपुरलाई ‘क्लिन सिटी’ बनाउने आफ्नो अभियान जारी राख्ने बताए । 

कार्यक्रममा स्वच्छ हावा कार्यक्रममा प्रमुख एवं वातावरण विज्ञ भूषण तुलाधरले वातावरणको रक्षा गर्दा केही खतरा रहेको बताए । उनले  भने,‘ आगलागी र डढेलो नियन्त्रणमा जाँदा फायर फाइटरहरुको ज्यान जोखिममा रहन्छ । तर, जोखिम भित्र रहेर काम गर्दा वातावरणलाई स्वच्छ राख्न सकिन्छ ।’ तुलाधरले वातावरण प्रहरीलाई तालिम दिइसकेपछि उनीहरुले सर्वसाधारणमाझ सिकेका र जानेका कुरालाई चेतना अभिवृद्धि गराउने बताए । उनले उपत्यकाको वायु प्रदूषणबाट पीडित सडकमा ड्यूटी गर्ने प्रहरी नै रहेको बताए ।

महानगरपालिकाकी उपमेर मन्जली शाक्य बज्राचार्यले स्वच्छ हावा बनाउनु प्रत्येक नागरिकको कर्तव्य रहेकाले यस अभियान सञ्चालनमा सबैको साथ र सहयोग आवश्यक रहेको औँल्याइन् । उनले कोभिडमा अक्सिजन नहुँदा भोगेको पीडा अहिले पनि आम सर्वसाधारणमा ताजै रहेको बताउँदै भनिन्,‘ वातावरण विज्ञहरूले नै भनेअनुसार काठमाडौँ उपत्यकाको वायु स्वासप्रश्वासका लागि अयोग्य रहेछ, यस्तो अवस्थामा वातावरण सफा र स्वच्छ राख्नु सबैको कर्तव्य हुनेछ ।’ ललितपुर महानगरले स्वच्छ हावा र वातावरण पर्यावरणीय कार्य अन्तर्गत विभिन्न स्थानमा ४० वटा पार्क बनाइसकेको छ । अब ४५ रोपनी जग्गामा पोखरीसहितको ठुलो पार्क बनाउने तयारी योजना महानगरको छ । 

chiribabu

कार्यक्रममा ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र देव भारती, महानगर प्रहरी प्रमुख सिताराम हाछेथु लगायतको उपस्थिति थियो ।

green policesitaram

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप