बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बिजुलीमाया वन: श्रेष्ठ पुरस्कारबाट गीतकार थापा सम्मानित

बिहीबार, २९ चैत २०८०, २१ : ४८
बिहीबार, २९ चैत २०८०

हेटौँडा । बिजुलीमाया वन: श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कारबाट गीतकार राजेन्द्र थापा सम्मानित भएका छन् । गीतकार थापालाई एक लाख रुपैयाँ नगदसहितको बिजुलीमाया वन: श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार २०८० प्रदान गरिएको हो ।

भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपाल मकवानपुरले बिहीबार हेटौँडामा विशेष साङ्गीतिक कार्यक्रमकाबीच पुरस्कार थापालाई प्रदान गरेको हो ।

पुरस्कृत थापालाई कार्यक्रमका प्रमुख अतिथि नगेन्द्र थापाले नगद पुरस्कार सहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान समेत गरेका छन् । विगत पाँच दशकभन्दा बढी समयदेखि निरन्तर नेपाली गीत लेखनको क्षेत्रमा कलम चलाउँदै आएका वरिष्ठ गीतकार थापाले आधुनिक गीतदेखि चलचित्र क्षेत्रमा समेत चर्चित गीतहरू सिर्जना गरेका छन् ।

उनका पोहोर साल खुसी फाट्दा, पर लैजाऊ फूलहरू, यो मन त तलाउ हो जस्ता कैयन आधुनिक गीतहरू चर्चित रहेका छन् । हेटौँडाका उद्यमी व्यवसायी कन्हैयाकृष्ण श्रेष्ठले विसं २०६४ सालदेखि आफ्नी आमा बिजुलीमाया वन: श्रेष्ठको नाममा स्थापना गरेको पुरस्कार गीतकार थापालाई प्रदान गर्न पाउँदा अत्यन्तै खुसी लागेको प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठले बताए ।

उनले आगामी दिनमा पनि थापाका कलमबाट कालजयी गीतको रचना हुने र नेपाली गीतसङ्गीतको श्रीवृद्धिमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । बिजुलीमाया वन: श्रेष्ठ अन्तर्राष्ट्रिय  पुरस्कार यसअघि अम्बर गुरुङ, प्रेमध्वज प्रधान, भक्तराज आचार्य, फत्तेमान राजभण्डारी, शान्ति ठटाल, प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ, न्हुच्छेबहादुर डङ्गोल, मिरा राणा, कर्म योञ्जन, चेतन कार्की, दाबा ग्याल्मोलाई प्रदान गरिएको थियो ।

यस्तै कार्यक्रममा यस वर्षको भीम विराग युवा सङ्गीत पुरस्कार २०८० गायिका निशा देसारलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशी नगद २० हजार रुपैयाँ रहेको छ । सो पुरस्कार यस अघि शिव परियारलाई प्रदान गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप