नयाँ वर्षमा नेपाली चलचित्रलाई दर्शकको साथ
काठमाडौँ । नयाँ वर्षलाई लक्षित गरी हलहरूमा तीन नेपाली चलचित्र प्रदर्शनमा छन् । २०८० सालको अन्तिम दिन शुक्रबारदेखि रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला’, फिडेल देवकोटा निर्देशित ‘द रेड सुटकेस’ र चौथो सातामा ‘महाजात्रा’ प्रदर्शन भइरहेको छ ।
वितरकले दिएको जानकारीअनुसार आज तीनै चलचित्रका अधिकांश शोे ‘हाउसफुल’ छन् । नयाँ वर्षमा दर्शकले नेपाली चलचित्र हेर्न चाहेको यसले प्रमाणित गरेको छ । डिग्री पास बेरोजगारको कथालाई प्रस्तुत गरिएको चलचित्र ‘डिग्री माइला’ मा अभिनेता दयाहाङ राई शीर्ष भूमिकामा रहेका छन् । युवाको सपना र क्षमतालाई प्रस्तुत गरिएको नाटक ‘डिग्री माइला’ कै पात्रबाट प्रभावित भई चलचित्र तयार गरिएको हो ।
“यो पात्रले हाम्रो समाजको धेरै पक्षलाई देखाएको छ । शिक्षा, समाज, ग्रामीण अवस्था र युवाको बेरोजगारी अवस्थालाई माइलाको पात्रमार्फत व्यक्त गरिएको छ”, अभिनेता राईले भने, “यो पात्रलाई नाटकबाट चलचित्रमा ल्याउने सपना बल्ल पुरा भयो । यो कथा धेरैसम्म पुर्याउनु थियो ।”
डिग्री माइलामा अभिनेता राईसँगै आँचल शर्मा, विजय बराल, बुद्धि तामाङ, माओत्से गुरुङ, प्रकाश घिमिरेलगायत कलाकारले अभिनय गरेका छन् । कलाकारहरूले हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छन् । प्रदर्शन गरिएको अर्को चलचित्र ‘द रेड सुटकेस’ मा वैदेशिक रोजगारीमा पुगेका युवाको कथा देखाइएको छ । चलचित्रमा अभिनेता बिपिन कार्की, सौगात मल्ल, प्रवीन खतिवडा, अभिनेत्री सृष्टि श्रेष्ठलगायतले अभिनय गरेका छन् ।
विमानस्थलबाट एउटा रातो सुटकेस लिएर गाउँतर्फ लाग्ने यात्रीले यात्राका क्रममा भोगेको कथालाई चलचित्रमा प्रस्तुत गरिएको लेखक तथा निर्देशक देवकोटाले बताए । “हामीले मिथक शैलीमा नेपालको आप्रवासी परम्परा र नियतिलाई पृष्ठभूमिमा राखेर यो चलचित्रको कथा तयार गरेका छौँ”, उनले भने, “वर्तमान समयलाई दस्तावेज गरेका छौँ । यसले हाम्रो रहनसहन र समाजलाई देखाउँछ ।”
चौथो सातामा प्रदर्शनरत चलचित्र ‘महाजात्रा’ मा दर्शकको उपस्थिति घटेको छैन । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको महाजात्रामा हरिवंश आचार्य, बिपिन कार्की, वर्षा राउत, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, दिव्य देवलगायतको अभिनय छ ।
निर्माता दीपेश खत्रीले तीन सातामा नेपालमा १४ करोड र विदेशमा नौ करोडसहित विश्वभर २३ करोडको व्यापार (ग्रस कलेक्सन) गरेको उनको दाबी छ । आज १ गते तीनै नेपाली चलचित्रको शो भरिभराउ भएकाले कूल रु तीन करोड बराबरको व्यापार गर्ने अनुमान वितरकको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण