स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
सारांश
- चलचित्र क्षेत्रमा स्थापित भइसकेका फिल्म स्टारहरू रङ्गमञ्चमा अभिनय गर्न उत्सुक देखिएका छन्, जसलाई एक सकारात्मक परिवर्तनका रूपमा हेरिएको छ ।
- राजेश हमालदेखि नम्रता श्रेष्ठसम्मका स्थापित फिल्मी अनुहारहरूले रङ्गमञ्चमा पाइला टेकिसकेका छन्, जसले नेपाली रङ्गमञ्चको विकास र विस्तारका लागि उत्साहजनक सङ्केत दिएको छ ।
- स्टार कलाकारहरूको रङ्गमञ्चमा आगमनले नयाँ दर्शक थप्ने, व्यावसायिकता सिकाउने र रङ्गमञ्चलाई आर्थिक रूपमा सबल बनाउने जस्ता पारस्परिक लाभका अवसरहरू सिर्जना गर्छ ।
चार दशकदेखि रङ्गमञ्चमा सक्रिय भएको नाताले म अहिले निकै फरक अनुभूति गरिरहेको छु । हिजो र आजको नेपाली रङ्गमञ्चको परिदृश्य नियाल्दा एउटा निकै सुखद् र अर्थपूर्ण परिवर्तनको महसुस भइरहेको छ । कुनै समय रङ्गमञ्चमा काम गर्ने कलाकारहरू चलचित्रमा प्रवेश गर्नका लागि निकै सङ्घर्ष गर्थे र त्यहाँ पुग्न मरिहत्ते गर्थे । रङ्गमञ्चलाई चलचित्रमा जाने एउटा भर्याङका रूपमा मात्र हेरिने सङ्कुचित सोच समाजमा व्याप्त थियो ।
आज समय फेरिएको छ । चलचित्र क्षेत्रमा स्थापित भइसकेका, पर्याप्त नाम, दाम र लोकप्रियता कमाइसकेका फिल्म स्टारहरू धमाधम नाटकघरतिर फर्किरहेका छन् । उनीहरू रङ्गमञ्चमा अभिनय गर्न उत्सुक देखिएका छन् । यो परिवर्तनलाई मैले निकै सकारात्मक र स्वाभाविक प्रक्रियाका रूपमा लिएको छु ।
हाम्रो रङ्गमञ्च यात्रा र अनुभवमा यो अभ्यास केही नयाँ अवश्य देखिएला, तर अन्तर्राष्ट्रिय रङ्गमञ्चमा यो निकै पहिलेदेखि स्थापित र नियमित प्रक्रिया हो । विश्वका धेरै विकसित मुलुकहरूमा चलचित्रका स्थापित स्टारहरू रङ्गमञ्चमा आउने र नाटकका कलाकारहरू चलचित्रमा जाने अभ्यास निकै पहिलेदेखि चल्दै आएको छ । हामीकहाँ भने विगतमा रङ्गमञ्चबाट चलचित्रमा जाने चलन थियो । चलचित्रबाट रङ्गमञ्चमा आउन सङ्कुचित ठान्थे । ढिलै भए पनि अहिले चलचित्रबाट रङ्गमञ्चमा आउने ढोका खुलेको छ र यसले निरन्तरता पाइरहेको छ ।
फिल्मका महानायक राजेश हमालदेखि लिएर चर्चित अभिनेत्रीहरू रेखा थापा, बेनिशा हमाल, सुरक्षा पन्त, सृष्टि श्रेष्ठदेखि नम्रता श्रेष्ठसम्मका स्थापित फिल्मी अनुहारहरूले रङ्गमञ्चमा पाइला टेकिसकेका छन् । यो नेपाली रङ्गमञ्चको विकास र विस्तारका लागि एउटा अत्यन्तै उत्साहजनक सङ्केत हो भन्ने मलाई लाग्छ ।
मलाई धेरैले सोध्छन्, ‘चलचित्रमा स्थापित भइसकेका, सेवा–सुविधा र चमकधमक भोगिसकेका स्टार कलाकारहरू फेरि किन नाटकको कठिन साधना र दुःख झेल्न आउँछन् ?’ मेरो विचारमा यसको सिधा र सरल जबाफ हो– अभिनयको भोक ।
रङ्गमञ्चमा चलचित्र कलाकारहरूको आगमनलाई कतिपयले अस्थायी फेसन वा सस्तो लोकप्रियताको माध्यमका रूपमा पनि आलोचना गर्ने गरेका छन्, तर मैले यसलाई त्यसरीमात्र हेरेको छैन ।
चलचित्रमा प्राविधिक पक्षहरू निकै हाबी हुन्छन् । त्यहाँ ‘कट’ र ‘टेक’का सुविधा हुन्छ । सम्पादनको टेबुलमा कलाकारको त्रुटिलाई सुधार्न सकिन्छ, तर रङ्गमञ्चमा कलाकारले दर्शकको अगाडि प्रत्यक्ष उभिएर, विनाकुनै प्राविधिक सहारा आफ्नो कला प्रदर्शन गर्नुपर्ने हुन्छ । यो जीवन्तता र दर्शकको तत्कालै प्राप्त हुने प्रतिक्रियाले कलाकारलाई एउटा छुट्टै किसिमको आत्मसन्तुष्टि दिन्छ, जुन चलचित्रको पर्दामा पाउन कठिन हुन्छ । उनीहरूमा रहेको त्यही अभिनयको असली तिर्खा मेटाउन रङ्गमञ्चतिर आकर्षित भएका हुन् जस्तो मलाई लाग्छ ।
रङ्गमञ्चमा चलचित्र कलाकारहरूको आगमनलाई कतिपयले अस्थायी फेसन वा सस्तो लोकप्रियताको माध्यमका रूपमा पनि आलोचना गर्ने गरेका छन्, तर मैले यसलाई त्यसरीमात्र हेरेको छैन । यो कुरा सत्य हो कि उनीहरू सधैँका लागि नाटकमा मात्र सीमित हुन सक्दैनन् । किनकि उनीहरू चलचित्रको व्यस्त व्यावसायिक तालिकामा हुन्छन् ।
रङ्गमञ्चले ठुलो साधना, अनुशासन र समयको माग गर्छ । एउटा नाटक तयार पार्न कम्तीमा महिना दिनसम्म नियमित रिहर्सल गर्नुपर्छ र प्रदर्शनका दिनहरूमा पनि निरन्तर समय दिनुपर्छ । यस्तो अवस्थामा उनीहरूले सधैँभरि नाटकका लागि समय निकाल्न सम्भव हुँदैन । त्यसैले उनीहरूले भ्याएको बेलामा आक्कलझुक्कल नाटक गर्नुलाई अस्थायी फेसन भन्नुभन्दा पनि समयको व्यवस्थापनका रूपमा बुझ्नु उपयुक्त हुन्छ । उनीहरूले आफ्नो व्यस्तताका बिच समय निकालेर नाटकमा अभिनय गर्नु समग्र रङ्गमञ्चकै हितमा छ जस्तो मलाई लाग्छ ।
चलचित्रका स्थापित अनुहारहरूलाई हेर्न धेरै दर्शकहरू नाटकघरसम्म आउने सम्भावना रहन्छ, जसले रङ्गमञ्चमा नयाँ दर्शक थप्न मद्दत गर्छ ।
कतिपयमा चलचित्र कलाकारहरूको प्रवेशले नाटकको गम्भीरता, यसको मौलिकता वा अनुशासनमा खलल पुग्छ कि भन्ने चिन्ता पनि देखिन्छ, तर मलाई त्यस्तो लाग्दैन । अभिनय आखिर अभिनय नै हो, चाहे त्यो क्यामेरा अगाडि गरियोस् वा स्टेजमा । जब कोही चलचित्र कलाकार रङ्गमञ्चमा प्रवेश गर्छ, उसले यहाँको अनुशासन र मर्यादालाई स्वतः आत्मसात् गर्नुपर्ने हुन्छ । रङ्गमञ्चको आफ्नै एउटा नियम र कठोर पद्धति छ, जसलाई पालना नगरी कोही पनि स्टेजमा टिक्न सक्दैन । यहाँ प्रवेश गरेपछि उनीहरूले पनि अन्य रङ्गकर्मी सरह नै कडा मेहनत गर्छन् । त्यसैले फिल्मी कलाकारहरूको आगमनले नाटकको मौलिकतालाई असर गर्दैन, बरु यसले यस क्षेत्रलाई अझ बढी गतिशील र ऊर्जावान् बनाउन सहयोग पुर्याउँछ । स्टार कलाकारहरूको सहभागिताले नाटकमा रौनक र दर्शक दुवै बढाउँछ ।
चलचित्रका स्थापित अनुहारहरूलाई हेर्न धेरै दर्शकहरू नाटकघरसम्म आउने सम्भावना रहन्छ, जसले रङ्गमञ्चमा नयाँ दर्शक थप्न मद्दत गर्छ । अर्कोतिर, यसले सँगै काम गर्ने नयाँ र सिक्दै गरेका नाट्यकर्मीहरूलाई पनि एउटा ठुलो अवसर प्रदान गर्छ । उनीहरूले स्थापित कलाकारहरूसँग काम गर्दा व्यावसायिकता सिक्न पाउँछन् र उनीहरूको आफ्नै अभिनय पनि धेरै दर्शकसम्म पुग्ने मौका पाउँछ । यो एक प्रकारको पारस्परिक लाभको अवस्था हो ।
चलचित्र कलाकार प्रवेश भएपछि नाटकको टिकट अलि महँगो भयो भन्ने गुनासो पनि सुनिन्छ । यसमा केही हदसम्म प्रभाव पारेको हुन सक्छ, किनकि उनीहरूको व्यवस्थापन, प्रचारप्रसार र पारिश्रमिकको पाटो अलि खर्चिलो हुन्छ । तर समय अनुसार हरेक क्षेत्र महँगो हुँदै गएको सन्दर्भमा नाटकको टिकटको मूल्य बढ्नुलाई मात्र अस्वाभाविक मान्न मिल्दैन । रङ्गमञ्चलाई आर्थिक रूपमा दिगो र आत्मनिर्भर बनाउनका लागि पनि यो प्रक्रिया आवश्यक देखिन्छ । यसले अन्ततः नाटकघर र रङ्गकर्मीहरूलाई नै आर्थिक रूपमा सबल बनाउन मद्दत पुर्याउँछ ।
मेरो लागि रङ्गमञ्च एउटा जीवन्त र गहिरो अभिव्यक्तिको माध्यम हो । यसको मुख्य विशेषता भनेकै यसमा कलाकारले प्रत्यक्ष अभिनय गर्छन् र यहाँ कुनै ‘रिटेक’ को सुविधा हुँदैन । यो एकपटक सुरु भएपछि अन्त्यसम्म स्वतः बगिरहन्छ । दर्शक र कलाकारबिचको यो प्रत्यक्ष जीवन्त सम्बन्ध नै रङ्गमञ्चको वास्तविक सुन्दरता हो । चलचित्र र रङ्गमञ्चबिचको यो दुरी क्रमशः घट्दै जानु र कलाकारहरूको आउजाउ बढ्नु नेपाली कला क्षेत्रकै लागि एउटा सुखद् र आशालाग्दो पक्ष हो ।
(वरिष्ठ रङ्गकर्मी सुनिल पोखरेलसँग रातोपाटीका लागि कुवेर गिरीले गरेको कुराकानीमा आधारित)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारी ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण