शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

‘दिनभरि टेबुलमा बसेर काम गर्‍यो, एक्सरसाइज छैन, हड्डी कमजोर हुने नै भयो’

हाम्रो खानाले पनि हड्डी कमजोर बनाइरहेको छ : हाडजोर्नी विशेषज्ञ डा. पाण्डे
शनिबार, ०८ वैशाख २०८१, १४ : २०
शनिबार, ०८ वैशाख २०८१

नेपाली समाजमा ढाड वा मेरुदण्डको अप्रेसन गर्नुहुँदैन, कुँजो भइन्छ, कुप्रो भइन्छ भन्ने भ्रम व्याप्त छ । यसले समाजमा हाडजोर्नी तथा मेरुदण्डका बिरामी घट्न सकेका छैनन् । चिकित्सा विज्ञानमा भइरहेको प्रविधि र ज्ञानको विकासले हाडजोर्नी तथा मेरुदण्डको समस्या निदान गर्न सहज र सुलभ बनाउँदै लगेको छ । धेरै दक्ष जनशक्ति र अस्पतालहरूमा सेवा पाइन थालेको छ । 

अर्कोतर्फ नेपालीहरूको खानपान र दैनिक जीवनशैलीले पनि सङ्ख्या घट्न दिएको छैन । अस्वस्थकर खाना र व्यायाम बिनाको भागदौडले हाडजोर्नी र मेरुदण्डको समस्या भएका बिरामी घट्न नसकेको विज्ञ चिकित्सकहरूले बताउँदै आएका छन् ।

 नेपाल अर्थोपेडिक एसोसिएसनका अध्यक्ष डा. विमलकुमार पाण्डेले मानिसहरूले खाइरहेको खानाले हड्डी कमजोर बनाइरहेको बताए । साथै नेपालीहरूको औसत आयु बढेको कारण पनि हाडजोर्नीको समस्या बढेको उनको भनाई छ। मानिसको हाडजोर्नीका समस्या नियमित व्यायाम र खानपानमा ध्यान दिनसके धेरै कम गर्न सकिने डा. पाण्डेले बताए। नेपालमा दिनहुँ भइरहने दुर्घटनाले धरै हाडजोर्नी र मेरुदण्डको समस्या बढाएको पनि डा. पाण्डेले बताए । प्रस्तुत छ डा. विमलकुमार पाण्डेसँग न्युज एजेन्सी नेपालले गरेको कुराकानीको सम्पादित अंश ।

  • अर्थोपेडिक्सको समस्या अहिले बढेको हो कि उपचार गर्न आउने कारणले बढेको जस्तो देखिएको ?

-दुई वटै छ यसमा । मान्छेहरू पहिले गाउँघरमा नै रोगहरू पालेर बस्दथे । अहिले सुविधा सम्पन्न भएकोले दूरदराजबाट पनि आउन थालेकाले उपचार गर्न आउने उद्देश्यले आउने भएकाले एउटा कारण बढेको हो । अर्को कारण पहिले रोगहरू लाग्दा यो यस्तै हो भनेर सहेर बस्थे भने अहिले केही समस्या भयो भने म राम्रोसँग, राम्रो जिन्दगी जिउन चाहन्छु, मलाई कहीँ दुख्नुभएन, म स्वस्थ हुन चाहन्छु भनेर डाक्टरहरू कहाँ अथवा अस्पतालमा आउने बढेको छ । जति पनि देश विकास हुँदै जान्छ, सवारी साधनहरू बढेपछि दुर्घटनाहरूको सङ्ख्या पनि बढेको हुन्छ, त्यसले गर्दा पनि अर्थोपेडिकको केसहरू बढेको हो ।

  • त्यो बाहेक अरू इन्डिकेटरहरु के–के हुन् बढेको हो भन्नेमा ?

-पहिले दुई, चारवटा अस्पतालहरू मात्रै थिए । अहिले पूर्व मेचीदेखि महाकालीसम्म धेरै अस्पतालहरू बनेका छन् । अर्थोपेडिक सर्जनहरू पनि धेरै नै बढेका छन् अहिले । ७/८ सयको हाराहारीमा पुगिसकेका छन्,अर्थोपेडिक सर्जन । सबैजना नै प्रायः व्यस्त हुनुहुन्छ । जति जनतामा पहुँच पुग्छ, स्वास्थ्यको बिरामीको सङ्ख्या बढ्ने भयो । उपचार खोज्ने बिरामीहरूको सङ्ख्या बढ्ने भयो नि त ।

-जीवनशैलीको उपज पनि हो । र स्वास्थ्यकर जिउने अवस्था अहिले छैन । खानादेखि बासको तौरतरिका राम्रो छैन । एक्सरसाइज छैन ।
  • समाजमा स्पाइनसम्बन्धी समस्या धेरै छन्, भौतिक/शारीरिक रूपमा पनि यो देखिन्छ वा के हुन्छ ?

-स्पाइनका समस्याहरू बढेका कारणहरू एउटा कारण त मान्छेहरूको अहिले जीवनस्तरमा हेर्ने हो भनेदेखि आयु नै बढेको छ । पहिले सर्वसाधारण मान्छे ५७ वर्ष बाँच्दथे भने अहिले गएर ६०/६५, ७०/८० वर्षसम्म मज्जाले बाँचेको हुन्छ । हाम्रो शरीर जन्मिएपछि खिइँदै जाने हो । हड्डीहरु खिइँदै जाने हो । ४०/५०/६० वर्षसम्म राम्रै रहन्छ । त्यसपछि खिइने प्रक्रिया सुरु हुन्छ । मान्छे जति लामो समयसम्म बाँच्दै गयो अर्थोपेडिकको समस्या बढ्दै जान्छ । खिइँदै जाने चिज हो नि । त्यसले गर्दा अर्थोपेडिकको समस्या बढ्दै गएको हो । अर्को कारण, पौष्टिक खानेकुराहरू अहिले छैन । बजारमा हेर्‍यो सबै मिसावट । विषादीहरू त्यत्तिकै छ । गुणस्तरीय खाना पाउँदैन । त्यसले प्रत्यक्ष रूपमा हड्डीलाई कमजोर बनाउँछ । प्रदूषण त्यत्तिकै छ । दिनप्रतिदिन थपिँदै जाँदा हड्डी पातलो हुँदै जाने क्रमहरू बढ्दै गएको छ । अर्को कुरा, मान्छेहरू आजकाल विश्राम गर्दैनन् । पहिले जस्तो । किनभने प्रतिस्पर्धा बढी छ, बिहानदेखि बेलुकासम्म काम नै काममा खटेका हुन्छन् । दैनिक ४०/५० किलोमिटर यात्रा गरेको हुन्छन् । त्यसले शरीरलाई, हाडजोर्नीहरुलाई लोड बढी पर्छ । त्यसले प्रत्यक्ष हड्डीको समस्याहरू पर्छ ।

  • यो हाम्रो जीवनशैलीको उपजमात्र हो वा अन्य कुनै कारणहरू पनि छन् ?

-जीवनशैलीको उपज पनि हो । र स्वास्थ्यकर जिउने अवस्था अहिले छैन । खानादेखि बासको तौरतरिका राम्रो छैन । एक्सरसाइज छैन । दुई पाइला हिँड्नमा अहिले मोटरसाइकलमा जान्छ । गाडीमा जान्छ । दिनभरि टेबुलमा बसेर काम गर्छ । एक्सरसाइज छैन । एक्सरसाइज भएन भने हड्डी कमजोर हुने स्वाभाविक नै हो । हड्डी कमजोर भएपछि विभिन्न हड्डीको रोगहरूले आक्रमण गरिहाल्छ । हाम्रो जीवनशैलीको उपज पनि हो । त्यसमाथि पनि यसलाई कमजोर पार्ने अन्य भौतिकहरू, खाद्यान्नहरू, खानाले नि असर परेको छ । वातावरण र खाद्यान्नको प्रदूषणले र हाम्रो जीवनशैलीले प्रभाव पारेको छ ।

  • नेपालमा अर्थोपेडिक समस्यालाई कसरी हेरेको पाउनुहुन्छ, आम बुझाइ कस्तो पाउनुहुन्छ ?

-दुई प्रकारका मान्छे देखिन्छन् प्रायः । एक प्रकारका मान्छेहरू स्वस्थ रहन चाहन्छन् । केही समस्या भयो अस्पताल जाऊँ, डाक्टरको सरसल्लाह लिऊँ । म स्वस्थ तरिकाले बस्न चाहन्छु, ढाड दुख्यो, नसा च्यापियो, खुट्टा झमझम गर्न थाल्यो भनेदेखि मलाई यस्तो हुनुभएन, म स्वस्थ हुनुपर्‍यो भनेर उपचार खोज्दै हिँड्ने हुन्छ भने कतिपय चाहिँ उपचार गर्नुहुँदैन । नसा अप्रेसन गरियो भने झनै कुँजो भइन्छ । मेरो खिइने उमेरले दिएको हो । यसैगरी दुःख सहेर बाँच्नुपर्छ भन्ने एकथरी त्यस्ता जनसङ्ख्या पनि नेपालमा पनि देखिन्छ । शिक्षाको अभावले र उहाँहरूलाई बुझाउन नसक्दा प्रायजसो ६०/६५ वर्षपछिको मान्छेहरूमा हड्डीको समस्या देखिन्छ । जुन एक्सरसाइजबाट, खाना व्यवहार, अप्रेसनबाट उहाँहरूलाई स्वस्थ बनाउन सक्ने अवस्था हुँदाहुँदै पनि मान्छेहरूले चाहँदैनन् । यस्तै हो भनेर त्यसलाई स्विकारेर बस्ने पनि देखिएको छ ।

  • युवाहरूमा पनि यस्तो समस्या त देखिएको छ नि, हजुरको अनुभवले के भन्छ ?

-अब युवाहरूमा पनि धेरै देखिन्छ । हामी त स्कुलबाट घर पुगेपछि एक, दुई घण्टा खेल्थ्यौँ । उफ्रिन्थ्यौँ । अहिलेको बालबालिकाहरू दिनभरि स्कुलमा टेबलमा बसेको छ । टेबल वर्क गरेको छ । घर गएपछि ल्यापटप, आइप्याड चलाएर बसेको छ । गेम कम्प्युटर खेलेको छ । आजकालका युवाहरूमा एक्सरसाइजको कमी देखिन्छ । त्यसले असर हड्डीको स्वास्थ्यमा पर्छ । त्यसले गर्दा पछिल्लो पुस्तामा समस्या आउने हो कि भन्ने छ ।

अरुको दाँजोमा हाम्रोमा धेरै सस्तो छ । तैपनि सर्वसाधारण जनताको आर्थिक अवस्थाले गर्दा खेरी सबैले गुणस्तरीय स्वास्थ्यको पहुँच पाउन सकेका छैनन् ।
  • हाम्रोमा उपचार सेवा कस्तो छ ?

-उपचारको त अहिले धेरै राम्रो भएको छ । अर्थोपेडिक्स र स्पाइनसम्बन्धीको धेरै राम्रो भएको छ । पूर्वदेखि पश्चिमसम्म अस्पतालहरू बनेका छन् । अर्थोपेडिक डाक्टरहरू महेन्द्रनगरमा पाउनुहुन्छ । जुम्लामा पनि सेवा छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काठमाडौँमा जस्तो किसिमको अप्रेसनहरू गरिन्छ, जटिल अप्रेसन त्यहाँ गर्नुभएको छ । दक्ष जनशक्ति बाहिर गएर तालिम लिएर आउनुभएको छ । विभिन्न मेडिकल कलेजहरूमा वर्कसप भइरहेको छ । उहाँहरूले आफ्नो तर्फबाट सबैले प्रयास गरिरहनुभएको छ । त्यसकारण हाडजोर्नीको पछिल्लो दश, पन्ध्र वर्षमा राम्रो सुधार देखिएको छ जनशक्तिको हिसाबले ।

  • आम जनताको उपचारको पहुँचमा कत्तिको महँगो छ नेपालको हकमा ?

-अरुको दाँजोमा हाम्रोमा धेरै सस्तो छ । तैपनि सर्वसाधारण जनताको आर्थिक अवस्थाले गर्दा खेरी सबैले गुणस्तरीय स्वास्थ्यको पहुँच पाउन सकेका छैनन् । दबाई त केही किनेर खाउँला । जब अप्रेसनको कुरा आउँछ, हाडजोर्नीको अप्रेसनको, घुँडा फेर्नुपर्‍यो । घुँडा फेर्ने मेसिन नै चाहियो । मेरुदण्डको नसा च्यापिएको छ । ढाड बाङ्गोटिङ्गो छ । सोझो पार्नुपर्‍यो । सामान नै चाहियो । ती चिज चाहिँ महँगो छ । बीमा पनि राम्रोसँग जनताले पाएका छैनन् । जसले पाउनुपर्ने तिनले पाएका छैनन् । खर्चको भार वहन गर्ने क्षमता बिरामीमा कम छ । ती सामग्रीहरू यहाँ उत्पादन हुँदैनन् । बाहिरबाट झिकाउनुपर्छ । त्यति गर्दा पनि सबैले अफोर्ड गर्न सक्दैनन् ती चिजहरू । बीमाको राम्रो कभरेज नभएर पनि स्वास्थ्य सर्वसुलभ रूपमा जनताले पाएका छैनन् । डाक्टरको क्षमता छ । सबै विशेषज्ञको क्षमता छ । अस्पतालहरू पनि धेरै बनिसकेका छन् । तैपनि गरिबीको कारणले गर्दा सबैले पाएका छैनन् ।

  • हजुरकोमा बिरामीहरू आउँदा कस्तो अवस्थामा आउने गरेका छन् ?

-रोग लागिसकेपछि चाँडो अवस्थामा अझै पनि आइपुगेका छैनन् बिरामीहरू । पहिलेभन्दा अहिले फरक देखिएको छ । अहिले चाहिँ अलि चाँडो आउँछन् । तर पनि समयमै अस्पताल आउन सकेका छैनन् जनताहरू । अस्ति नै म मुगु गएको थिएँ । त्यहाँका जनता नेपालगन्जसम्म पनि आउन सकेका छैनन् । काठमाडौँ त परैको कुरा । आउन नसक्दा जुनबेला उपचार चाहिएको थियो, त्यो बेलामा पाउँदैनन् । पछि समस्या जटिल भइसकेपछि उपचार खोज्दा खेरी त्यसको उपलब्धि हुन सक्दैन ।

स्पाइनको उपचार गरिसकेपछि झन् उभिएर हिँड्न सकिन्छ त । मेरुदण्डमा नशा च्यापिएर हातखुट्टा नचल्ने बिरामी पहिले ओछ्यानमा पर्दथ्यो ।
  • समाजमा यस्तो समस्याका बारेमा भ्रम त छैन, गलत बुझाइका कारण समस्या भोग्नुपरेको त होइन, के पाउनुभएको छ ?

-अझैपनि म कहाँ ढाडको बिरामी आउनुहुन्छ । कतिको अप्रेसन गर्‍यो भने राम्रो गर्न सकिन्छ । उहाँहरूले एक्सरसाइज केही समय गर्नुहुन्छ । औषधि पनि खानुभएको हुन्छ । ढाडमा सुई लगाउन कन्भिन्स गर्नुपर्छ । अहिलेपनि जनमानसमा ढाडको, मेरुदण्डको अप्रेसन गर्नुहुँदैन, गर्‍यो भने हातखुट्टो चल्दैन, प्यारालाइसिस हुन्छ भन्ने धारणा छ । त्यो कसरी भयो भने, विगतको समयमा विशेषज्ञहरूको अभाव थियो देशमा । र देशमा अप्रेसन गर्ने साधन, सुविधाहरू थिएन । सुविधा र विशेषज्ञ नहुँदा गर्ने उपचार र अहिले सुविधा र विशेषज्ञ सबै भएर, विश्वमा भएका कतिपय राम्रा टेक्नोलोजीहरू अहिले नेपालमा पनि छ । हामीले आफ्नो शैलीमा उपलब्ध स्रोत, साधनबाट हामीले गर्न सक्छौँ । मुख्य कुरो दक्ष जनशक्तिहरू अहिले प्रशस्त छ । त्यस कारण जहाँ दक्ष जनशक्तिले उपचार हुन्छ, त्यो ठाउँ पत्ता लगाएर उपचार गर्‍यो भने जटिल छैन । मेरुदण्डको उपचारबाट झन् फाइदा नै हुन्छ । यदि दक्ष जनशक्ति, अनुभव छैन भनेदेखि त्यो अवस्थामा जति आशा गरिएको हो उपचारपछिको उपलब्धि त्यो नहुन सक्छ ।

  • स्पाइनको अप्रेसन गरेको बिरामी धेरै समय बाँच्दैन भन्ने आम बुझाइ आज पनि छ नि ?

-अब त्यो छैन । स्पाइनको उपचार गरिसकेपछि झन् उभिएर हिँड्न सकिन्छ त । मेरुदण्डमा नशा च्यापिएर हातखुट्टा नचल्ने बिरामी पहिले ओछ्यानमा पर्दथ्यो । ओछ्यानमा परेपछि विभिन्न समस्याले घाउ हुन्थ्यो र बित्थ्यो । अब त्यस्ता बिरामीहरूलाई हामी ओछ्यानमा सुताउँदैनौँ । त्यस्ता बिरामीहरूलाई जति सक्यो अप्रेसन गरेर ढाडलाई सिधा बनाएर कमसेकम ह्वीलचेयरमा बसाउने, डुलाउने गर्छौँ । जब मान्छे खाटबाट उठेर आफ्नो काम आफैँ गर्न थाल्छ । तब आयु लम्बिन्छ । ढाडको अप्रेसन गरेपछि मान्छे मर्छन् भन्ने अहिले छैन त्यस्तो ।

-म के भन्छु भने रोग लाग्नुभन्दा अगाडी हामीले विचार गर्नुपर्छ । दुर्घटना हुनु अगाडी नै यसबाट बच्नुपर्छ ।
  • दुर्घटना पछि अस्पतालमा उपचार गर्न आउने क्रममा यहाँहरू उपचारमा संलग्न हुँदै गर्दा कस्ता खालका समस्याहरू यहाँहरूले भोग्नुपरेको छ, व्यवहारिक पाटो एउटा होला, नीतिगत पाटो अर्को होला त्यो चाहिँ कस्तो छ ?

- सबै कुरा आर्थिक भारमा आएर ठोक्किन्छ । हाडजोर्नीको धेरै रोगीहरू दुर्घटनाबाटै आउनुहुन्छ । ती बिरामीको उपचारमा आर्थिक समस्या पर्ने गरेको छ । मैले देखेको राम्रो बीमाको सिस्टम हुनुपर्छ । जबसम्म राम्रो बीमा आउँदैन, उपचार महँगो छ । जनमानसलाई आर्थिक भार परेको हुन्छ । डाक्टरलाई उपचार गर्न सिप जानेको छ, तर यो चिज चाहियो भने त्यो चाहिँ समस्या अहिलेसम्म देखिएको छ । सबै अस्पतालमा सबै चिजको सुविधा छैन । नेपालमा अझै पनि दुर्घटना भइसकेपछि यो अस्पतालमा जाने भनेर कुनै मापदण्ड छैन । जता पायो दौडियो । तर त्यहाँ के सुविधा छ त ? बिरामीलाई तुरुन्तै हुने उपचार उसको जीवन बचाउने क्षमता त्यहाँ पूर्वाधार छ कि छैन त्यो हेरिएको छैन । त्यस्तो नीति छैन । त्यसले गर्दा रुमल्लिएको छ ।

  • अन्तिममा आम जनतालाई यहाँको सन्देश के छ ?

-म के भन्छु भने रोग लाग्नुभन्दा अगाडी हामीले विचार गर्नुपर्छ । दुर्घटना हुनु अगाडी नै यसबाट बच्नुपर्छ । कुनै हाडजोर्नीको रोग छ भनेदेखि अस्पताल अवश्य जानुपर्ने हुन्छ । घरमै बसेर एक दुई दिन हेरौँ भनेर नबसौँ । आजकाल पाइलैपिच्छे अस्पताल छ गएर परामर्श लिन सकिन्छ । दुर्घटना भयो भने घरमै नबस्ने अस्पताल जाने । अर्को सन्देश म के दिन चाहन्छु भने स्वस्थ रहनुपर्‍यो । व्यायाम नितान्त जरुरी छ । सबैले दैनिक व्यायाम गर्नुपर्‍यो । दिनमा ४५ मिनेट कमसेकम हिँड्ने गर्नुपर्‍यो । स्वच्छ खानेकुराहरू खाने गर्नुपर्‍यो । बिहानदेखि बेलुकीसम्म काम मात्रै होइन । बिच बिचमा समय निकालेर व्यायाम गर्नुपर्‍यो । यी चिज गर्‍यो भने हाडजोर्नीको रोग लाग्नुभन्दा अगाडी बच्न सक्छौँ । मद्यपान, धूम्रपान गर्नुभएन । धूम्रपान गर्नेको हड्डी जहिले पनि कमजोर हुन्छ । पान, गुट्खाले पनि हड्डी पातलो बनाउँछ । प्रोटिन र क्याल्सियममा जोड दिनुपर्‍यो जसले हाम्रो हड्डीलाई बलियो बनाउँछ । जंकफुड खानु भएन । त्यहाँ भएका रासायनिक पद्धार्थले हाम्रो हड्डीलाई पातलो बनाउँछ । महिलाहरूको महिनावारी रोकिइसकेपछि त्यसपछिको आठ, दश वर्षमा हड्डी धेरै पातलो हुँदै जान्छ । ती महिलाहरूले एक्सरसाइज गर्ने, क्याल्सियमयुक्त खानेकुराहरू खानुपर्छ । भिटामिन डी खान मेरो सुझाव छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप