शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

‘लू’सँग लड्न सरकारसँग छैन रणनीति, के हुन् ‘लू’का लक्षण र बच्ने उपाय ?

मङ्गलबार, ११ वैशाख २०८१, ११ : ०१
मङ्गलबार, ११ वैशाख २०८१

काठमाडौँ । विज्ञहरूले नेपालमा बढिरहेको गर्मी ('लू') सँग लड्न सरकारले राष्ट्रिय रणनीति बनाएर अगाडि बढ्नुपर्ने सुझाव दिएका छन् । नेपालमा लुको अवस्था अझै केही दिन रहने भएकाले सरकारले तत्काल सक्रियतापूर्वक काम गर्न सुझाव दिएका हुन् ।

यो वर्ष अधिक गर्मी र अधिक वर्षा हुने पूर्वानुमान रहेकाले पूर्वसूचना र पूर्व तयारीको काम अहिलेबाट नै सुरु गर्न सरकारसँग आग्रह गरेका छन् । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले सरकारले 'लू'बाट बच्नका लागि गर्मीसँग लड्ने राष्ट्रिय स्वास्थ्य रणनीति बनाउन जरुरी रहेको बताए । 

उनले राष्ट्रिय रूपमा 'लू' आएको अवस्थामा, अत्यधिक गर्मी भएको अवस्थामा के गर्ने ? कसले गर्ने, कहाँ गर्ने ? सहर/गाउँ कुन ठाउँलाई बढी प्राथमिकता दिएर योजनाहरु बनाउने भन्नेबारेमा चासो दिनुपर्नेमा जोड दिए । 

आम नागरिकहरूलाई 'लू'बाट जोगाउन अहिले नै प्रतिकार्यका कार्यक्रम लागू गर्न उनले आग्रह गरे । उनले रोजगारीको क्षेत्रदेखि किसानहरूलाई समेत गर्मीले बढी असर गर्ने भएकाले कस्तो सावधानी अपनाउने र कस्तो योजना बनाएर अघि बढ्ने भन्नेबारेमा सरकार चनाखो हुन जरुरी रहेको बताए । 

औसत भन्दा बढी गर्मी हुने

यस वर्ष नेपालमा औसत भन्दा बढी गर्मी हुनेछ । साथै बढी वर्षा हुने पूर्वानुमान रहेको विज्ञ उप्रेतीले बताए । नेपालमा वैशाख, जेठ र असारको महिनासम्म बढी गर्मी हुने र असारदेखि असोज सम्म औसत भन्दा बढी वर्षा हुने पूर्वानुमान रहेको बताए । उनले यो अवस्थालाई सामान्य मौसममा परिवर्तन भएको अवस्थाका रूपमा बुझ्न नहुने बताए । लामो समय देखि समुन्द्रमा एल निनो जलवायु चक्रको असर थियो । जसले हिउँदमा वर्षा हुन दिएन । यस्तै ला निना नामको जलवायु चक्रको प्रभाव बढिरहेकाले हिट वेभको अवस्था छ । यी दुवै अवस्था जलवायु परिवर्तनसँग जोडिएको उनको भनाइ छ । 

उनले यही समयमा गत वर्ष विश्व तापमान वृद्धि १.१ डिग्री रहेकोमा अहिले विश्व तापमान वृद्धि १.२ डिग्री पुगेको बताए । विश्व तापमानमा वृद्धि हुनु, समुन्द्रको तापक्रममा आएको परिवर्तन र हिन्द महासागरको आइवोडी सकारात्मक भएको अवस्थालाई हेर्दा क्लाइमेटिक प्यारामिटरहरु आकर्षित भएको उप्रेतीको भनाइ छ । 

लामो समयको क्लाइमेटिक प्यारामिटर आकर्षित हुनुको अर्थ वा त्यसमा आएको परिवर्तनको अर्थ भनेको  जलवायु परिवर्तनको असर भएको उनले बताए । जलवायु परिवर्तनसँग विश्लेषण गर्ने दक्षिण कोरियामा अवस्थित एपेक सेन्टरले निकालेको विश्लेषणको आधारमा नेपालमा औसत भन्दा बढी गर्मी हुने अवस्था ९१ प्रतिशत रहेको उप्रेतीले बताए । 

नेपालमा तातो हावा अझै ५ दिनसम्म रहने

विज्ञ उप्रेतीकाअनुसार अबको ४ देखि ५ दिनसम्म नेपालमा 'लू' रहनेछ । पश्चिमी वायु सक्रिय भइ पानी परेको अवस्थामा भने 'लू' बाहिरिने बताए ।  आगामी शुक्रवारदेखि हल्का वर्षा हुने सम्भवना भएकाले तातो हावालाई विस्थापित गरी चिसो हुने अवस्था रहेको उनले बताए । अहिले वायुमण्डलीय चाप उच्च रहेको उनको भनाइ छ । वायुमण्डलीय उच्च चापले माथिबाट हावालाई धर्तीमा थिच्ने काम गरिरहेकोले बलियो पश्चिमी वायु र समुन्द्री आँधीले ल्याउने वाष्पीकरणले मात्रै 'लू'को अवस्था घटेर जाने उनले बताए । तीन महिनासम्म तातो हावा आउने÷जाने क्रम जारी रहने उनले बताए । 

के हुन् 'लू'का लक्षण ?

गर्मी मौसममा तातो हावा र बढ्दो तापक्रमका कारण 'लू' लाग्ने खतरा बढी हुन्छ । यदि अचानक शरीरको तापक्रम बढ्यो वा धेरै टाउको दुख्यो भने सावधान हुन जरुरी हुन्छ । यी दुवै 'लू' लागेको लक्षणहरू हुन् । 'लू' ले मिर्गौला, दिमाग र मुटुमा धेरै प्रभाव पार्दछ । जसबाट यी अंगहको कार्य क्षमता प्रभावित हुन्छ । 'लू' लागेपछि नाडी र श्वासप्रश्वासको गति तीव्र हुन्छ । छाला रातो हुनुलाई पनि 'लू' को लक्षणका रूपमा लिने गरिन्छ । केही मानिसहरूमा 'लू' का कारण छिटो छिटो पिसाब आउने, शरीर चिलाउने आदि लक्षणहरू देखा पर्दछन् ।

गर्मीबाट बच्न के गर्ने÷के नगर्ने ? विज्ञ उप्रेतीका सुझाव:

घरमै बस्ने ।

बसेको स्थानमा चिसो अवस्था कायम गर्ने ।

मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म घर, कार्यालय बाहिर हिँडडुल कम गर्ने, गर्नुपरे, छाता लगायतको प्रयोग गरेर मात्रै हिँडडुल गर्ने ।

गर्मीको बढी असर मुटुका बिरामी, बालबालिका, गर्भवती महिलालाई हुने भएकाले सम्बन्धित व्यक्तिहरूले स्वास्थ्यमा ध्यान दिने, सावधानी अपनाउने ।

गर्मीको प्रभाव न्यूनीकरण गर्न स्वास्थ्य चौकीदेखि अस्पतालसम्मको अवस्था नियाल्ने र तयारी अवस्थामा राख्ने ।

स्वास्थ्यकर्मी÷स्वास्थ्य स्वयंसेविकाहरूलाई गर्मीबाट बच्ने अवस्थाको बारेमा तालिम दिने ।

खानेकुरामा सावधानी अपनाउने: जस्तै चिया कफीको ठाउँमा लस्सी, मोही, दही, पुदिनाको रस, चामल पखालेको (चौलानी) खाने ।

प्रोटिनयुक्त खानेकुरा कम गर्ने/नखाने । जस्तैः दुध, माछा मासु आदि ।

सरकारले के गर्नुपर्छ ?

सरकारले भएका अस्पतालहरूको अवस्था नियालेर गर्मीबाट हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गरी सतर्क रहन आग्रह गर्नुपर्छ ।

स्थानीय सरकार (७५३ वटै पालिकाहरू) ले पालिकामा रहेका स्वास्थ्य केन्द्रहरूलाई सतर्क रहन आग्रह गर्नुपर्छ ।

क्षेत्रीय अस्पतालहरू पनि सक्रिय बनाउनुपर्छ ।

तीन तहकै स्वास्थ्य केन्द्रहरूले गर्ने कामको सन्दर्भमा स्पष्ट नीतिका साथ अघि बढ्नुपर्छ ।

पूर्व चेतावनीलाई ख्याल ख्यालमा लिनु हुँदैन र संवेदनशील हुन जरुरी छ ।

स्वास्थ्य आपत्कालीन केन्द्रलाई सक्रिय बनाउनुपर्छ ।

'लू' बाट बच्ने घरेलु उपाय:

घरबाहिर निस्किँदा छाताको प्रयोग गरौँ ।

घाममा निस्किँदा टाउको छोप्ने कपडाको प्रयोग गरौँ । यसरी पनि 'लू' बाट बच्न सकिन्छ ।

घरबाट बाहिर निस्कनु पर्‍यो भने चिसो पानी र चिसो सर्बत पिएर मात्रै निस्किने बानी बसालौँ ।

गर्मीबाट हिँडेर आउने बित्तिकै तत्काल चिसो पानी नपिउनुस् ।

गर्मी समयमा बारम्बार पानी पिइराख्नुस् । किनभने यसले शरीरमा पानीको मात्रालाई कम हुन दिँदैन ।

पानीमा कागती हालेर र नुन मिसाएर दिनमा तीन पटक जति पानी पिउनुभयो भने पनि 'लू' लाग्नबाट बच्न सकिन्छ ।

गर्मीमा बाहिर जाँदा खाली पेट नहिँड्नुस्, तरकारीको झोल पिउँदा पनि 'लू' बाट बच्न सकिन्छ ।

गर्मीमा कम खाना खाने बानी बसालौँ । खानामा दही अनिवार्य गरौँ । —न्युज एजेन्सी नेपाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप