शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ

मङ्गलबार, ११ वैशाख २०८१, २२ : ११
मङ्गलबार, ११ वैशाख २०८१

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देव प्रसाद गुरुङले नेपालमा माओवादी केन्द्रकै विचारको वरिपरि राजनीति घुमिरहेको बताएका छन् । चीन भ्रमणमा रहेका उनले मंगलबार हुनान फस्ट नर्मल युनिभर्सिटीका प्रोफेसर जिआङ चाङचुनसँगको भेटका क्रममा यस्तो बताएका हुन् । 

‘हाम्रो पार्टी संख्यात्मक हिसाबले केही सानो भएपनि माओवादीकै विचारको वरिपरी राजनीति छ’, उनले भने । उनले सी चिनफिङ विचारधाराको तारिफ गर्दै यो विचारधाराले प्रतिक्रियावादीहरूको घेराबन्दीलाई परास्त गर्न सहयोग गर्ने धारण राखे । उनले आफ्नो पार्टी र सरकार  एक चीन नीतिप्रति पनि प्रतिबद्ध रहेको पनि स्पष्ट पारे । 

सो क्रममा गुरुङ नेतृत्वको भ्रमण टोली र चिनियाँ कम्युनिस्ट पार्टी स्कुलिङ विभागका प्रोफेसर चाङचुनबिच विचार आदानप्रदान कार्यक्रम भएको थियो । प्रोफेसर चाङचुनले माओले चीनको आधुनिकीकरणमा जोड दिएको स्मरण गर्दै सोहीअनुसार चीन अघि बढिरहेको बताए ।  

उनले चीनले विश्वभर शान्ति फैलाउन चाहेको भन्दै आफ्नो देशले मानवताको हितमा काम गर्ने पनि बताए । उनले चीनको विकास पश्चिमा शैलीको नभई आफ्नै खालको रहेको पनि बताए । 

उनले चीनले सी विचारधारालाई व्यापकरुपमा चीनभर फैलाउन चाहेको भन्दै वर्तमान एआईको युगअनुकुलको प्रतिविधिलाई अनुसरण गर्दै विकास र समृद्धिको पथमा देश अघि बढिरहेको पनि बताए । 

यस्तै भ्रमण टोलीले हुनानमा रहेको हाइब्रिड धानको उत्पादन गर्ने कम्पनीको अवलोकन पनि गरेको थियो । सो क्रममा हाइब्रिड धानको उत्पादन प्रक्रियाबारे चिनियाँ पक्षले नेपाली टोलीलाई जानकारी गराएको माओवादी केन्द्रका केन्द्रीय सदस्य ओम शर्माले जानकारी दिए । 

यसैबिच भ्रमण टोलीको नेतृत्व गरेका देव गुरुङले गुआङ्गडोङको दक्षिणी प्रान्तमा गएराति आएको भीषण वर्षा र बढीले गरेको धनजनको क्षतिप्रति दुःख व्यक्त समेत गरेका छन् । चिनियाँ कम्युनिस्ट पार्टी हुनान पार्टी स्कुलमा समेत आबद्ध चाङचुनसँगको भेटमा गुरुङले जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप