बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

‘नेतृत्व अहङ्कारी र व्यक्तिवादी हुँदा आन्दोलनलाई नै धक्का पुग्यो’

एकीकृत समाजवादी सरकार फेरबदल केन्द्रित छैन  : अध्यक्ष नेपाल
शनिबार, १५ वैशाख २०८१, १७ : ५३
शनिबार, १५ वैशाख २०८१

मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान व्यवस्था र संविधान माथि नै चुनौती आइरहेको बताएका छन् । पछिल्लो समयमा लोकतान्त्रिक गणतन्त्र र संविधान तथा संघीयता माथि चुनौती आउन थालेको बताएका हुन् ।

शनिबार हेटौँडामा आयोजित एकीकृत समाजवादी पार्टी मकवानपुरको ९ औँ जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पछिल्लो समय व्यवस्था र संविधान माथि चुनौती दिने प्रतिगामी शक्ति सक्रिय भइरहेको बताए । ‘अहिलेको लोकतन्त्र, संविधान माथि नै चुनौती थपिएको छ । हामीले जनताको रगत पसिनासँग साटेर ल्याएको गणतन्त्र र संघीयता नै रहने हो की होइन भन्ने चुनौती आइरहेका छन्,’ उनले भने, ‘व्यवस्था र संविधानका विरुद्ध प्रतिगामी शक्तिहरू सक्रिय भएर लागिरहेका छन् । राष्ट्रियता माथि चुनौती आउने सम्भावना छ ।’ उनले वर्तमान व्यवस्था र संविधान जोगाउन सङ्घीयतावादी सबै शक्ति एकताबद्ध हुन जरुरी रहेको औँल्याए । 

राजनीति जनताको सेवा गर्ने सिद्धान्त रहेको र राजनीतिलाई लुट र ठगी धन्दा बनाउनु अपराध भएको उनको भनाई छ । एकीकृत समाजवादीले भ्रष्टाचार रहित रहेर इमानदारिता र जनताको सेवालाई राजनीतिको मुख्य मिसन बनाएको उनले बताए ।

‘राजनीति ठगी र लुटतन्त्रको नाम राजनीति होइन । राजनीतिमा लुट्ने र लुटेराको कुनै ठाउँ छैन । जनतालाई दुःख दिने, लुट्ने र ठग्ने तथा गलत काम गर्नेहरूलाई दण्डित गर्नुपर्छ,’ अध्यक्ष नेपालले भने ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै नेतृत्वमा अहङ्कार पलाउँदा विधि विधान र सिद्धान्त मेटाउन थाल्ने उनले बताए । उनले प्रतिनिधिसभा विघटनको घटना स्मरण गर्दै नेतृत्वमा व्यक्तिवादी प्रथा हाबी हुँदा संविधान र विधान मिच्न थाल्ने बताए । नेतृत्व अहङ्कारी र व्यक्तिवादी हुँदा जनताको बलमा अघि बढाएको आन्दोलनलाई नै धक्का पुग्ने उनले टिप्पणी गरे ।

पछिल्लो समय सत्ता राजनीति तारनतार परिवर्तन हुँदै गर्दा एकीकृत समाजवादी सरकार फेरबदल केन्द्रित नरहेको उनले बताए । जनताको पक्षमा काम गर्ने बलियो र दीर्घकालीन सरकार निर्माण गरेर आर्थिक सामाजिक र विकासका काम गर्न सरकारका नेतृत्व गरिरहेकाहरूलाई खबरदारी गरिरहेको उनले बताए । एकीकृत समाजवादी देश बनाउने विषयमा केन्द्रित रहेको उनको भनाई छ ।

अध्यक्ष नेपालका अनुसार राजनीतिमा निजी स्वार्थ सोचेर अघि बढ्न नहुने जिकिर गरे । त्याग र परिश्रम विना जनताले खोजे अनुसारको पार्टी निर्माण सम्भव नहुने उनको भनाई छ । एकीकृत समाजवादीले यथास्थितिवादी भएर जनतामैत्री बन्ने र अनुशासित, संस्कार सहितको कार्यकर्ता निर्माण गर्नुपर्ने अध्यक्ष नेपालले बताए । एकीकृत समाजवादीले चुनौतीको सामना गर्न सकिन्छ भन्ने विषय स्थापित गरेको उनले दाबी गरे ।

एकीकृत समाजवादी असल समाज र कार्यकर्ता निर्माण गरि समृद्धको यात्रा तय गर्न चाहेको उनले बताए । पार्टीको दशौं महाधिवेशनमा एकीकृत समाजवादीले नेपाली समाज, राजनीति र विकासको वाधक पहिचान गर्न खोजिरहेको अध्यक्ष नेपालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप