शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
निर्यात

अन्तर्राष्ट्रिय बजारमा नेपाली रैथाने कृषि उपज, के–के हुन्छ निर्यात ?

बिहीबार, २० वैशाख २०८१, १२ : ०८
बिहीबार, २० वैशाख २०८१

काठमाडौँ । नेपाली रैथाने बाली, मह, दुग्धजन्य पदार्थ, विभिन्न मसलाजन्य बाली, जडीबुटीले अन्तर्राष्ट्रिय बजार पाएका छन् । भन्सार विभागको तथ्याङ्क अनुसार यी कृषि उपज चीन, भारत लगायत तेस्रो मुलुकमा समेत निर्यात हुन्छन् ।

चालु आर्थिक वर्ष (२०८०/०८१) को ९ महिनामा रैथाने बाली फापर र कोदो ६१ मेट्रिक टन निर्यात भएको छ । सो बापत ७६ लाख रुपैयाँ आर्जन भएको विभागको तथ्याङ्कमा उल्लेख छ । गत वर्षको तुलनामा यो वर्ष यी दुई रैथाने बाली बढी बाहिरिएको तथ्याङ्कले देखाएको छ । गत आर्थिक वर्ष नेपालबाट ३६ लाख रुपैयाँ बराबरको २१ मेट्रिक टन फापर र कोदो निर्यात भएको थियो ।

यस्तै, अन्तर्राष्ट्रिय बजार पाएको दाबी हुँदै आएको चिया र कफी चालु आर्थिक वर्षमा १० हजार मेट्रिक टन निर्यात हुँदा २ अर्ब ५९ करोड ५७ लाख रुपैयाँ भित्रिएको छ । गत आर्थिक वर्ष ४ अर्ब ०६  करोड ७७ लाख रुपैयाँ बराबरको १६ हजार मेट्रिक टन चिया र कफी निर्यात भएको विभागको तथ्याङ्क छ ।

नेपाली चिया र कफी अष्ट्रेलिया, बेल्जियम, क्यानाडा, जर्मनी लगायत मुलुकमा पठाइन्छ ।

उच्चकोटीको जडीबुटी यार्सागुम्बा नेपालबाट बर्सेनि निर्यात हुने गरेको छ । चालु आर्थिक वर्षमा एक मेट्रिक टन यार्सागुम्बा निर्यात भएको छ । यो बापत नेपालमा ६२ करोड ५८ लाख रुपैयाँ भित्रिएको छ ।

गत वर्ष ६ सय किलो यर्सागुम्बा निर्यात हुँदा ४४ करोड ३१ लाख रुपैयाँ नेपालले आर्जन गरेको थियो ।

यस्तै, अन्तर्राष्ट्रिय बजारमा नेपाली मह पनि निर्यात हुने गरेको पाइएको छ । चालु आर्थिक वर्षमा चार मेट्रिक टन मह निर्यात भएको तथ्याङ्कमा उल्लेख छ । सो बापत १ करोड २५ लाख रुपैयाँ आर्जन भएको छ । गत वर्ष पाँच हजार मेट्रिक टन मह निर्यात हुँदा १ करोड ८४ लाख रुपैयाँ भित्रिएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

नेपाली उत्पादनमध्ये अन्तर्राष्ट्रिय बजार पाउने कृषि उपजमध्ये दुग्धजन्य पदार्थ पनि हो । नेपालबाट घिउ, बटर, चिज लगायत दुग्धजन्य पदार्थ निर्यात हुन्छ । चालु आर्थिक वर्षमा दुई हजार मेट्रिक टन दुग्धजन्य वस्तु निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ । यसबाट ८ करोड ५३ लाख रुपैयाँ भित्रिएको छ ।

गत आर्थिक वर्ष १४ हजार लिटर दुध निर्यात हुँदा १० लाख रुपैयाँ आर्जन भएको विभागको तथ्याङ्कले देखाउँछ । गत वर्ष १२० मेट्रिक टन दुग्धजन्य पदार्थ निर्यात हुँदा १४ करोड ५४ लाख रुपैयाँ भित्रिएको विभागको तथ्याङ्कमा छ ।

यस्तै, नेपालबाट चालु आर्थिक वर्षमा ६ अर्ब २८ करोड ३१ लाख रुपैयाँ बराबरको चार हजार मेट्रिक टन अलैंची निर्यात भएको छ । गत वर्ष करिब १० हजार मेट्रिक टन अलैंची निर्यात हुँदा ८ अर्ब २७ करोड ६८ लाख रुपैयाँ नेपालमा भित्रिएको थियो ।

यस्तै, मसला बालीमध्ये अदुवा चालु आर्थिक वर्षमा करिब १० हजार मेट्रिक अन्तर्राष्ट्रिय बजारमा गएको छ । यसबापत १ अर्ब ५ करोड ३१ लाख रुपैयाँ भित्रिएको छ । गत वर्ष २३ हजार मेट्रिक टन अदुवा बाहिरिँदा १ अर्ब २२ करोड २२ लाख रुपैयाँ नेपालले आर्जन गरेको थियो ।

यस्तै, चालु आर्थिक वर्षमा ९ सय किलो बेसार निर्यात हुँदा १९ लाख रुपैयाँ भित्रिएको छ । गत वर्ष १४ मेट्रिक टन बेसार निर्यात हुँदा ६३ लाख रुपैयाँ भित्रिएको थियो ।

नेपालबाट कृषि उपज भारत, चीन, अस्ट्रेलिया, अमेरिका, क्यानाडा, हङकङ, जापान लगायत मुलुकमा निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप