आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
भ्रमण

जापानी विदेशमन्त्रीको नेपाल भ्रमण : दुई पक्षीय सम्बन्ध प्रगाढ बनाउन केन्द्रित

आइतबार, २३ वैशाख २०८१, २१ : ०५
आइतबार, २३ वैशाख २०८१

काठमाडौँ । जापानकी विदेशमन्त्री कामिकावा योकोको नेपाल भ्रमणको क्रममा दुई देशबिचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा दुई पक्षीय कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा आइतबार मध्यान्ह नेपाल आइपुगेकी मन्त्री योकोले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्र मन्त्री श्रेष्ठसँग शिष्टाचार भेटवार्ता गरेकी थिइन् ।

परराष्ट्र मन्त्री श्रेष्ठसँग सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटवार्तामा दुई नेताले द्विपक्षीय सम्बन्ध र सहयोगमा अहिलेसम्म भएको प्रगतिको समीक्षा गरेका थिए । आगामी दिनमा आर्थिक र विकास सहयोगका साथै सांस्कृतिक र जनताबिचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन द्विपक्षीय सम्बन्धका सम्पूर्ण विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर रायले बताए ।

दुई मन्त्रीको बिच नेपालको प्रमुख विकासका प्राथमिकतामा रहेका कृषि, जलविद्युत्, पूर्वाधार विकास, कनेक्टिभिटी, निर्यात प्रवर्द्धन, औद्योगिक उत्पादन, वैदेशिक लगानी र पर्यटन क्षेत्रलगायतका क्षेत्रमा सहयोग र सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल भएको उनको भनाई छ ।

नेपालको औद्योगिक विकास, कृषि, जलविद्युत, पूर्वाधार विकासलगायतका विविध क्षेत्रमा जापानको अनुभव, ज्ञान, सीप र प्रविधिको भूमिकाबारे पनि छलफल भएको थियो । सडक पूर्वाधार विकासमा सुरुङ प्रविधिको सुरुवात गर्न नेपालको प्रमुख कार्यक्रममा जापानको सहयोगसमेत समावेश रहेको छ ।

दुई पक्षबिच द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय तहमा पारस्परिक हितका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने विषयमा पनि छलफल भएको प्रवक्ता रायले बताए । मन्त्री योको आजै काठमाडौँको वसन्तपुर दरबार स्क्वायर घुम्नुको साथै जमलस्थित मण्डला बुक प्वाइन्टमा पनि गएकी थिइन् ।

त्यहाँ उनले गाई जात्रा, बिस्केट जात्रा, घरपालुवा बिरालो, सभेन फिस इनसाइड जस्ता बालबालिका सम्बन्धी पुस्तक खरिद गरेकी थिइन् । परराष्ट्र मन्त्री श्रेष्ठले सोल्टी होटलमा उनको स्वागतमा डिनर दिएका थिए । डिनरपछि जापानका पत्रकारहरूसँग भेटघाट गरी उनी आज १० बजे जापान फर्किने कार्यक्रम रहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप