आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

एक्सपायर हुन्छ मसला ? बिग्रिएको कसरी थाहा पाउने ?

मङ्गलबार, २५ वैशाख २०८१, ११ : ५५
मङ्गलबार, २५ वैशाख २०८१

काठमाडौँ । तरकारी वा खानेकुरालाई स्वादिलो बनाउन हामी कयौँ प्रकारका मसला वा जडीबुटीको प्रयोग गर्छौ । मसलाको प्रयोगले स्वाद त बढ्छ नै यसले हाम्रो शरीरलाई अनेक लाभ पनि गर्छ ।

हाम्रो भान्सामा ल्वाङ्ग, बेसार, रोजमेरी, दालचिनी, कालो मरीच, जावित्री, अलैँची, सुकाइएको खुर्सानी, तेजपात, ज्वानु, जिरा, मेथी आदिको साथमा धुलो मसला पनि व्यापक रूपमा प्रयोग गरिन्छ । यिनीहरूमा खास गरी एन्टिअक्सिडेन्ट र एन्टी–इन्फ्लेमेटरी गुणहरू भएका कयौँ पोषक तत्त्वहरू पाइन्छ ।

तर, कहिलेकाहीँ हामी महिनौँ वा वर्षौँसम्म एउटै मसला प्रयोग गरिरहेका हुन्छौँ । कुनै कुनै मसला दिनहुँ प्रयोग हुँदैनन् । यस्ता मसलाहरू भान्साका तखतामा लामो समयसम्म रहन्छ । मसलाको पनि एक्सपायरी डेट हुन्छ ? कुन मसला कति दिनसम्म प्रयोग गर्न सकिन्छ र छिट्टै नबिग्रिओस् भनेर मसलाहरूलाई कसरी भण्डारण गर्ने भनेर आजको लेखमा हामी कुराकानी गर्न गर्नेछौँ ।

तखतामा मसला वा जडीबुटीको आयु

बिरुवाको सुकेको जरा, बोक्रा वा डाँठ वा फलबाट मसला बनाइन्छ । जडीबुटी चाँहि बिरुवाको बोटको सुकेको वा ताजा पात हो । भान्साका तखतामा जडीबुटी र मसलाहरूको आयु निर्धारण गर्ने कुरामा यसको प्रकार, प्रशोधन र भण्डारणको तरिकाले फरक पर्दछ । सुकेको मसला सुक्खा जडीबुटी भन्दा लामो समय सम्म टिक्छ । मसला जति सिङ्गै वा कम प्रशोधित हुन्छ, यसको शेल्फ लाइफ पनि त्यति नै लामो हुन्छ ।

आरिगानो, तुलसी, ज्वानुको फूल, रोजमेरी, तेजपात, धनियाँ, पुदीनाजस्ता सुकाइएका  जडीबुटी सामान्यतया १ देखि ३ वर्षसम्म प्रयोग गर्न सकिन्छ । अदुवा, लसुन, दालचिनी, खुर्सानी, बेसार, अलैँची, मरीच लगायत पिसेको वा धुलो पारिएको मसलाको आयु भने सामान्यतः २ देखि ३ वर्षको हुन्छ ।

सिङ्गै वा नपिसिएको मसलाहरू लामो समयसम्म टिक्छन् । यसमा भएको सुगन्धित तेलका कारण पनि यिनीहरू लामो समयसम्म बिग्रिँदैनन् । राम्रोसँग भण्डारण गरेर राखिएको छ भने सिङ्गै धनियाँ, कालो मरीच,, सस्र्यू, सूप, जिरा, जाइफल, दालचिनी, सुकेको खुर्सानी जस्ता मसलालाई कम्तीमा पनि ४ वर्षसम्म प्रयोग गर्न सकिन्छ ।

मसला बिग्रिएको छ कि छैन कसरी थाहा पाउने ?

सामान्यतया सुकाइएका जडीबुटी र मसला चाँडै बिग्रिँदैनन् । मसलाको स्वाद, शक्ति र रङ्ग परिवर्तन भएको छ भने फेर्नु बेस हुन्छ । यसको मतलब यसलाई खानामा प्रयोग गर्दा बिरामी नै परिन्छ भन्ने हुँदैन । हरेक मसलाको प्याकेटमै एक्सपायरी मिति लेखिएको हुन्छ । मिति सकिसकेका मसला वा जडीबुटी प्रयोग गर्दा खासै हानि त हुँदैन । तर खानामा पहिला जस्तो स्वाद, सुगन्ध, फ्लेभर र रङ्ग आउँदैन । मसला ओसिएको छ भने पनि प्रयोग नगर्नु वेश हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप