शुक्रबार, ०४ साउन २०८१
ताजा लोकप्रिय
कृषि

नेपाली मुसुरोमा पहिलो पटक ‘भाइरस’ फेला

विज्ञ भन्छन्– जति प्रतिशत भाइरस, त्यति नै नोक्सान
बिहीबार, १० जेठ २०८१, १५ : ५४
बिहीबार, १० जेठ २०८१

काठमाडौँ । दालबाली अन्तर्गत पर्ने मुसुरोमा पहिलो पटक ‘भाइरस’ फेला परेको छ । नेपाली मुसुरोमा ‘विट वेस्टर्न एल्लोज् भाइरस’, ‘चिकपी क्लोरोटिक स्टर्न भाइरस’ र ‘फबा बीन निक्टोरिक एल्लो भाइरस’ फेला परेको हो ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रका डा. राम बहादुर खड्काको टोलीले सो भाइरस फेला पारेको हो । अन्तर्राष्ट्रियस्तरमा बिउमा १ प्रतिशत यो भाइरस हुँदा १ प्रतिशत नै नोक्सान भएको पाइएको खड्काले बताए । ‘भाइरसले गुणस्तरमा पनि प्रभाव पार्छ, दानाहरू साना हुने हुन्छ,’ उनले भने, ‘नेपालमा भाइरस पहिचान गर्ने स्रोतसाधन कमजोर छ । काम गर्ने खासै प्रविधि छैन ।’

नेपालको अन्य बालीमा पाइएको ‘क्युकुम्बर मोजाइक भाइरस’ र ‘पि सडबर्न मोजाइक भाइरस’ पनि मुसुरो बाली देखिएको छ । यी दुई भाइरस बिउबाट सर्ने भएकाले मुसुरो बालीमा खतरा थपिएको खड्काले बताए । ‘यी भाइरस नेपालका अरु बालीमा देखिएका थिए, तर हाल मुसुरो बालीमा पनि देखिएको छ,’ उनले भने, ‘पहिलो वर्ष १ प्रतिशत बिउबाट खेतमा भाइरस देखिएमा अर्को वर्ष करिब ५० देखि ६० प्रतिशत बालीमा फैलिन्छ ।’ यी भाइरसहरू बिउ, लाही किराको माध्यमबाट सर्ने उनले बताए ।

डा. राम बहादुरको टोलीले देशका विभिन्न ११० क्षेत्रमा मुसुरो बालीमा सर्वेक्षण गरेको हो । १८ सयभन्दा बढी क्षेत्रबाट करिब ७ हजार मुसुरोको शङ्कास्पद बिरुवा सङ्कलन गरिएको थियो । ‘यस क्रममा पिसिड वर्न मोजाइक भाइरस ८० प्रतिशत, क्युकुम्बर मोजाइक भाइरस, लिटो भाइरसहरू लगायत विभिन्न भाइरसहरू फेला परेका छन्,’ उनले भने, ‘केही भाइरस नेपालका बालीहरूमा पहिलादेखि नै रहे पनि हाल तीन वटा नयाँ भाइरस फेला परेका हुन् ।’

masuro 3

भाइरस लागेको मुसुरोमा देखिने लक्षण

भाइरस लागेको बिरुवा असामान्य देखिन्छ । मुसुरो बालीको बोट होचो, पहेलोँ, रातो हुन्छ । पातहरू सा–सानो हुन्छ । पात ‘गुजमुज’ परेको हुन्छ । भाइरस देखिएको बालीमा फूल नफूल्ने लगायत लक्षण हुने खड्काको भनाइ छ । मुसुरो बालीमा यस्ता खालको लक्षण देख्दा किसानले पानीको कमी, मलको कमी लगायत भनेर बुझ्ने उनको भनाइ छ । तर यस्ता लक्षण देखिएमा मुसुरोमा ‘भाइरस’ लागेको हुन सक्ने डा. खड्का बताउँछन् ।

 भाइरसबाट मुसुरो कसरी जोगाउन सकिन्छ ?

पछिल्लो अनुसन्धानले ‘भाइरस’ न्यूनीकरण गर्न बालीको बिउ नै विकास गर्नुपर्ने औँल्याएको छ । वैज्ञानिक खड्काका अनुसार भाइरससँग लड्न सक्ने जातको विकास गर्नु नै एक मात्र उपाय हो । ‘यो भाइरस सहन सक्ने स्थानीय जातमा भाइरससँग लड्न सक्ने क्षमताका जातहरू बाहिरबाट ल्याएर परीक्षण गर्ने,’ उनले भने, ‘हाम्रो बिउहरूमा भाइरस जाँच गर्ने, बिउ उत्पादन गर्ने कम्पनीले भाइरस विनाको बिउ हो भनेर प्रमाणीकरण गर्नुपर्छ ।’

masuro 2 (1)

यस्तै, बालीमा भाइरस, ढुसी, किराबारे जाँच गर्न पर्याप्त जनशक्ति र लगानी हुनुपर्ने उनको भनाइ छ ।

नेपाली मुसुरोको उत्पादन कति ?

नेपालमा मुसुरो बालीको क्षेत्रफल र उत्पादन घट्दो क्रममा रहेको पाइएको छ । सरकारी तथ्याङ्क अनुसार नेपालमा हिउँद सिजनमा हुने मुसुरोको उत्पादन र क्षेत्रफल घटेको हो । आर्थिक वर्ष २०७६/२०७७ मा २ लाख १२ हजार हेक्टर क्षेत्रफमा मुसुरो खेती गरिएकोमा २ लाख ६२ हजार मेट्रिक टन उत्पादन भएको तथ्याङ्क छ । यसैगरी आर्थिक वर्ष २०७८/०७९ मा १ लाख ९८ हजार हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट करिब २ लाख ५२ हजार मेट्रिक टन उत्पादन भएको थियो ।

आर्थिक वर्ष २०७७/०७८ मा २ लाख २ हजार हेक्टर क्षेत्रफलमा मुसुरो खेती गरिएको थियो । सो वर्ष २ लाख ४६ हजार मेट्रिक टन मुसुरो उत्पादन भएको तथ्याङ्कमा उल्लेख छ ।

आयात बढ्दो

नेपालमा मुसुरोको आयात बढ्दो पाइएको छ । चालु आर्थिक वर्षमा मात्रै ४७ हजार मेट्रिक टन मुसुरो आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको १० महिनामा ४ अर्ब ५६ करोड रुपैयाँको मुसुरो आयात भएको हो ।

गत वर्ष ६ अर्ब ७९ हजार ४७ लाख रुपैयाँ बराबरको ६५ हजार ६९३ मेट्रिक टन मुसुरो आयात भएको थियो । यस्तै २०७८/०७९ मा ४ अर्ब ४० करोड १ लाख रुपैयाँ बराबरको ४३ हजार १८५ मेट्रिक टन मुसुरो आयात भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप