बिहीबार, १० साउन २०८१
ताजा लोकप्रिय
डाक्टर

सयौँ गर्भवती जोगाइरहेका डाक्टर बालकृष्ण

सोमबार, २८ जेठ २०८१, १३ : १३
सोमबार, २८ जेठ २०८१

विराटनगर । उच्च रक्तचापले शरीर सुन्निएको, मिर्गौला तथा कलेजोमा पनि असर गरिसकेको, कुपोषण र रक्तअल्पता भएको, गर्भको अवधि ३२ हप्ता पुगेको अनि गर्भमा पानीको मात्रा निकै कम रहेको अवस्थामा गर्भवती एक महिलालाई भोजपुरबाट उपचारका लागि विराटनगर–२ स्थित मोरङ सहकारी अस्पताल ल्याइयो ।  

आमाको स्वास्थ्यमा देखिएको जटिलता कम गर्न बच्चा निकाल्नु पर्ने भएकाले नै आमा कि बच्चा रोज्नुपर्ने अवस्था थियो । यस्तो जटिल बिरामीको उपचार गर्दा भवितव्य केही भएमा हातपात र अस्पताल तोडफोडको खतरा हुने भएकाले उपचार गर्नुभन्दा मिलाएर रिफर गर्नु नै बुद्धिमानी ठहरिन्थ्यो ।

त्यही भएर ती बिरामीलाई भोजपुरबाट धरान वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हुँदै कोशी अस्पताल ल्याइयो । तर, कोशी अस्पतालले घर फर्किन सुझाव दियो । उनलाई भोजपुर फर्काइएको भए आमा र बच्चा दुवैको ज्यान जानसक्थ्यो । ‘जे होस्, एउटा गर्भवती र उनको बच्चा जोगिएको छ । फर्केर भोजपुर पुगेको भए बाँच्ने सम्भावना थिएनभन्दा फरक नपर्ला,’ उनको उपचारमा संलग्न डाक्टर बालकृष्ण साहले फेसबुकमा लेखेका छन् ।

उच्चरक्तचाप नियन्त्रणमा ल्याउन नसकेर जटिलता बढ्दै गएकाले उनको शल्यक्रिया गरेको र ३ पिन्ट रगत दिइएको पनि डा. साहले जनाएका छन् । ती बिरामीको अवस्था सामान्य बन्दै गएको उनको भनाइ छ ।

मोरङ विराटनगर–७ की सलिना (नाम परिवर्तन)ले तीन पटक शल्यक्रिया मार्फत बच्चालाई जन्म दिइन् । उनको पहिलो सन्तान हुने बेलामा अवस्था जटिल थियो । कोशी अस्पतालमा उपचार हुन नसकेपछि उनलाई मोरङ सहकारी अस्पतालका डाक्टर बालकृष्ण साहकोमा रिफर गरियो । एक त कम उमेर, त्यसमाथि शल्यक्रिया गर्नका लागि असाध्यै ढिला भइसकेको अवस्था, उच्च रक्तचाप लगायतका समस्याले सलिना ग्रसित थिइन् । डाक्टर साहले उनको शल्यक्रियामार्फत बच्चा निकालिदिए ।

आमा र पहिलो सन्तान छोरी सकुशल रहे । उनको दोस्रो सन्तान (छोरा) पनि डाक्टर साहले नै शल्यक्रियामार्फत निकालिदिए । तीन दिन अगाडि सलिनाको तेस्रो सन्तानको रूपमा फेरि शल्यक्रिया मार्फत उनै डाक्टर साहले बच्चा निकालिदिए ।

५ वर्षको अन्तरमा तीन सन्तान पाएकी सलिना तीनै पटक डाक्टर साहसँगै पुगिन् । उनले भनिन्, ‘पहिलो पटकको बच्चा जन्मिँदा मेरो केस एकदमै क्रिटिकल थियो । त्यस्तो बेलामा पनि मलाई र मेरो बच्चालाई उहाँले सकुशल उपचार गर्नुभयो । त्यही भरोसा भएर यहाँ आएकी हुँ ।’

प्रसूति तथा स्त्रीरोग विशेषज्ञका लागि सिजरियन सेक्सन (अपरेसन गरेर डेलिभर) नयाँ काम होइन । तर, क्रिटिकल अवस्थाका सयौँ गर्भवतीको सफल उपचार गर्न सक्नु विशेष क्षमता, विशेषज्ञता र दक्षता हो । डाक्टर बालकृष्ण साहले धेरै अप्ठ्यारो परिस्थितिमा पनि आफूलाई प्रमाणित गरेका छन् ।

कुनै बेला उनले सुनसरीको इनरुवा अस्पतालमा स्त्री तथा प्रसूति विशेषज्ञ सेवा दिँदा त्यहाँ आइसियु थिएन । ब्लड बैंक थिएन । एनआइसियु थिएन । एजेस्थेलोजिष्ट थिएनन् । तर, त्यस्तो क्रिटिकल अवस्थामा पनि ६३ वटा शल्यक्रिया गरिएको थियो । तेह्रथुमको म्याङ्लुङ अस्पतालमा होस् या कोरोना कालमा भोजपुर सदरमुकाम पुगेर गरेका उपचारहरू हुन्, उनले क्रिटिकल अवस्थाका गर्भवती र बच्चालाई बचाएका छन् ।

  • जागिरको सुरुवात

नेपाल सरकारको छात्रवृत्तिमा वीर अस्पतालको नेशनल एकेडेमी अफ मेडिकल साइन्स (न्याम्स)मा अध्ययन गरेर उनी स्त्री तथा प्रसूति रोग विशेषज्ञ बनेका हुन् । परीक्षा दिएर रिजल्ट नआउँदै उनलाई कोशी अस्पतालबाट कामको अफर आएको थियो ।

२०७१ सालमा कोशी अस्पतालमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टरहरू दुई जनाको अवकाश भएको थियो र चार जनाले राजीनामा दिएका थिए । व्यवस्थापनसँग कुरा नमिलेपछि उनीहरूले राजीनामा दिएका थिए । ६ जना स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टरले एकैपटक अस्पताल छोडेपछि त्यहाँ सेवा अवरुद्ध भयो । नर्मर डेलिभरी बाहेक त्यसबेला अन्य उपचार हुँदैन थियो ।

त्यसबेलामा डाक्टरको माग गर्न कोशी अस्पतालका मेडिकल सुपरिडेण्डेन्ट डा.उमाकान्त झा स्वास्थ्य मन्त्रालय गएका थिए । परीक्षा सकेर डुलिरहेको साहलाई झाले सिधै विराटनगर कोशी अस्पताल आउन आग्रह गरे । ‘भर्खरै परीक्षा दिएको मान्छे । रिजल्ट आएको छैन । पोस्टिङ कहाँ हुने । दरबन्दी छ÷छैन भन्दा त्यो म मिलाउँछु भन्नुभयो,’ त्यसबेलाको कुरा सम्झँदै साहले सुनाए ।

डाक्टर झाले पटकपटक ताकेता गरेपछि उनले रिजल्टसम्म कुरेर कोशी अस्पतालमा २०७१ सालदेखि सेवा सुरु गरे । ‘त्यसबेला ८ महिना कोशीमा काम गर्दा मैले ५ सयभन्दा बढी शल्यक्रिया सफलतापूर्वक गरेँ,’ उनले सुनाए ।

कोशी अस्पताल बाहेक श्री हस्पिटलमा पनि उनले काम गरे । यस्तै पहाडी जिल्ला तेह्रथुम र सुनसरीको सदरमुकाम इनरुवामा पनि थुप्रै महिलाको शल्यक्रिया गरे । अहिले पनि मोरङ सहकारी अस्पतालमा समेत उनले काम गरिरहेका छन् । हालसम्म उनले अनुमानित ७ हजार जति शल्यक्रिया गरेका छन् । उनकै नाम जोडिएर अहिले बिरामीको मृत्यु भयो वा समस्यामा परेको भन्ने कुरा आएको छैन ।

  • बिरामीका कथा लेख्ने सोख

पब्लिक हेल्थमा मास्टर्स गरिसकेका डाक्टर साह विभिन्न सञ्चारमाध्यममा लेख्छन् पनि । उनले केही समय अगाडि ‘गर्भको गर्व’ पुस्तक पनि प्रकाशित गरेका छन् । आफ्नो कामसँगै उनले लेख्ने कर्मलाई कसरी नियमित गर्छन् । यस विषयमा जानकारी दिँदै उनी भन्छन्, ‘नेपालमा लेख्ने भन्ने कुराचाहिँ सोख हो । तर, डाक्टर भन्ने बित्तिकै औषधि लेख्नेमात्रै डाक्टर हो भन्ने बुझाइ छ । डाक्टर भनेको फार्मसिस्ट मात्रै होइन । डाक्टर भनेको ओभरअल व्यवस्थापक हो ।’

बिरामीको उपचार गर्नुमात्रै नभएर बिरामी हुन नदिनु पनि चिकित्सकको दायित्व भएको साह बताउँछन् । उनले भने, ‘त्यही कारण हामी काउन्सिलिङको काम पनि गर्छौं । त्यसैले म लेख्ने गर्छु ।’

हरेक बिरामीका छुट्टाछुट्टै कथा दिनहुँ सुनिरहने गरेको उनको अनुभव छ । ‘डाक्टरको पनि भावना हुन्छ । त्यसकारण भावना पोख्नका लागि पनि लेख्ने गर्छु । डाक्टरले त दिनका दिन कथा सुन्छौँ । हरेक बिरामीसँग एउटा कथा छ । हरेक बिरामीले आफ्नो पीडा भन्छन् । उसले भोगेको समस्या पनि एउटा कथा हो । त्यसकारण मैले यस्तै कुराहरूलाई सार्वजनिक गर्न वा त्यस्ता समस्याहरूको समाधानका लागि पहल गर्न पनि लेख्ने गरिरहेको छु,’ उनले भने ।

डाक्टरहरूले पनि धेरै कथा लेख्न सक्ने उनी बताउँछन् । ‘मेडिकल प्रोफेसनमा भएका डाक्टरहरू मुटु भएकाहरू नै हुन्छन् । त्यसकारण डाक्टरले बिरामीको बेदना, छट्पटाहट र भावना बुझ्छन्,’ साहले भने ।

  • ‘मृत्युको मुखमा पुगेका बिरामी देख्दा आफूलाई निरीह लाग्छ’

कतिपय बिरामीले डाक्टरको समस्या नबुझेको उनी सुनाउँछन् । ‘कसै कसैको सोचाइचाहिँ ओपीडी चार्ज दिएपछि डाक्टर नै किनेको जस्तो गर्छन् । तर, डाक्टरको समस्या बिरामीले बुझ्दैनन्,’ उनी सुनाउँछन् ।

डाक्टर साहलाई आफ्नै आँखा अगाडिका बिरामीहरू मर्दैछ भन्ने थाहा पाउँदा आफू निरीह भएको लाग्छ । ‘कतिपय बिरामीलाई हामीले बचाउन सक्ने अवस्था नहुँदा, हाम्रै आँखा अगाडि मर्दैछ भन्ने थाहा पाउँदा हामीलाई धेरै पीडा हुन्छ । हामी निरीह भएका हुन्छौँ त्यसबेला,’ उनले भने ।

बिरामीले डाक्टरबाट सफल उपचार चाहन्छन् । डाक्टरहरू पनि आफूले उपचार गरेको बिरामी निको होस् भन्ने नै चाहन्छन् । तर, डाक्टरले बिरामीलाई हेर्ने बित्तिकै निको हुनुपर्छ भन्ने मानसिकता बिरामीका आफन्तले राख्न नहुने उनको सुझाव छ । ‘कतिपय उपचार डाक्टरले गर्न नसकेरै बिरामीको मृत्यु हुन्छ । तर, डाक्टरले बिरामी बनाएर मृत्यु भएको जस्तो आरोप कतिपय बेला आउने गरेको छ । यो दुःखद छ,’ उनी भन्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप