बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

रविलाई प्रभुले भने–रोजगारी दिन सक्नुहुन्न भने नैतिकताले पदमा बस्न मिल्दैन

मङ्गलबार, २९ जेठ २०८१, १७ : ३०
मङ्गलबार, २९ जेठ २०८१

काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु साहले गृहमन्त्री रवि लामिछानेले विगतमा लाखौँ नेपालीलाई स्वदेश फर्काएर रोजगारी दिने घोषणा गरेपनि त्यसो हुन नसकेको प्रति कटाक्ष गरेका छन् । 

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै साहले रास्वपाका सभापति समेत रहेका लामिछानेले भनेजस्तो बजेटमा समेत विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने कुनै कार्यक्रम नआएको बताए । ‘तपाईंहरुले लाखौँ मान्छेलाई रोजगारीका लागि नेपाल ल्याउँछौँ भन्नु भएको थियो । तर कार्यक्रममा त देखिएन’, लामिछानेलाई लक्षित गर्दै साहले भने, ‘लाखौँ नेपालीलाई फर्काउने कार्यक्रम चाहिएको छ यतिबेला । यदि तपाईंले रोजगारी दिन सक्नुहुन्न भने नैतिकताले त्यहाँ मन्त्री पदमा बस्न मिल्दैन ।’

उनले जनतालाई रोजगारी दिन नसक्ने हो भने सरकारले बेरोजगारी भत्ता दिनुपर्ने पनि बताए । 

यस्तै साहले नेपालमा घरेलु कामदारका रूपमा कयौँ मान्छेहरू कार्यरत रहे पनि उनीहरूको हितमा सरकारले बजेट तथा कार्यक्रम नल्याएको प्रति पनि असन्तुष्टि पोखे ।  ‘उनीहरूको भविष्य र उनीहरूको हकबारे बजेट बोल्नुपर्थ्यो । तर किन विभेद गरियो ?’, साहले प्रश्न गरे । 

राज्यको जागिर गर्ने र सरकारी कर्मचारीको जीवन ग्यारेन्टी गर्न  पहल हुँदैगर्दा  ठुला बडाहरूको घरमा काम गर्नेहरू भने अन्योल र अनिश्चिततामा जीवन बाँच्न बाध्य भएको साहले बताए । ‘उनीहरुले चाहिँ निगाहाको जीवन बाँच्नुपर्ने, त्यसमा समानता हामीले ल्याउन हुँदैन ?’ उनले भने ।  अहिलेको बजेटमा उनीहरूको सुरक्षा र हकको ग्यारेन्टी हुने आफूले अपेक्षा गरेपनि त्यसो हुन नसकेको भन्दै साहले घरेलु कामदारसम्बन्धी ठोस कानुन ल्याउनुपर्नेमा जोड दिए । 

यस्तै उनले शिक्षामा असमानता र भ्रष्टीकरण बढिरहेको पनि बताए । निजी र सरकारी स्कुलमा ठुलो विभेद रहेको उल्लेख गर्दै त्यस्तो दुरी हटाउने गरी राज्यले काम गर्नुपर्नेमा जोड दिए । यस्तै उनले विश्वविद्यालयहरू भ्रष्टाचारको अखडा बनेको जिकिर गर्दै सुधारको खाँचो समेत औँल्याए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप