बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

आफ्नै हिरासत कक्ष बनाउँदै श्रम मन्त्रालय

मङ्गलबार, २९ जेठ २०८१, १७ : ४६
मङ्गलबार, २९ जेठ २०८१

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आफ्नै हिरासत कक्ष बनाउने भएको छ । वैदेशिक रोजगारीमा ठगी आरोपमा पक्राउ परेका व्यक्तिहरूलाई राख्नको लागि मन्त्रालयले हिरासत कक्ष बनाउने भएको हो । 

वैदेशिक रोजगार सम्बन्धित कसुरमा पक्राउ परेका व्यक्तिहरूलाई हाल महानगरी प्रहरी वृत्त कालिमाटीमा राख्दै आएको छ । तर, ठगीका घटना बढ्न थालेको र प्रहरी वृत्तमा समेत चाप बढ्ने थालेपछि आफ्नै हिरासत कक्ष बनाउन लागिएको श्रम मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका एक अधिकारीले वैदेशिक रोजगार ऐन २०६४ मा भएको व्यवस्था बमोजिम हिरासत कक्ष बनाउन लागिएको बताए । ऐनको दफा ६१ मा वैदेशिक रोजगार सम्बन्धी कसुरको अनुसन्धान र तहकिकात सम्बन्धी व्यवस्था गरेको छ । जसमा ऐन विपरीत कुनै कसुर गरेको वा हुन लागेको कुरा कसैको उजुरी परे वा अन्य कुनै तरिकाबाट प्रत्यक्ष वा अप्रत्यक्षे रूपमा विभागलाई जानकारी भएमा विभागले कम्तीमा राजपत्राङ्कित तृतीय श्रेणीको अधिकृतलाई अनुसन्धान अधिकृत तोकेर अनुसन्धान गर्न सक्ने व्यवस्था छ ।

अनुसन्धानको क्रममा अनुसन्धान अधिकृतले अभियुक्तलाई बयान गराई तत्काल प्राप्त प्रमाणबाट कसुरदार देखिने पर्याप्त आधार भएमा कारण खोली तारेखमा राख्न, धरौटी वा जमानत लिई छाड्न वा धरौटी वा जमानत दिन नसकेमा मुद्दा हेर्ने अधिकारीको अनुमति लिई थुनामा राखी कारबाही गर्न वा एक पटकमा सात दिनमा नबढाई बढीमा ३० दिनसम्म मुद्दा हेर्ने अधिकारीको अनुमति लिई थुनामा राख्न सकिने कानुनी व्यवस्था छ ।

अनुसन्धानको क्रममा अनुसन्धान अधिकृतलाई प्रहरीले आवश्यक सहयोग गर्नुपर्ने ऐनमा उल्लेख छ ।

उक्त ऐनलाई आधार मानेर श्रम मन्त्रालयले आफ्नै हिरासत कक्ष बनाउन लागेको हो । उक्त हिरासत कक्ष अत्याधुनिक खालको हुनेछ ।

‘अहिले हामीले प्रहरीको सहयोगमा पक्राउ गरेर ल्याउँछौँ । ती व्यक्तिहरूलाई प्रहरीकै सहयोगमा प्रहरी वृत्तमा लागेर राखिरहेका छौँ । अब आफ्नै हिरासत कक्ष बनाएर त्यही राखेर अनुसन्धान गर्छौ,’ ती अधिकारीले भने ।    

वैदेशिक रोजगारीमा हुने ठगीका घटना दिनप्रति बढ्दो क्रममा छन् । ठगीका उजुरीमा पक्राउ पर्नेहरूको सङ्ख्या पनि बढ्दो क्रममै छ । त्यसरी पक्राउ परेका व्यक्तिहरूलाई प्रहरीकै हिरासत कक्षमा राख्दै आएको छ । प्रहरीको हिरासत कक्षमा अन्य प्रकृतिका अभियुक्तहरू बढी हुँदा वैदेशिक रोजगारी कसुरका अभियुक्तहरू समेत प्रहरीकै हिरासत कक्षमा राख्नुपर्दा ठाउँको अभाव हुने गरेको छ । 

प्रहरीले पटक पटक वैदेशिक रोजगार विभागलाई वैदेशिक रोजगार ठगीका अभियुक्तहरू राख्न गाह्रो भइरहेको बताएका आएका छन् । तर, विभागसँग आफ्नै हिरासत कक्ष नहुँदा प्रहरीकैमा राख्नुपर्ने बाध्यता रहेको भन्दै अब आफ्नै हिरासत कक्ष बनाउन लागिएको ती अधिकारीको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप