शनिबार, २९ असार २०८१
ताजा लोकप्रिय
रातोपाटी टी-२० विश्वकप विशेष

खेलकुद अर्थतन्त्र : क्रिकेट टोलीले विश्वकप खेल्दैगर्दा बढ्यो खेल सामग्रीको व्यापार

मङ्गलबार, २९ जेठ २०८१, १८ : १३
मङ्गलबार, २९ जेठ २०८१

काठमाडौँ । डेढ दशक यता काठमाडौँको भोटाहिटीमा खेलकुद सामग्री बेच्दै आएका सिन्धुपाल्चोकका दीपक भुजेल हिसाबकिताबमा मस्त देखिन्छन् । आफ्नो पसलमार्फत भइरहेको खेल सामग्रीको बिक्री वितरणको हिसाब राख्न तथा बिल काट्दै पैसा साट्न उनी व्यस्त देखिएका हुन् ।

अन्य समयभन्दा खेलकुद सामग्रीको व्यापारमा सामान्य वृद्धि आएपछि उनीजस्तै पसलका सबै कर्मचारीसमेत व्यस्त छन् । दिनहुँ जसो क्रिकेटको जर्सी, ग्लब्स, प्याड र बल तथा स्टम्प खोज्दै आउने सेवाग्राहीसँगको कुराकानी र सामान बिक्रीमा भुजेल र उनका पसलका कर्मचारीको दिनचर्या बित्ने गरेको छ ।

‘यतिबेला खेल सामग्रीको व्यापार केही बढेको छ,’ ५/७ मिनेट कुराउँदै फुर्सदिलो बनेपछि उनले भने, ‘अहिले अलिअलि सामान बिकिरहेको छ । बिकेकोमध्ये अधिकांश क्रिकेटसँग सम्बन्धित हुन्छन् ।’

भुजेलले भनेजस्तै उनको पसलमा पछिल्लो समय दैनिक क्रिकेटसँग सम्बन्धित खेल सामग्रीको सोधपुछ र खरिदका लागि दर्जनौँ मान्छे आउँछन् ।

भोटाहिटीमै दुई वर्ष यता खेल सामग्री बेच्दै आएका रामेछापका प्रदिश श्रेष्ठ भन्छन्, ‘सामान्य समयभन्दा यतिबेला क्रिकेटसँग सम्बन्धित खेल सामग्रीको व्यापार २५ प्रतिशतले बढेको छ ।’

170310-KCCC-01

उनको पसलमा धेरैजसो ग्राहक अन्य खेल सामग्रीसँगै नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी किन्न आउँछन् । तर, पसलमा नेपाली टोलीले विश्वकपमा लाउने जर्सी नै छैन ।

त्रिपुरेश्वरमा १७ वर्षदेखि खेल सामग्री बेच्दै आएकी मिना श्रेष्ठ र मनोज श्रेष्ठ पछिल्लो समय नेपालमा क्रिकेट क्रेज ह्वात्तै बढेको अनुभव सुनाउँछन् । उनीहरू भन्छन्, ‘केही वर्ष यता क्रिकेटसँग सम्बन्धित खेल सामग्रीको माग र व्यापार बढ्दो छ ।’

उनीहरूका अनुसार यो १७ वर्षको अवधिमा पछिल्ला २–४ वर्ष यता क्रिकेटमा उल्लेख्य क्रेज देखिएको छ । त्यसमा पनि अहिले झन बढेको उनीहरू बताउँछन् । ‘आफ्नो देशले विश्वकप खेल्दा त्यस खेलसँग सम्बन्धित सामग्रीको बिक्री नबढ्ने भन्ने नै हुन्न,’ श्रेष्ठ थप्छन् ।

पछिल्लो समय अभिभावक नै आफ्ना बच्चालाई लिएर ब्याट तथा बल किन्न आउने गरेको त्रिपुरेश्वरकै अर्का व्यापारी शरद धितालले बताए । उनले भने, ‘यसले नेपाली अभिभावकले क्रिकेटमा भविष्य देख्न थालेको बुझिन्छ ।’

35426480_2036340169911343_2888728749124091904_n

तर उनी अघिल्लो विश्वकपमा जस्तो यो पटकको विश्वकपमा व्यापार नबढेको बताउँछन् । ‘सायद खेलहरू बिहानै परेकाले पनि हुन सक्छ,’ धिताल भन्छन्, ‘बिहानै उठेर समर्थकले जर्सी लाउँदै खेल त हेर्दैनन् । जे होस्, यो खेलप्रति सर्वसाधारणको क्रेज बढ्दो अवस्थामा छ ।’

उनको अनुभवमा २०१४ मा बंगलादेशमा भएको विश्वकप ताका अहिलेको तुलनामा धेरै नै क्रिकेट सामग्री बिक्री हुन्थ्यो । ‘बरु कोभिड–१९ को समयमा पनि समर्थकले जर्सी किन्थे,’ धितालले भने, ‘अघिल्लो यूरो कप र कोपा अमेरिकामा धेरै जर्सी बिकेको थियो । अहिले त्योअनुसार छैन नि ।’

जे होस्, जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा जारी टी–२० क्रिकेट विश्वकपमा नेपालले १० वर्षपछि सहभागिता जनाइरहँदा स्थानीय बजारमा क्रिकेटसँग सम्बन्धित खेल सामग्रीको बिक्री बढेको छ ।

तर बजारमा राष्ट्रिय क्रिकेट टोलीको जर्सी पाइँदैन । योपटक नेपालको विश्वकप जर्सीमा केल्मीले प्रायोजन गरेको छ । केल्मीले प्रायोजन गरेर उत्पादित आधिकारिक जर्सी बजारका जुनसुकै पसलमा छैनन् । केल्मीले आफ्नो आधिकारिक बिक्रेता र आउटलेटमार्फत मात्रै व्यापार गर्ने नीति लिएपछि अन्य पसलमा जर्सी नपाइएको हो ।

435006908_842633131226402_1479112200284578972_n

‘विश्वकपभरि ४ हजारभन्दा बढी जर्सी नेपालमा बेच्ने लक्ष्य थियो,’ केल्मीका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले भने । तर पछिल्लो समय नक्कली जर्सीको बिक्री बढेकाले केल्मीलाई समस्या भइरहेको न्यौपानेको भनाइ छ । बिक्री लक्ष्य राखिएकामध्ये अझै १५ सयदेखि २ हजार जर्सी स्टकमा छन् । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा छरिएका ८ वटा स्टोरबाट केल्मीले क्रिकेट जर्सी बेचिरहेको छ । फ्यान र प्लेयर गरी दुई प्रकारका जर्सी बिक्री भइरहेको छ ।

केल्मीले जर्सी स्टकमा छन् भने पनि बजारमा राष्ट्रिय टोलीको जर्सी सहज पाउन सकिएको छैन । न्यौपानेकै अनुसार केही साइजका जर्सीको माग भने पुर्‍याउनै कठिन भइरहेको छ ।

नेपालमा पछिल्लो समय क्रिकेट र क्रिकेट खेलसँग सम्बन्धित वस्तुको क्रेज बढ्दो अवस्थामा रहेको खेल सामग्री व्यवसायीकै भनाइले देखाउँछ । जसको प्रत्यक्ष प्रभाव राष्ट्रिय अर्थतन्त्रमा समेत पर्छ । बजारको व्यापार र आयातदेखि उत्पादनसम्म बढेको व्यापारीहरूको तर्क छ ।

नेपालमा खेल अर्थतन्त्र धेरै मजबुत नभए पनि विश्वव्यापी रूपमा यस क्षेत्रले अर्थतन्त्रमा पुर्‍याउने योगदान उच्च हुन्छ । भारतको इन्डियन प्रिमियर लिग विश्वको दोस्रो धेरै कमाउने प्रतियोगिताको सूचीमा दर्ज भइसकेको छ । यस्तै सन् २०२३ मा भारतमा आयोजित एकदिवसीय क्रिकेट विश्वकपबाट भारतीय अर्थतन्त्र २.६ बिलियन अमेरिकी डलरले बढ्ने प्रक्षेपण गरिएको थियो । भारत क्रिकेटमार्फत आफ्नो खेल अर्थतन्त्रलाई मजबुत बनाउने कोसिस गरिरहेको देश समेत हो ।

भारतकै ‘बैंक अफ बरोडा’ले सो विश्वकपमा भारतीय अर्थतन्त्र २.६ बिलियन अमेरिकी डलरले बढ्ने प्रक्षेपण गरेको इकोनोमिक टाइम्सले लेखेको छ । यस्तै अमेरिकामा जारी विश्वकप अन्तर्गतत भारत र पाकिस्तानबिचको खेलका क्रममा न्यूयोर्कमा प्रत्यक्ष र अप्रत्यक्ष गरी ७८ मिलियन अमेरिकी डलरले आर्थिक क्षेत्र चलायमान हुने प्रक्षेपण एन्डरसन इकोनोमिक ग्रुपले गरेको थियो ।

प्रत्यक्ष रूपमा ४६ मिलियन र अप्रत्यक्ष रूपमा ३२ मिलियनको प्रभाव अर्थतन्त्रमा पर्ने प्रक्षेपण सो ग्रुपको थियो । खासमा विश्वकपका खेलहरू हेर्नका लागि समर्थकले लामो दूरी तय गर्छन् । समर्थकले यात्राका क्रममा गर्ने खर्च, होटलमा बस्दा हुने खर्च, खेल टिकट र अन्य खर्च गर्छन् । यस्तै समर्थकले जर्सी लगायतका सामग्री किन्दा समेत विश्वकपका खेलहरू भइरहेका सहरको अर्थतन्त्रमा प्रभाव पर्छ । जसको प्रत्यक्ष प्रभाव सिङ्गो अर्थतन्त्रमा पर्छ ।

  • खेल सामग्री आयातमा कति रकम बाहिरिन्छ ?

नेपालमा प्रत्येक वर्ष अर्बौं रुपैयाँको खेल सामग्री आयात हुँदै आएको छ । व्यावसायिक रूपमा खेल प्रतियोगिता नभए पनि विभिन्न प्रकारका खेल सामग्रीमा भने अर्बौं रुपैयाँ बाहिरिँदै आएको छ ।

तथ्याङ्कअनुसार स्नो–स्कि, गल्फ बल, वाटर स्कि, गल्फ इक्यूपमेन्ट, टेबल टेनिस, लन टेनिस, ब्याडमिन्टन, फुटबल, भलिबल र क्रिकेट बल तथा यी खेलसँग सम्बन्धित वस्तु आयात हुँदै आएको छ ।

यी सबै बल र खेल सामग्रीको आयातमा चालु वर्षको १० महिनाको अवधिमै १ अर्ब १३ करोड रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ । यसबाहेक नेपालबाट जर्सीको आयातमा समेत बर्षेनि अर्बौं रुपैयाँ बाहिरिँदै आएको छ । चालु वर्षको १० महिनाको अवधिमा विभिन्न प्रकारका जर्सीको आयातमा १ अर्ब ६० करोड रुपैयाँभन्दा बढी रकम बाहिरिएको भन्सार विभागको तथ्याङ्क छ ।

खेल सामग्री र गुणस्तरीय जर्सी नेपालमा उत्पादन नहुँदा भारत लगायत विश्वका विभिन्न मुलुकबाट जर्सी र खेल सामग्री आउँछ । नेपालमा भारतसहित, अमेरिका, चीन, अष्ट्रेेलिया, थाइल्याण्ड, इटाली, फ्रान्स, जर्मनी, हङकङ लगायतका मुलुकबाट जर्सी तथा खेल सामग्री आउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप