आइतबार, ३० असार २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

जसपा नेपालमा १८ महिनाको राजनीतिक यात्रा पीडादायी रह्यो : दीपेन्द्र झा

‘सङ्घीयतालाई बलियो बनाउन उपेन्द्र यादवले क्षेत्रीय पार्टीमा जोड दिनुपर्छ’
बुधबार, ३० जेठ २०८१, ११ : ३३
बुधबार, ३० जेठ २०८१

मधेस प्रदेश सरकारका पूर्वमुख्यन्यायाधिवक्ता एवं जसपा नेपालका नेता दीपेन्द्र झाले सो पार्टीबाट राजीनामा दिइसकेका छन् । तर उनको राजीनामा पार्टीले स्वीकृत गरेको छैन । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अधिवक्तासमेत रहेका झालाई बोलाएर राजीनामा स्वीकृत नहुने जनाइसकेका छन् । तर न झाले राजीनामा फिर्ता लिएका छन्, न पार्टीले राजीनामा स्वीकृत गरेको गरेको छ ।

पार्टी विभाजन र महाधिवेशनको क्रममा अधिवक्ता झाले राजीनामा दिँदा पार्टीभित्र ठुलै तरङ्ग ल्याएको थियो । उनलाई पार्टीमा फर्काउन निकै प्रयास भइरहेको छ ।

अधिवक्ता झाले पार्टीबाट राजीनामा दिनुको कारण, पार्टी विभाजनको मुख्य कारण, जसपा नेपालको भविष्य र कार्यदिशाका बारेमा रातोपाटीका लागि एसके यादवले अधिवक्ता दीपेन्द्र झासँग विस्तृत कुराकानी गरेका छन् । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंशः 

  • जसपा नेपालबाट चुनाव लड्नु भयो, अहिले पार्टी विभाजन भएपछि तपाईंले राजीनामा दिनुभयो, किन ?

जसपा नेपालमा मेरो राजनीतिक यात्रा १८ महिनाको मात्र हो । त्यसअघि म पाँच वर्षसम्म मधेस प्रदेशको मुख्य न्यायाधिवक्ता थिएँ । मुख्य न्यायाधिवक्ता हुँदासम्म म कुनै पनि पार्टीमा थिइनँ । मलाई मुख्य न्यायाधिवक्ताका लागि जसपा नेपालबाट आग्रह भएको थियो । मेरो ल फर्ममा लालबाबु राउत, प्रदीप यादव र इस्तियाक राई आउनु भएको थियो । मधेस प्रदेशमा सरकार गठन हुन लागेको छ, तपाईं मधेस प्रदेश जानु पर्‍यो । सङ्घीयता कार्यान्वयनका लागि तपाईंले त्यहाँ गएर काम गरिदिनु पर्‍यो भन्नुभयो । त्यतिबेला जसपा नेपालको पार्टी अफिस तीनकुनेमै थियो । मधेस प्रदेश जाने इच्छा मेरो थिएन । काठमाडौँमै मेरो ल फर्म ठिकठाक चलिरहेको थियो ।

तर उपेन्द्रजीले सङ्घीयता लगायतका विषयमा मसँग निकैबेर कुराकानी गर्नुभयो । म जानका लागि तयार भएँ । म मधेस प्रदेश गएँ । त्यहाँ कुनै पनि संरचना थिएन । कहाँबाट काम सुरु गर्ने, के गर्ने भन्ने अन्योल थियो । काम सुरु गरेँ । पाँच वर्षसम्म सफलतापूर्वक काम गरेँ ।

हामीले त्यतिबेला गरेको कामको रिजल्ट अहिले पनि त्यहाँ देखिन्छ । मैले त्यहाँ ऐन, कानुन बनाएको कुरालाई लिएर मलाई अहिलेसम्म बधाई आइरहेको छ । अहिलेसम्म मान्छेले मलाई फोन गरेर प्रशंसा गरिरहेका हुन्छन् । सात वटै प्रदेशमध्ये मधेस प्रदेशमा निकै एग्रेसिभ ऐन कानुन बनेका छन् । मेरो काम देखेर उपेन्द्रजीले मलाई पार्टीमा आएर काम गर्नुपर्‍यो भन्नुभयो । दुई वर्षसम्म टार्दै गएँ । २०७९ को चुनावभन्दा केही अगाडि उहाँले पार्टीमा आउनै पर्छ भन्नुभयो । सङ्घीय पार्लियामेन्टमा तपाईंजस्तो व्यक्ति चाहिन्छ, सङ्घीयता कार्यान्वयनको कुरा छ, ऐन कानुन बनाउने काम अगाडि बढेको अवस्थामा पार्टीको तर्फबाट तपाईंको भूमिका चाहिन्छ भन्नुभयो । म पनि तयार भएँ । पार्टी प्रवेश गरेँ । पार्टीमा प्रवेश गर्ने बित्तिकै जिल्लाबाट विभिन्न घेराबन्दी सुरु भयो, जुन मैले कल्पना नै गरेको थिइनँ ।

सङ्घीय पार्लियामेन्टमा तपाईंजस्तो व्यक्ति चाहिन्छ, सङ्घीयता कार्यान्वयनको कुरा छ, ऐन कानुन बनाउने काम अगाडि बढेको अवस्थामा पार्टीको तर्फबाट तपाईंको भूमिका चाहिन्छ भन्नुभयो । म पनि तयार भएँ । पार्टी प्रवेश गरेँ । पार्टीमा प्रवेश गर्ने बित्तिकै जिल्लाबाट विभिन्न घेराबन्दी सुरु भयो, जुन मैले कल्पना नै गरेको थिइनँ ।
  • कस्तो घेराबन्दी ?

विभिन्न टिप्पणी सुरु भएको थियो । कोही खुलेर असन्तुष्टि पोखिरहेका थिए भने कोही भित्रभित्रै । सोही सन्दर्भमा उपेन्द्रजीले आफैँले गरेको प्रतिबद्धताभन्दा फरक टिकट मलाई दिनुभयो । प्रतिनिधि सभाको टिकट नदिएर प्रदेश सभाका लागि दिनुभयो । मलाई त्यो कुराले दुःख पनि लागेको थियो । पाँच वर्ष मैले प्रदेशमा काम गरेकै थिएँ । प्रदेशमा चुनाव लड्ने मेरो कुनै इच्छा नै थिएन । मलाई अध्यक्ष उपेन्द्र यादवजीले समानुपातिकको एक नम्बरमा बस्नुस् या राष्ट्रिय सभामा जान पनि भन्नुभएको थियो । संसद भनेपछि जनताबाट निर्वाचित भएर आउनुपर्छ भन्ने मेरो मान्यता हो । समानुपातिक प्रतिनिधि सभा वा राष्ट्रिय सभामा मनोनीत हुनुभन्दा राम्रो त मेरो वकालत छ । अध्यक्षज्यूले त प्रदेश सभामा चुनाव जितेपछि मुख्यमन्त्री नै बनाउने प्रतिवद्धता जनाउनु भएको थियो । प्रदेशमा चुनाव लडेँ । १७२ मतले चुनाव हारेँ ।

  • चुनाव हारेपछि पार्टीमा तपाईंको भूमिका कस्तो रह्यो ?

चुनाव हारेपछि पनि उपेन्द्रजीले पार्टीमा महत्त्वपूर्ण भूमिका दिनुभयो । पार्टीको विधान मस्यौदा समितिमा राख्नुभयो । विधान प्रमाणीकरण समितिमा राख्नुभयो । अहिले महाधिवेशन सम्पन्न गराउन निर्वाचन समितिको संयोजक पनि बनाउनु भएको छ । १८ महिनामा मैले पाएको अवसर सानो होइन, ठुलै हो ।

IMG20240606084021

पछिल्लो समय पार्टी अकस्मात् छापामार शैलीमा विभाजन भयो । मैले पनि कुनै सुइँको पाउन सकिनँ । पार्टी विभाजन हुँदै छ भन्ने थाहा पाएको भए त्यसलाई बचाउन कुनै न कुनै उपाय गर्थेँ तर थाहै पाइनँ । उपेन्द्रजी जुन दिन अमेरिका जानुभयो, त्यो दिन मैले उहाँसँग भेटेको थिएँ । अढाई घण्टा हामीले सँगै समय बिताएका थियौँ ।

अर्को कुरा भनिहालौँ, महाधिवेशनबाट पार्टीलाई क्षति हुन्छ भन्ने कुरा मलाई पहिलादेखि नै लागिरहेको थियो । जनजातिबाट आएका नेताहरूको जनमत नभए पनि फेसभ्यालु छ । तर पार्टीको महाधिवेशन जनमत अर्थात् सङ्ख्याको आधारमा भइरहेको छ । त्यही अनुसार तयारी पनि सुरु भएको छ । त्यसले जनजातिका साथीहरूलाई चित्त बुझ्दैन कि भन्ने मलाई सुरुदेखि नै लागिरहेको थियो । अध्यक्षजी अमेरिका जानुभयो । पार्टी विभाजन भयो ।

  • तपाईंले आफ्नो राजीनामा पत्रमा त पार्टी विभाजनको आरोप लागेका कारण पार्टी छाडेको भन्नुभएको छ, त्यो कसरी ?

पार्टी विभाजन भएपछि धेरै मन मिल्ने साथीहरू जसपा नेपालबाट अलग हुनुभयो । त्यसले मलाई निकै दुःखी बनाएको थियो । धेरै निकटका साथीहरू हुँदा पनि उहाँहरूले पार्टी विभाजनको बारेमा सुइँको समेत दिनुभएन किनभने उहाँहरूलाई थाहा थियो कि म उपेन्द्र यादवजीसँग क्लोज छु । त्यही भएर पार्टी सम्बन्धी कुनै पनि कुरा मसँग सेयर गर्नुभएन उहाँहरूले । त्यसपछि पार्टीका तर्फबाट अदालतमा विभाजनविरुद्ध मुद्दा दायर भयो ।

  • पार्टीले मुद्दा दायर गरेपछि त्यसमा तपाईंले किन सहयोग गर्नुभएन त ?

पार्टी विभाजनपछि मुद्दामा जानुपर्छ भनेर अध्यक्षजीले मलाई, विरेन्द्र ठाकुर र मिथलेस सिंहलाई बोलाउनुभयो । विरेन्द्र ठाकुरसँग मलाई अलिकति परहेज छ । मैले मुख्य न्यायाधिवक्ताको रुपमा त्यहाँ काम गरेँ । त्यत्रो फाउन्डेसन बनाइदिएँ । त्यत्रो काम गरेँ । उहाँ आएपछि एउटा धन्यवाद पनि दिनुभएन । उल्टै मेराविरुद्ध टिप्पणी गर्न थाल्नुभएको थियो । त्यही कारणले मैले उहाँसँग परहेज नै गरिरहेको थिएँ ।

उपेन्द्रजीले मुद्दाको बारेमा सल्लाह माग्दा उहाँहरूले सिधै रिटमा जानुपर्छ भन्ने सल्लाह दिनुभयो । मैले रिटमा जानु हुँदैन भनेँ । ‘हेड काउन्टिङ’का लागि निर्वाचन आयोगमै जानुपर्छ भन्ने सुझाव दिएँ । पार्टीको आधिकारिकता हामीसँग छ । नयाँ पार्टी बन्नै सक्दैन । अध्यादेश अनुसार उनीहरूले २० प्रतिशत सङ्ख्या पुर्‍याउन सकेको छ कि छैन, त्यो पनि जाँच गर्नुपर्छ । अथवा ४० प्रतिशत पुग्छ कि पुग्दैन, त्यो जाँच त गराउनु पर्‍यो नि । त्यसका लागि निर्वाचन आयोगमा मुद्दा दिनुपर्छ भन्ने सुझाव दिएको थिएँ । तर उहाँहरू रिटको पक्षमै हुनुहुन्थ्यो । त्यहाँबाट मेरो सैद्धान्तिक ‘डिफरेन्सेज’ भयो । पछि मैले उपेन्द्रजीलाई एक्लै पनि भेटेँ र भनेँ– पार्टी विभाजन गरेर गएकाहरूको विपक्षमा म बहस गर्न सक्दिनँ । उहाँहरूसँग आजको सम्बन्ध होइन, धेरै लामो र गहिरो सम्बन्ध छ । मैले त्यहाँ बहस गरेँ भने त्यहाँ ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’का कुरा पनि आउनसक्छ । मैले जसपा नेपालको तर्फबाट बहस गर्न म सिधै इन्कार गरेको थिएँ । त्यसरी म बहस गर्न तयार नभएपछि उनीहरूबाट मेरो बारेमा विभिन्न गलत प्रचार भयो । पार्टी विभाजनमा सहयोग गरेको आरोप पनि लगाए । पार्टीभित्र पनि भ्रम फैलाइयो ।

मैले रिटमा जानु हुँदैन भनेँ । ‘हेड काउन्टिङ’का लागि निर्वाचन आयोगमै जानुपर्छ भन्ने सुझाव दिएँ । तर उहाँहरू रिटको पक्षमै हुनुहुन्थ्यो ।

जनकपुरमा पनि जताततै कुरा फैलाउने काम भयो । जता जाँदा त्यही कुरा हुन्थ्यो । धेरैले मलाई फोन गरेर पनि सोध्न थाले । अर्थात् पार्टीभित्र र बाहिर मलाई बदनाम गराउने काम भयो । मेरो ‘इथिक्स’ले नमानेको कुरामा मलाई जबरजस्ती गर्न मिल्दैन । त्यही कुरालाई लिएर साथीहरूले बदनाम गराउने प्रयास गर्नुभयो । महाधिवेशनका लागि निर्देशिका बनाउँदा मैले निकै मेहनत गरेँ । त्यो निर्देशिका तयार भइसकेको छ । निर्देशिका समितिमा मैले आफ्नो चिनेका एक जना सन्तोष साहलाई राखेको थिएँ । त्यसमा पनि केही साथीको विरोध थियो । त्यसलाई हटाउनका लागि दबाब पनि आयो । तर म हटाउन तयार भइनँ । बरु मलाई संयोजकबाट हटाउनुस् र अर्को संयोजक राख्नुस्, त्यसले निर्णय गरेर हटाइदिन्छ पनि भनेँ । पत्र नै पठाएँ । त्यसपछि उपेन्द्रजीले बोलाउनु भयो र भन्नुभयो– छोडदिनुस्, हटाउनु पर्दैन । काम गराउनुस् राम्रोसँग ।

अहिले त्यो सन्तोष साहले सबैभन्दा उत्कृष्ट काम गर्नुभएको छ । सबैले उहाँको कामको प्रशंसा गरिरहेका छन् । मेरो कुरालाई लिएर कसैलाई चित्त नदुखोस् । मुद्दामा कुनै प्रकारको कन्फ्लिक्ट नहोस् भनेरै मैले राजीनामा दिएको हुँ ।

  • राजीनामा स्वीकृत भइसक्यो त ?

राजीनामा दिइसकेपछि अध्यक्षजी (उपेन्द्र यादव)ले मलाई बोलाउनु भएको थियो । उहाँले तपाईंको राजीनामा स्वीकृत गर्न सक्दिनँ भन्नुभयो । मैले भने, ‘ममाथि पार्टीभित्रै अविश्वास भयो, यहाँसम्म कि बुद्ध एयरको फ्लाइटमा जाँदा पनि साथीहरूले मेरो कुरा काट्दा त्यहाँ थुप्रै जनाले मेरो कुरा सुन्नुभएको थियो र त्यसमध्ये एक जनाले मलाई कुरा सुनाउनु भएको थियो । सार्वजनिक स्थलमा कसैको टिप्पणी गर्नु राम्रो होइन । कहाँ बोल्दैछु, के बोल्दैछु, विचार गर्नुपर्थ्यो नि ।’

म अधिवक्ता भएको कारण कहाँ बहस गर्छु, कहाँ गर्दिनँ, त्यो मेरो अधिकारको कुरा हो । मैले दुवैमध्ये कसैको पक्षमा बहस गरिनँ नि । मैले प्रदीपहरूको पक्षमा बहस गरेको भए ममाथि प्रश्न उठाउन मिल्थ्यो, मेरो नैतिकतामाथि प्रश्न उठाउन मिल्थ्यो । मैले कसैको पक्षमा बहस गरेको छैन ।

उपेन्द्र यादवको आग्रहलाई सहज रुपमा लिएँ । मैले राजीनामा फिर्ता लिएको छैन । तर महाधिवेशन सफल पार्न सहयोग गर्छु भनेको छु । म विभिन्न बैठकमा सहभागी भएको छु । महाधिवेशनको विषयमा सल्लाह सुझाव दिएको छु । तर पहिलाजस्तो सक्रिय छैन । अप्रत्यक्ष रुपमा सहयोग पुर्‍याइरहेको छु । ग्राउन्डका सबै काम सकिएको छ । महाधिवेशनका लागि निर्देशिका बनाएर दिएको छु । त्यसको आधारमा महाधिवेशन सम्पन्न गराउन सजिलो हुन्छ ।

यसको मतलब तपाईं पार्टीमा फिर्ता हुनुभयो ?

म अब राजनीति गर्दिनँ भन्ने निष्कर्षमा पुगेको छु । मलाई १८ महिनाले नै पुग्यो । म झन्झट गरेर राजनीति गर्ने पक्षमा छैन । १८ महिनाको अनुभव एकदम तितो रह्यो । मधेस आन्दोलनको फ्रन्टमा रहेर काम गर्दा त्यति गाह्रो भएको थिएन, जति गाह्रो मलाई जसपा नेपालमा १८ महिनामा भयो । मलाई राजनीतिबाट नै वितृष्णा भएको छ । मलाई के लाग्यो भने हाम्रो समाज तथा भोटर अहिले परिपक्व छैन । समाज पनि पढे लेखेका मानिस राजनीतिमा आओस् र त्यसमा टिकोस् भन्ने अवस्थामा पुगेको छैन । अथवा त्यसरी सङ्घर्ष गरेर राजनीति गर्ने क्षमता मेरो पनि नहुन सक्छ । चुनाव हारेर आएपछि म निकै चिन्तित थिएँ तर आफूलाई सम्हालेँ । म चुनाव हारेर आएपछि मेरो बैंक खातामा १० हजार रुपैयाँ थियो । छोरीको विद्यालय शुल्कको बिल आइसकेको थियो । मैले आफ्नो कर्मलाई निरन्तरता दिएँ । जनताको साथ र सहयोग पाएँ । आज मेरो फर्म राम्रै चलिरहेको छ । मलाई राजनीति १८ महिनाले नै पुग्यो । कानुनी अभ्यासमै सक्रिय रहने सोच बनाइसकेको छु ।

म अब राजनीति गर्दिनँ भन्ने निष्कर्षमा पुगेको छु । मलाई १८ महिनाले नै पुग्यो । म झन्झट गरेर राजनीति गर्ने पक्षमा छैन । १८ महिनाको अनुभव एकदम तितो रह्यो ।

तपाईंले सक्रिय राजनीति नगरे पनि राजीनामा स्वीकृत नहुँदासम्म तपाईंलाई त जसपा नेपालकै नेताका रूपमा हेर्न मिल्छ नि ?

म जसपा नेपालमा भए पनि अहिलेसम्म कुनै सङ्गठन वा पदमा आबद्ध छैन । उपेन्द्रजीले मलाई जहिले पनि बौद्धिक वर्क, नीतिगत काममात्र दिनुभएको छ । वकिलले गर्नुपर्ने कामहरू नै उहाँले मलाई दिनुभएको छ । निर्वाचन गराउने काम पनि वकिलको हो । म पार्टीको कुनै पनि पदमा छैन । अहिले जे सहयोग पार्टीलाई गरिरहेको छु, त्यो पछिसम्म पनि गर्छु । तर म जसपामा सक्रिय राजनीति गर्दिनँ ।

  • जसपा नेपाललाई तपाईंले निकै नजिकबाट हेर्नुभएको छ, पछिल्लो समय जसपा नेपाल विभाजनलाई कसरी लिनुभएको छ ?

मधेस आन्दोलनको जगमा बनेको मधेसी जनअधिकार फोरम पार्टी नौ पटक विभाजन भइसकेको छ । विजयकुमार गच्छदारदेखि अहिले पछिल्लो अशोक राईसम्मको घटनाक्रम हेर्दा कहीँ न कहीँ पार्टीले गरेका निर्णयहरूमा पुनर्विचार गर्नुपर्छ । पछिल्लो पटक पनि त्रुटि भएको छ । अध्यक्षजी बाराबाट चुनाव लड्नु भयो, ठिक छ तर उहाँ सरकारमा जानु हुँदैनथ्यो । त्यहाँ प्रदीप यादव र नवलकिशोर साहलाई पठाउनु पर्थ्यो । चुनाव जितेर आएपछि उहाँले म सरकारमा जाँदिनँ भनेर प्रतिबद्धता पनि गर्नुभएको थियो । प्रदीपजीलाई स्वास्थ्य मन्त्रीमा पठाएको भए यो समस्या आउने थिएन जस्तो लाग्छ मलाई । नेतृत्वले जहिले पनि आफू सरकारमा जानलाई मरिहत्ते गर्नुहुँदैन । यो कार्यकालमा उहाँले आफूलाई सत्ताभन्दा बाहिर राख्नु पर्थ्यो ।

  • तपाईं सत्ताको कारण पार्टी विभाजन भयो भन्नुहुन्छ तर उहाँहरू (अशोक राई)ले सत्तालाई अलिकति छुनु भएको छ तर मुख्यकारण महाधिवेशनलाई नै बनाउनु भएको छ । तपाईंलाई के लाग्छ, महाधिवेशन पनि कारण हो र ?

यो पार्टीमा आदिवासीका साथीहरू हुनुहुन्छ, पहाडीमुलका साथीहरू हुनुहुन्छ । अशोक राई, राजेन्द्र श्रेष्ठदेखि लिएर पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, विजयकुमार गच्छदार, जेपी गुप्ता, महन्थ ठाकुर, राजेन्द्र महतोहरूले उहाँलाई नेता मानेर पार्टीमा आउनु भएकै हो । तर उहाँहरू टिक्न सक्नुभएन । जो–जो आए सबैले उपेन्द्र यादवलाई नेता मानेर आउनु भएको थियो । उहाँहरूलाई उपेन्द्र यादवले जोगाएर राख्नुपर्थ्यो, सम्मान दिन सक्नुपर्थ्यो, अलि पछाडि हटेर उहाँहरूलाई अलिकति स्पेस दिएर राख्नुपर्थ्यो तर सक्नु भएन । उहाँहरू कचौरा लिएर आउने, डोको भरेर जाने हो कि भन्ने मनसाय नेतृत्व पङ्क्तिमा देखिएको छ । उहाँहरू यो सोचेर आउनु भएको थिएन । उहाँहरूको फेस भ्यालु थियो, राष्ट्रिय छवि भएका व्यक्ति हुनुहुन्थ्यो ।

मधेस बेसको पार्टीले पहाडमा कति मत ल्यायो वा फलानोले कति मत ल्यायो भनी सोधखोज गर्नु नै गलत थियो । कतिपय व्यक्तिसँग मत नभए पनि उसको फेसलाई क्यास गर्न सकिन्छ । त्यतिकै मञ्च दिएर पार्टीमा राख्नुपर्छ । कांग्रेस पार्टीले प्रदीप गिरीलाई पार्टीमा सधैँ किन सम्मानपूर्वक राख्यो ? उहाँसँग मलाई लाग्दैन कि मत थियो र जनताको भोट थियो तर उहाँ नेशनल फिगर हुनुहुन्थ्यो नि ! बाबुराम र महन्थसँग मत नहोला, विजयकुमार गच्छदार र राजेन्द्र श्रेष्ठसँग भोट नहोला तर उहाँहरू नेशनल फिगर हो नि । उहाँहरूलाई सम्मानपूर्वक पार्टीमा राख्नुपर्थ्यो ।

मधेस बेसको पार्टीले पहाडमा कति मत ल्यायो वा फलानोले कति मत ल्यायो भनी सोधखोज गर्नु नै गलत थियो । कतिपय व्यक्तिसँग मत नभए पनि उसको फेसलाई क्यास गर्न सकिन्छ । त्यतिकै मञ्च दिएर पार्टीमा राख्नुपर्छ । कांग्रेस पार्टीले प्रदीप गिरीलाई पार्टीमा सधैँ किन सम्मानपूर्वक राख्यो ? उहाँसँग मलाई लाग्दैन कि मत थियो र जनताको भोट थियो तर उहाँ नेशनल फिगर हुनुहुन्थ्यो नि !

जसपा नेपालको नेतृत्व पक्षले फेस भ्यालु बुझ्न सकेन । ती फेसहरूसँग भोटको तुलना गर्न थाल्यो । पार्टीबाट त्यहाँ गल्ती भएको छ । ती सैद्धान्तिक मिस्टेकलाई प्राविधिक कुरामा पनि लिन सकिन्छ । समिति बन्नु, निर्देशिका बन्नु, सङ्गठन बन्नु र त्यसमा उनीहरूलाई स्थान नदिनु भनेकै त्यही कुरा हो । नम्बर र सङ्ख्याको नजर हेरेका छन् । घरमा हात्ती ल्याइसकेपछि त्यसलाई स्पेस दिनुपर्दैन, खुराक दिनुपर्दैन ? कि हात्तीले दौड लगाउन सकेन, सङ्ख्या देखाउन सकेन भनेर त्यतिकै छाडिदिने ? हात्ती राखेर यति थोरै स्पेसमा बस भनेर हुन्छ ? पार्टीबाट त्यही गल्ती भएको छ । निर्देशिका बनाएँ तर त्यसलाई कार्यकारिणी तथा केन्द्रीय समितिबाट पास गराउनुपर्छ भनेको थिएँ । त्यहाँबाट पास भएको भए सबैले अपनत्व लिन्थे । जे कानुन बनाउनु हुन्छ, जसका लागि बनाउनु हुन्छ, त्यसको सहभागितामा बनाउनु पर्थ्यो । नभए त्यसको भ्यालु हुँदैन ।

त्यतिबेला उपेन्द्रजी अमेरिकामा हुनुहुन्थ्यो । मैले परशुराम बस्नेतलाई भनेँ । उहाँले तपाई नै इन्डोर्स गर्दिनुस् भन्नुभयो । मैले भनेँ, ‘के त्यो मेरोलागि बनेको हो र ? जसको लागि बनेको छ, त्यसको स्वीकृत र सहभागिता चाहिँदैन ?’ तर उहाँहरूले केही गर्नुभएन ।

  • त्यसो भए उहाँहरूले महाधिवेशनको प्रक्रियाप्रति गरेको टिप्पणी सही हो त ?

उहाँहरूलाई जे भनेर ल्याइएको थियो, जे भनेर राखेको थियो, त्यसको स्पेस पनि छ है भनी ग्यारेन्टी गरेको भए समस्या हुँदैनथ्यो । अशोक राईलाई वरिष्ठ नेता, राजेन्द्र श्रेष्ठलाई सहअध्यक्ष, इस्तियाक राईकै लागि कुनै पद, रेणु यादव हुनुहुन्छ, अहिले पनि थुप्रै नेताहरू हुनुहुन्छ । सबैसँग सल्लाह गरेर अगाडि बढेको भए सायद यो समस्या आउँदैनथ्यो । सबै पार्टीले गर्ने यही नै हो । मेरो विचारमा अहिले पनि केही बिग्रेको छैन । भोलि यी साथीहरू जसपा नेपालमा फर्किनु हुन्न भन्न सकिँदैन । त्यहाँबाट अलग भएका सबै जना विगतमा उपेन्द्र यादवका प्रिय नै हुनुहुन्थ्यो । उपेन्द्र यादवले राम्रोसँग कुरा गर्नुभयो भने मलाई लाग्छ, उहाँहरूले पुनर्विचार गर्न सक्नुहुन्छ । मेरो विचारमा अहिले सत्तोसराप गर्ने अवस्था छैन ।

IMG20240606084024

  • तपाईंले नेतृत्व पंक्तिप्रति प्रश्न उठाउनुभयो । नेतृत्वकै कमजोरीका कारण पार्टीको यो अवस्था भयो, सङ्घ र प्रदेश दुवै सरकारबाट अलग हुनुपर्‍यो । महाधिवेशन चालु छ, एउटा निष्कर्ष आउला तर यो अवस्थाले मधेसको समग्र राजनीतिमा के असर पर्छ ?

नेतृत्वकै सबै गल्ती हो भनेर कडाइका साथ भनेको होइन । केही सैद्धान्तिक कमी कमजोरी देखाएको मात्र हुँ । त्यो अवस्था तलदेखि माथिसम्म देखिएको छ । तर प्रभाव अध्यक्षजीमा पनि परेको छ । नेतृत्वले आफूलाई पुनरावलोकन गर्नुपर्छ । प्रहार भएपछि त्यसको असर कहाँकहाँ पर्छ भन्ने थाहा हुँदैन । यसपालि जसपा नेपालमाथि प्रहार भएको छ, सबैतिर एकैपटक प्रहार भयो र त्यसले यो अवस्था देखिएको हो । उपेन्द्रजीले यो बिचमा गठबन्धन पनि धेरै हेरफेर गर्नुभयो । त्यसले गर्दा विश्वासको सङ्कट पनि देखियो । कांग्रेस–माओवादीको गठबन्धनमा हुनुहुन्थ्यो । लास्टमा एमालेसँग गठबन्धन गरेर चुनाव लड्नुभयो । चुनाव सकेर आउने बित्तिकै पुनः कांग्रेस–माओवादीको गठबन्धनमा जानुभयो । फेरि त्यहाँबाट एमाले–माओवादी गठबन्धनमा जानुभयो । अहिले कांग्रेसतिर जानु भएको छ । अहिले शेरबहादुर देउवाले पनि उहाँसँग कुरा गर्दा शङ्काले नै गर्नुहुन्छ जस्तो लाग्छ । यो अविश्वास किन ? भारतमा एनडीए र इण्डिया एलाइन्स छ । तीस वर्षदेखि एउटै एलाइन्समा छ । तपाईं कुन कित्ताको हो, त्यो त स्पष्ट हुनुपर्छ नि । राजनीति गरेपछि यति त ‘मेन्टेन’ गर्नुपर्छ नि कम से कम ।

नेतृत्वले आफूलाई पुनरावलोकन गर्नुपर्छ । प्रहार भएपछि त्यसको असर कहाँकहाँ पर्छ भन्ने थाहा हुँदैन । यसपालि जसपा नेपालमाथि प्रहार भएको छ, सबैतिर एकैपटक प्रहार भयो र त्यसले यो अवस्था देखिएको हो ।
  • जसपा नेपाल मधेसको राजनीतिलाई लिड गर्ने पार्टी हो, यो विभाजन भएपछि त्यहाँको मुद्दामा केही प्रभाव पर्ला ?

धेरै ठुलो प्रभाव परेको छ । मधेसवादी दलहरूसँग जुन एजेन्डा थियो, विभाजन भएपछि त्यसमा असर परेको छ । खासगरी मधेसवादी दलहरू सत्तामा गएपछि विभाजन भएका हुन् । तर आन्दोलनमा एकीकृत भएका छन् । पार्टीहरू यति विभाजन भए कि अब त मान्छेले एजेन्डाहरू नै बिर्सन थाले । विभाजनले गर्दा एजेन्डाहरू हराएका छन्, सङ्घीयता पनि कमजोर भएको छ । यो विभाजनले राष्ट्रिय पार्टीहरू खुसी नै छन् । तर मधेसी जनता दुःखी छन् ।

अब रिभाइभ कसरी हुन्छ त ?

अबको एउटै उपाय हो, पार्टीको नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्छ । २० वर्ष निरन्तर राजनीति गर्नेले अब कति राजनीति गर्ने हो ? २० वर्ष लगातार पावरमा छन् । अब त नयाँ पुस्ता, नयाँ भिजन आइसक्यो । अब त छोडिदिँदा हुन्छ नि । हिँड्न नसक्ने, मञ्चमा पनि हात समाएर लगिदिनुपर्ने नेताहरू नेतृत्व छाड्दैनन् अनि समस्याको समाधान कसरी हुन्छ ? के राजनीतिमा रेस्ट गर्ने, अवकाश लिने हुँदैन ? मलाई लाग्छ मधेसको राजनीतिमा परिवर्तन भएन । मधेसमा नयाँ सोच, नयाँ विचार र नयाँ पुस्ता अनुसार नेतृत्वमा पनि परिवर्तन आउनुपर्छ । कांग्रेसमा हेर्नुस् न, गगन थापाले लिड गर्न थाल्नुभयो । पार्टीमा शेरबहादुर देउवा ओझेलमा पर्न थाल्नुभएको छ । अब यो देशको प्रधानमन्त्री गगन थापा बन्ने कि रवि लामिछाने बन्नेमा प्रतिस्पर्धा हुन्छ तर मधेसमा त्यो खालको सोच नै बनेको छैन । मधेसमा सबै जना आशाराम बापुको भक्तमात्रै भए ।

अबको एउटै उपाय हो, पार्टीको नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्छ । २० वर्ष निरन्तर राजनीति गर्नेले अब कति राजनीति गर्ने हो ? २० वर्ष लगातार पावरमा छन् । अब त नयाँ पुस्ता, नयाँ भिजन आइसक्यो ।
  • सङ्घीयतामाथि मधेसबाटै खतरा छ रे, तपाईंलाई के लाग्छ ?

मैले तीन वटा कुरा सोचेको छु । कि त पूरै समय वकालत गर्ने, सबै पार्टी बराबर, सबैका लागि काम गर्ने । नभए क्षेत्रीय पार्टी स्थापना गर्ने र त्यसमा काम गर्ने । काठमाडौँ आउँदै नआउने । ममता बनर्जी जसरी पश्चिम बंगालमा बसेर काम गरिरहेकी छन्, त्यसरी नै मधेस प्रदेशमा बसेर काम गर्ने । आफैँ प्रहरी भर्ना गर्ने, आफैँ लोकसेवा निकाल्ने र सबै निर्णय गर्दै अगाडि बढ्ने । पार्टीको केन्द्रीय कार्यालय मधेसमै राख्ने । यो कुरा मैले उपेन्द्रजीलाई सुरुदेखि नै भन्दै आएको छु । म त क्षेत्रीय पार्टीलाई बलियो बनाउने पक्षमा छु ।

दिल्लीबाट सीआइबी पश्चिम बंगाल जाँदा ममता बनर्जीले थुन्नु भएको थियो । त्यस्तै पार्टी बनाउनुपर्छ । त्यसले मात्र सङ्घीयता र गणतन्त्र बलियो हुन्छ । राष्ट्रिय पार्टी बनाउने चक्करमा पार्टी टुक्राटुक्रा भएका छन् ।

मधेसवादी दल सकभर केन्द्रीय सत्ताबाट अलग हुने र प्रादेशिक सत्ता सधैँ आफ्नो हातमा राख्ने । अर्थात् मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेको शैलीमा राजनीति गर्नुपर्छ । तर मधेसवादी दलले राप्रपाको शैलीमा काम गरिरहेका छन् । जो आए पनि मिलेका छन् । सत्तामा गएका छन् । त्यसले अब राजनीति हुँदैन ।

अहिले नै हेर्नु न, नरेन्द्र मोदी प्रधानमन्त्री हुने कि नहुने निर्णय नितिश कुमार र चन्द्रबाबु नाइडुले गर्नुभयो । नेपालमा प्रधानमन्त्री को बन्ने भनेर मधेसले निर्णय गर्ने खालको राजनीति गर्नुपर्छ । त्यसपछि आफैँ सबै कुरामा हिस्सेदारी पाउँछन् । हिस्साका लागि काठमाडौँ आउनै पर्दैन । तर केन्द्रीय सत्ताबाट आफूलाई परहेज गर्नुपर्छ ।

  • जसपा नेपाल विभाजनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । यस्तो अवस्थामा जसपा नेपालको महाधिवेशन हुँदा भोलि कुनै अप्ठ्यारो पर्छ कि पर्दैन ?

अदालतमा मुद्दा विचाराधीन छ । अदालतले यथास्थितिमा राख्न भनेको छ । जुन निर्णय भएको छ, त्यसको हकमा अदालतले बोलेको छैन । निर्णय नभएको विषयलाई यथास्थितिमा राख्न भनेको छ । जहाँसम्म महाधिवेशनको कुरा छ, राजनीतिक दलको आन्तरिक विषयमा अदालत प्रवेश गर्दैन । त्यही भएर महाधिवेशनको विषयमा परेको रिट दरपिठ गरिदिएको छ । त्यसमा हस्तक्षेप नगर्ला जस्तो मलाई लाग्छ । निर्वाचन आयोगले त्यसमा केही निर्णय लिनसक्छ । गरेको महाधिवेशन कानुनी रूपमा छ कि छैन भनेर हेर्न सक्छ । त्यतिबेला केही अप्ठ्यारा आउन सक्छन् । अदालत र निर्वाचन आयोगमा मुद्दा विचाराधीन छ । त्यसलाई टुङ्ग्याएर मात्र उत्साहपूर्ण तरिकाले महाधिवेशन गर्दा राम्रो हुन्थ्यो भनने मेरो सोच हो । तर महाधिवेशनका लागि मैले आफ्नो जिम्मेवारी पूरा गरेको छु । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव

एसके यादव रातोपाटीमा राजनीतिक तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप