बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
युरोकप

जर्मनी र स्कटल्यान्डबिचको खेलसँगै सुरु हुँदैछ युरोकपको १७औँ संस्करण

रोनाल्डोको अन्तिम नृत्यदेखि इङ्ल्यान्डको दर्बिलो उपस्थितिसम्म
शुक्रबार, ३२ जेठ २०८१, २३ : ०४
शुक्रबार, ३२ जेठ २०८१

काठमाडौँ । विश्वकपपछि अन्तर्राष्ट्रिय फुटबललाई तरङ्गित बनाउने अर्को महत्त्वपूर्ण प्रतियोगिता हो, युरोकप । विश्व फुटबलका धुरन्धर खेलाडीहरूको जमघट र मैदानमा उत्कृष्टताका लागि गरिने घम्साघम्सी नै वास्तवमा यो प्रतियोगिताको सबैभन्दा स्वादिलो पक्ष हो । 

प्रतीक्षाको घडी सकिएको छ । युरोकपको १७औँ संस्करण नेपाली समयअनुसार, शनिबारदेखि जर्मनीमा सुरु हुँदैछ । यस पटक जर्मनीका १० वटा सहरका रंगशालामा युरोकपका खेल हुँदैछन् । प्रतियोगितामा २४ वटा टोलीको सहभागिता रहेको छ ।

शनिबार बिहान १२ः४५ बजे आयोजक जर्मनी र स्कटल्यान्डबिच म्युनिखमा हुने खेलसँगै युरोकपको १७औँ संस्करणले गति लिनेछ । उद्घाटन खेल सुरु हुनुअघि भव्य उद्घाटन समारोह पनि आयोजना गरिने भएको छ । 

सहभागी टोलीहरू पछिल्लो प्रदर्शन, विश्व चर्चित खेलाडीहरूको लय, समर्थकहरूको अधैर्य प्रतीक्षा अनि, फुटबल पण्डितहरूको विभिन्न अनुमानलाई आधार मान्ने हो भने युरोकपको यो संस्करणले विशेष छाप छोड्ने निश्चित छ ।

यस पटक इङ्गल्यान्ड र फ्रान्सलाई युरोकपको बलियो दाबेदारका रूपमा हेरिएको छ । नतिजा अर्कै पनि आउन सक्छ । आखिर फुटबल न हो । कसले पो ठोकुवा गर्न सक्छ र । पछिल्लो समय पोर्चुगल, स्पेन र बेल्जियम पनि कम छैनन् । उनीहरूले पनि आफ्नो उत्कृष्ट प्रदर्शनबाट धेरैको मन–मस्तिष्कमा गहिरो छाप छाडेको यथार्थलाई कसरी भुल्न सकिएला ।

उसै पनि, खेल जीवनको उत्तरार्धतिर आफूभित्र उपाधिको तीव्र मोह जागेको बताउँदै आएका छन्, पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले । उमेरले ३९ वर्ष पुगिसकेका समकालीन विश्व फुटबलका महान खेलाडी रोनाल्डो युरोकपमा अन्तिम पटक आफ्नो त्यही ‘उपाधि मोह’ पुरा गर्ने लालसामा रहने छन् ।

Euro cup 2024

त्यसैले मैदानमा रोनाल्डोको खुट्टाको जादुसँगै सम्भवतः अन्तिम पटक युरोकपको मञ्चमा उनको नृत्य हेर्न पनि थुप्रै समर्थक लालयित देखिन्छन् । युरोकपमा रोमाञ्चक थप्न यसले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने पक्का छ ।  

अनि, साविक विजेता इटाली कमजोर छ त ? पक्कै पनि छैन । लुसियानो स्पालेट्टीको प्रशिक्षकत्वमा इटाली पनि उपाधि जोगाउने अभियानमा कम्मर कसेरै लागेको छ । बरु केही समय अघिसम्म आयोजक राष्ट्र जर्मनी नै तुलनात्मक रुपमा केही कमजोर देखिन्थ्यो । 

तर, जुलियन नगेल्सम्यानको प्रशिक्षकत्वमा जर्मनीले पनि पछिल्लो समय आफूलाई उपाधिको दाबेदारका रूपमा प्रस्तुत गर्दै गएको छनक दिएको छ । ठुला अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सधैँ अभागी टोलीको पगरी गुथ्दै आएको नेदरल्यान्ड्सलाई पनि यो युरोकपमा कम आँक्न मिल्दैन ।

उपाधिका लागि मैदानमा घम्सा–घम्सी गर्ने टोलीहरूको प्रदर्शनले मात्र होइन, अन्य धेरै कारणले पनि यस पटक युरोकपले आफ्ना समर्थकलाई फरक स्वाद पस्कने निश्चित छ । युरोकपको १७औँ संस्करणका यस्तै केही विशेषताको विषयमा यहाँ उल्लेख गरिएको छ । 

उत्साहजनक वातावरण

युरोकपको अघिल्लो संस्करण अत्यन्तै भागदौडपूर्ण थियो । युरोकप सुरु भएको ६०औँ वर्ष पुगेको उपलक्ष्यमा यूईएफएले अघिल्लो संस्करण युरोपका विभिन्न राष्ट्रमा खेलाउने निर्णय गरेको थियो ।

सोही अनुरुप, युरोकपको १६औँ संस्करण संस्करण युरोपका विभिन्न ११ राष्ट्रको ११ वटा सहरमा खेलाइएको थियो । जसका कारण खेलाडी मात्र होइन, समर्थकले समेत निकै कम समयमा एउटा राष्ट्रबाट अर्को राष्ट्रको यात्रा गर्नुपर्ने बाध्यता थियो । 

तर, यस पटक युरोकपका सबै खेल जर्मनीमै आयोजना हुँदैछ । त्यसैले यस पटक समर्थकहरूले धेरै भागदौड गर्नुपर्ने अवस्था रहने छैन । यसका अतिरिक्त जर्मनीमा फुटबलको पनि विशिष्ट संस्कृति हुर्कँदै आएको छ । फुटबल भनेपछि हुरुक्कै हुनेहरूको निकै ठुलो जमात रहेको छ जर्मनीमा ।

जर्मनीमा फुटबलका विश्वस्तरीय थुप्रै पूर्वाधार पनि छन् । अत्याधुनिक र सुविधा सम्पन्न रङ्गशालाहरूले पनि दर्शकको मन जित्नेछ । युरोकपका खेलहरू खेलाइने जर्मनीका कुनै पनि रंगशाला ४६ हजार दर्शक क्षमताभन्दा कमका छैनन् । 

युक्रेनको गौरवपूर्ण उपस्थिति

युक्रेन लामो समयदेखि रुससँगको युद्धमा होमिएको छ । दुई वर्षभन्दा लामो समयदेखि चल्दै आएको रुस–युक्रेन युद्धका कारण युक्रेनको जनजीवन अस्तव्यस्त बन्न पुगेको छ । सर्वसाधारण त्रासमा जीवन बिताउन बाध्य छन् । 

अन्य क्षेत्रसँगै युक्रेनमा खेल गतिविधिहरू पनि नराम्ररी प्रभावित भएका छन् । यस्तो अप्ठ्यारो स्थितिका बाबजुद युक्रेन युरोकपमा स्थान बनाउन सफल भएको छ । विश्व खेलकुदमा युक्रेनका लागि निकै ठुलो उपलब्धि हो । 

‘युरोकपमा युक्रेनको उपस्थितिलाई म शब्दमा बयान गर्न सक्दिन । थुप्रै प्रतिकुल अवस्थाको बिचबाट हामी युरोकपमा छानिएका हौँ । हाम्रा लागि यो निकै ठुलो गौरवको विषय हो,’ युक्रेनी टोलीका मिडफिल्डर जियोर्गी सुडाकोभ भन्छन् ।

समग्रमा युक्रेनले चौथो पटक युरोकप फुटबलमा सहभागिता जनाउन लागेको हो । युक्रेनले सन् २०१२ मा पहिलो पटक युरोकप खेलेको थियो । त्यसपछि युक्रेनले सन् २०१६ र सन् २०२० मा पनि युरोकपमा सहभागिता जनाएको थियो । 

यसको विपरीत रुस पनि यस पटक युरोकपमा सहभागी छैन । यूईएफए कार्यकारी समितिको सन् २०२२ को सेप्टेम्बर २० तारिखमा क्रोएसियामा सम्पन्न बैठकले रुसलाई युरोकपको छनोट प्रतियोगिता नै खेल्न नदिने निर्णय गरेको थियो । 

रुसले युक्रेनमाथि अनावश्यक हस्तक्षेप गरेको आरोप यूईएफएले लगाएको थियो । सोही कारणले रुस यस पटक युरोकप खेल्नबाट वञ्चित भयो । सन् २००० पछि रुस पहिलो पटक युरोकप फुटबलमा अनुपस्थित भएको हो ।

जर्जियाको पहिलो सहभागिता

अर्को एउटा राष्ट्रका लागि पनि युरोकपको यो संस्करण स्मरणीय बनेको छ । त्यो राष्ट्र हो, जर्जिया । यस पटक जर्जिया पनि युरोकपमा छनोट भएको छ । पूर्वी युरोपको यो राष्ट्रले पहिलो पटक युरोकपमा सहभागिता जनाउन लागेको हो । 

कुल ६९ हजार सात सय वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको जर्जियामा फुटबल निकै लोकप्रिय खेल हो । करिब ३७ लाख जनसँख्या भएको जर्जियामा फुटबलको इतिहास भने धेरै लामो छैन । जर्जियाले सन् १९९० मा फुटबलको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थियो । 

जर्जियाले आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता तत्कालीन सोभियत युनियनसँग खेलेको थियो । जर्जियाले सन् १९९६ देखि युरोको छनोट प्रतियोगिता खेल्दै आएको थियो । तर, जर्जिया यसअघि युरोकपमा छनोट हुन सकेको थिएन । 

‘अन्ततः हामी आफ्नो लक्ष्यमा सफल भएका छौँ । युरोकपजस्तो महत्त्वपूर्ण प्रतियोगिता खेल्न पाउनु हाम्रा लागि निकै ठुलो उपलब्धि हो । हामीले आफ्नो धेरै समर्थकको सपना सार्थक तुल्याएका छौँ,’ जर्जियाका प्रभावशाली विंगर खविचा कभरात्स्केलिया भन्छन् ।

साउथगेटको सपना

इङ्ल्यान्डले युरोकप फुटबलमा सहभागिता जनाउन थालेको ५६ वर्ष बितिसकेको छ । यसबिचमा इङ्ल्यान्डले युरोकपको सफल आयोजना पनि गरिसकेको छ । तर, युरोकपको उपाधि चुम्ने इङ्ल्यान्डको सपना भने अझै पुरा हुन सकेको छैन ।

Gareth Southgate

युरोकपको पहिलो संस्करण सन् १९६० मा आयोजना भएको थियो । इङ्ल्यान्डले भने सन् १९६८ मा सम्पन्न तेस्रो संस्करणदेखि प्रतियोगितामा सहभागिता जनाउन थालेको हो । युरोकपमा इङ्ल्यान्डको यो ११औँ सहभागिता हो । 

इङ्ल्यान्ड युरोकपको साविक उप–विजेता हो । सन् २०२० को युरोकपमा इङ्ल्यान्ड उपाधिको अत्यन्तै नजिक पुगेर पनि चुकेको थियो । अघिल्लो संस्करणको फाइनलमा इटालीले इङ्ल्यान्डलाई हराउँदै उपाधि चुमेको थियो । 

इङ्ल्यान्डका प्रमुख प्रशिक्षक गारेथ साउथगेटका लागि त्यो सबैभन्दा ठुलो पिडाको क्षण थियो । आफ्नो प्रशिक्षकत्वमा इङ्ल्यान्डलाई ठुलो अन्तर्राष्ट्रिय प्रतियोगिताको चुमाउने उनको सपना पुरा हुन सकेको छैन । सन् २०२० को युरोकपमा पनि उनी नै इङ्ल्यान्डको प्रशिक्षक थिए । 

यस पटक फेरि उनको राष्ट्र युरोकपको महासंग्राममा सहभागी हुँदैछ । उनी यस पटक जसरी भए पनि इङ्ल्यान्डलाई युरोकपको स्वाद चखाउन आतुर देखिन्छन् । यस पटक थुप्रै फुटबल पण्डितले पनि इङ्ल्यान्डलाई उपाधिको बलियो दाबेदारको रूपमा लिएका छन् । 

रोनाल्डोको आँसुले भरिएको आँखा

समकालीन विश्व फुटबलका महान् खेलाडीमध्ये एक हुन्, क्रिस्टियानो रोनाल्डो । यी पोर्चुगिज स्टारले यसअघि पोर्चुगललाई युरोकपको स्वाद चखाइसकेका छन् । रोनाल्डोसहितको टोलीले सन् २०१६ मा युरोकपको उपाधि चुमेको थियो । त्यतिबेला पोर्चुगलले फाइनलमा फ्रान्सलाई हराएको थियो ।

Cristiano Ronaldo

तर, रोनाल्डोले हालसम्म आफ्नो राष्ट्रलाई विश्वकपको उपाधि भने चुमाउन सकेका छैनन् । विश्व फुटबलका असङ्ख्य कीर्तिमान आफ्नो नाममा जोडिए पनि टोलीलाई विश्वकप जिताउन नसकेको पिडा भने रोनाल्डोको मुहारमा सधैँ झल्कने गरेको छ ।

पछिल्लो पटक कतार विश्वकपमा आफ्नो टोली उपाधि होडबाट बाहिरिँदा उनको आँखाबाट खसेको आँसुलाई अझै पनि धेरै समर्थकले भुल्न सकेका छैनन् । तर, खेलजीवनको उत्तरार्धतर्फ लम्किरहँदा उनले फेरि आफूभित्र उपाधिको भोक बढेको प्रतिक्रिया दिन थालेका छन् ।

यसको अर्थ, उमेरले ३९ वर्ष लागिसकेका रोनाल्डो सक्रिय खेलजीवनबाट बिदा लिनुअघि देशलाई अर्को ठुलो उपाधि दिलाउने सपना पालेर बसेका छन् । त्यसैले यस पटक युरोकपमा उनी आफ्नो यो सपना पुरा गर्ने अभियानमा रहने छन् । सम्भवतः रोनाल्डोको नृत्यले पनि यस पटक दर्शकलाई बेग्लै रमाइलो प्रदान गर्न सक्छ ।

बालोन डी’ओरको चासो 

विश्व फुटबलको प्रतिष्ठित अवार्ड हो, बालोन डी’ओर । यो अवार्ड प्राप्त गर्नु विश्वभरका हरेक फुटबल खेलाडीको सपना हुन्छ । हालसम्म अर्जेन्टिनी स्टार लियोनल मेस्सीले सर्वाधिक आठपटक यो अवार्ड हात पारिसकेका छन् ।

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले पनि पाँचपटक बालोन डी’ओर अवार्ड जितिसकेका छन् । जर्मनीमा युरोकपको १७औँ संस्करण जारी रहँदा धेरैको आँख बालोन डी’ओर अवार्ड पाउने सम्भावित सूचिमा रहेका खेलाडीको प्रदर्शनमा केन्द्रित हुनेछ ।

यस्तै खेलाडीमध्येका एक हुन्, केलियन एमबाप्पे । उनी फ्रान्सेली टोलीका प्रभावशाली खेलाडी हुन् । लामो समय फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)बाट ब्यवसायिक फुटबल खेलेका उनी हालै स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडमा आबद्ध भएका छन् । 

लामो समयदेखि उत्कृष्ट प्रदर्शनसहित सम्भावित विजेताको सूचिमा पर्दै आए पनि उनले हालसम्म बालोन डी’ओर अवार्ड भने जित्न सकेका छैनन् । त्यसैले युरोकपमा खेलाडीबिच घम्साघम्सी हुँदा त्यसले बालोन डी’ओर अवार्डलाई पनि चर्चाको विषय बनाउने पक्का छ ।

महान् फुटबरहरुको जमघट र मृत्युपछि बेकेनबाउरको चर्चा

यस पटक युरोकपको उद्घाटन खेल आयोजक जर्मनी र स्कटल्यान्डबिच खेलिने छ । उद्घाटन खेल नेपाली समयअनुसार शनिबार बिहान ००ः४५ बजे सुरु हुनेछ । त्यसअघि प्रतियोगिताको औपचारिक उद्घाटन समारोह हुनेछ । 

विश्व फुटबलका भूतपूर्व र वर्तमान हस्तीहरूको बाक्लो उपस्थिति रहने उद्घाटन समारोहमा युरोपियन फुटबल महासंघ (यूईएफए) ले जर्मनीका महान् फुटबलर स्व. फ्रान्ज बेकेनबाउरलाई सम्मान पनि गर्ने भएको छ ।

विश्व फुटबलकै सम्मानित व्यक्तित्व बेकेनबाउरको यसअघि नै निधन भइसकेको छ । सन् २०२४ को जनवरी ७ तारिखमा ७८ वर्षको उमेरमा उनको निधन भएको थियो । यूईएफएले उनलाई मृत्युपछि सम्मान गर्न लागेको हो । 

प्रतियोगिताको उद्घाटन समारोहमा जर्मनीका दुई महान् फुटबलर बनार्ड डिएट्ज र योर्गेन क्लिन्सम्यान पनि सहभागी हुनेछन् । समारोहमा बेकेनबाउरकी पत्नी हेइडी पनि उपस्थित हुनेछिन् । जर्मनीले सन् १९८० मा युरोकपको उपाधि जित्दा डिएट्ज टोलीका कप्तान थिए ।

जर्मनीले सन् १९९६ मा युरोकपको उपाधि चुम्दा क्लिन्सम्यान टोलीका कप्तान थिए । प्रतियोगिताको उद्घाटन समारोहमा दुई पूर्वकप्तान डिएट्स र क्लिन्सम्यानसँगै बेकेनबाउरकी पत्नी हेइडी ट्रफी बोकेर मैदानमा प्रवेश गर्नेछन् । 

Euro Trophy

त्यही ट्रफी युरोकपको विजेतालाई प्रदान गरिने छ । बेकेनबाउर जर्मनीका सबैभन्दा महान् फुटबलहरू हुन् । उनकै कप्तानीमा सन् १९७२ मा पश्चिम जर्मनीले युरोकपको उपाधि जितेको थियो । त्यतिबेला पश्चिम जर्मनीले फाइनलमा तत्कालीन सोभियत संघलाई ३–० गोलले हराएको थियो ।

बेकेनबाउरकै कप्तानीमा जर्मनीले सन् १९७४ मा फिफा विश्वकपको उपाधि पनि चुमेको थियो । यसका अतिरिक्त जर्मनीले सन् १९९० को विश्वकप खेल्दा बेकेनबाउर टोलीका प्रशिक्षक थिए ।

लोभलाग्दो पुरस्कार राशि

युरोपेली फुटबल महासंघ (यूईएफए) ले युरोकपको १७औँ संस्करणका लागि ३३ करोड १० लाख युरो कुल पुरस्कार राशि छुट्याएको छ । प्रतियोगिताको उपाधि विजेता टोलीले ८० लाख युरो (करिब एक अर्ब १५ करोड नेपाली रुपैयाँ) नगद पुरस्कार पाउने छ ।

यसैगरी उपविजेता टोलीले ५० लाख युरो (करिब ७१ करोड ७५ लाख नेपाली रुपैयाँ) नगद पुरस्कार हात पार्नेछ । सेमिफाइनलमा पराजित हुने दुई टोलीले ४०–४० लाख युरो नगद पुरस्कार प्राप्त गर्ने यूईएफएले जनाएको छ ।

क्वार्टरफाइनलमा पुग्ने टोलीले २५–२५ लाख युरो नगद पुरस्कार पाउने छन् । प्रि–क्वार्टरफाइनलमा पुग्ने टोलीले भने १५–१५ लाख युरो नगद पुरस्कार हात पार्नेछन् । प्रतियोगितामा सहभागी हुने प्रत्येक टोलीले नगद पुरस्कार पाउने व्यवस्था गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप