आइतबार, ३० असार २०८१
ताजा लोकप्रिय
खानेपानी

पुच्मा–बागमारामा पुग्यो पानी, रेक्चावासीको ‘पानीको कथा’ अझै उस्तै

शनिबार, ०१ असार २०८१, ०७ : १९
शनिबार, ०१ असार २०८१

‘हेर्ने कथा’ युट्युब च्यानलको ५७औँ शृंखला (२०७८ जेठ ११ मा प्रसारित)मा पश्चिम सुर्खेतको रेक्चा गाउँको खानेपानी समस्या प्रस्तुत गरियो । २७ वर्षे जागिर जीवनमा म नेपालका सयौँ गाउँठाउँ घुमेको छु र सयौँ ठाउँमा खानेपानीको योजना बनाएको छु, तर रेक्चा गाउँमा जति खानेपानीको दुःख अन्यत्र देखेको थिइनँ । पत्रकार विद्या चापागाईं लगायत टिमले प्रस्तुत गरेको त्यस रेक्चा गाउँको ‘पानीको कथा’ले मलाई भावुक बनायो । 

पोखरास्थित कादुरी संस्थाले २०५६ सालदेखि आजसम्म सयभन्दा बढी सोलार र इलेक्ट्रिक पम्पिङ योजना सम्पन्न गरेको छ । ‘हेर्ने कथामा’ हेरेपछि रेक्चा गाउँलाई सहयोग गर्नुपर्छ भन्ने हामीलाई लाग्यो । त्यसको पाँच महिनापछि अर्थात् २०७८ कात्तिक ६ गते म सुर्खेतको चौकुने गाउँपालिकाको रेक्चा गाउँ जाने बाटो मैताल पुगेँ । सुर्खेतको वीरेन्द्रनगर बजारदेखि रेक्चा गाउँसम्मको यात्रामा  रेक्चाकै युवा अगुवा किरणप्रकाश बीसीले मलाई सहजीकरण गर्नुभएको थियो, जो हाल वीरेन्द्रनगर बजारमा बस्नुहुन्छ । उहाँमार्फत नै वडा ५ का तत्कालीन वडाध्यक्ष (वर्तमान पनि) तुलाराम हिस्की मगरसँग मेरो भेट भयो ।

वडाध्यक्ष मगरलाई भेटेपछि थाहा भयो— सङ्घीय र प्रदेश सरकारको लगानीमा रेक्चा इलेक्ट्रिक पम्पिङ खानेपानी योजना निर्माणाधीन अवस्थामा रहेछ । यो योजना हेर्ने कथाको टोली रेक्चा जाने बेला सुरु भएको थिएन । हेर्ने कथाको प्रस्तुतिले झकझकाएर हुन सक्छ, नेपाल सरकारले त्यहाँ पानीको योजना लगेको ।

दुई दिनसम्मको मोटर बाटोको यात्रा तय गरेर रेक्चा गाउँनजिकै पुगेपछि खानेपानीको योजना बनिसकेको खबर थाहा पाउँदा एक किसिमले खुसी नै लाग्यो । कादुरीबाट रेक्चा गाउँमा पानी खुवाउने मेरो योजना तत्काललाई त्यत्तिकै रोकियो ।   

‘पानी बोक्दैमा दिन जान्थ्यो, त्यसमाथि इनारको पानी फोहोर । गहिरो इनारबाट पानी झिक्दा ज्यानकै जोखिम मोल्नुपर्थ्यो । सुक्खा याममा इनार पनि सुक्थ्यो र एक घन्टा टाढाको भुम्के मूलबाट पानी बोकेर खानुपथ्र्यो— अब त ती दुःखका दिन गए,’ ६० वर्षीया तीर्थ बीसीले सुनाइन् ।

यस भेगमा रेक्चाजस्तै पानीले काकाकुल भएको अरु गाउँ पनि रहेछन् । 

रेक्चाकै छिमेकी गाउँ पुच्मा–बागमारामा पनि खानेपानीको समस्या रहेछ । रेक्चा र पुच्मा–बागमारा दुवै भौगोलिक रुपमा उस्तै; खानेपानीको समस्या उस्तै; रहनसहन, भाषा, धर्म अनि संस्कृति पनि उही; फरक यति मात्र कि रेक्चा गाउँको पानीको दुःख मिडियामा आएको थिएन । यद्यपि हेर्ने कथामार्फत रेक्चाको कथा हेरिसकेपछि थुप्रै सङ्घ–संस्थाले त्यहाँका स्थानीयलाई पानी खुवाउनका लागि सम्भावित अध्ययन र भ्रमण गरेका रहेछन् ।

प्रचण्ड गर्मीमा मैतालबाट करिब तीन घन्टाको उकालो हिँडाइपछि हामी पुच्मा–बागमारा पुग्यौँ । त्यतिबेला पुच्मा जाने मोटरको बाटो निर्माणाधीन थियो, अहिले मोटरबाटै पुच्मा–बागमारा पुग्न सकिन्छ । बाटामा जे जति मानिस भेटिए, सबैले पुच्मा–बागमारा पनि रेक्चाजस्तै पानीका लागि अति नै दुःख भएको गाउँ भनेर मलाई जानकारी गराए । 

सबै अध्ययन गरिसकेपछि, पुच्मा–बागमारामा डबल स्टेज सोलार पम्पिङ खानेपानी योजना बनाउन प्राविधिक हिसाबले सम्भव भएको पाएँ । गाउँभन्दा करिब दुई घन्टा तल भएको दह मूलको पानीलाई पुच्मा गाउँको डाँडामा तानेर पानी खुवाउने कुरा उनीहरूका लागि पत्यारलाग्दो थिएन । त्यसमाथि कहिल्यै नाम नसुनेको कादुरी संस्था र अपरिचित इन्जिनियर— पुच्मा–बागमारावासीमा शंका लाग्नु स्वाभाविकै थियो । 

water (2)

विस्तृत सर्भेदेखि योजनाको सबै कामअगाडि बढ्दै गयो र अन्ततः २०८० मंसिर ७ मा निर्माण सुरु गरियो । ६ महिनाकै अवधिमा अर्थात् २०८१ जेठ १६ मा पुच्मा–बागमारा खानेपानी योजना सफलताका साथ सम्पन्न भएको छ । करिब ४३० मिटर लिफ्टिङ हेड भएको ‘पुच्मा–बागमारा सोलार पम्पिङ योजना’अन्तर्गत दुई इन्चको पाइपमार्फत ‘डबल स्टेज लिफ्टिङ’ गरेर एक घर एक धारा प्रणालीअन्तर्गत हरेक घरहरूमा पानी वितरण गरिएको छ । 

‘पानी बोक्दैमा दिन जान्थ्यो, त्यसमाथि इनारको पानी फोहोर । गहिरो इनारबाट पानी झिक्दा ज्यानकै जोखिम मोल्नुपर्थ्यो । सुक्खा याममा इनार पनि सुक्थ्यो र एक घन्टा टाढाको भुम्के मूलबाट पानी बोकेर खानुपथ्र्यो— अब त ती दुःखका दिन गए,’ ६० वर्षीया तीर्थ बीसीले सुनाइन् ।

पानीकै दुःखले गर्दा अधिकांश पुच्मा–बागमारावासी बिजौरा बजारतिर बसाइँ झरिसकेका छन् । अहिले सबैको घर–घरमा खानेपानी पुगेकाले बसाइँ सर्ने क्रम रोकिनेमा विश्वस्त छन्, वडा ४ का वडाध्यक्ष टोपबहादुर बीसी र पुच्मा–बागमारा सोलार पम्पिङ खानेपानी योजनाको उपभोक्ता समिति अध्यक्ष लछीराम अस्लामी मगर ।

  • रेक्चामा अझै पुगेन पानी

गाउँपालिका अध्यक्ष खड्ग विक तथा उपाध्यक्ष नरबहादुर बान्तोलासहितको टोलीसँग रेक्चा पुगेर स्थलगत अध्ययन गर्दा रेक्चाको पानीको अवस्थामा ‘हेर्ने कथामा’ देखाइएको भन्दा कुनै प्रगति देखिएन । 

आजभन्दा साढे दुई वर्षअघि सुरु भएको भनिएको ‘रेक्चा इलेक्ट्रिक पम्पिङ खानेपानी योजना’ आजको दिनसम्म सम्पन्न हुन सकेको छैन । योजना नै अलपत्र अवस्थामा देखिन्छ । 

सरकारबाट सुरु गरिएको योजना अलपत्र रहेको, यसको प्राविधिक तथा भौगोलिक पक्ष कमजोर देखिन आएको र बजेटको कुनै सुनिश्चितता नभएको आदि कारण देखाउँदै रेक्चावासी र चौकुने गाउँपालिकाको अनुरोधमा अहिले कादुरीबाट रेक्चामा नयाँ खानेपानी योजना अगाडि सारिएको छ ।

केही ट्याङ्की र पाइप लाइन त बनेका छन् तर काममा निरन्तरता छैन । स्थानीय टोपेन्द्र बीसीका अनुसार ठेकदार हाल फरार छन् । फरार नहोऊन् पनि कसरी ? इलेक्ट्रिक पम्पिङ योजनामा चाहिने बिजुलीकै कुनै सुनिश्चितता छैन । २०७० सालमा बनाएको २२ किलोवाटको बिजुली पाँच दिनभन्दा बढी बलेन । २०७२ सालको वर्षात्को पहिरोले बिजुलीको मुहान नै बगाइदिएको छ । त्यहाँको बिजुलीले रेक्चामा पानी तान्नु असम्भवजस्तै भएको छ । प्राधिकरणको केन्द्रीय लाइन अझै रेक्चा वा पुच्मा गाउँसम्म पुगेको छैन, कहिले पुग्छ थाहा छैन । 

रेक्चाबाट पानीको मुहानसम्म १० किमि दूरी छ । रेक्चाको अहिलेको खानेपानीको मुहान वास्तवमा खोल्सा भएकाले वर्षात्मा त्यहाँ भेल बाढी आएर पानी फोहोर हुने मात्रै होइन, कुनै पनि बेला बाढीले मुहान नै बगाइदिन सक्ने जोखिम पनि छ । साथै मुहान भएको ठाउँ जान–आउन जंगलको भिरालो बाटो अनि पाइप लाइनमा पहिरो जान सक्ने प्रबल सम्भावना देखिएकाले निर्माण सुरु भएको तर हाल अलपत्र अवस्थामा रहेको रेक्चा इलेक्ट्रिक पम्पिङ खानेपानी योजना सफल र दिगो हुनेमा ठुलो आशंका देखिन्छ । 

Genral map of project site in Google

  • रेक्चामा नयाँ योजना

कादुरी संस्थाले रेक्चामा खानेपानी योजनाका लागि नयाँ मुहान् र ठाउँको पहिचान गरेको छ । हाल पुच्मा–बागमारावासीले खाइरहेको दहको मूलमा प्रशस्तै पानी छ । प्राविधिक तथा भौगोलिक अध्ययनले पनि त्यो पानी डबल लिफ्टिङ गरेर रेक्चा पु¥याउन सकिने देखिएको छ । 

सरकारबाट सुरु गरिएको योजना अलपत्र रहेको, यसको प्राविधिक तथा भौगोलिक पक्ष कमजोर देखिन आएको र बजेटको कुनै सुनिश्चितता नभएको आदि कारण देखाउँदै रेक्चावासी र चौकुने गाउँपालिकाको अनुरोधमा अहिले कादुरीबाट रेक्चामा नयाँ खानेपानी योजना अगाडि सारिएको छ । 

solar (1)

विडम्बना ! नेपालमा पछिल्लो समय योजनाहरूमा अनावश्यक विवाद (जस्तै : पानीको मूलमा सहमति हुन नदिने अनि योजनामा राजनीति हुने) हुँदा राम्रा र आवश्यक योजना पनि रद्द गर्नुपरेको अवस्था छ, जो कादुरी संस्थाका लागि पनि चिन्ताको विषय बनेको छ । पानीको मूलमा कुनै राजनीति र छलकपट भएन भने अबको दुई वर्षमा रेक्चावासीले कादुरी संस्थाबाट निर्मित सोलार लिफ्टिङ प्रणालीबाट प्रत्येक घर–घरमा शुद्ध पानी पिउन पाउनेछन् । 

solar (3)

यसका लागि सिङ्गो चौकुने गाउँपालिकाका साथै वडा ४ र ५ का सबै स्थानीयको पनि ठुलो भूमिका रहने मैले यहाँ भनिरहनुपरेन । हामीले हङकङबाट रेक्चामा एउटा कादुरी परिवार ल्याइदिएका छौँ तर रेक्चामा पनि कादुरीजस्तै थुप्रै परोपकारी परिवार तयार भएर योजनामा सहयोग नगरेसम्म यो योजना सफल हुन सक्दैन । 

solar (4)

मैले यो लेख लेखिरहँदा रातको ११ बजिसकेको छ । रेक्चावासीहरू अबको पाँच घन्टापछि कुखुराको भालेको डाँको सँगै पानी भर्नका लागि इनारमा लाइन लाग्नेछन्; को पहिला इनारमा पुगेर अरुभन्दा केही बढी सफा पानी पाउन सकिन्छ भन्ने दौडमा सामेल हुनेछन् र बेलुकीको पानी भर्ने पालो कतिखेर आउने होला भनी दिनभरि घडी हेरेर बस्नेछन् । उता सँगैको छिमेकी गाउँ पुच्मा–बागमारा भने पानीको यो समस्याबाट अहिले मुक्त भइसकेको छ । 

water (1)

रेक्चा गाउँका सक्षम र बुझ्ने मान्छे धेरैजसो पानीकै दुःखले गर्दा बसाइँ सरिसकेका छन् । एकथरी विज्ञको सुझाव बस्ती नै स्थान्तरण गरेर पानीको दुःखबाट रेक्चावासीलाई छुटकारा दिइनुपर्छ भन्ने पनि छ, तर बस्ती स्थानान्तरण कति गाह्रो र जटिल विषय हँुदोरहेछ भन्ने २०७२ सालको भूकम्पपछि बनेको स्थानान्तरणसहितको पुनर्निर्माणका बस्तीहरूलाई नै हेरे हुन्छ— गोर्खा लाप्राकको गुप्सीपाखा बस्ती, काभ्रेमा धुर्मुस–सुन्तली बस्ती, धादिङमा चालिसे बस्ती आदि । 

रेक्चामा पानी लैजानुको विकल्प छैन । विगतदेखि आजसम्म रेक्चामा खानेपानीका नाममा जे जति विवाद भए पनि अब कादुरीबाट हुन लागेको खानेपानी योजनामा कुनै राजनीतिक विवाद वा अन्य विवाद उत्पन्न नहोस्, जसले गर्दा योजना रद्द गर्नु नपरोस्, खानेपानीको योजना सफलत भई रेक्चा गाउँका घर–घरमा पानी आएको खबर लेख्न र पढ्न छिटै पाइयोस् । 

(लेखक गुरुङ कादुरी संस्था पोखराका टेक्निकल डाइरेक्टर हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ई. डा. नारायण गुरुङ
ई. डा. नारायण गुरुङ
लेखकबाट थप