बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
कलाकार

लाहुरे बन्ने सपना बोकेका किरण यसरी बने हिरो

आइतबार, ०२ असार २०८१, १३ : ४१
आइतबार, ०२ असार २०८१

थिएटरबाट फिल्ममा भित्रिएका कलाकार हुन् किरण श्रेष्ठ । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘पर्खी बसेँ तिमीलाई’बाट उनले फिल्ममा डेब्यु गरेका थिए । उनको ‘दान्भी’ दोस्रो फिल्म हो, जुन आगामी शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

‘पर्खी बसेँ तिमीलाई’मा पठाओ राइडरका रूपमा सोझो ‘लभर ब्वाई’को भूमिकामा रहेका उनी ‘दान्भी’मा सीआईबी अफिसरको भूमिकामा देखिँदैछन् । फिल्मले आफूलाई दर्शकमाझ नयाँ रूपमा चिनाउने उनले बताए । फिल्ममा एक्सनको अलावा अभिनेत्री पूजा शर्मासँग प्रेमले दर्शकलाई मनोरञ्जन प्रदान गर्ने उनले सुनाए ।

किरणले ‘दान्भी’ रोज्नुको कारण दुई वटा छन् । एउटा त अभिनेत्री पूजा शर्मा र अर्को सीआईबी अफिसरको भूमिका । ‘पूजा चलेकी अभिनेत्री भएका कारण उनीसँग काम गर्ने इच्छा थियो’, उनले भने, ‘सीआईबी आफिसरको भूमिका निकै राम्रो छ ।’

एक्सन, अभिनय र लुक्सका हिसाबले फिल्ममा सीआईबी आफिसरको भूमिका निकै फरक र चुनौतीपूर्ण रहे पनि एक्सनमा उनलाई डर थिएन । किनभने उनी तेक्वान्दोका ‘टु डन’ खेलाडी हुन् । उनी सन् २००७ देखि २०१२ सम्म तेक्वान्दोमा राष्ट्रिय प्रतियोगिताहरू खेल्थे । तैपनि उनले द्वन्द्व निर्देशक श्री श्रेष्ठसँग एक–दुई दिनको क्लासचाहिँ लिए ।

थिएटर ब्याकग्राउन्ड भएकाले अभिनयमा डर हुने कुरै भएन । सीआईबी आफिसरका लागि भने उनले कोटेश्वरका  चिनजानको एक दाइसँग सलाम ठोक्न, बोलचाल र मिसनमा जाँदा गर्ने क्रियाकलाप सिके ।

kiran shrestha (2)

‘फिल्मको चरित्रका लागि गहन अनुसन्धान गर्न पाइनँ’, उनले भने, ‘पर्खी बसेँ तिमीलाई’ लगत्तै ‘दान्भी’ अभिनय गर्नु परेकाले लुक्स कस्तो बनाउने भन्ने समय नै भएन ।’ फिल्मका लागि करिब एक महिना तयारी गर्न पाएको भए विपिन कार्की, सौगात मल्लले जस्तै चरित्रमा आफूलाई ढाल्न सक्ने उनको भनाइ थियो ।

‘फिल्ममा हल्का हाउभाउ र लुक्समात्र परिवर्तन गर्दा सीआईबी अफिसरको छनकभन्दा पुलिसको चाहिँ आयो’, उनले हाँस्दै भने, ‘निर्देशक र टिमले त सुहाएको छ भनेका छन् । दर्शकले के महसुस गर्छन्, त्यो भन्न सक्दिनँ ।’

  • ‘दान्भी’ हेर्नैपर्ने फिल्म

‘दान्भी’ एक्सन जनरामा निर्माण भएको फिल्म हो । फिल्ममा महिलाको एक्सन छ । अभिनेत्री पूजा शर्माले यसमा भरपुर एक्सन गरेकी छन् । बजारमा आएको भन्दा भिन्न फिल्म भएकाले पनि ‘दान्भी’ दर्शकले हेर्नुपर्ने किरण बताउँछन् ।

‘पछिल्लो समय नेपालमा एक्सन फिल्म कम आएको छ । त्यसमा पनि यत्तिको एक्सन प्याक्ड फिल्म सायदै कम बनेको होला’, उनले थपे, ‘पूजाजीको एक्सनमा यो पहिलो फिल्म हो ।’ कथाको हिसाबले पनि हल्का सस्पेन्स र रोमान्सले भरिएको उनको भनाइ छ ।

kiran shrestha

‘दान्भी’का मुख्य हिरो हुन् रे किरण । तर फिल्मको प्रचार सामग्री पोष्टरदेखि टिजर र ट्रेलरसम्म उनी कहीँ पनि अटाएका छैनन् । यसमा उनको चित्त दुखाइ छ । निर्माण युनिटसँग उनले कुरा पनि गरे । भन्छन्, ‘मेरो भूमिका सस्पेन्स राखेको भनेर भन्नुभयो । मैले केही बोल्न सकिनँ ।’

किरणको यो दोस्रो फिल्म हो । पहिलो फिल्म ‘पर्खी बसेँ तिमीलाई’को व्यवसाय राम्रो भएन । दोस्रो फिल्मलाई उनले अपेक्षाभन्दा पनि चुनौतीका रूपमा लिएका छन् । ‘पहिलोमा अपेक्षा, कन्फिडेन्ट दुवै थियो । भनेजस्तो भएन क्यार ! अहिले अपेक्षाभन्दा पनि करियर कता जाला, के होला भनेर डर पो लाग्न थालेको छ,’ उनले भने ।

पहिलो फिल्म डेब्यु भनेर आफूले माफी पाए पनि दोस्रो फिल्ममा त्यो छुट नभएको उनको भनाइ छ ।

रुपेश तामाङको निर्देशन रहेको ‘दान्भी’मा पवन राना मगर कार्यकारी निर्माता, देव मगर र अनुप गडाल निर्माता छन् ।

  • लाहुरे छोडेर अभिनय  

‘मसानटार’, ‘द एज आफ डार्कनेस’, ‘बोधी छाया’, ‘एन्टी गोनी’, ‘कुमारी एन्ड द बेस्ट’ लगायत दर्जनभन्दा बढी नाटक अभिनय गरेपछि किरण फिल्ममा होमिएका हुन् । फिल्म र नाटक अभिनयमा उनले धेरै भिन्नता पाएका छन् ।

‘थिएटरमा लाउड अभिनय हुन्छ । अभिनयका लागि एकडेढ महिना वर्कसप गर्नुपर्छ’, उनले भने, ‘फिल्ममा नर्मल रहेछ । महिनौँ अभ्यासको जरुरी पर्दैन ।’

kiran shrestha 2

थिएटरले फिल्म अभिनयमा धेरै सजिलो गर्ने किरणको बुझाइ हो । ‘थिएटरले चरित्रमा भिज्न, इजी बस्न र ग्राउन्डेड गर्न सिकाउँछ, जुन फिल्ममा मात्र होइन, जुनै अभिनयमा पनि काम लाग्छ’, उनले अगाडि भने, ‘थिएटरले जीवन बुझाउँछ ।’

हुन त किरणको अभिनय सपना सानैदेखिको होइन । नृत्य र तेक्वान्दोमा सानैदेखि रुचि भएका उनले युकेको लाहुरे बन्ने सपना देखेका थिए । सन् २०१६ मा त्यसको तयारी समेत गरेका उनको खुट्टाको मासु च्यातियो । उनी छनोट प्रक्रियामा सहभागी हुन पाएनन् । त्यही समय उनकी दिदीले सौन्दर्य प्रतियोगिता ‘मिस्टर नेपाल २०१६’ भिड्न सुझाइन् । त्यहाँ उनी टप ५ भित्र पर्न सफल भए । त्यसपछि उनले अभिनय रोजेका हुन् ।

‘मिस्टर नेपालको ट्यालेन्ट राउण्डमा एक प्रतियोगीले अभिनय गरेको देख्दा म प्रभावित भएँ’, उनले अभिनयमा आउनुको कारण खोले, ‘उनकै सल्लाहमा मण्डला थिएटरमा अभिनय सिक्न थालेँ ।’

मण्डलामा अभिनय सिक्दै नाटक अभिनय गर्दै आएका किरणले फिल्म अगाडि केही म्युजिक भिडियो र विज्ञापनमा समेत अभिनय गरेका छन् । भर्खर नेपाली फिल्म अभिनय थालेका उनको बलिउडमा समेत छिर्ने सोच छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप