बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश

एउटा क्रूर हत्या : ...त्यसपछि उठेनन् हरिलाल ऋषिदेव

शुक्रबार, ०७ असार २०८१, २१ : ५२
शुक्रबार, ०७ असार २०८१

विराटनगर । जेठ २५ गते शुक्रबारको दिन । बिहानको करिब १० बजेको समय । सधैँजस्तो टन्टलापुर घाम । केटाकेटी आ–आफ्नै धुनमा थिए । वृद्धवृद्धा र महिलाहरू बिहानको खाना बनाउन लागेका थिए । जवानहरू काममा निस्किसकेका थिए ।

सुनसरीको बर्जु गाउँपालिका वडा नम्बर १ को मुसहरी टोलको दिनचर्या यस्तै हो । तर, त्यो दिन अचानक भाटा, लाठी, हँसिया, बन्चरो, कोदालो जस्ता घरेलु हतियार लिएर दर्जन बढी मोटरसाइकलमा दुई दर्जन जति युवाहरू उक्त टोलमा आए ।

उनीहरुले स्थानीय काशिनाथ रिषिदेवको घर भत्काउन लागे । झोरा खोलाको साँधैमा ऐलानी जग्गामा घर बनाएका काशिनाथको घर भत्काउन थालेपछि त्यहाँ कोलाहल मच्चियो । बालबच्चा रुन थाले । मुसहरी समुदायका अगुवाहरू भेला भए ।

घर भत्काउन आएका युवाहरूलाई सम्झाउन बुझाउने प्रयास गरे । तर, यादव समुदायका दर्जनौँ मानिसहरूले अन्धाधुन्द आक्रमण सुरु गरे । त्यहाँ फिल्मी शैलीमा आक्रमण सुरु भयो ।

‘हामीहरू घर किन भत्काउनु भएको हो भनेर सोधिखोजी गर्न थाल्यौँ । त्यसपछि उनीहरुले लाठी मुङ्ग्री सुरु गरे,’ स्थानीय रामप्रसाद ऋषिदेवले भने ।

उनका अनुसार हरिलाल ऋषिदेव पनि त्यही बाटो हुँदै आउँदै थिए । उनले पनि सोधे र समाज बसेर घटना मिलाऊँ यसरी किन आक्रमण गरेको भने । त्यसो भन्ने बित्तिकै हरिलाललाई बाँसको भाटा र भालाले प्रहार सुरु गरे । हरिलाल भाग्न खोजे । तर, घटनास्थलबाट झण्डै १ सय मिटर तल पुगेपछि उनी ढले । ढलेका उनलाई त्यही आक्रमणकारीले कुटपिट गरे । उनको मुखबाट रगत आयो । उनी बेहोस भए । हतारहतार कोशी अस्पताल लिएर जाँदा उनको ज्यान गइसकेको थियो । अर्थात् एउटा हुलको आक्रमणमा परी उनको ज्यान गयो ।

Hemkumar

उनका जेठा छोरा हेमकुमार ऋषिदेव त्यो दिन बिहानै विराटनगरमा लेबर काम गर्न भनेर हिँडेका थिए । ‘त्यो दिन म घरमा थिइनँ । विराटनगरमा काम गर्न गएको थिएँ । यताबाट घटना भयो भन्ने खबर भयो । बरगाछीमा ल्याउँदै गर्दा भेटेँ । बिहान सञ्चै छोडेको मेरो बुबाको लास मात्रै थियो । यहाँको के भयो केही थाहा भएन,’ उनले सुनाए ।

आक्रमणकारीको आक्रमणबाट अन्य पाँच जना घाइते भए । घाइते पाँचै जनाको उपचारपछि घर फर्किसकेका छन् । घाइते हुनेहरूमा गर्भवती कल्पना ऋषिदेवदेखि चन्द्रलाल ऋषिदेवसम्म छन् । ‘लडाई नगरौँ । जे छलफल हुन्छ त्यो हिसाबले गरौँ । भनेपछि मलाई पनि भाटाले हाने । फेरि पनि घटनालाई मिलाऊँ भनेको टाउकोमा हाने । म पनि ढलेछु त्यसपछि के के भयो मलाई नै थाहा छैन । आक्रमणकारीले भाटाले टाउकोमा हानेको चोट देखाउँदै चन्द्रलालले भने, ‘मिलाउन खोजेको थिएँ तर आक्रमणमा परेँ ।’

पहिलेदेखि ज्यान मार्ने धम्की, १५ जनाविरुद्ध किटानी जाहेरी

काशिनाथ ऋषिदेवको घर झोरा खोलाको साँधैमा छ । उक्त जग्गा ऐलानी हो । सो ऐलानी जग्गासँग स्थानीय जागेश्वर यादवको खेत जोडिएको छ । आफ्नो खेतको छेउमा घर बनाएको भन्दै यादवले पटकपटक घर हटाउन दबाब दिँदै आएका थिए ।

Vatkeko Ghar Dekhaudai ramchandra (1)

केही दिन अगाडि जागेश्वर यादवले आफ्नो जग्गा नापी गरे । ‘काशीनाथलाई तिम्रो घर मेरो जग्गामा पर्दछ तुरून्त हटाउ, तोडेर अन्यत्र लैजाऊ । २–४ दिनमा घर नहटाए हामी जसरी भएपनि २–४ दिनमै भत्काएर छाड्छौँ’ भन्दै धम्की दिएका थिए ।

त्यसपछि पुनः जेठ २० गते ज्यान जानसक्छ भन्दै जागेश्वरसहितको समूहले धाक धम्की दिएको थियो । त्यसबेला काशिनाथले ‘ऐलानी जग्गामा घर बनाएको हुँ । सरकारी अमिन ल्याएर नाप्दा नम्बरीमा घर बनाएको रहेछु भने हटाउँछु’ भनेका थिए । तर, नापजाँच गर्नुको साटो २५ गते बिहान आक्रमण गरेका थिए । स्थानीय ऋषिदेव समुदायले भने दलित भएकै कारण साँध सिमानामा बस्न नदिने नियतले घर हटाउन धाक धम्की दिएको बताए ।

मृतकका छोरा हेमकुमारले इलाका प्रहरी कार्यालय दुहवी सुनसरीमा जागेश्वर यादवसहित १५ जनाविरुद्ध ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिएका छन् । किटानी जाहेरीमा प्रतिवादी जागेश्वर यादव, उनका छोरा अर्जुन यादव, जोगेश्वरका भाइ जोगानन्द यादव र सोही ठाउँका पुलकित भन्ने फुलदेव यादव, जोगिन्दर यादव, राजेन्द्र यादव, विष्णु यादव, फुलचन यादव, उमेश यादव, रामेश्वर यादव, रामफल यादव, राजकुमार यादव, हरेराम यादव, लतर यादव र वलदेव यादव रहेका छन् । जाहेरीमा घटनामा संलग्नहरूमाथि हदैसम्मको दण्ड सजाय गरी किरिया खर्च तथा क्षतिपूर्तिसमेत दिलाई भराई न्याय पाउन माग गरेका छन् ।

२ जना पक्राउ, अन्य फरार

शुक्रबार हरिलालको मृत्युको १३ औँ दिनको काममा परिवार र आफन्त जुटेका थिए । उनीहरूको संस्कार अनुसार १३ औँ दिनमा भोज भतेर गर्नुपर्छ । उनीहरुसँग भोजभतेर लगाउन पैसा थिएन । मालसामान जुटाउन सोही टोलमा नेपाल ऋषिवंशी जनकल्याण संघ सुनवर्षी नगरपालिकाको अगुवाइमा राहत वितरण कार्यक्रम आयोजना गरिएको थियो ।

Rahat

राहत वितरण कार्यक्रममा भेला भएका दलित समुदायका अगुवाहरू भने त्रासमा थिए । आक्रमणमा परेर ज्यान जाँदा पनि प्रहरी प्रशासन, जनप्रनिधिहरुले उनीहरूकै कुरा सुनेर घटनालाई सामसुम पार्ने प्रयत्न भइरहेको उनीहरुले बताए । ‘घटनालाई मिलापत्र गराउन दबाब आइरहेको छ,’ स्थानीय दीपेन्द्र मेहताले भने, ‘तर, उनीहरूलाई सुरुको दिनदेखि नै मैले सहयोग गरिरहेको छु । मलाई ब्याक हटिदिन दबाब आइरहेको छ ।’ घटना भएको दिनदेखि वडाध्यक्ष, पालिका अध्यक्ष तथा उपाध्यक्षहरूले पनि यादवहरूको पक्षमा लागेर जाहेरी नदिन दबाब दिएका थिए ।

‘उनीहरू अहिले पनि ‘यो समुदायले मुद्दा लड्नै सक्दैनन्, कति दिनको चुरीफुरी हो हेरौँला न भनिरहेका छन्,’ मेहताले भने । घटनामा संलग्न भनिएका जागेश्वर यादव र उनका छोरा अर्जुन यादव पक्राउ परेका छन् । ‘घटनामा संलग्न भएको पाइएमा अरू पनि पक्राउ पर्छन्,’ सुनसरी प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नवीन कृषि भण्डारीले भने, ‘पोष्टमार्टम रिपोर्ट नआएसम्म केही भन्न सकिएन ।’ जाहेरी परेकाहरू कहिले पक्राउ पर्छन् भन्ने प्रश्नमा उनले संलग्न देखिए पक्राउ पर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप