सडक सञ्जालमा जोडियो अपिहिमाल गाउँपालिका
सारांश
- अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ, जसले गर्दा स्थानीयले यातायात, विकास निर्माण र दैनिक उपभोगका सामग्री ढुवानीमा सहजता पाउने अपेक्षा गरिएको छ ।
- सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा अपिहिमाल गाउँपालिकालाई सडक सञ्जालमा जोड्ने योजनालाई प्राथमिकतामा राखेको छ ।
- सडक निर्माण कार्य जारी छ र यसै आर्थिक वर्षभित्र काफलधारसम्म तथा आगामी आर्थिक वर्षमा पालिका केन्द्रसम्म सडक पुग्ने लक्ष्य राखिएको छ ।
दार्चुला । अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । खलङ्गाबाट २३ कोष उत्तर-पश्चिममा रहेको पालिकाको वडा नं ३ गौड्याखोलासम्म सडक पुगेको हो ।
सडक सञ्जालबाट अझै नजोडिएका पालिकालाई जोड्ने उद्देश्यसहित सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि यस योजनालाई प्राथमिकतामा राखेको छ ।
प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ, “हालसम्म सडक सञ्जालसँग नजोडिएका अपिहिमाल गाउँपालिका, साइपाल गाउँपालिका र स्वामीकार्तिक खापर गाउँपालिकालाई प्रादेशिक तथा स्थानीय सडक सञ्जालसँग जोड्ने लक्ष्य राखिएको छ ।”
सडक जोड्न सङ्घीय सरकारले विशेष प्राथमितामा राखेको छ । अपिहिमाल गाउँपालिकाले सडकलाई निरन्तर प्राथमिकता दिँदै निर्माण अघि बढाएको छ ।
“सडक अभावका कारण स्थानीयले वर्षौंदेखि यातायात, विकास निर्माण र दैनिक उपभोगका सामग्री ढुवानीमा कठिनाइ भोग्दै आएका थिए । अपिमा ढुवानीका कारण स्थानीयले समस्या झेलेका थिए । मकरीगाडबाट खण्डेश्वरी घुसासम्म पुग्न रु १० प्रतिकिलो ढुवानी लाग्थ्यो”, स्थानीय खडक रोकायाले भने, “सडक गाउँसम्मै आएपछि ढुवानी भाडामा सहजता हुनेछ ।”
अपिहिमाल गाउँपालिका-५ मकरीगाडसम्म मात्रै सडक पुगेको अवस्थामा अहिले भट्टार गाउँसम्म विस्तार भएपछि स्थानीयमा सडक पुग्ने आशा पलाएको उनको भनाइ छ ।
स्थानीय दीपक टमटाले गाउँपालिका केन्द्रसम्म पनि सडक पुग्ने सम्भावना भएसँगै दैनिकी सहज हुने विश्वास व्यक्त गरे । उनका अनुसार भट्टारभन्दा अगाडि सडक पुगिसकेको छ भने निर्माण निरन्तर जारी रहेकाले छिट्टै पालिका केन्द्रसम्म सवारी सञ्चालन हुने विश्वास स्थानीयले गरेका छन् ।
गाउँपालिका केन्द्र वडा नं ४ को नौपाटामा पर्छ । सडकले गाउँपालिकाका वडा नं ३ र ४ लाई जोड्छ । यो ठाउँमा सडक काट्न चट्टानी भू-भाग नहुँदा पनि सडकले गति लिनेछ ।
अपिहिमाल-१ र २ मा सडक सञ्जालले तत्काललै जोडिने सम्भावना छैन् । तर वडा नम्बर ३ को काफलधारसम्म पनि सडक पुग्दा थोरै भए पनि अन्य वडाको लागि राहत हुने स्थानीय बताउँछन् । सडक निर्माण विएनबी कन्स्ट्रक्सन सुर्खेतले गरिरहेको छ ।
निर्माण कम्पनीका प्रतिनिधि धर्मसिंह धामीले चालु आर्थिक वर्षभित्र काम सम्पन्न नभए पनि आगामी आवमा पालिका केन्द्रसम्म सडक पुर्याउने लक्ष्यसहित काम भइरहेको जानकारी दिए ।
सडक नहुँदा विकास निर्माणका सामग्री ढुवानी महँगो पर्नुका साथै विभिन्न आयोजना कार्यान्वयनमा समस्या हुँदै आएको थियो । सडक विस्तारसँगै अब विकास निर्माणका काममा सहजता आउने अपेक्षा गरिएको छ ।
अपिहिमाल गाउँपलिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहराका अनुसार यसै आर्थिक वर्षभित्र सडक काफलधारसम्म जोडिने छ । मकरीगाडबाट भट्टारसम्मको कडा चट्टानी भाग उछिनेर अब सहज ठाउँमा सडक निर्माण अघि बढेको छ । “शीघ्र पालिका मुकाममा सडक पुग्नेछ”, उनले भने, “नयाँ आर्थिक वर्षमा (आगामी आव) अपिहिमालको विकासका लागि महत्वपूर्ण वर्ष सावित हुनेछ ।”
अध्यक्ष बोहराका अनुसार पारिवगर-मकरीगाड सडक स्तरोन्नतिको ठेक्का लागिसकेको छ । दुई वर्षभित्र कालोपत्रसहित स्तरोन्नति सकिने छ । दुई वर्षभित्र सम्पन्न गर्नेगरी मकरीगाडमा मोटेरबल पुल निर्माणको ठेक्का भएको छ । अपिहिमाल-४ र ३ जोड्ने सडकमा रु सात करोड बजेट सुनिश्चित भएको भन्दै उहाँले आगामी आवमा सडक निर्माण पालिका केन्द्र पुग्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुपन्देही क्रिकेट संघको अध्यक्षमा शक्ति गौचनको उम्मेदवारी घोषणा
-
फूलमाया– ७
-
कक्रोच जनता पार्टीको प्रदर्शनमा ६ जना पक्राउ संस्थापक दिप्के भन्छन्, ‘हाम्रो एकाउन्ट ह्याक गरियो’
-
ईश्वरी भुजेल हत्या प्रकरण : पूर्वगृहमन्त्री गुरुङ बालाजु प्रहरी वृत्त पुगे, दोषीमाथि कडा कारबाहीको माग
-
२०२६ विश्वकपमा चम्किन तयार १२ किशोर खेलाडी
-
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण