बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
बागमती प्रदेश

प्रादेशिक सडक गुरुयोजना : २० वटा लोकमार्ग निर्धारण

२५० सडक आयोजनालाई ७ करोड बजेट
सोमबार, १० असार २०८१, ०८ : ००
सोमबार, १० असार २०८१

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षबाट सडक पूर्वाधार विकासलाई व्यवस्थित गर्न गुरुयोजना निर्माण गरेर अघि बढ्ने भएको छ । प्रदेश सरकारले बजेट विनियोजनलाई व्यवस्थित गर्दै लगानी आकर्षित गर्ने उद्देश्य अनुसार प्रादेशिक सडक गुरुयोजना कार्यान्वयन गर्ने तयारी गरेको हो ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा सडक तथा पुल निर्माणलाई व्यवस्थित गर्न उक्त गुरुयोजना कार्यान्वयन गर्ने बताएको छ । सरकारले बर्सेनि तर्जुमा गर्ने नीति, कार्यक्रम र बजेटमा सडक पूर्वाधार विकासलाई प्राथमिकता दिने गरी गुरुयोजना निर्माण गरिएको छ । विकासका बहानामा अव्यवस्थित रूपमा भइरहेको सडक खन्ने कामलाई पनि प्रादेशिक सडक गुरुयोजनाले नियन्त्रण गर्न भूमिका खेल्ने भौतिक पूर्वाधार विकास मन्त्रालयको विश्वास रहेको छ ।

प्राविधिक अध्ययनबिना जथाभाबी सडक खन्ने क्रमभङ्ग गरी वातावरणीय विनाश तथा विपद् जोखिमलाई नियन्त्रणमा महत्त्वपूर्ण हुने देखिएको मन्त्रालयको भनाई छ । सुरुवातदेखि नै सडक पूर्वाधार विकासमा जोड दिँदै आएको बागमती प्रदेश सरकारको गत जेठ २२ गतेको मन्त्रिपरिषद्को बैठकले प्रदेश सडक गुरुयोजना स्वीकृत गरेको थियो ।

बिना योजना बर्सेनि जथाभाबी सडक निर्माण र स्तरीकरणमा खर्च भइरहेकाले त्यसलाई मितव्ययी बनाउन सहयोग पुग्ने उनले बताए ।

सडक निर्माण, विस्तार र मर्मत तथा अन्य कुराको क्षेत्राधिकार स्पष्ट नहुँदा समस्या भइरहेको अवस्थालाई व्यवस्थित गर्न सो गुरुयोजनाले महत्त्वपूर्ण भूमिका खेल्ने भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल ‘शरद’ले जानकारी दिए । कतिपय सडक निर्माणमा संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारको बजेट लगानी भइरहेको र उक्त असन्तुनलाई गुरुयोजनाले नियन्त्रण गर्ने उनको भनाई छ । 

सुरुवातदेखि नै प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले विभिन्न स्थानीय र ग्रामीण सडक र केही प्रादेशिक सडक निर्माण तथा स्तरीकरणमा ठुलो रकम खर्च गर्दै आएको र त्यसको प्रतिफल प्राप्त हुन नसकेको उनको भनाई छ । बिना योजना बर्सेनि जथाभाबी सडक निर्माण र स्तरीकरणमा खर्च भइरहेकाले त्यसलाई मितव्ययी बनाउन सहयोग पुग्ने उनले बताए ।

  • २० प्रादेशिक लोकमार्ग निर्धारण

प्रदेश सरकारले प्रादेशिक गुरुयोजना अन्तर्गत २ वटा सडक आयोजनाहरूमा विभाजन गरी विकास गर्ने तयारी गरेको छ । प्रदेश सरकारले प्रादेशिक सडक आयोजना अन्तर्गत प्रदेश लोकमार्ग र प्रदेश मार्गको रूपमा विकास गर्ने तयारी गरेको छ ।

प्रदेश सरकारले प्रदेशका १३ जिल्लाका २५० वटा सडक पूर्वाधारमा लगानी केन्द्रित गर्ने गरी प्रादेशिक सडक गुरुयोजना कार्यान्वयनमा ल्याएको मन्त्री दुलालले बताए । उनका अनुसार सरकार प्रादेशिक सडक गुरुयोजनामा प्रदेश मार्ग र प्रदेश लोकमार्ग निर्धारण गरी लगानी केन्द्रित गर्ने र स्तरीय, सुरक्षित सडकको रूपमा विकास गर्ने मोडलमा अघि बढेको हो ।

उक्त गुरुयोजना अन्तर्गत प्रदेश सरकारले २० वटा प्रदेश लोकमार्ग र २३० वटा प्रदेश मार्गहरू छनौट गरी बजेट विनियोजन गरिएको उनले बताए । प्रदेश सरकारले सो गुरुयोजना अन्तर्गतका सडक पूर्वाधार निर्माणका लागि ७ अर्ब ७८ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको र सो बजेट प्रदेश लोकमार्ग, प्रदेश मार्गमा समेटिएका ८० प्रतिशत आयोजनामा खर्च गर्ने मन्त्री दुलालले बताए ।

मर्मत तथा सुधारका काम सबै आयोजनामा लगानी गर्ने र प्राथमिकताको आधारमा पक्की, स्तरीय सडक निर्माणमा काम गर्ने सरकारको रणनीति रहेको छ ।

सो सडक आयोजना भन्दा बाहेक अन्य कुनै पनि आयोजनामा प्रदेश सरकारले लगानी नगर्ने, गरेको खण्डमा स्थानीय तहसँगको समन्वयमा सम्बन्धित पालिकाले नै खर्च गर्ने गरी रकम उपलब्ध गाउने तयारी रहेको उनले बताए । प्रदेश सरकारले जनशक्ति व्यवस्थापन, बजेट परिचालन र विकासको मूल प्रवाह तथा उपलब्धिका विषयमा केन्द्रित भएर बजेटमा प्रादेशिक सडक गुरुयोजना कार्यान्वयन गरेको उनले बताए ।

मर्मत तथा सुधारका काम सबै आयोजनामा लगानी गर्ने र प्राथमिकताको आधारमा पक्की, स्तरीय सडक निर्माणमा काम गर्ने सरकारको रणनीति रहेको छ । दातृ संस्थाहरूको सहयोगलाई आकर्षित गर्न पनि सो गुरुयोजना अत्यन्त फलदायी रहने उनको भनाई छ । दातृ निकायको आग्रह र सल्लाह अनुसार प्रदेश सरकारले गुरुयोजनाको निर्माण गरेको मन्त्री दुलालले बताए ।

मन्त्री दुलालका अनुसार प्रादेशिक सडक गुरुयोजना निर्माणका लागि कार्यविधि निर्माण गरी सो कार्यविधिले तोकेको मापदण्ड अनुसार प्रदेश सरकारले सडक योजनाहरू छनौट गरेको हो । प्रादेशिक सडक ऐनले तोकेको मापदण्ड अनुसार सडक निर्माण तथा स्तरोन्नति र विकासको काम क्रमशः अघि बढाउने उनले बताए ।

प्रदेश सरकारले प्रदेश लोकमार्ग अन्तर्गत भैँसे भीमफेदी कुलेखानी सिस्नेरी काठमाडौँ सडक - ‘राजधानी मार्ग’, मनहरी आदमघाट सडक, झुरझुरे तालढुंगा सडक - ‘जनमुक्ति मार्ग’, चौतारा सिपाघाट काठमाडौँ सडक, मुढे मैलुङ सडक, धादिङवेसी तिप्लाङ स्याफ्रुवेसी सडक ‘दमन पाख्रिन मार्ग’, दोलघाट चौरीदेउराली गुराँसे गाल्वा मन्थली सडक, सिन्धुलीमाडी चकमके कटारी सडक, पालुङ चित्लाङ थानकोट ‘गणेशमान मार्ग’, लगायत रहेका छन् ।

प्रदेश मार्ग अन्तर्गत काठमाडौँ चित्लाङ सडक ‘इन्द्रसरोवर मार्ग’, कुलेखानी फाखेल, मातातीर्थ काठमाडौँ सडक ‘चन्द्रागिरि मार्ग’, सिमातघुम्ती जुरेली धियाल निजगढ सडक, कुलेखानी फाखेल काठमाडौँ सडक, मनहरी चैनपुर, धादिङवेसी सुनौलो बजार खोस्रेटार गल्छी सडक, बागमती बख्पर सडक, चौतारा नवलपुर मेलम्ची सडक, हेटौँडा चक्रपथ, लेले चन्दनपुर ठुला दुर्लुङ सडक, बगुवा प्युटार आर्साङ गिम्की सडक, जिराकीलो अम्बास भोर्ले पञ्चाङ दोक्लाङ सडक चैनपुर खेरहनी खयरघारी सडक लगायत रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप