बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
राजनीति

कांग्रेसका भ्रातृ संस्था तदर्थको उल्झनमा, गाँठो फुकाउन दुई विकल्पमा छलफल

मङ्गलबार, ११ असार २०८१, १८ : ४८
मङ्गलबार, ११ असार २०८१

काठमाडौँ । नेपाली कांग्रेसमा भ्रातृ संस्थाहरूको वर्तमान तदर्थ कार्यसमितिबारे दुई विकल्पमा छलफल भइरहेको छ । यही असार १५ मा महाधिवेशन गराउने म्यान्डेट पूरा गर्न नसकेका भ्रातृ संस्थाका तदर्थ समिति भङ्ग गर्ने कि महाधिवेशन उन्मुख गराउने भन्ने विकल्पमा छलफल भएको हो ।

कांग्रेसले लामो समयदेखि अधिवेशन गर्न नसकेका भ्रातृ संगठनहरूलाई गतिशील बनाउन भन्दै २०७८ फागुन ३ मा १३ मध्ये १० भ्रातृ संस्थाहरूका केन्द्रीय कार्यसमिति भङ्ग गरेर तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो ।

पार्टी सभापति शेरबहादुर देउवाले २०७८ चैत ९ मा नेविसंघमा दुजाङ शेर्पा र तरुण दलमा विद्वान गुरुङलाई अध्यक्ष मनोनीत गरेका थिए । यस्तै ०७९ असार १० मा किसान संघको अध्यक्षमा गणेश तिमिल्सिना र भदौ १२ मा लोकतान्त्रिक आदिवासी जनजाति महासंघको अध्यक्षमा ओमबहादुर घर्तीमगर मनोनीत भए ।

सभापति देउवाले सोही वर्ष साउन २६ मा नेपाल महिला संघको अध्यक्षमा उषा राउत मिश्रलाई मनोनीत गरेका थिए । २०७९ साउन २ मा कांग्रेसले लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, नेपाल थारु संघ र लोकतान्त्रिक खेलकुदलाई भ्रातृ संस्थाको मान्यता दिएको थियो । नेपाल थारु संघको अध्यक्षमा शिवनारायण महतो र लोकतान्त्रिक खेलकुद संघको अध्यक्ष देवेन्द्रकुमार शेरचन छन् ।

कांग्रेसले दलित संघका लोकबहादुर विश्वकर्मा, भूतपूर्व सैनिक संघका मेघराज टण्डन, लोकतान्त्रिक अपाङ्ग संघका प्रकाश पन्थको नेतृत्वमा तदर्थ समिति बनाइएको छ । उक्त भ्रातृ संस्थालाई कांग्रेसको केन्द्रीय समितिको गत पुस १२ देखि १४ गतेसम्म भएको बैठकले २०८१ असार १५ भित्र महाधिवेशन सम्पन्न गर्ने अवधि थपेको थियो । लोकतान्त्रिक महासंघले मंगलबार महाधिवेशन सुरु गरेर पार्टीले दिएको म्यान्डेट पूरा गरेको छ ।

नेविसंघ, तरुण दल, महिला संघ, किसान संघ लगायतका भ्रातृ संस्थाले भने दुई पटक म्याद थप्दा पनि महाधिवेशन गराउन असफल भएका छन् । गत २२ चैतमा सम्पन्न नेविसंघ केन्द्रीय समिति बैठकले आगामी पुस मसान्तभित्र महाधिवेशन गर्ने निर्णय गरेको छ । यस्तै तरुण दलले आगामी चैतभित्र महाधिवेशन गर्ने प्रस्ताव लैजाने तयारी गरेको छ । किसान महासंघले फागुनमा महाधिवेशन गर्ने प्रस्ताव पार्टी केन्द्रमा गरेको छ भने भूतपूर्व सैनिक संघले मंसिरदेखि फागुनसम्म महाधिवेशन गर्ने कार्यतालिका पार्टीलाई पठाएको छ ।

महिला संघको आगामी केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तोक्ने अध्यक्ष उषा मिश्र बताउँछिन् । भ्रातृ संघ सञ्चालनका लागि पार्टी विधानले नै निश्चित व्यवस्था गरेको छ । भ्रातृ संस्थाको विधानले दिएको अधिकारमा टेकेर नेतृत्व चयन गर्न सकिने अवस्था छ । आन्तरिक विवाद र पार्टीका नेताहरूको समन्वयको अभावमा भ्रातृ संस्थाले महाधिवेशन गर्ने नसकेको देखिन्छ । महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको आगामी केन्द्रीय समिति बैठकले महाधिवेशन नसकेका भ्रातृ भङ्ग गर्ने–नगर्ने ठोस निर्णय लिने बताए ।

उनले भने, ‘वर्तमान तदर्थ समितिलाई महाधिवेशन उन्मुख गराउने कि नयाँ ल्याउने भन्ने दुई विकल्पमा छलफल भइरहेको छ । असारभित्रै बस्ने केन्द्रीय कार्यसमिति बैठकले ठोस निर्णय लिन्छ ।’

उनका अनुसार विकल्पमा महाधिवेशन कार्यतालिका निर्धारण गरेर शर्तसहित समयावधि थप्न सकिने पहिलो विकल्प हो । ‘भङ्ग गरेर नयाँ बनाउन लागियो भने संगठनलाई झन् कमजोर बनाउँछ । अधिवेशनको कार्यतालिका सहित पार्टीबाट पनि नेताहरूलाई जिम्मेवारी दिएर महाधिवेशनबाट नयाँ नेतृत्व परिस्थिति निर्माण गर्ने कि भन्ने छ,’ उनले भने ।

महामन्त्री शर्माका अनुसार पटक–पटक म्याद थप्दा पनि महाधिवेशन नभएको भन्दै नयाँ कमिटी ल्याएर महाधिवेशनमा जानुपर्ने विकल्प पनि छलफलमा छ । पार्टीले महाधिवेशनको प्रयोजनका लागि ६ महिनाको म्यान्डेट दिएर पटक–पटक बनाएका तदर्थ कार्यसमितिले म्याद थप्न लगाएर कार्यकाल लम्ब्याउने काममात्र गरेको देखिन्छ ।

महाधिवेशन नगराउनेमा प्रमुख भ्रातृ संस्थाको नाम अग्रपंक्तिमा छ । कांग्रेसको नर्सरी मानिएको नेविसंघमा २०७३ पछि महाधिवेशन हुन सकेको छैन ।

११ औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष नैनसिंह महरले २०७५ मा राजीनामा दिएपछि नेविसंघ तदर्थ कार्यसमितिको भरमा छ । योबिचमा २०७६ माघ १६ मा राजीव ढुंगानाको नेतृत्वमा तदर्थ समिति बन्यो । ढुंगाना नेतृत्वको तदर्थ समिति २ वर्षसम्म कार्यसमिति विस्तार नै नभइ विघटन भयो ।

सभापति देउवाले २०७८ चैत ९ मा दुजाङ शेर्पाको नेतृत्वमा तदर्थ समिति ल्याए । शेर्पा नेतृत्वको ७५२ सदस्यीय तदर्थ समितिलाई महाधिवेशनभन्दा पनि केन्द्रीय कार्यसमिति बैठक राख्नै हम्मेहम्मे छ ।

यता तरुण दलको पनि २०७३ पछि अधिवेशन हुन सकेको छैन । तरुण दलको चौथो महाधिवेशनमा सर्वसम्मत अध्यक्ष बनेका जीतजंग बस्नेत नेतृत्वको कार्यसमिति विस्तार नभइ ६ वर्षपछि विघटन भयो । अध्यक्ष बस्नेत पार्टीको १४ औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेपछि २०७८ चैत ९ मा तत्कालीन कोषाध्यक्ष विद्वान गुरुङको नेतृत्वमा तदर्थ समिति बन्यो । गुरुङ नेतृत्वको ४०१ सदस्यीय तदर्थ समिति २७ महिनासम्म पनि महाधिवेशन उन्मुख हुन सकेको छैन ।

यस्तै महिला संघको तेस्रो महाधिवेशन भएको ८ वर्षसम्म पनि चौथो महाधिवेशनको सुरुसार छैन । २०७३ मा भएको महाधिवेशनबाट निर्वाचित अध्यक्ष उमा रेग्मी पार्टीको केन्द्रीय सदस्य बनेपछि लामो महिला संघ नेतृत्वविहीन थियो । सभापति देउवाले २०७९ साउन २६ गते उषा राउत मिश्रको नेतृत्वमा महिला संघको तदर्थ समिति ल्याए । ५३ सदस्यीय महिला संघले दुई पटक म्याद थप्दा पनि आन्तरिक किचलोले महाधिवेशन कार्यतालिका समेत ल्याउन सकेको छैन ।

नेपाल प्रजातन्त्र सेनानी संघको महाधिवेशन नभएको करिब १७ वर्ष भइसकेको छ । नेपाल प्रजातन्त्र सेनासी संघको २०६४ मा महाधिवेशन भएको थियो । टंकप्रसाद शर्मा कँडेल नेतृत्वको कार्यसमितिले महाधिवेशन गर्न नसकेपछि भङ्ग भयो ।

२०८० मा सभापति देउवाले बालकृष्ण दाहालको नेतृत्वमा सेनानी संघको तदर्थ समिति गठन गरेका थिए । यही असार ६ गते दाहाल नेतृत्वको सेनानी संघमा ८३ जना सदस्य मनोनीत भएका छन् । अब यसले कहिले महाधिवेशन गराउँछ भन्ने टुङ्गो छैन ।

यता नेपाल किसान महासंंघको महाधिवेशन नभएको पनि १७ वर्ष भएको छ । नेपाल किसान संघको महाधिवेशन २०६४ पछि हुन सकेको छैन ।

उक्त महाधिवेशनबाट चयन भएको कार्यसमितिले समयमा महाधिवेशन गर्न नसकेपछि भानुभक्त सिग्देलको नेतृत्वमा तदर्थ समिति बनेको थियो । सिग्देल नेतृत्वको कार्यसमिति पनि महाधिवेशन गराउन असफल भएपछि गणेशचन्द्र तिमल्सिनाको नेतृत्वमा किसान महासंघ अस्तित्वमा छ ।

नेपाल दलित संघ पनि तदर्थ समितिकै भरमा छ ।  नेपाल दलित संघको तदर्थ केन्द्रीय समितिको नेतृत्वमा लोकबहादुर विश्वकर्मा छन् । २०६९ पछि महाधिवेशन नभएको दलित संघको महाधिवेशन गराउन विश्वकर्मा उदासीन छन् ।

नेपाल भूतपूर्व सैनिक संघ तदर्थमा चल्दै आएको दशक भइसक्यो । सैनिक संघले पनि २०७३ पछि महाधिवेशन गर्न सकेको छैन । अहिले मेघराज टण्डनको नेतृत्वमा सैनिक संघको तदर्थ समिति छ ।

२०६६ मा भ्रातृ संस्थाको मान्यता पाएको राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अधिवेशन नै हुन सकेको छैन । तत्कालीन अध्यक्ष भोजराज श्रेष्ठले अधिवेशन गराउन नसकेपछि लोतान्त्रिक अपाङ्ग संघ भङ्ग गरिएको थियो । पछिल्लो समय प्रकाश पन्थको अध्यक्षतामा कांग्रेसले तदर्थ समिति बनाएको छ । पन्थ नेतृत्वका १७० सदस्यीय तदर्थ कार्यसमितिले पनि महाधिवेशनका लागि चासो दिएको छैन ।

नेपाल ठाकुर समाजका अध्यक्षमा घुमीफिरी अनिरुद्र ठाकुर १६ वर्षदेखि नेतृत्वमा छन् । तर, महाधिवेशन भने हुन सकेको छैन । नेपाल थारू संघ र नेपाल लोकतान्त्रिक खेलकुद संघले भ्रातृ संस्थाको मान्यता पाएको २ वर्ष भइसक्दा पनि महाधिवेशन हुने छाँटकाँट छैन ।

२०७९ साउनमा भ्रातृ संस्थाको मान्यता पाएको थारु संघमा शिवनारायण महतो गुरौको नेतृत्वमा ९८ सदस्यीय तदर्थ समिति बनेको छ । यता देवेन्द्रकुमार शेरचनको नेतृत्वको नेपाल लोकतान्त्रिक खेलकुद संघ पनि तदर्थ कार्यसमितिकै भरमा छ । नेपाल मुस्लिम संघ कांग्रेसका महाधिवेशन गर्ने भ्रातृ संस्थामा पर्दछ ।

२०८० असोजमा सम्पन्न महाधिवेशनबाट अताबुल मन्सुरी निर्विरोध अध्यक्षमा चुनिए । मन्सुरीको नेतृत्वमा ८७ सदस्यीय कार्यसमिति पनि निर्विरोध निर्वाचित भएको थियो । मुस्लिम संघका अध्यक्ष अब्दुल सत्तार १४ औँ महाधिवेशनबाट कांग्रेस केन्द्रीय सदस्य बनेपछि स्वतः पदमुक्त भएका थिए । २०७५ मा भएको मुस्लिम संघको दोस्रो महाधिवेशनबाट अध्यक्षमा दोहोरिएका सत्तारले नेतृत्व छोडेको एक वर्षमै महाधिवेशन भएको थियो ।

यता २०७९ मा दुई भ्रातृ संस्था र तीन शुच्छेक संस्था मर्ज भएर बनेको लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको मैदानमा छ । कांग्रेसले भ्रातृ संस्थाहरू नेपाल राष्ट्रिय मगर संघ र नेपाल तामाङका साथै शुभेच्छुक संस्थाहरू लोकतान्त्रिक शेर्पा संघ, कुमाल संघ र लोकतान्त्रिक नेवाः खललाई गाभेर लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ बनाएको थियो ।

यही असार ११, १२ र १३ काठमाडौँमा जारी महाधिवेशनबाट आदिवासी जनजाति महासंघमा नयाँ नेतृत्व आउने छ । प्रथम महाधिवेशनबाट वर्तमान अध्यक्ष घर्तीमगर सर्वसम्मत अध्यक्ष बन्ने तयारीमा छन् । अहिलेसम्म घर्तीमगरलाई चुनौती दिन लोकतन्त्रवादी आदिवासी जनजाति महासंघमा अन्य व्यक्ति अगाडि आएको देखिएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप