बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
प्रदेश

सुनसरी र झापामा अत्यधिक वर्षा

बाढीले बगाउँदा २ जनाको मृत्यु, २ जना बेपत्ता
मङ्गलबार, ११ असार २०८१, २१ : १२
मङ्गलबार, ११ असार २०८१

विराटनगर । कोशी प्रदेशको झापा र मोरङमा बाढीले बगाएर र चट्याङ लागेर एकै दिन ५ जनाको मृत्यु भएको छ । बाढीले बगाउँदा दुई जना बेपत्ता भएका छन् ।

खोला किनारमा माछा मार्ने क्रममा मोरङको सुन्दरहरैँचा–५ की २२ वर्षीय प्रेमकला चौधरी (फुदनी) को मृत्यु भएको छ । प्रेमकलासँगै रहेका असरादेवी चौधरी र फुला चौधरी भने बेपत्ता छन् ।

बेपत्ताको खोजी कार्य साँझसम्म जारी रहे पनि नभेटिएको मोरङ प्रहरीले जनाएको छ । उक्त खोलामा चार जना माछा मार्न गएका थिए । जसमध्ये एक जना भने पौडिएर निस्कन सफल भएको प्रहरीले जनाएको छ ।

पश्चिम मोरङ र पूर्वी सुनसरीको सीमा भएर बग्ने बुढीखोलाको नयाँ वृन्दावन उत्तरतर्फबाट उनीहरूलाई बगाएको हो । ६० वर्षीय असरादेवी चौधरी र उनकी जेठी बुहारी २५ वर्षीय फुला चौधरी भने बेपत्ता छन् । अर्की बुहारी २२ वर्षीय स्वस्तिका चौधरी भने पौडिएर बाँचेकी हुन् ।

उता, मोरङ केराबारी–४ स्थित गोगुने खोलाले बगाएर ११ वर्षीय बालकको मृत्यु भएको छ । मंगलबार बिहानै आफ्नो घर केराबारी–४ याङ्शिलाबाट किताब बोकेर पढ्नका लागि जनकल्याण मावि चिउरी भन्ज्याङ हिँडेका बालक श्याम राईलाई खोलाले बगाएको हो ।

कक्षा–६ मा अध्ययनरत राईसँगै अरु २० जना विद्यार्थी पनि थिए । विद्यार्थीहरूले उद्धारको प्रयास गरे पनि नसकेपछि हारगुहार गरेका थिए । तर, बेलैमा उद्धार हुन नसकेपछि उनको ज्यान गएको थियो ।

यस्तै झापामा चट्याङ लागेर एकैदिन तीन जनाको ज्यान गएको छ । झापा गाउँपालिका–४, लोसाकी बस्ने ५० वर्षीय मन्जुर आलमको बिहान ९ बजेतिर चट्याङ लागेर ज्यान गएको हो । उनी खेतमा आली लगाउँदै थिए ।

मंगलबार नै कमल गाउँपालिका–२ समयगढमा ४६ वर्षीय राजन खड्काको पनि चट्याङ लागेर ज्यान गएको छ । खेतमा काम गर्न निस्कदै गर्दा उनलाई चट्याङ लागेको थियो । गम्भीर घाइते खड्कालाई उपचारका लागि आम्दा अस्पताल लगिए पनि उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी झापा गौरीगन्ज–३, ठेकीटोलमा धानको बिउ काढ्दै गरेका ४२ वर्षीय विकास गिरीको पनि चट्याङ लागेर मृत्यु भएको छ । उनको घटनास्थलमै मुत्यु भएको प्रहरीले जनाएको छ ।

गौरादह–८ घर भएका उनी सिताराम दाहालको खेतबारीमा बिउ काढ्न गएका थिए । यसभन्दा अघि पनि कमल गाउँपालिका र गौरीगन्ज गाउँपालिकामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको थियो ।

यसैबिच जल तथा मौसम विज्ञान विभागका अनुसार मंगलबार २४ घण्टामा झापा र सुनसरीमा अत्यधिक पानी परेको छ । सप्तकोशीको चतरामा गरिएको मापन अनुसार गएको २४ घण्टामा १६५.४ मिलीमिटर पानी परेको छ । यस्तै झापाको अनारमनी विर्ता स्टेसनमा गरिएको मापन अनुसार गएको २४ घण्टामा १४२ मिलीमिटर पानी परेको छ ।

जल तथा मौसम विज्ञान विभागले त्यस आसपासको क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । यस्तै विराटनगरमा ५७.५, धरानमा ३५.६ मिलीमिटर पानी परेको मौसम विभागले जनाएको छ ।

विभागले अझै केही दिन पानी पर्ने जनाएको छ । विभागले आगामी २४ घण्टामा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

यस्तै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप