खेलाडीभन्दा तीन गुणा बढी पदाधिकारी, ब्याडमिन्टन प्रशिक्षक अटेनन्
काठमाडौँ । विभिन्न राष्ट्रमा आयोजना हुने ठुला अन्तर्राष्ट्रिय प्रतियोगिताहरू नेपाली खेलकुदका लागि पदक जितेर देशको गौरव बढाउनेभन्दा पनि खेल पदाधिकारीका लागि विदेश सयर गर्ने उपयुक्त अवसरका रूपमा प्रयोग हुँदै आएको छ ।
खासगरी, युरोप, अमेरिका र एसियाका शक्तिशाली राष्ट्रहरूमा खेलकुदका अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुँदा नेपालबाट खेलाडीभन्दा पनि खेल पदाधिकारीको लर्को लाग्ने गरेको हो । विगतका परम्पराले पनि यही तथ्य औँल्याउँछ ।
अहिले विश्व खेलकुदको सबैभन्दा वृहत् प्रतियोगिता ‘ओलम्पिक’ को ३३ औँ संस्करण फ्रान्सको राजधानी पेरिसमा आयोजना हुँदैछ । पेरिस ओलम्पिकमा पनि नेपाली खेलकुदमा मौलाउँदै आएको पुरानै परम्पराले निरन्तरता पाएको छ ।
पेरिस ओलम्पिकमा नेपालबाट विभिन्न ६ खेलका सातजना खेलाडीले सहभागिता जनाउने पक्का भएको छ । त्यसमध्ये एकजना नेपाली खेलाडीले मात्र छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पेरिस ओलम्पिकमा आफ्नो सहभागिता पक्का गरेका हुन् ।
टेबलटेनिसका स्यान्टु श्रेष्ठ छनोट चरण पार गर्दै पेरिस ओलम्पिकमा सहभागिता जनाउने एकमात्र नेपाली खेलाडी हुन् । अन्य ६ खेलाडीले भने ‘वाइल्ड कार्ड’ मार्फत पेरिस ओलम्पिकमा सहभागिता जनाउन लागेका हुन् ।
सार्वजनिक रूपमा २९ सदस्यीय टोली ओलम्पिकमा सहभागी हुने भनिए पनि यथार्थमा भने त्योभन्दा निकै बढी खेल पदाधिकारी फ्रान्स जाने स्रोतले जनाएको छ ।
छनोट प्रतियोगितामार्फत ओलम्पिकमा स्थान पक्का गर्न नसक्ने विश्वभरका केही खेलाडीलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र सम्बन्धित खेलको महासंघले सम्बन्धित राष्ट्रको खेल संघ र राष्ट्रिय ओलम्पिक कमिटीको सिफारिसमा ‘वाइल्ड कार्ड’ को सुविधा उपलब्ध गराउने परम्परा रहेको छ ।
पेरिस ओलम्पिकमा नेपालबाट केवल सात खेलाडीले सहभागिता जनाउँदा त्योभन्दा तीन गुना बढी खेल पदाधिकारी फ्रान्स पुग्ने भएका छन् । नेपाल ओलम्पिक कमिटी स्रोतका अनुसार, पेरिस ओलम्पिकमा नेपालबाट खेलाडीसहित २९ सदस्यीय टोली सहभागी हुँदैछ ।
सार्वजनिक रूपमा २९ सदस्यीय टोली ओलम्पिकमा सहभागी हुने भनिए पनि यथार्थमा भने त्योभन्दा निकै बढी खेल पदाधिकारी फ्रान्स जाने स्रोतले जनाएको छ । पेरिस ओलम्पिकमा नेपालबाट चार महिला र तीन पुरुष खेलाडी सहभागी हुँदैछन् ।
खेलाडीका रूपमा टेबलटेनिसका स्यान्टु श्रेष्ठका अतिरिक्त एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, सुटिङकी सुस्मिता नेपाल, जुडोकी मनिता श्रेष्ठ प्रधान तथा पौडीका डुवाना लामा र एलेक्जेन्डर शाहले पेरिस ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
- पदाधिकारीको लर्को लाग्दा छैनन् ब्याडमिन्टनका प्रशिक्षक
कुनै पनि प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न खेलाडीका लागि प्रशिक्षकको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । खेल स्थलमा खेलाडीको हौसला बढाउन, विपक्षीविरुद्ध ठोस रणनीति तयार पार्न, निर्णायकको भूमिकामा चित्त नबुझे तत्काल ‘प्रोटेस्ट’ गर्नदेखि लिएर विपक्षी खेलाडीको कमजोरी पत्ता लगाएर त्यसको फाइदा उठाउन आफ्ना खेलाडीलाई प्रोत्साहन गर्नेसम्ममा प्रशिक्षकको भूमिका रहन्छ ।
तर, रमाइलो पक्ष के हो भने पेरिस ओलम्पिकमा खेल पदाधिकारीको लर्को लाग्दा एक खेलाडीले भने प्रशिक्षकसम्म पाएनन् । ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल प्रशिक्षक बिना नै पेरिस प्रस्थान गरेका छन् । नेपाली ब्याडमिन्टनका यी प्रतिभाशाली खेलाडीले अब ओलम्पिकजस्तो वृहत प्रतियोगितामा प्रशिक्षक बिना नै प्रतिस्पर्धा गर्नु पर्नेछ ।
पेरिस ओलम्पिकमा प्रशिक्षकको भूमिकामा पाँचजनाले सहभागिता जनाउने छन् । राजेन्द्र कपाली टेबलटेनिस, कान्तिकुमारी महतो एथलेटिक्स, प्रदीप खाती सुटिङ, नयना शाक्य पौडी र देबु थापा जुडेको प्रशिक्षकको भूमिकामा ओलम्पिकमा सहभागी हुनेछन् ।
- विवादित संघका पदाधिकारीहरू ओलम्पिक टोलीमा
नेपाली खेलकुदमा पछिल्लो समय केही खेल संघभित्र चर्को विवाद देखिएको छ । त्यसैमध्ये एक हो, नेपाल पौडी संघ । गत वैशाख ८ गते ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा पौडी संघको निर्वाचन सम्पन्न भएको थियो ।
निर्वाचनअघि सम्पन्न अधिवेशनको उद्घाटन समारोहमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ आफै प्रमुख अतिथिका रूपमा उपस्थित थिए । उक्त अधिवेशनमा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ विशेष अतिथिका रूपमा उपस्थित थिए ।
यसअघिका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि ओलम्पिकमा सहभागी हुन निम्तो गरिएको थियो । प्रचण्डले ओलम्पिकमा सहभागी हुन आफू तयार रहेको जवाफ पनि फर्काएका थिए । तर, यसबिचमा सरकार परिवर्तन भएकाले नयाँ परिस्थिति सृजना हुन पुग्यो ।
उद्घाटन समारोहपछि राखेपको खेलकुद विकास विभाग प्रमुख सरोज पोखरेलको संयोजकत्वमा गठित निर्वाचन समितिले पौडी संघको चुनाव गराएको थियो । त्यो निर्वाचन ओलम्पिक कमिटीका प्रतिनिधि रमेश सिवाकोटीको रोहवरमा भएको थियो ।
उक्त निर्वाचनबाट जगतमान श्रेष्ठ पौडी संघको अध्यक्षमा निर्वाचित भएका थिए । लामो समयदेखि पौडी संघको नेतृत्व गर्दै आएका अशोकरत्न बज्राचार्य नयाँ संघमा आउन सकेनन् । तर, राखेप र ओलम्पिक कमिटीका पदाधिकारीकै रोहबरमा भएको निर्वाचनबाट निर्वाचित अध्यक्षलाई बेवास्ता गर्दै निवर्तमान अध्यक्ष अशोकरत्न बज्राचार्यलाई पेरिस ओलम्पिक टोलीमा समावेश गरिएको छ ।
पछिल्लो समय पौडी संघमा ठुलै विवाद देखिएको छ । बज्राचार्य आफूसँग अन्तर्राष्ट्रिय मान्यता रहेकाले आफूले आधिकारिक अध्यक्ष रहेको दाबी गर्छन् । अर्कोतिर, नेपाली खेलकुदको नेतृत्वदायी निकाय राखेपका पदाधिकारीको मातहतमा सम्पन्न निर्वाचनबाट निर्वाचित भएकाले आफू नै आधिकारी अध्यक्ष रहेको दाबी जगतमान श्रेष्ठ नेतृत्वको संघले गर्दै आएको छ ।
श्रेष्ठ नेतृत्वको राष्ट्रिय मान्यताप्राप्त पौडी संघाले बज्राचार्यमाथि संघको लेटर प्याड दुरुपयोग गरेको आरोप पनि लगाउँदै आएको छ । यस्तो स्थितिमा आफैले निर्वाचन गराएको संघका पदाधिकारीलाई बेवास्ता गर्दै राखेप र एनओसी नेतृत्वले बज्राचार्यलाई ओलम्पिक टोलीमा समावेश गराउनु आफैमा रहस्यको विषय बनेको छ ।
यसका अतिरिक्त अहिले नेपाली खेलकुदमा नेपाल जुडो संघ, नेपाल ब्याडमिन्टन संघ, नेपाल टेबलटेनिस संघ र नेपाल कुश्ती संघभित्र पनि चर्को विवाद देखिएको छ । तर, राखेप र ओलम्पिक कमिटीले पेरिस ओलम्पिकमा यी विवादित संघका पदाधिकारीलाई पनि टिम अफिसियलका रूपमा टोलीमा समावेश गरेका छन् ।
यी विवादित संघका अधिकांश पदाधिकारी यसअघि नै पेरिस पुगिसकेका छन् । टिम अफिसियलका रूपमा पौडी संघका निवर्तमान अध्यक्ष बज्राचार्यका अतिरिक्त जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य, ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ र कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारी पेरिस ओलम्पिकमा सहभागी हुँदैछन् ।
केही पदाधिकारी त श्रीमतीसहित ओलम्पिकमा सहभागी हुँदैछन् । विगतमा पनि देखाउने सङ्ख्या एउटा र वास्तविकता अर्को हुन्थ्यो । यसपटक पनि त्यही परम्पराले निरन्तरता पाएको छ । ओलम्पिक सकिएपछि सबै कुरा बाहिर आउँछ ।
यसका अतिरिक्त टिम अफिसियलका रूपमा नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठ, नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा र ओलम्पिक कमिटीका सहसचिव पिताम्बर तिमिल्सिना पनि पेरिस ओलम्पिकमा सहभागी हुँदैछन् ।
यसरी टिम अफिसियलका रूपमा ओलम्पिकमा सहभागी हुने अधिकांश व्यक्ति ओलम्पिक कमिटी र राखेप बोर्डका पदाधिकारी पनि हुन् । ज्योति राणा ओलम्पिक कमिटीकी उपाध्यक्ष हुन् भने प्रकाश कुसारी राखेपका बोर्ड सदस्य हुन् ।
‘हरेक प्रतियोगिता सम्बन्धित खेलको महासंघको नियम अनुसार खेलाइन्छ । हामीले अन्तर्राष्ट्रिय महासंघको नियमलाई पनि मान्नु पर्छ । पौडीलगायको संघको विषयमा पनि यही भएको हो । वर्ल्ड एक्वाटिक्सले पौडी संघको निर्वाचनलाई मान्यता दिएको छैन । उनीहरूले पुनः निर्वाचन गराउन निर्देशन दिएका छन्,’ नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले रातोपाटीसँग भने ।
- मन्त्रीदेखि राखेपका सदस्यसचिवसम्म
पेरिस ओलम्पिकमा सेभ दी मिसनका रूपमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ सहभागी हुँदैछन् । उनी पेरिस प्रस्थान गरिसकेका छन् । नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी पनि पेरिस ओलम्पिकमा सहभागी हुनेछन् ।
यसका अतिरिक्त नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष चतुरानन्द राजवैद्य, महासचिव निलेन्द्रराज श्रेष्ठ, सहसचिव पिताम्बर तिमिल्सिन, कार्यकारी सचिव सुजनलाल श्रेष्ठ पनि पेरिस ओलम्पिकमा सहभागी हुँदैछन् ।
यसैगरी अतिथिका रूपमा पनि केही व्यक्ति पेरिस जाँदैछन् । दुईजना पत्रकार पनि पेरिस ओलम्पिकमा सहभागी हुँदैछन् । राखेपका एक अधिकारीका अनुसार, परिषद्बाट खेलाडीसहित १४ जना पेरिस ओलम्पिकमा सहभागी हुँदैछन् । त्यसमध्ये ११ जनाको खर्च राखेपले बेहोर्नेछ ।
- प्रधानमन्त्रीलाई पनि निम्तो, जवाफ आएको छैन
फ्रान्सको राजधानी पेरिसमा आयोजना हुने ३३औँ ओलम्पिकमा सहभागी हुन नेपाल ओलम्पिक कमिटीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि निम्तो गरेको छ । तर, प्रधानमन्त्री कार्यालयबाट हालसम्म त्यसको जवाफ आइसकेको छैन ।
‘अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको मान्यता अनुरूप हामीले प्रधानमन्त्रीज्यूलाई पनि निम्तो गरेका छौँ तर, अहिलेसम्म जवाफ आएको छैन । ओलम्पिकको उद्घाटन समारोहमा सरकार प्रमुख आफैँ उपस्थित हुनु देशकै लागि गौरवको विषय हो । हामी अझै पनि आशावादी छौँ,’ ओलम्पिक कमिटीका महासचिव श्रेष्ठ भन्छन् ।
श्रेष्ठका अनुसार, यसअघिका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि ओलम्पिकमा सहभागी हुन निम्तो गरिएको थियो । प्रचण्डले ओलम्पिकमा सहभागी हुन आफू तयार रहेको जवाफ पनि फर्काएका थिए । तर, यसबिचमा सरकार परिवर्तन भएकाले नयाँ परिस्थिति सृजना हुन पुग्यो ।
‘हामीले निवर्तमान प्रधानमन्त्रीज्यूलाई पनि निम्तो पठाएका थियौँ । त्यतिबेला प्रधानमन्त्री कार्यालयबाट सकारात्मक जवाफ पनि आएको थियो । उहाँ ओलम्पिकको उद्घाटन समारोहमा सहभागी हुने लगभग पक्का पनि भइसकेको थियो । तर, सरकार परिवर्तन भएपछि परिस्थिति फेरिन पुग्यो,’ श्रेष्ठले भने ।
महासचिव श्रेष्ठले पेरिस ओलम्पिकमा हालसम्म सात खेलाडीसहित ३० जनाको सहभागिता पक्का भएको जानकारी दिए । ‘अहिलेसम्म ३० जनाको सहभागिता पक्का भएको छ । प्रधानमन्त्रीज्यू पनि ओलम्पिकमा सहभागी हुने विश्वास लिएका छौँ,’ उनले भने ।
राखेपका एक अधिकारीका अनुसार, औपचारिक रूपमा सार्वजनिक गरिएभन्दा निकै बढी सङ्ख्यामा पदाधिकारी पेरिस पुग्ने तयारीमा छन् । ती पदाधिकारीले त केही खेल पदाधिकारी श्रीमतीसहित ओलम्पिकमा सहभागी हुन लागेको जानकारी पनि दिए ।
‘पेरिस ओलम्पिकमा औपचारिक रूपमा ३० जना सहभागी हुने भनिएको छ । तर, त्योभन्दा बढी खेल पदाधिकारी फ्रान्स जाँदैछन् । केही पदाधिकारी त श्रीमतीसहित ओलम्पिकमा सहभागी हुँदैछन् । विगतमा पनि देखाउने सङ्ख्या एउटा र वास्तविकता अर्को हुन्थ्यो । यसपटक पनि त्यही परम्पराले निरन्तरता पाएको छ । ओलम्पिक सकिएपछि सबै कुरा बाहिर आउँछ,’ ती अधिकारी भन्छन् ।
- सहभागिताको ६० वर्ष र शून्य पदक
नेपालले ओलम्पिक खेलकुदमा सहभागिता जनाउन थालेको ६० वर्ष पुगिसकेको छ । नेपालले सन् १९६४ मा पहिलो पटक ओलम्पिक खेलकुदमा सहभागिता जनाएको थियो । तर, नेपालले हालसम्म ओलम्पिक खेलकुदमा एउटा पदक पनि जित्न सकेको छैन ।
पदक त टाढाको कुरा यो ६० वर्षको अवधिमा नेपालका तीनजना खेलाडीले मात्र छनोट चरण पार गरेर ओलम्पिक खेल्न सकेका छन् । अरु सबै खेलाडीले ‘वाइल्ड कार्ड’मार्फत ओलम्पिकमा सहभागिता जनाउँदै आएका छन् ।
छनोट चरण पार गरेर ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी तेक्वान्दोकी संगिना वैद्य हुन् । त्यसपछि तेक्वान्दोकै दीपक विष्टले छनोट चरण पार गरेर ओलम्पिकमा सहभागिता जनाएका थिए । छनोट चरण पार गरेर ओलम्पिक खेल्ने तेस्रो खेलाडी टेबलटेनिसका स्यान्टु श्रेष्ठ हुन् । उनी छनोट चरण पार गर्दै पेरिस ओलम्पिकमा सहभागी भएका हुन् ।
- पत्याउनु हुन्छ ? यस्तोसम्म भएको छ नेपाली खेलकुदमा
माथि उल्लेख गरिएजस्तै विभिन्न राष्ट्रमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता नेपाली खेल पदाधिकारीका लागि विदेश भ्रमण गर्ने उपयुक्त अवसर बन्ने गरेको छ । नेपाली खेलकुदमा विगतदेखि नै यो परम्परा मौलाउँदै आएको छ ।
त्यसैले जहिले पनि ठुला अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली टोलीमा खेलाडी, प्रशिक्षक र व्यवस्थापकभन्दा बढी खेल पदाधिकारीको सङ्ख्या रहने गरेको छ । केही समयअघि चीनमा १९औँ एसियाली खेलकुद प्रतियोगिता आयोजना भएको थियो ।
त्यो प्रतियोगितामा पनि खेलाडी र प्रशिक्षकभन्दा निकै ठुलो सङ्ख्यामा खेल पदाधिकारी सहभागी भएका थिए । १९औँ एसियाडमा अवस्था कतिसम्म निराशाजनक थियो भने एउटा खेलको व्यक्ति अर्कै खेलको जिम्मेवारी बोकेरसम्म चीन पुगेका थिए ।
खेलाडीलाई नेपालमै छाडेर पदाधिकारी कोरिया पुगेपछि त्यसको व्यापक आलोचना पनि भएको थियो ।
त्यसअघि सन् २०१४ को एसियाली खेलकुद दक्षिण कोरियाको इन्चोनमा आयोजना भएको थियो । त्यतिबेला ठुलो सङ्ख्यामा नेपाली खेल पदाधिकारी प्रतियोगिता सुरु हुनुअघि नै कोरिया पुगिसकेका थिए । तर, प्रतियोगिता सुरु भइसक्दा पनि कुस्ती, एथलेटिक्स, टेबलटेनिस र पुरुष क्रिकेटका खेलाडी भने नेपालको विमानस्थलमै अलपत्र परेर बसेका थिए ।
खेलाडीलाई नेपालमै छाडेर पदाधिकारी कोरिया पुगेपछि त्यसको व्यापक आलोचना पनि भएको थियो । त्यतिबेला खेल पदाधिकारीकै गैरजिम्मेवार रवैयाका कारण समयमै हवाइजहाजको टिकटको समस्याका कारण कुस्ती खेलाडी गुनिलाल राउतले त एसियाडमा आफ्नो खेलसम्म खेल्न पाएका थिएनन् । आफ्नो स्पर्धा सकिएपछि मात्र नेपाली कुस्ती खेलाडी कोरिया पुगेका थिए ।
यसैगरी २०७४ सालमा तुर्कमिनिस्तानको अस्गबादमा पाँचौँ एसियन इन्डोर तथा मार्सल आर्टस गेम्स आयोजना भएको थियो । त्यतिबेला कराँस खेलमा सहभागिता जनाउन गएका एक नेपाली खेलाडी आफ्नो स्पर्धा सुरु हुनुभन्दा ठिकअघि शौचालय गएपछि प्रतियोगितामा सहभागी हुनबाट वञ्चित भएका थिए ।
तीन खेलाडी शौचालयमा रहँदा पटक–पटक रेफ्रीले उनलाई खेल स्थलमा बोलाएका थिए । तर, उनी उपस्थित भएनन् । त्यसपछि उनी शौचालयबाट फर्किँदासम्म उनको खेल समाप्त भइसकेको थियो । नेपाली ठुलो सङ्ख्यामा तुर्कमिनिस्तान पुगेका खेल पदाधिकारी भने आ–आफ्नै धुनमा थिए ।
सन् २००८ को गृष्मकालीन ओलम्पिक खेलकुद चीनको बेइजिङमा आयोजना भएको थियो । त्यतिबेला पनि नेपाली टोलीमा खेलाडीभन्दा खेल पदाधिकारी निकै बढी रहेको भन्दै व्यापक विरोध भएको थियो ।
सोही प्रतियोगितामा बुद्धिचाल खेलमा पनि यस्तै भएको थियो । बुद्धिचालका खेलाडी निर्धारित समयका खेल स्थलमा उपस्थित नहुँदा उनीहरूले त्यो दिनको खेल गुमाउनु परेको थियो । त्यो घटनामा पनि खेलाडीभन्दा बढी खेल पदाधिकारी नै दोषी थिए । खेल पदाधिकारी आफ्ना दायित्वभन्दा पनि बढी घुम्नमै व्यस्त थिए ।
सोही प्रतियोगितामा मुवाथाई खेलाडीले पनि यस्तै नियति भोग्नु परेको थियो । मुवाथाई खेलाडी निर्धारित समयमा खेल स्थलमा नपुग्दा उनले आफ्नो स्पर्धा गुमाउनु परेको थियो । उनको स्पर्धा सुरु हुँदा उनी नजिकै प्रशिक्षणमा व्यस्त थिए । यसले पनि नेपाली खेल पदाधिकारी आफ्नो जिम्मेबारीप्रति कति संवेदनशील छन् भन्ने स्पष्ट पार्छ ।
यसैगरी, सन् २००८ को गृष्मकालीन ओलम्पिक खेलकुद चीनको बेइजिङमा आयोजना भएको थियो । त्यतिबेला पनि नेपाली टोलीमा खेलाडीभन्दा खेल पदाधिकारी निकै बढी रहेको भन्दै व्यापक विरोध भएको थियो ।
त्यतिबेला खेल पदाधिकारीलाई ओलम्पिकमा चीन भ्रमणमा जानबाट विमानस्थलमै पुगेर रोक्ने चेतावनी दिएको थियो । त्यसपछि खेल पदाधिकारीहरू राता–रात गुपचुप तरिकाले ओलम्पिकमा सहभागी हुन चीन प्रस्थान गरेका थिए । नेपाली खेलकुदका लागि यस्ता घटना विडम्बनापूर्ण हुन् ।