दीर्घरोगीमा सकिन्छ २३ प्रतिशत औषधि
काठमाडौँ । कुनै पनि देश र नागरिकमा सबैभन्दा धेरै चिन्ता र चासो हुने गरेको एउटा विषय हो स्वास्थ्य । व्यक्तिले आफ्नो कमाइमध्ये बचत गर्नुपर्ने एउटा मुख्य कारण पनि स्वास्थ्य नै हो । मान्छेको जीवनमा अकस्मात् आइपर्ने दुर्घटनाले स्वास्थ्य समस्या निम्त्याउने र त्यसको उपचारका लागि तत्कालै खर्च चाहिने भएकोले बचत अनिवार्य समेत हुन्छ ।
त्यति मात्रै होइन, स्वास्थ्य सेवाको विषयले कुनै पनि देशको शासन प्रणाली र राजनीतिक विचारसँग समेत जोडिएको छ । समाजवादी विचारधारा हाबी भएका मुलुकमा स्वास्थ्य सेवालाई नागरिकप्रति राज्यको दायित्वको रूपमा व्याख्या गर्ने गरिएको छ भने पुँजीवादी मुलुकमा यसलाई व्यक्तिकै दायित्वको रूपमा व्याख्या गरिँदै आएको छ ।
नेपालले भने यो क्षेत्रमा सरकारी उत्तरदायित्व र निजी क्षेत्रको प्रतिस्पर्धा दुवैलाई आत्मसात् गर्दै आएको देखिन्छ । यो विषय विश्वका अल्पविकसितदेखि विकासशील हुँदै विकसित मुलुकसम्मको सबैभन्दा धेरै बहस हुने विषय समेत बन्दै आएको छ ।
तर, के तपाईँलाई थाहा छ, स्वास्थ्य क्षेत्रमा हुने खर्चमध्ये कुन क्षेत्रमा सर्वाधिक खर्च हुन्छ ?
राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल राष्ट्र बैंकले करिब पाँच वर्ष लगाएर गरेको अध्ययनमा स्वास्थ्यसम्बन्धी खर्चको यो विषय समावेश गरिएको छ । ५७४ स्थानीय तहका ९ हजार भन्दा धेरै घरपरिवारमा गरिएको सर्वेक्षणमा आधारित भई तयार गरिएको यो रिपोर्टमा मान्छेले गर्ने खर्चमध्ये स्वास्थ्यसम्बद्ध वस्तु तथा सेवामा मात्रै ५.५० प्रतिशत खर्च हुने देखाएको छ । अर्थात् एउटा घरपरिवारले कुल १०० रुपैयाँ खर्च गर्छ भने सो बराबर खर्च औषधि उपचार र यससँग सम्बन्धित उपकरण किन्ने प्रयोजनमा खर्च हुने गरेको छ ।
राष्ट्र बैंकले उपलब्ध गराएको तथ्याङ्क अनुसार कुल खर्चमध्ये सबैभन्दा धेरै खर्च औषधिमा हुने गरेको पाइएको छ । औषधिका लागि मात्रै मानिसले स्वास्थ्य सेवाको कुल खर्चमध्ये ४५.१२ प्रतिशत खर्च हुने गरेको छ । यसमध्ये मुटु, फोक्सो, किड्नी, रक्तचाप तथा डाइबिटिजसम्बद्ध दीर्घरोगीले १०.५३, दीर्घरोग बाहेकका बिरामीले ३४.२४ प्रतिशत र आयुर्वेदिक औषधिमा ०.३५ प्रतिशत खर्च हुने गरेको उल्लेख गरिएको छ ।
दीर्घरोगीले प्रयोग गर्ने औषधिमा ब्लड प्रेसरको लागि कुल स्वास्थ्यसम्बन्धी खर्चको ३.३७ प्रतिशत, डाइबिटिजका लागि २.९२ प्रतिशत, फोक्सोसम्बन्धी रोगको लागि १.६७ प्रतिशत, रक्तसञ्चारसम्बद्ध रोग (कोरोनरी धमनी) को औषधिको लागि १.५१ प्रतिशत र मिर्गौलासम्बद्ध रोगका लागि १.०६ प्रतिशत खर्च हुने गरेको छ । यो औषधिमा हुने कुल खर्चको २२.८७ प्रतिशत बराबर हो ।
त्यस्तै, दीर्घरोग बाहेकका औषधिमध्ये रुघा, खोकी र अन्य फ्लुहरूको रोगका लागि ८.२६ प्रतिशत, ज्वरोको लागि ६.५७ प्रतिशत, नसासम्बन्धी रोगको लागि १.९३ प्रतिशत, चोटपटकको औषधिको लागि १.८८ प्रतिशत, ग्यास्ट्रिकको औषधिका लागि १.४१ प्रतिशत, हाडजोर्नीसम्बन्धी रोगको औषधिको लागि १.२८ प्रतिशत र अन्य औषधिका लागि १२.९० प्रतिशत खर्च हुने गरेको छ ।
दोस्रो सबैभन्दा धेरै खर्च बेडचार्जमा लाग्ने गरेको छ । यसका लागि मात्रै स्वास्थ्य सेवामा हुने खर्चको २५.३६ प्रतिशत खपत हुने गरेको छ । त्यसमध्ये निजी अस्पतालले १७.२३ प्रतिशत र सरकारी अस्पतालले ८.१३ प्रतिशत हिस्सा ओगट्ने गरेका छन् । रिपोर्टमा कुल बिरामीमध्ये निजी र सरकारी अस्पताल प्रयोग गर्नेको हिस्साबारे भने केही उल्लेख गरेको छैन ।
तेस्रो सर्वाधिक खर्च स्वास्थ्य परीक्षणमा हुने गरेको छ । यसका लागि मात्रै ११.२६ प्रतिशत खर्च हुने राष्ट्र बैंकको रिपोर्टमा उल्लेख छ । यसमध्ये रगत परीक्षणमा ६.३६ प्रतिशत र एक्सरे, सिटीस्क्यान, अल्ट्रासाउण्ड लगायतमा ४.८९ प्रतिशत हिस्सा ओगट्ने गरेको छ ।
स्वास्थ्यमा हुने खर्चमध्ये चौथो सर्वाधिक खर्च डाक्टरको सेवा शुल्कमा ९.९० प्रतिशत खर्च हुने गरेको छ । त्यसमध्ये निजी अस्पतालका चिकित्सकले ५.५७ प्रतिशत, सरकारी अस्पतालका ओपीडी डाक्टरले २.३६ प्रतिशत, दन्त चिकित्सकले ०.१८ प्रतिशत र अन्य चिकित्सकले १.५२ प्रतिशत हिस्सा ओगट्ने रिपोर्टमा उल्लेख छ ।
त्यस्तै, एम्बुलेन्स सेवाका लागि कुल खर्चको ५.५९ प्रतिशत मात्रै खर्च हुने गरेको राष्ट्र बैंकले जनाएको छ । त्यसबाहेक टिटानस खोपका लागि २.१२ प्रतिशत, क्लिनिकल थर्मोमिटरका लागि ०.४३ प्रतिशत, मेडिकल डाइपरका लागि ०.२३ प्रतिशत खर्च हुने गरेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले उल्लेखित भारकै आधारमा चालु आर्थिक वर्षमा उपभोक्ता मूल्य सर्वेक्षण सुरु गरिसकेको छ । यो भार कम्तीमा पाँच वर्षदेखि बढीमा एक दशकसम्मका लागि लागु हुने राष्ट्र बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा एमालेले जागरणसभा गर्ने
-
एमाले सचिवालय बैठक : लिलाबल्लभलाई हटाउने निर्णय अनुमोदन
-
लागू औषधसहित विभिन्न स्थानबाट ३ जना पक्राउ
-
कामलाई सानो ठुलो भनेर छुट्याउनु हुँदैन : मुख्यमन्त्री सिंह
-
हवाई भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति, टिकट बिक्रीमा टीबीए प्रणाली खारेज
-
दैनिक १० लाख वितरण गर्ने मस्कलाई ट्रम्प राष्ट्रपति बनेपछि के फाइदा हुन्छ ?