कविता
धेरै
शनिबार, १२ माघ २०८१, १५ : ३४

धेरै पढ्दा
पढ्दा पढ्दै उँभो उँभो गएँ
उमेर पनि उँभो उँभो गयो
न त घरजम न त सन्तान
पढेर सक्दा त
जवानी गइसकेछ
धेरै काम गर्दा
सधैँ सधैँ व्यस्त भएँ
कसैसँग बोल्ने फुर्सद भएन
न त आराम न त मनोरञ्जन
अहिले पो थाहा भो
सबै रिसाइसकेछन्
धेरै ठुलो पदमा पुग्दा
धेरै नै घमण्ड चढ्यो
ऐस आराममा दिन बित्यो
तारिफ गर्नेले हावामा उडाइराखे
चुनावमा पो छर्लङ्ग भो
तल तल खसी सकेको
धेरै सहयोगी बन्दा
कति समय खर्चिएँ
कति पैसा खर्चिएँ
जस जसलाई सहयोग गरेँ
आज तिनीहरू नै मेरो
बदनाम गरिरहेछन्
त्यसैले मेरा शुभ चिन्तकहरू
धेरै धेरै गर्नेहरू
घाँटी हेरेर हाड निल्नु
ठिक्क हुनु ठिक्क गर्नु
बाल्टिनमा पानी पनि
धेरै भएपछि पोखिन्छ