माओवादी जनजागरण अभियानअन्तर्गत लुम्बिनी प्रदेशमा तयारी सुरु

बुटवल । नेकपा माओवादी केन्द्रले हुलाकी राजमार्ग केन्द्रित ‘जनतासँग माओवादी जनजागरण अभियान’अन्तर्गत लुम्बिनी प्रदेशमा तयारी सुरु गरेको छ । फागुन २७ गते पश्चिम नवलपरासीबाट लुम्बिनी प्रदेशका तराईका ६ जिल्लामा कार्यक्रम गर्ने तयारी सुरु भएको छ ।
नवलपरासीमा फागुन २७ गते, रुपन्देहीमा २८ गते, कपिलवस्तुमा चैत २ गते, दाङमा ३ गते, बाँकेमा ४ गते र बर्दियामा ५ गते कार्यक्रम तोकिएको माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले बताए । उनले जिल्लाहरूमा रुट, बास तथा के–के कार्यक्रम गर्ने भन्नेमा प्रदेशले निर्देशन दिएको बताए । सोही अनुसार अहिले जिल्ला कमिटीले तयारी गरिरहेको उनले बताए ।
नवलपरासीको वर्दधाटमा स्वागत गर्ने, त्यसपछि सुस्ता जाने, पाली नन्दन गाउँपालिका र परासीमा कार्यक्रम गरेपछि साँझ सुनवलमा बास बसाल्ने योजना रहेको उनले बताए । माओवादी केन्द्रको रुपन्देही जिल्ला कमिटी बैठक भोलि बसेर रुपन्देही रुट तथा कार्यक्रम तय गर्ने बरालले बताए । उनले अन्य जिल्ला कमिटीले अव बैठक बसेर कार्यक्रमहरूको निर्धारण गर्ने बताए ।