चौघेरा रत्ननाथ मठ : जग्गा जोत्ने किसान, मोही खाने नेता !

समाचार सारांश
- दाङको रत्ननाथ मठको जग्गामा मोही किसानको हक खोसिँदै गएको र बिचौलिया र नेताको मिलेमतोमा जग्गा गैरमोहीको हातमा परेको छ।
- मोही किसानहरूले जग्गा जोतभोग गर्नबाट वञ्चित हुनुपरेको छ भने कतिपयले ज्याला मजदुरी गर्न बाध्य भएका छन्।
- गुठी संस्थानले गुठी माथिको गैरमोहीको रजाइँ हटाउन छानबिन गर्ने र वास्तविक मोही पहिचान गर्ने बताएको छ।
घोराही । दाङका नारायणपुर, ढिकपुर, गोबरडिहा र लमहीमा गरी चार मौजामा ‘गोरक्ष पात्रदेवता श्री सिद्ध रत्ननाथ मठ चौघेरा’को नाममा २६५ बिघा जग्गा छ । त्यसबाहेक ४० बिघा जग्गा घोराही उपमहानगरपालिका वडा नंं १० उत्तर अमराईमा छ ।
मठको चार मौजाको जम्मा २६५ बिघामध्ये ६० बिघा र उत्तर अमराईको ४० बिघामध्ये १३ बिघा जग्गा मोही छ । तर बिचौलियाको चलखेलका कारण किसानले जोतभोग गर्दै आएको मोहियानी जग्गा दलालदेखि नेताका नातेदारसम्मको हातमा परेको छ ।
श्री गोरक्ष पात्रदेवता श्री सिद्ध रत्ननाथ मठको कित्ता नं. ४ क १३ मा रहेको ३ बिघा ४ कट्ठा २ धुर जग्गा २०५० साल भदौ २७ गते पिमबहादुर बाँठामगरको नाममा मोहियानी हक कायम भएको देखिन्छ ।
तर उक्त जग्गा २०५४ साल चैत ४ गते कित्ताकाट गरी कित्ता नंं २५६ र २५७ मा टुक्र्याइएको छ । अनि किता नं. २५६ को ६ कठ्ठा जग्गा चित्रबहादुर चौधरीको नाममा कायम भएको देखिन्छ । गोरक्ष पात्रदेवता सिद्ध रत्ननाथ मठको नाममा २ बिघा १७ कट्ठा जग्गा देखिन्छ भने बाँकी जग्गा गायब छ ।
२५६ नं. कित्ताको जग्गा पनि फेरि कित्ताकाट गरी ३१८, ११९ र ३२० मा टुक्र्याइएको छ । किता नं. ३१८ को २ कट्ठा जग्गा पुुष्पा वलीको नाममा, ३१९ को १ कठ्ठा जग्गा तुलसी वलीको नाममा र कित्ता नं. ३२० को ३ कठ्ठा जग्गा केशव वलीको नाममा कायम गरिएको छ ।
कित्ता नं. २५७ को जग्गा पनि २०७६ साल वैशाख २९ गते कित्ताकाट गरी कित्ता नं. ६२६ र ६२७ मा विभक्त छ । कित्ता नं. ६२६ मा ३१२९.५० वर्गमिटर र कित्ता नं. ६२७ मा १६१७६ वर्गमिटर जग्गा छ । ती कित्ता गोरक्ष पात्रदेवता सिद्ध रत्ननाथ मठ र शेरबहादुर दसौदीको नाममा देखिन्छ ।
२०७६ पुुस ९ गते ३२० नं.को कित्ता ६४५ र ६४६ नम्बरमा टुक्राइएको छ । कित्ता नं. ६४५ सुनिता चौधरीको नाममा र कित्ता नं. ६४६ बसन्ती चौधरीको नाममा देखिन्छ । तर दुुई चौधरीको सम्बन्ध चित्रबहादुर चौधरीको मोहीसँग भेटिँदैन ।
२०७५ वैशाख २९ गते कित्ता नं. ६२६ टुक्रिएर ६२७ र ६२८ बनेको छ । दुुवै कित्ता १५६४.५० वर्गमिटरका छन् । कित्ता नं. ६२६ गोरक्ष पात्रदेवता सिद्ध रत्ननाथ मठ र मिना कुमारी दसौदी र ६२७ गोरक्ष पात्रदेवता सिद्ध रत्ननाथ मठ र शेरबहादुर दसौदीको भेटिन्छ ।
कित्ता नं. ६२७ टुक्रिएर ६६१ र ६६२ बनेको छ । कित्ता नं. ६६१– १५६४.९४ र ६६२ १५६६५.०६ वर्गमिटर रहेको छ । ६६१ रुन्टीगढी–५ रोल्पा खिमबहादुर डाँगी र कित्ता नं. ६६२ पुुष्पाकुमारी दसौदीको नाममा छ । शेरबहादुुर, मिना कुमारी, पुुष्पा कुमारी दसौदी र खिमबहादुर डाँगी राष्ट्रियसभा सदस्य कुमार दसौदीको नातेदारहरू हुन् । राष्ट्रियसभा सदस्य दसौदी नेकपा एमाले दाङको निर्वाचन क्षेत्र नं. २(ख) इन्चार्ज समेतको जिम्मेवारीमा छन् ।
क्रमशः विभिन्न मितिमा मोही कित्ताकाट गर्दै जोताहा किसानको नाममा रहेको मोहीयानी हक नेता दसौदीको परिवारभित्र पुगेको छ । यसरी मोही किसानको मोही गैरमोहीको हातमा जाने गरेको भेटिएको हो ।
श्री गोरक्ष पात्रदेवता श्री सिद्ध रत्ननाथ मठ कित्ता नं. ४ क कित्ता नं. ३०३ मा ४ बिघा, १८ कट्ठा १८ धुर जग्गामा चन्द्रबहादुर कामीको नाममा मोही मठले राखेको जग्गाधनी स्रेस्तामा देखिन्छ । तर त्यो अभिलेख भूमिसुधार तथा मालपोत कार्यालयसँग छैन ।
२०५१ भदौ ७ गते मोही पुर्जाको नक्कल प्रमाणपत्रको आधारमा कुत बुझिदिन भन्दै ०८१ जेठ ११ गते श्री गोरक्ष पात्रदेवता श्री सिद्ध रत्ननाथ मठलाई चन्द्रबहादुर कामीकी बुहारी कुमारी कामीले निवेदन दिइन् । उक्त निवेदनको आधारमा मठले २०३९ सालदेखि २०८० सालसम्म कुदवाली धानको नगद मूल्य ११ लाख ९७ हजार ५ सय ४ रुपैयाँ बुझेको छ ।
भूमि सुधार तथा मालपोत कार्यालय घोराहीले भने २०८१ चैैत २८ गते श्री गोरक्ष पात्रदेवता श्री सिद्ध रत्ननाथ मठलाई चन्द्रबहादुर कामीको नाममा मोही हक काटिएको, केही प्रमाण नभएको, यदि हो भने कुन मितिदेखि कुन हैसियतले जोतभोग गरेको भनी प्रमाण खुलाई पेस गर्न पत्र काटेको छ ।
चन्द्रबहादुर कामीको नाममा भूमि सुधार तथा मालपोत कार्यालयमा कुनै प्रमाण नभए पनि मठले मोही रेकर्डका आधारमा कुदवाली बुुझ्दा मठ र मोहीबारे सर्वसाधारणमा आशंका पलाएको छ ।
पहुँचको भरमा कब्जा
श्री गोरक्ष पात्रदेवता श्री सिद्ध रत्ननाथ मठ नाममा रहेको घोराही उत्तर अमराईको जग्गा त्यहाँका किसानहरूले अहिले पनि जोतभोग गर्दै आइरहेका छन् । केही जग्गा गैरमोहीका नाममा व्यक्तिले कब्जा गरेका छन् ।
स्थानीय बुद्धिराम चौधरीले राजनीतिक सत्ता, शक्ति र पैसाको आडमा मठको जग्गा हत्याउने काम पहुँचवाला नै सक्रिय रहेको बताउँछन् । ‘सत्ता, शक्ति र पैसाको आडमा मठको जग्गा हत्याउने खेलमा गिरोह नै सक्रिय छ,’ भन्छन्, ‘मोही किसानहरूको पहुँच र पैसा नहुँदा मर्कामा परेका छन् । जसले गर्दा वर्षौंदेखि जोतभोग गरिरहेको जग्गा छाड्न मोही किसान बाध्य छन् ।’
‘किसानको उठिबास’
गोरक्ष पात्रदेवता रत्ननाथ मठको जग्गा किसानहरूले पुस्तौँदेखि जोतभोग गर्दै आइरहे पनि मोही किसानले मोही अधिकार मात्रै होइन, अहिले जोतभोग गर्नबाट समेत वञ्चित हुनुपरेको छ ।
बिचौलिया , मठ, महन्त र नेताहरूको मिलोमतोमा मोही जमिन व्यक्तिको रजाइँ चल्दा मोही किसान खेत जोतखनको काम छोडी ज्याला मजदुरीले घर व्यवहार चलाउनुपर्ने बाध्यतामा रहेको मोही किसान हुमलाल चौधरीको दुखेसो छ । उनले भने, ‘हामीले जोत्ने खेत अरूले बारेका छन् । हलगोरु बेचेर अरू पेसा खोज्नुुपर्ने बाध्यता छ ।’
जसका कारण पुुस्तौँदेखि जोतभोग गर्दै आइरहेका किसानहरू खेतीकिसानीभन्दा पनि ज्याला मजदुरीमा भर पर्नुुपर्ने अवस्थामा पुुगेको उनी सुनाउँछन् । हुमलालले बाजे बिश्राम थारू र बुवा धनीरामले जोतभोग गर्दै आइरहेको मठको मोही जग्गा आफैले जोतभोग गर्दै आइरहे पनि अहिले त्यो अधिकारसमेत बिचौलियाले खोसेको बताए । ‘जमिन अरूकै छ, मठले जोतभोगको कुद खै भन्छ,’ उनले दुःखेसो गरे ।
गैरमोही र मठको ‘सेटिङ’
श्री सिद्ध रत्ननाथ मठ चौघेराको जग्गा पुस्तौँदेखि दाङका थारू समुदायले जोतभोग गर्दै आइरहे पनि तलदेखि माथिसम्मको मिलोमतोले मोही किसानहरूले भन्दा पनि गैरमोहीले मठको जमिन हत्याउने गरेको घोराही उपमहानगरपालिका वडा नं. १० का पूर्व वडाअध्यक्ष समाजसेवी चित्रबहादुर डाँगी बताउँछन् ।
मठ र गैरमोहीको ‘सेटिङ’ले यस्तो अवस्था ल्याएको उनको भनाइ छ । ‘चलखेलले मठकोे जग्गा नासिँदै गएको छ । मठले कुदवाली भरेको प्रमाणको आधारमा जग्गा हत्याउने गिरोह नै सक्रिय हुँदा मठको सम्पत्ति क्रमशः सकिँदै गइरहेको छ,’ उनी भन्छन्, ‘मठ र महन्तहरू वास्तविक मोहीलाई जग्गा दिन चाहन्नन्, बिचौलियाले सबैथोक मिलाएपछि गैरमोहीहरूको हातमा लालपुर्जा पुग्छ ।’
‘प्रमाणका आधारमा सिफारिस’
मोहीयानी पुर्जा भरेका किसानहरूको हकमा मोही पुर्जा र कुदवाली रसिदका आधारमा मोहीयानी हकका लागि श्री सिद्ध रत्ननाथ मठ चौघेराले स्थानीय तह र सरोकारवाला निकायहरूमा सिफारिस गर्ने गरेको मठका लेखापाल हिरानाथ योगीको भनाइ छ । उनले गैरमोहीले जग्गा हत्याउन दिने काम मठले हालसम्म नगरेको बरु मोही किसानलाई न्याय दिने गरी काम गरिरहेको जिकिर गरे ।
मठले २०७७/०७८ सालदेखि नियमित वार्षिक प्रतिकट्ठा ४ सयका दरले किसानहरूले भाडामा जग्गा जोतभोग गर्दै आइरहेको समेत उनले जानकारी दिए । तर मोही किसानले मोहीयानी पुर्जा बेचबिखन गरी नामसारी गर्दा समस्या बढ्दै गएको उनको भनाइ छ ।
‘मठले कुदवालीका आधारमा सिफारिस दे भन्छ’
जोतभोगमा आधारमा मोही हक कायम गर्न पाउने कानुनी अधिकार जोताहा किसानलाई छ । तर कुदवाली लेनदेन गरेको भरमा वडा कार्यालय सिफारिस गर्न बाध्य हुने गरेको घोराही उपमहानगरपालिका वडा नं. १० का वडाध्यक्ष दीपक पाण्डे बताउँछन् । ‘जोतभोग किसानले गरेका छन् । तर मोही किसान नभई गैरमोहीको हातमा जग्गा परेको छ,’ उनी भन्छन्, ‘मठको सम्पत्ति हात पार्न एकातिर गिरोह सक्रिय छ भने अर्काेतिर जसले प्रमाण लिएर आउँछ, उसलाई सिफारिस दिन वडा कार्यालय बाध्य छ ।’
पुस्तौंदेखि जोतभोग गर्दै आइरहेका मोही किसानले जोतभोग नगरे पनि कुदवाली रसिदका आधारमा सिफारिस दिने–लिने कामले समस्या पारेको उनको भनाइ छ । जसमा कुदवाली बुुझ्ने र बुुझाउनेको बिचको सम्बन्धमा शंका गर्न सकिन्छ ।
‘कानुनी अधीनमा काम’
भूमिसुधार तथा मालपोत कार्यालयले रत्ननाथ मठको मोही जग्गा रैकर कानुुनी आधारमा मात्रै भएको बताएको छ । मालपोत अधिकृत कमलप्रसाद पौडेलले भूमि तथा गुठी ऐनविपरीत मोही रैकरको विषय अन्यथा नभएको बताए । अधिकृत पौडेलले कानुनको अधीनमा रही मोही र गैरमोही पहिचान गरी लगत छुट्याउने काम भएको दाबी गरे ।
कसैले मिलोमतोमा गैरकानुनी काम भएको भेटिए पहिचान गरी कारबाही गरी मोही फिर्ताको कामसमेत हुन सक्ने उनको भनाइ छ ।
तर रत्ननाथ गुठी राजगुठी भएकाले मोही हक दाबी गर्न नपाउने समेतको फैसला अदालतले गरेको छ । अदालतको फैसला र आदेशमा हुन सक्ने कामलाई भूमि र गुठी ऐनले रोक्न नसक्ने समेत उनले बताए । दोहोरो कानुनी समस्याका कारण पनि मोही र मठमा समस्या परेको उनले बताए ।
‘पहिला पैसा भएन, अहिले पुर्जा भेटिन्न’
चन्द्रबहादुर कामीको नाममा गोरक्ष पात्रदेवता श्री सिद्ध रत्ननाथ मठ कित्ता नं. ४ क कित्ता नं. ३०३ मा ४ बिघा, १८ कट्ठा १८ धुर मोही जग्गा प्राप्तिका लागि बुहारी कुमारी कामीले वर्षाैँपछि निवेदन दिएकी छन् ।
आर्थिक अवस्था कमजोर हुँदा पहिल्यै मोही हक रैकर गर्न नसकेको उनको भनाइ छ । तर अहिले कुदवाली बुुझाइसके पनि मोहीपुर्जा नभेटिँदा आफूहरू अन्यायमा परेको कुमारी कामी बताउँछिन् । भनिन्, ‘मालपोतमा सक्कल हरायो, नक्कल हामीले देखाउँदा पनि जग्गा पाइएन ।’
‘किसानले बेचे’
मठ चौघेराको नाममा रहेको विभिन्न कित्ताहरू विभिन्न मितिमा टुक्रिँदै नामसारी हुँदै आएका छन् । मोही किसानबाट किनबेचका आधारमा विभिन्न व्यक्तिले लिएको बताइएको छ ।
उक्त मोही जग्गा खरिद गरेका राष्ट्रियसभा सदस्य कुमार दसौदीले समेत आफ्नो परिवारले मोही किसानहरूबाट जग्गा खरिद गरेको बताए ।
तर २०७१ साल फागुन २० गते सर्वाेच्च अदालतको पूर्ण इजलासले दाङको रत्ननाथ चौघेरा मठ ‘राजगुठी’ भएकाले मोही कायम नहुने र खरिदबिक्री समेत गर्न नपाउने फैसला गरेको छ ।
घोराही उपमहानगरपालिका १० निवासी सुन्दरलाल थारूले मोहीयानी हक कायम गरी पाउँ भन्दै दिएको रिट निवेदनमाथि सर्वाेच्चले राजगुठीमा मोही हक नलाग्ने र त्यस्तो जग्गा खरिद–बिक्रीसमेत गर्न पाउने फैसला गरेको थियो ।
गुठीमा रजाइँ हटाउँछौं – गुठी संस्थान
गुठी संस्थानको अनुमतिविना भइरहेको गुठीयार अधिकार खोस्ने काम छानबिन गरी गुठी माथिको गैरमोहीको रजाइँ हटाउने काममा गुठी संस्थान लागेको संस्थानका अध्यक्ष शिव पण्डित बताउँछन् ।
राजगुठी पनि मोही लाग्ने र नलाग्ने खालको रहेको उनले बताए । यस विषयमा मठ र महन्तबिच छलफल भइरहेको उनको भनाइ थियो । राजगुठी चार प्रकार रहेकाले त्यसमध्ये ‘गुठी अधिनसर’मा मोही लाग्ने र बाँकी गुठीमा मोही नलाग्ने उनले जानकारी दिए ।
रत्ननाथ गुठी राजगुठी भएकाले त्यहाँको गुठी अधिकारबारे संस्थानले पटकपटक छलफल गरेर वास्तविक मोही र अवास्तविक मोही पहिचान गर्न आदेशसमेत संस्थानले गुठीलाई दिएको उनले बताए । भने, ‘संस्थानको अनुुमतिबेगर भएका काम रद्द गरिने छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: कांग्रेसको मधेस प्रदेश सरकार नेतृत्वमा दाबीदेखि, कोरोनाको जोखिमसम्म
-
आलम सफाइ प्रकरण र पतञ्जली जग्गा प्रकरणमा युवराज सफलकाे दुई छुट्टाछुट्टै उजुरी
-
बङ्गलादेशमा चुनावको सम्भावित मिति घोषणा
-
दोलखाको झ्याँकुमा बोलेरो दुर्घटना, १ जनाको मृत्यु
-
भारतमा कोभिड सङ्क्रमितहरूको सङ्ख्या पाँच हजार नाघ्यो
-
उत्तेजनाको राजनीति कांग्रेसको शैली होइन: महामन्त्री थापा