तीन कविता : 'झोला','भोला'र 'झोले'

१. सद्मार्गी झोला
खादको बोरा सिलाएर,
भिर्ने फित्ता मिलाएर,
आमैले नै बनाइदिएको,
मैले पहिलो स्कुल लगेको,
पछि कतै च्यात्तिएको,
मैलो भएर माट्टिएको,
मेरो एउटा 'झोला' थियो!
मलाई प्राण प्रिय लाग्थ्यो !
मेरा कापी किताब बोक्थ्यो!
पढी लेखी ठुलो बन्ने
मेरा बाला रहर बोक्थ्यो!
कहिलेकाहीँ सपनामै
ठुलो मान्छे बन्थेँ पनि,
साडी किन्थे फूलबुट्टे,
आमालाई दिन्छु भनी !
पिठ्युँबाट फ्याट्ट झर्थ्यो,
साडी माग्थ्यो त्यो नि बोक्थ्यो!
उसले मेरा सपनाका
अजङका पहाड बोक्थ्यो!
बदमासी त्यो गर्दैनथ्यो,
अनियमितता, व्यभिचार
उसको सोचमा पर्दैनथ्यो!
बदनियत कहिल्यै राखेन र
बदनाम हुनु परेन ऊ।
त्यसको कारण मैले आँसु
झार्नु पनि परेन हो !
बरु त्यसले गर्दा मैले
अनुशासितको इनाम पाएँ!
जेहेन्दार,लगनशीलता
अनेक थरी सम्मान पाएँ!
भोक लागे उसले आफ्नो
पातलो त्यो जिउ धस्थ्यो,
सङ्घर्ष गर भन्दै मेरो
छिन्नै ला'को कम्मर कस्थ्यो!
परिणामका ती प्रतिफल
पुरस्कारका राशि सबै
माग्थ्यो मलाई टन्न खान्थ्यो
हेर्दै मेरो मुहारतिर
निर्दोष हाँसो फिस्स हाँस्थ्यो!
याद आउँछ बेला बेला,
मलाई संस्कार सिकाउने,
प्रिय 'झोला' कहाँ होला?
२. धूर्त झोला अर्थात् 'भोला'
दिन उस्तै छ,रात उस्तै छ!
तर
यतिबेला मेरो 'झोला'अर्कै छ।
अहिले पनि मसँग 'झोला' छ!
त्यसमा एक पोका 'भोला' छ
कहिले यसमा 'भोला'माड्ने 'चुन' हुन्छ,
भन्सार पुग्दा दुई चार किलो 'सुन' हुन्छ,
केही नहुँदा पनि रित्तो हुँदैन त्यो,
नेताले दिएको एक सुर्को 'गुण' हुन्छ!
यो झोलामा इमान छैन,
गौरवमय सम्मान छैन,
कहिले यसले चोर्न सिकाउँछ
कहिले लुट्न सिकाउँछ!
भाग नमिल्दा घर भित्रै फुट्न सिकाउँछ!
झुसिल्किरा झैँ भोकाउँछ,
बिना श्रम खाइरहन रुचाउँछ!
मीठो मसिनो देख्नै हुँदैन,
सित्तैमा पाए अलकत्रै बुकाउँछ।
यसका खल्ती अनेक छन्,सबै भर्न खोज्छ!
जता जता फल पाक्छ
त्यतै सर्न खोज्छ!
यति धेरै साँचेर के गर्नु भन्छु, कहिलेकाहीँ त
पागल!
सन्तान जन्माउँदैनस् ?
सात पुस्ता पुग्नु परेन भन्छ!
संगतगुणाको फल न हो
यसले गर्दा मलाई सबले चोर भन्छन्
देशको ढुकुटी फोर भन्छन्
कसैले 'शरणार्थी ', 'कसैले'भिजिन भिसा'
कसैले 'गिरिबन्धु 'त कसैले 'इट्टाभट्टा' भन्छन्!
लुटेरा, डाँका, भ्रष्ट, भन्नू नभन्नु,सबै भन्छन्!
समग्रतामा 'झोले'भन्छन्!
समय परिवर्तनशील हुन्छ रे,
हो क्यारे!
साला त्यै समयले
मेरो बालापनको त्यति राम्रो
झोला परिवर्तन गरिदियो,
मेरो निष्ठा हरिदियो,
सदाचारिता चोरिदियो
आधुनिक 'झोला'ले मेरो,
शिर ठाडो बनाएर जिउन सक्ने
नैतिकता खोसिदियो।
३. 'नाङ्गो झोले'
मन्दिर जान्छु
बाबाजी 'भोले' भन्छन्,
म 'झोले' भनेको सुन्छु!
फिलिम हल जान्छु
यो होइन 'सोले' भन्छन्,
फेरि 'झोले' भनेकै सुन्छु!
यता 'झोले', उता 'झोले'
साँझ 'झोले', बिहान 'झोले',
कति सुन्नु अर्कैले भनेको
त्यसैले आजदेखि
म आफै 'झोले' बनेको!
चोरी चकारी, भारी भकारी
सुनकै झोलामा सुनकै सफारी
सके जति गरेकै हो
खल्ती आफ्नो भरेकै हो!
पर्ला भनी डर परे केको डर?
अब त म आफैँले आफैलाई
'झोले' भन्दिए!
नचोरेकालाई पो लाज,
मलाई के को लाज ?
म स्वयं चोर बन्दिए!
ननाङ्गिएकाहरू नाङ्गिन
साँझ कुर्नु पर्छ,
मलाई केको साँझ?
छर्लङ्गै देखिने तुल उतारेँ
र आजदेखि म पनि
नाङ्गो 'झोले' बन्दिएँ!