शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय
अबिच्युरी

स्मृतिमा विजय चालिसे

शनिबार, २४ जेठ २०८२, १७ : ००
शनिबार, २४ जेठ २०८२

समाचार सारांश

  • वरिष्ठ साहित्यकार विजय चालिसेको निधन भएको छ, जसले नेपाली साहित्यमा ठूलो क्षति पुर्‍याएको छ।
  • लेखक चालिसेको साहित्यिक योगदान, जसमा कथा, उपन्यास, निबन्ध, पत्रकारिता र बालसाहित्य समावेश छन्।
  • साहित्यकार चालिसेको निधनमा विभिन्न व्यक्ति र संस्थाहरूले दुःख व्यक्त गरेका छन्, र उनको साहित्यिक कार्यको स्मरण गरेका छन्।

अग्रज साहित्यकार विजय चालिसे यति चाँडै हामी माझबाट सधैँका लागि बिदा हुनुहुन्छ भन्ने लागेको थिएन । उहाँ अस्वस्थ भएको थाहा पाएको थिएँ । भेट्न जाने सोचले फोन गरेँ । छोरा आलोकले फोन उठाउनुभयो । उहाँले बुवालाई अहिले अलि कठिनाइ भएको र अस्पताल पनि लैजानुपर्ने भएकाले एक–दुई दिनपछि मात्रै भेट्न सम्भव होला भन्नुभयो । रोगबारे जिज्ञासा राख्दा उहाँले धेरै कुरा गर्नुभएन, अझै निदान भएको छैन भन्नुभयो । 

छोरासँग कुराकानी भएको केही दिनपछि उहाँलाई भेट्ने अवसर जुर्‍यो । बुद्धजयन्तीका अवसरमा साहित्य सदन नेपालले आयोजना गरेको कार्यक्रममा सहभागी भएर म उहाँको घर आरुबारीतिर लागेँ । साहित्यकार गोपाल बराल र उहाँकी पत्नी पनि सँगै हुनुहुन्थ्यो । साहित्यकार जीवेन्द्रदेव गिरी लगायत केही साहित्यकारहरू अलि पहिले त्यतातिर लाग्नुभएको थियो । विजयसँग कुराकानी भयो । रोगका कारण एउटा आँखाको ज्योति गुमे पनि कुराकानीमा उहाँको सहभगिता, स्वर सबै हेर्दा उहाँ गम्भीर रूपमा अस्वस्थ हुनुहुुन्छ भन्ने अनुभूति भएन । गत चैत्रमा लोकार्पण भएको ‘द्रष्टा दृष्टिमा स्रष्टा विजय चालिसे’ शीर्षकको पुस्तक उहाँले आफ्नै हातले प्रदान गर्नुभयो । यस पुस्तकको लोकार्पण कार्यक्रममा आइदिन उहाँले विशेष आग्रह गर्नुभएको थियो, आफ्नै व्यस्तताले जान सकिनँ । उहाँका रचनाहरूको विश्लेषण र मूल्यांकन गरिएका रचनाहरू समाविष्ट यो ग्रन्थ उहाँलाई चिन्ने र उहाँको साहित्यिक योगदानबारे थाहा पाउने दृष्टिले निकै उपयोगी रहेको छ । केही वर्षपहिले उहाँको कथा संग्रह ‘अग्निचक्र’ (२०६२) बारे मैले लेखेको समीक्षा पनि यसमा समावेश गरिएको रहेछ । त्यस भेटघाटमा उहाँले आफ्ना अन्य केही पुस्तक पनि प्रदान गर्नुभयो । हामी सामूहिक तस्बिर खिच्दै र उहाँको स्वास्थ्य लाभको कामना गर्दै बिदा भयौँ । छोरा आलोकले उहाँको स्वास्थ्यबारे केही थप कुरा गर्नुभयो । उहाँलाई क्यान्सर भएको रहेछ, यद्यपि उहाँ यति छिटै जानुहुन्छ भन्ने लागेको थिएन ।

भेट्न गएको केही दिनपछि नै उहाँको निधन भयो । खबर पाएपछि सुरुमा पत्याउनै गाह्रो भयो । खबर जतिसुकै अप्रत्याशितजस्तो लागे पनि साँचो थियो, नपत्याई सुख थिएन । सोच्दै नसोचेको, कल्पनै नगरेको कुरा सुन्दा प्रायः यस्तो हुन्छ । यसअघि पनि मलाई दुई–चारपटक यस्तो अनुभूति भएको छ । साहित्यकार घनश्याम ढकाल, ताराकान्त पाण्डेय लगायत केही मित्रहरूको निधनको खबर सुन्दा यस्तो लागेको थियो । विजय त बिरामी हुनुहुन्थ्यो, उहाँहरू त बिरामी पनि हुनुहुन्थेन । स्वस्थ मित्रहरूले दुर्घटनाका कारण असमयमै जीवन गुमाउनुभएको थियो । विजय ७४ वर्षको उमेरमा हामी माझबाट बिदा हुनुभएको छ । ०८ साल असार २२ गते आरुबारीमा जन्मनुभएका उहाँको यही जेठ १६ गते निधन भएको थियो । उहाँको असामयिक निधनबाट नेपाली साहित्यले बहुमुखी प्रतिभाका धनी साहित्य साधक, परिवार र इष्टमित्रले एक असल अभिभावक र साथीभाइले एक सहयोगी एवं स्नेही मित्र गुमाएका छन् । 

विजयसँगको चिनजान धेरै पुरानो हो, चार दशकभन्दा अघिको । ०३६ सालमा अ.ने.रा.स्व.वि.यु. छैटौँको केन्द्रीय उपाध्यक्ष भएपछि काठमाडौँ आउने क्रम बढ्यो । म दाङमा बस्थेँ । साहित्यप्रति विशेष अभिरुचि थियो । कविता लेख्थेँ । रमेश विकलको ‘नयाँ सडकको गीत’का कथाहरूबाट निकै प्रभावित थिएँ । काठमाडौँ आएका बेला उहाँलाई भेट्ने इच्छा हुन्थ्यो तर सम्भव भएको थिएन । ०३८ सालतिर उहाँलाई उहाँकै घरमा भेट्ने अवसर जुर्‍यो, मित्र गोविन्द वर्तमानले त्यहाँ लगेर जानुभएको थियो । गोविन्द चावहिलमा बस्नुहुन्थ्यो । बौद्ध, जोरपाटी घुम्दै हामी विकलको घरमा पुगेका थियौँ । त्यस बेला आजको जस्तो बाक्लो बस्ती थिएन । बौद्ध र जोरपाटीको उत्तरतिर पूरै खेतान थियो । हामी खेतानै खेतान आरुबारी पुगेका थियौँ । जाडो याम थियो । विकल बाहिर बसेर घाम ताप्दै, पुस्तक पढ्दै हुनुहुन्थ्यो । काठमाडौँ भने पनि आरुबारी पुगेपछि मलाई दाङको आफ्नै गाउँमा पुगेको जस्तो अनुभूति भएको थियो । यसपछि बेलाबखत विकलको घरमा जान थालेँ । यसै क्रममा विजय चालिसेसँग चिनजान भएको थियो । उहाँ विकलका जेठा छोरा हुनुहुन्थ्यो र साहित्य सिर्जनामा सक्रिय रूपमा लाग्नुभएको थियो । त्यस बेला म काठमाडौँमा बस्थेँ । राप्ति अञ्चल प्रशासनले वारेन्ट जारी गरेपछि रुकुमको चौरजहारीमा रहेको शीतल माविमा भर्खरै भर्खरै पढाउन सुरु गरेको म भागेर काठमाडौँ आएको थिएँ र केही महिना यतै बिताएको थिएँ ।

उहाँका कथाहरूमा समाज मुख्य सरोकारको विषय रहेको छ । उहाँले उपन्यास पनि लेख्नुभएको छ तर उहाँ कथामा बढी प्रभावकारी हुनुहुन्छ ।

०६० सालमा काठमाडौँ आएपछि विजयसँगको भेटघाट बाक्लियो र गहिरो सम्बन्धको विकास भयो । उहाँको सहयोगी भावना र असल स्रष्टा व्यक्तित्व उहाँसँग गहिरो सम्बन्ध विकासको मुख्य कारण थियो । उहाँले गोरखापत्र संस्थानमा काम गर्नुहुन्थ्यो । त्यहाँबाट निस्कने गोरखापत्र, मधुपर्क, युवामञ्चजस्ता पत्रिकामा रचना प्रकाशनमा उहाँको सहयोग रह्यो । युवामञ्चको सम्पादक भएपछि उहाँले मलाई युवालाई काम लाग्ने सामग्री नियमित रूपमा लेख्न आग्रह गर्नुभयो । केही समय नियमित रूपमा रचना लेखेँ । यसबाट मलाई धेरथोर आर्थिक भरथेग हुन्थ्यो । म अलि आर्थिक अप्ठेरोमा पनि थिएँ । समय क्रममा उहाँसँगको सम्बन्ध अझ गहिरो हुँदै गयो । एउटा नजिकको सहयोगी मित्रको अप्रत्याशितजस्तो लाग्ने गरी निधन हुँदा ठुलै झट्का लागेको अनुभूति हुन्छ मानिसलाई । उहाँको निधनको खबर सुनेपछि मलाई त्यस्तै अनुभव भएको थियो । 

विजयले कथा, उपन्यास, निबन्ध, पत्रकारिता, बालसाहित्य आदिमा कलम चलाउनुभयो । पाँच दशकभन्दा लामो साहित्यिक यात्रामा उहाँका उपन्यास तीन, कथाका नौ, संस्कृति र यात्रा निबन्धका आठ, पत्रकारिताका ६ र बालसाहित्यका ३१ कृतिहरू प्रकाशित छन् । नौवटा पुस्तकहरूको उहाँले सम्पादन गर्नुभएको छ । उहाँका कृति अंग्रेजीमा पनि प्रकाशित छन् । एक दर्जनभन्दा बढी कृतिहरू प्रकाशित हुन बाँकी छन् । प्रकाशित अप्रकाशित कृतिहरूको संख्याले उहाँको विविधतापूर्ण विपुल लेखनलाई देखाउँछन् । निरन्तरको अध्ययन, साधना र लेखनबिना यति धेरै पुस्तक लेख्न सम्भव हुँदैन । 

उहाँले ‘साहित्य मानवीय यथार्थ, मनोविज्ञान, संवेदना, सहानुभूति तथा सामाजिक यथार्थको संवाहक हुनुपर्छ अर्थात् युगलाई समात्न सक्नुपर्छ । साहित्य जीवनपरक हुनुका साथै कलात्मक समेत बन्न सकोस् । साहित्य मान्छेका लागि हुनुपर्छ, मानवीय सभ्यता, स्वसंस्कृति र स्वाभिमानको संवर्द्धन र उन्नयनमा सहयोगी हुनुका साथै मानवीय चेतनाको विकासमा सहयोगी हुनुपर्छ’ भन्नुभएको छ । उहाँको समस्त लेखन यही मान्यताबाट डोरिएको छ । उहाँको ‘अग्निचक्र’ कथा संग्रहभित्रका कथाहरूको विश्लेषण र मूल्यांंकन गर्ने क्रममा मैले उहाँलाई सामाजिक यथार्थलाई कलात्मक सामर्थ्यसहित अभिव्यक्ति दिने कथाकारका रूपमा उल्लेख गरेको छु । उहाँका कथाहरूमा समाज मुख्य सरोकारको विषय रहेको छ । उहाँले उपन्यास पनि लेख्नुभएको छ तर उहाँ कथामा बढी प्रभावकारी हुनुहुन्छ । उहाँका कथाका विषयवस्तु अन्य पनि छन् ।

समाजका उज्याला अँध्यारा पक्षलाई देखाउनु; परिवर्तनको चाहना राख्नु; विभेद र उत्पीडनको विरोध गर्नु; स्वतन्त्रता, समानता र न्यायका पक्षमा उभिनु एवं सामाजिक यथार्थको कलात्मक पुनः सिर्जनमा गम्भीर रहनु उहाँका कथामा पाइने विशेषता हुन् ।  

विज्ञानलाई विषय बनाएर पनि उहाँले कथा लेख्नुभएको छ । उहाँका धेरै कथाहरू सामाजिक जीवनसँग कुनै न कुनै रूपमा जोडिएका छन् । समाजका उज्याला अँध्यारा पक्षलाई देखाउनु; परिवर्तनको चाहना राख्नु; विभेद र उत्पीडनको विरोध गर्नु; स्वतन्त्रता, समानता र न्यायका पक्षमा उभिनु एवं सामाजिक यथार्थको कलात्मक पुनः सिर्जनमा गम्भीर रहनु उहाँका कथामा पाइने विशेषता हुन् । समालोचक दयाराम श्रेष्ठले ‘उनले समाजमा व्याप्त शोषण, अन्याय र अत्याचारबाट पीडित निम्न वर्गका समस्याहरूका साथै समाजद्वारा दमित, अवहेलित, नारीहरूको पीडा र संवेदना मात्रै नभएर उनीहरूभित्रको विद्रोहको भावलाई आफ्ना कथामा विषय बनाएका छन्’ भन्ने उल्लेख गरेर विजय चालिसेको समुचित मूल्यांकन गर्नुभएको छ । उहाँका कथामा मानिसमा पाइने निराशा, कुण्ठा, विसंगति बोध, त्रास आदिको अभिव्यक्ति पनि पाइन्छ । विजय सामाजिक यथार्थ एवं जीवन र जगतका अन्य विविध विषयलाई इमानदारीपूर्वक आफ्ना कथामा अभिव्यक्ति दिने हाम्रो समयका अब्बल कथाकार हुनुहुन्छ । 

निबन्धका क्षेत्रमा पनि उहाँको कलम सशक्त रहेको छ । यात्रासँग सम्बन्धित विषयका साथै जीवन र समाजका अन्य विषयसँग पनि उहाँका निबन्ध सम्बन्धित छन् । संस्कृतिका विषयमा पनि उहाँले कलम चलाउनुभएको छ । ‘डोटेली लोकसंस्कृति र साहित्य (२०३९), डोटेली लोकसंस्कृति र साहित्यलाई चिनाउने उहाँको महत्त्वपूर्ण कृति हो । उहाँको आत्म संस्मरण पनि प्रकाशित छ । उहाँका सबैभन्दा धेरै कृति बालसाहित्यका छन् । उहाँलाई महत्त्वपूर्ण बालसाहित्यकारका रूपमा लिइन्छ । बालसाहित्यका क्षेत्रमा उहाँले कथा, उपन्यास, जीवनी लेख्नुका साथै कविता पनि लेख्नुभएको छ । उहाँले बालसाहित्यका कृतिहरूको अनुवाद पनि गर्नुभएको छ । उहाँका चित्रकथा, चित्रकविता पनि प्रकाशित छन् । पत्रकारितासँग सम्बन्धित उहाँका कृतिहरू पनि उल्लेखनीय मानिन्छन् । उहाँ माझिएका पत्रकार र यस विषयका अध्येता हुनुहुन्थ्यो । उहाँले लण्डनबाट ‘डिप्लोमा इन् एड्भान्स जर्नालिजम्’ गर्नुभएको थियो । गोरखापत्रको प्रधानसम्पादक र गोरखापत्र संस्थानको कार्यकारी अध्यक्ष भएर उहाँले भूमिका सम्पादन गर्नुभएको थियो । 

साहित्यका क्षेत्रमा दिएको योगदानका कारण विभिन्न सम्मान र पुरस्कारबाट सम्मानित र पुरस्कृत उहाँ संस्थागत रूपमा पनि समाज र साहित्यका क्षेत्रमा क्रियाशील हुनुहुन्थ्यो । विभिन्न संस्थामा बसेर उहाँले सामाजिक र साहित्यिक क्षेत्रमा गरेका कामहरू उल्लेखनीय रहेका छन् । उहाँको असामयिक निधनले नेपाली साहित्यलाई अपूरणीय क्षति भएको छ । अझै केही गर्ने समय हुँदाहुँदै उहाँ हामी माझबाट जानुभएको छ । व्यक्ति हाम्रा माझबाट सदाका निम्ति गएपछि हामीसँग ऊसँगका स्मृति र उसका योगदान मात्र रहन्छन् । उसलाई सम्झनु र उसले निर्माण गरेको बाटोलाई अझ फराकिलो बनाउनु बाँच्नेहरूको कर्तव्य हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. अमर गिरी
डा. अमर गिरी
लेखकबाट थप