सन्त कबीर जयन्ती र मधेश प्रदेशमा सार्वजनिक बिदा

सन्त कबिर जयन्तीका अवसरमा बुधबार (जेठ २८ गते) मधेश प्रदेशमा सार्वजनिक बिदा घोषणा गरिएको छ । मधेश प्रदेश सरकारले यसको घोषणा सीता जयन्तीको सार्वजनिक बिदाको घोषणासँगै गरेको थियो । नेपालमा सन्त कबिर जयन्तीका अवसरमा सरकारी तवरबाट सार्वजनिक बिदा घोषणा गरिनु पहिलो घटना हुनुपर्छ । मधेस प्रदेशका माननीय मुख्यमन्त्री सतीश कुमार सिंहको नेतृत्वको गठबन्धन दलहरूको सरकारलाई यसबापत जस दिनैपर्छ ।
नेपाल, भारत लगायत संसारभरमा सन्त कबिरका उपासकहरू लाखौँको संख्यामा छन् । भारतमा चण्डीगढ, हिमाचल प्रदेश, पन्जाब, हरियाणा, सिक्किम, छत्तीसगढजस्ता प्रान्तमा सन्त कबिर जयन्ती भनेर सार्वजनिक बिदा दिने गरिन्छ ।
सन्त कबिर दास एक प्रसिद्ध वैष्णव भक्त थिए । उनी सर्वोच्च ईश्वरमा विश्वास राख्थे । कबिर रामानन्दी सम्प्रदायका संस्थापक रामानन्दका शिष्य थिए । भक्तिमा पूर्णता प्राप्त गरेर उनी आफैँ पनि गुरुको पंक्तिमा पुगे । कबिरका अनुयायी कबिरपन्थी कहलाउँछन् । कबिरपन्थीहरू सन्त कबिरलाई नै वास्तविक पूर्ण परमेश्वर मान्छन् ।
मध्यकालको भक्ति युगका प्रसिद्ध सन्त कबिर आज पनि साहित्यका अनमोल धरोहरका रूपमा रहेका छन् । उनले सरल भाषामा समाजलाई सन्देश दिए । आजभन्दा लगभग ६२४ वर्षपूर्व उनी आफ्नो तत्त्वज्ञानको प्रचार गरेर गए । उनका शिष्य धर्म दासले सन्त कबिरका अनमोल वाणी संकलन गरी कबिर सागर, कबिर साखी आदि साहित्य निर्माण गरे ।
सन्त कबिर साहेबद्वारा गरिएका सबै लीलाको वर्णन अनेक साहित्यमा वर्णित छन् । नेपालमा पनि कबिर पन्थीको संख्या लाखौँमा रहेको छ । मधेशका गाउँगाउँमा कबिर मठको उपस्थिति रहेको पाइन्छ । यस्तो विभूतिको स्मृतिमा सार्वजनिक बिदाको घोषणा महत्त्वपूर्ण मानिनुपर्छ ।
सन्त कबिर १४–१५औँ शताब्दीका एक प्रसिद्ध भारतीय भक्ति रहस्यवादी कवि र सन्त थिए । उनको वाणीले भक्ति आन्दोलनलाई प्रभावित गर्यो । उनका कथन ‘गुरु ग्रन्थ साहिब’मा पनि उल्लेख गरिएको पाइन्छ । वर्तमान समयमा कबिर हिन्दु, सिख र सुफीका लागि एक महत्त्वपूर्ण पथ प्रदर्शकका रूपमा स्थापित छन् । विशिष्ट धर्मगुरु नारायणदत्त श्रीमाली, ओशो, रविशंकरले पनि सन्त कबिरको उपदेशहरूको विवेचन गरेका छन् ।
मधेश प्रदेश सरकारले यसको घोषणा सीता जयन्तीको सार्वजनिक बिदाको घोषणासँगै गरेको थियो । नेपालमा सन्त कबिर जयन्तीका अवसरमा सरकारी तवरबाट सार्वजनिक बिदा घोषणा गरिनु पहिलो घटना हुनुपर्छ ।
कबिर भोजपुरी साहित्यको भक्तिकालका निर्गुण शाखाका ज्ञानमार्गी उपशाखाका महानतम कवि थिए । उनको रचनाले उत्तर र मध्य भारत तथा नेपालका भक्ति आन्दोलनलाई गहिरो गरी प्रभावित गर्यो । कबिर अन्धविश्वास, व्यक्तिपूजा, पाखण्ड र ढोँगका विरोधी थिए । मूर्तिपूजा, रोजा, ईद, मस्जिद, मन्दिर आदिप्रति उनको विचार के थियो भने यी क्रियाबाट मानिसले मोक्ष प्राप्त गर्न सम्भव छैन ।
सन्त कबिरले तत्कालीन समाजमा विद्यमान जातीय र धार्मिक प्रतिबन्धहरूलाई तोड्ने काम गरे । उनले सामाजमा फैलिएका कुरीति, कर्मकाण्ड, अन्धविश्वासहरूको निन्दा गरे र सामाजिक नालायकीपनको कडा आलोचना गरे । उनको उपदेशको उनकै जीवनकालमा हिन्दु, सिख र मुसलमान सबैले अनुशरण गरिसकेका थिए, तर कबिर पन्थ नामक सम्प्रदायमा यिनको शिक्षाहरूको अनुयायी मात्र पर्छन् ।
सन्त कबिरको जन्म भारतको काशीमा संवत् १४५५ को ज्येष्ठ पूर्णिमाको दिन भएको थियो । नीरू–नीमा नामक दम्पती उनका मातापिता थिए, जो जातिका जुलाहा थिए ।
कबिर सागरमा वर्णन छ कि गुरु रामानन्द तल्लो जातिका मानिसलाई चेला स्वीकार गर्दैनथे । कबिर गुरु रामानन्दको शिष्य बन्न चाहन्थे । एक दिन प्रातः प्रहर गुरु रामानन्द नदी स्नान सम्पन्न गरी आश्रम फर्किरहेका थिए, वातावरणमा लालिमा छाइसकेको थिएन । कबिर उनको बाटोमा दण्डवत् शैलीमा लम्पसार परेर गुरुको प्रतीक्षा गर्न थाले । नित्य निर्बाध निमग्न फर्कने क्रममा गुरुले सामुन्ने गोडामा कोही लम्पसार छ भन्ने भेउ पाएनन् र उनको पाउ कबिरको टाउकोमा ठोक्कियो । तत्पश्चात् गुरु रामानन्दले तल्लो जातिको मान्यता त्याग गरे र कबिरलाई शिष्यत्व प्रदान गर्न स्वीकार गरे ।
सन्त कबिरका मुख्य रूपमा ६ वटा ग्रन्थ मानिन्छन् । कबिरका दोहाहरू उनका शिष्यहरूले संग्रहित गरे । उनका दुईजना शिष्य भागोदास र धर्मदासले उनको साहित्यिक विरासतको संरक्षण र संवर्द्धन गरे । कबिरका दोहाहरू सिख धर्मग्रन्थ ‘श्री गुरुग्रन्थ साहिब’मा पनि सामेल गरियो । श्री गुरु ग्रन्थ साहिबमा सन्त कबिरका २२६ वटा दोहा सामेल छन् । श्री गुरु ग्रन्थ साहिबमा सामेल गरिएका सबै भक्त र सन्तहरूको दोहाहरूमा सन्त कबिरकै सबैभन्दा बढी दोहा सामेल भएका छन् ।
क्षितिमोहन सेनले कबिरका दोहाहरू काशीसहित भारतका अन्य भागका सन्तहरूबाट समेत एकत्र गरेका थिए । रवीन्द्रनाथ ठाकुरले त्यसको अंग्रेजी अनुवाद गरेर कबिरका वाणीलाई विश्वस्तरमा पुर्याए । हिन्दीमा बाबु श्यामसुन्दर दास, आचार्य रामचन्द्र शुक्ल, हजारीप्रसाद द्विवेदीसहित अनेक विद्वानले कबिर र उनको साहित्यिक साधनामाथि ग्रन्थ लेखेका छन् ।
सन्त कबिरको वाणी जनजनमा फैलिँदै गयो र आज पनि निकै लोकप्रिय मानिन्छ । सन्त कबिरले समाजलाई नैतिकता, सद्भाव र एकताका पाठ पढाए । सन्त कबिर अन्धविश्वास, ढोंग, पाखण्ड र व्यक्तिपूजाका कट्टर विरोधी रहे । सन्त कबिर दास समाजमा फैलिएका आडम्बरको सख्तविरोधी थिए । उनको दोहाले मानिसलाई जीवनको नयाँ प्रेरणा प्रदान गर्दछ ।
सन्त कबिर दासले आफ्नो पूरै जीवनकाल मानवताको सेवामा व्यतीत गरे । उनी एक प्रकारले विद्रोही स्वभावका थिए । उनले समग्र समाजमा सुधार ल्याउन समाजका सबै तप्काका खिलाप आफ्नो अभियान जारी राखे । सामाजिक कुरीतिहरू समाप्त पार्ने कार्यमा उनले आफ्नो पूरा जीवन मानव सेवामा व्यतीत गरे र आफ्नो जीवनको अन्तिम समयसम्म यसै प्रयासमा लागिरहे ।
सन्त कबिरको स्वभाव विचित्रको थियो । उनी कहिल्यै एकतारा बजाउँदै हरि गीत गाउँदै हिँड्थे । हरिप्रसाद द्विवेदीले उनलाई मस्तमौला भनेका छन् । समाजका सम्भ्रान्तहरू उनलाई रुचाउँदैनथे । किनभने कबिर भन्थे :
‘बडा हुआ तो क्या हुआ जैसे पेड खजूर ।
पंछी को छाया नहीं फल लागे अति दूर ।
तब के बाभन वे रहे पढ़ने बेद पुरान ।
अब के बाभन अस भये जो लेत घाट पर दान ।
भला हम साँच कहै में ना डरबै ।’
हिन्दु मुस्लिमका मानिस केही कबिरका अनुयायी थिए भने केहीले उनीप्रति विरोध भाव राख्ने गरेका थिए । उनी आफ्नो एकतारा लिएर एउटै परमात्माका हामी सबै सन्तान हौँ भन्दै हिँड्थे । उनी एकातिर ‘पाहन पूजे हरि मिलैं, तो मैं पूजौं पहार । वा ते तो चाकी भली, पीसी खाय संसार ।’ भन्थे भने अर्कातिर ‘कांकर पाथर जोरी कै मस्जिद लई बनाय । ता चढि मुल्ला बांग दे क्या बहरा हुआ खुदाय ।’ पनि भन्थे ।
ईश्वर या खुदाको आह्वान गर्दा मनले सच्चा आवाज लगाउने हो, बाहरी दिखावापनले होइन भनी उनको भनाइ हुन्थ्यो । सन्त कबिरले प्रमाणसहित र कुनै डरबिना हरेक वर्ग, जात र धर्मका बारेमा सही टिप्पणी गरे । उनका शब्द र विचारहरू कुनै भेदभावविना कदर गरिन्छ ।
सन्त कबिरको निकै चर्चित भनाइ छ :
‘जाति न पुछो साधु की, पुछ लिजिए ज्ञान ।
मोल करो तलवार का, पडी रहन दो म्यान ।’
सन्त कबिरले हिन्दु वा इस्लाममा व्याप्त जातिवादको आलोचना गर्दै भन्थे कि कसैले पनि उसको जातका बारेमा सोध्नु हुँदैन, तर ज्ञानका बारेमा कुरा गर्नुपर्छ । किनभने वास्तविक मूल्य तरबारको हो, म्यानको होइन । उनले आफ्नो भाषा सरल र बुझ्न सकिने गरी राखे ताकि यो आम मानिससम्म पुग्न सकोस् । सन्त कबिर शान्तिपूर्ण जीवन मन पराउँथे र उनी अहिंसा, सत्य, नैतिकता आदि गुणहरूका प्रचारक थिए ।
सन्त कबिर दासले आफ्नो पूरै जीवन काशीमा बिताए तर जीवनको अन्तिम समय मगहर गएर बसे । यस्तो उनले मगहरलाई लिएर समाजमा फैलिएको अन्धविश्वासलाई समाप्त पार्न र मगहरमाथिको कलंकको दाग मेटाउनका लागि गरेका थिए । मगहरका विषयमा के भनिन्थ्यो भने यहाँ मर्ने व्यक्ति नरकमा जान्छ । सन्त कबिर दासले यसै अन्धविश्वासलाई समाप्त पार्नका लागि मगहरमा नै वि.सं. १५१८ मा देह त्यागे ।
कबिर दासको जन्म मुस्लिम परिवारमा भएको थियो, तर उनले आफ्नो शिक्षा हिन्दु गुरुबाट प्राप्त गरेका थिए । तैपनि उनले आफूलाई यी दुई धर्महरू बिचको वर्गीकरणबाट टाढा राखे । उनले आफूलाई ‘अल्लाहको पुत्र’ र ‘रामको पुत्र’ दुवै भनेर सम्बोधन गरे र किंवदन्ती अनुसार जब उनको मृत्यु भयो, हिन्दु र मुस्लिम दुवैले उनको शरीर संस्कारका लागि लैजान चाहन्थे ।
मधेशी जनताको आस्थाका केन्द्रमा परमात्मा र ती परमात्माका अनेक दिव्य स्वरूप देवी–देवता र अनेक रूपमा प्रकट हुने, अवतरित हुने वा जन्म लिने विभूतिहरूको निष्ठापूर्ण वास छ । मूल रूपमा ती विभूतिको इतिहास नै मध्यदेशीय सांस्कृतिक पहिचान हो । मधेश सरकारले र अन्य प्रदेशका प्रदेश सरकारले पनि आ–आफ्नो प्रदेशका महान् विभूतिहरूको अनेक तवरले कदर गर्नुपर्छ । यस मानेमा मधेश सरकारले माता सीता र कवि कोकिल विद्यापतिपछि सन्त कबिरको महिमाको सम्मान सूचीमा सूचीकृत गरेको छ । सरकारको इच्छाशक्ति निश्चय पनि प्रबल देखिन्छ ।
(लेखक झा इतिहास, संस्कृति र समसामयिक विषयमा दक्खल राख्छन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विमान दुर्घटनामा पूर्वमुख्यमन्त्री रुपाणीको मृत्यु
-
‘सिट ११ए’ का यात्रु जो विमान दुर्घटनामा बाँचे
-
एयर इन्डियाको विमान दुर्घटनामा कम्तीमा २०४ जनाको मृत्यु
-
बिक्रीको डेढ दशकपछि किर्ते कागज खडा, पीडित नै अपहरण शैलीमा पक्राउ
-
अहमदाबाद विमान दुर्घटना : विमानस्थल पुनः खुल्यो
-
शुक्रबारसम्म प्रतिपक्षी र सत्तापक्षबिच सहमति हुन्छ : प्रचण्ड