आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय
सन्दर्भ : विराटनगर विमान विद्रोह

क्रान्तिले निम्त्याएको ‘दुस्साहस’ कदम, अपहरणकारी दुर्गा र वसन्तका ‘विवादास्पद’ बयान

बुधबार, २८ जेठ २०८२, १५ : ३८
बुधबार, २८ जेठ २०८२

समाचार सारांश

  • दुर्गा सुवेदीको पुस्तक 'विमान विद्रोह' मा बीपी कोइरालाले थप्पड हानेको घटनाबारे उल्लेख छ।
  • २०३० जेठ २८ गते विराटनगरबाट काठमाडौँका लागि उडेको विमान अपहरणको योजना बीपी कोइरालाको सल्लाहमा गिरिजाप्रसाद कोइरालाले बनाएका थिए।
  • विमान अपहरणको योजना सशस्त्र क्रान्तिका लागि पैसा जुटाउन गरिएको थियो, जसलाई भारतीय गुप्तचरको सहयोग प्राप्त भएको थियो।

विराटनगर ।  म कोठामा छिरेँ । बीपी एकदमै रातोपिरो ‘एलर्ट’ हुनुहुन्थ्यो । उहाँले आऊ भन्नुभयो । उहाँको हातमा एउटा कागज थियो । त्यो कागज मलाई देखाउँदै सोध्नुभयो –यो तिमीले लेखेको चिठी हो ?

मैले हेरेँ । मैले नेपालका कुनै साथीलाई पठाएको चिठी थियो । मैले हो भनेँ । बीपीले रिसाउँदै यस्तो पनि लेख्ने हो भन्नुभयो । 

मैले जे सत्य हो, त्यही लेखेको बताएँ । बीपीको रिस झन् बढ्यो । उहाँ झन् रातो हुनुभयो । बसेको ठाउँबाट जुरुक्क उठ्नुभयो र मेरो नजिक आएर यसरी पनि क्रान्ति हुन्छ ? यस्तो पनि लेख्ने हो भन्दै मेरो गालामा दुई थप्पड हान्नुभयो । 

मलाई साह्रै नराम्रो लाग्यो । मेरो आँखाभरि आँसु आयो । जसका लागि सबैथोक छाडेर हिँडियो, ज्यानकै बाजी लगाएर जहाज अपहरण गरियो, त्यही नेताले थप्पड लगाउँदा मन खिन्न भयो ।

दुर्गा सुवेदीद्वारा लिखित पुस्तक ‘विमान विद्रोह’को पृष्ठ ९६ मा २०३१ चैत २ गतेको घटना सम्झँदै सुवेदीले बीपीले हानेको थप्पडबारे उल्लेख गरेका शब्दहरू हुन् यी । 

२००७ सालमा राणा शासनविरुद्ध प्रजातान्त्रिक आन्दोलन सफल भएको थियो । तर, २०१७ सालमा प्रजातन्त्र फेरि अपहरणमा प¥यो । सात सालमा आन्दोलन गर्ने नेपाली कांग्रेसका धेरै नेतालाई नजरबन्दमा राखिएको थियो । कतिपयलाई विस्तारै निर्वासनमा पठाइएको थियो । कांग्रेस नेता बीपी कोइरालालाई पनि भारत निर्वासनमा पठाइएको थियो । 

२०१७ सालपछिका पञ्चायती शासन व्यवस्था ढाल्न कांग्रेसका नेता तथा कार्यकर्ताहरूले ठुलो संघर्ष गरेका थिए । कतिले बलिदानी दिए, कतिपयले पसिना बगाए । 

दुर्गा सुवेदीले आफ्नो पुस्तकमा उल्लेख गरेजस्तै धेरै कांग्रेस नेता कार्यकर्ताहरूले सबै चिज छोडेर हिँडेका थिए, ज्यानकै बाजी लगाएका थिए, प्रवासमा दुःख गरेर बसेका थिए । क्रान्तिमार्फत प्रजातन्त्र पुनर्बहालीका लागि विराटनगरका तीन युवाले ०३० जेठ २८ गते विमान अपहरणको एउटा ठुलो ‘दुस्साहस’ तमाम गरेका थिए । जहाँ विराटनगरका उनै सुवेदी, वसन्त भट्टराई र नगेन्द्र ढुंगेल थिए । 

बीपी कोइराला ०२५ देखि ०३३ सम्म भारत प्रवासमा थिए । प्रवासमै रहँदा उनले ०२७ असोज ४ गतेदेखि नेपालमा सशस्त्र संघर्षको माध्यमबाट प्रजातन्त्र स्थापना गर्न भन्दै योजना बनाउन थालेका थिए । तर, राज्यको धरपकड रोकिएको थिएन । कार्यकर्ताहरू जेलमा पर्न थालेका थिए, नेताहरू निर्वासनमा बस्न बाध्य थिए । सशस्त्र संघर्ष मात्र होइन, क्रान्तिमा लामबद्ध समूहको खानपानमा पनि समस्या हुँदै थियो । 

सशस्त्र संघर्षको योजना बनाएका बीपीलाई आर्थिक व्यवस्थापन ठुलो चुनौती बन्न थाल्यो । र बैंक लुट्नेदेखि सरकारी अड्डाहरू कब्जा गर्ने काम भए । त्यसबाट ठुलो सफलता त मिल्न सकेन । बीपीले चाहेजति आर्थिक संकलन पनि गर्न सकेनन् । त्यसपछि बनाइयो थियो, विराटनगरस्थित राष्ट्र बैंकको पैसा बोकेर काठमाडौँ जाने विमान अपहरणको योजना । 

तर योजना बनाएर मात्रै नहुने थियो । यसलाई फत्ते पार्न दक्ष जनशक्ति, साहसी र क्रान्तिकारी योद्धाको खाँचो थियो । भरपर्दो सूचना स्रोत पनि चाहिएको थियो । 

कांग्रेसका कार्यकर्ता भएर नेपालमा बस्न समस्या भइरहेका वेला यसखालका योजना बनाएर कार्यान्वयन गर्नु उत्तिकै असहज थियो । तर, बीपीको सल्लाह अनुसार विमान अपहरण गर्ने कामको योजना गिरिजाप्रसाद कोइरालाले बनाए । 

त्यस वेला नेपाली कांग्रेससँग मुक्ति सेना र सिभिलियन आर्मी पनि थिए ।  सिभिलियन आर्मी गिरिजाको नेतृत्वमा थियो । त्यही सिभिलियन आर्मीका जोशिला र भरिला युवालाई प्रयोग गर्ने योजना बनाइएको थियो र छनोट गरियो उनै सुवेदी, वसन्त भट्टराई र नगेन्द्र ढुंगेललाई । 

जसमध्ये एक वसन्तले हामीसँग कुराकानी गरेका छन् । 

म सिभिलियन आर्मीमा भर्ती भइसकेको थिएँ । एक पटक म गिरिजाप्रसाद कोइरालालाई भेट्न फारबिसगञ्ज जाँदा उहाँले भन्नुभयो– प्लेन हाइज्याकिङ गर्ने कुरा गर्छन् के गर्ने हो ? कसले हो भनेर सोध्दा नगेन्द्र ढुंगेलहरू आएका थिए । उनीहरूले प्लेन हाइज्याकिङ गरेर लाने । अनि त्यसपछि हाम्रा जति पनि जेलमा बसेका साथीहरूलाई छुटाउने भन्ने कुरा गरेँ भन्नुभयो । 

मैले त्यसवेला भनेको थिएँ– यो सम्भव छ र ? किनभने राजालाई आफ्नो शासन सत्ता जोगाउन हजारौँ मान्छे मरे पनि कुनै प्रवाह थिएन । अर्कोतिर प्लेन हाइज्याक गर्दा भारतले पनि सहयोग गर्छ र ? भन्ने प्रश्न मैले गरेको थिएँ । त्यसोभयो भने त हामी असफल हुने र साथीहरू सबै मारिन पनि सक्ने र एक्स्पोज पनि हुनसक्ने भयो । राजाले भारतलाई प्रेसर गरेर जेलमा भएका साथीहरू छोड्दैनन् भन्ने कुरा गरेको थिएँ । त्यसको जवाफमा गिरिजाबाबुले त्यस्तै उस्तै कुरा गर्नुभयो । यो कुरा प्लेन हाइज्याक हुनुभन्दा झण्डै ४–५ महिना अगाडिको हो । त्यसवेला हामी ग्रिनेड ल्याउने, हतियार सेभ ठाउँमा लैजाने र तालिम लिने र दिने काम गथ्र्यौँ । 

Basanta Bhattarai (2)

अर्को पटक फेरि गिरिजाबाबुले मसहित मेरो आर्मी ग्रुपलाई बोलाउनुभयो र भन्नुभयो– ल अब समय आयो । तयार रहनू । 

मैले म तयार छु भनेँ । हामी फर्कियौँ । यो जेठको पहिलो हप्तातिरको कुरा हो जस्तो लाग्छ । मलाई फेरि बोलावट भयो र सल्लाह भयो– विराटनगरबाट काठमाडौँ पैसा जान्छ रे, त्यो पैसा कब्जा गर्नुपर्छ । 

मैले सान्दाजु (बीपी)सँग तिम्रो (मलाई) र दुर्गाको विषयमा कुरा गरेँ । तिम्रो नाम त ठिकै हो, दुर्गाको नाम लिन सान्दाजुले मान्नुभएन । तिम्रोबारेमा ओके गर्नुभयो । अब के गर्ने ? गिरिजाबाबुले भन्नुभयो ।  

मैले अर्को मान्छे खोज्नुपर्छ भनेँ । उहाँले आर्थिक कुराले अप्ठ्यारो भयो, प्लेन हाइज्याक गर्नुपर्छ भन्ने कुरा गर्नुभयो । 

त्यसवेला भारतले के गर्छ भन्ने प्रश्नमा अन्तर्राष्ट्रिय कुरा भएकाले सान्दाजुले मिलाउने भन्नुभयो । म फर्किएँ । तर, दुर्गासँग कुरा भइसकेको रहेछ । मदन अर्याल (चुन्नु)लाई फेरि गिरिजाबाबुले फारबिसगञ्ज बोलाउनुभएछ । मदनलाई गिरिजाबाबुले पैसाबारे सूचना दिनू भनेर सहयोग माग्नुभएको रहेछ । म त्यो वेला नेपाल विद्यार्थी संघ मोरङको सभापति पनि भइसकेको थिएँ । दुई जना मात्रै हुँदा अप्ठ्यारो हुन्छ भनेर मैले गिरिजाबाबुलाई भनेँ । त्यसपछि नगेन्द्र ढुंगेल पनि जाने कुरा भयो । तर, दुर्गा सुवेदीले त्यसवेला उमेश गिरीलाई प्रस्ताव गरेका थिए । मैले उसलाई केटाकेटी नै भएको भनेर अस्वीकार गरेको थिएँ । केहीबेरको विवादपछि नगेन्द्रलाई नै लैजान उहाँ सहमत हुनुभयो । 

त्यसपछि विमान अपहरण गर्ने समय नजिक आउँदै गर्दा गिरिजाबाबुले मलाई ७ सय रुपैयाँ भारु टिकट खरिदका लागि दिनुभयो । त्यसपछि म टिकट लिन गएँ । तर, टिकट एउटा मात्रै रहेको कुरा आयो । दोस्रो पटक पनि टिकट भएन । तेस्रो पटकमा मात्रै तीन जनाको टिकट फिक्स भयो । त्यसको अघिल्लो दिन दुर्गा सुवेदीको घरमा गएर कुराकानी ग¥यौँ । यस्तो यस्तो गर्ने भनेर तयारी ग¥यौँ । हामीलाई विमान कहाँ लाने भन्ने विषयमा एउटा म्याप गिरिजाबाबुले दिनुभएको थियो । त्यसपछि मैले मेरो जिम्मामा भएका हतियार विजय गच्छदारलाई दिएँ । भोलिपल्ट बिहानै ६ बजे उठेर ७ बजे दुर्गा सुवेदीकोमा पुग्ने त्यसपछि नगेन्द्रलाई लिएर एयरपोर्ट जाने भन्ने सल्लाह भयो । ०३० जेठ २८ गते बिहान दुर्गाजीकोमा चिया खाएर विमान अपहरण गर्ने योजना कार्यान्वयन गर्न हामी लाग्यौँ । प्लेनमा पैसा भए÷नभएको कन्फर्म गर्न सबैभन्दा अगाडि नगेन्द्र एयरपोर्ट गए । उनी गएको आधा घण्टापछि एउटा गाडी गयो । पैसा त्यसैमा होला भन्ने शंका लाग्यो । एकैछिनमा नगेन्द्रले पैसा प्लेनमा हालेको सूचना कोड भाषामा हामीलाई दिए । त्यसपछि हामी पनि एयरपोर्ट पुग्यौँ । एयरपोर्ट दुर्गा सुवेदीलाई बिरामीको नाटक गर्न लगाइएको थियो । सोहीअनुसारको डे«ेस थियो । तर, चिनेको सीआईडी त्यहीँ भेटियो । उसले सोधीखोजी गर्न खोजिरहेको थियो । उनी बलबहादुर कार्की भन्ने असई थिए । उनले चिसो खुवाए । प्यासेन्जर बोलाएपछि हामी उठ्यौँ । तर, चिनेका पाण्डे सर (नाम याद भएन) ले एक्कासि बोलाए । तर, उनीसँग तर्किँदै हामी प्लेनभित्र छि¥यौँ । 

टुइनेटर जहाज थियो । ककपिट छेउबाटै ढोका थियो । प्लेनको सिट पनि एक लाइन दुई सिटको र अर्को लाइन एक सिटको थियो । भित्र छिरेपछि दुई लाइनतिरको दुई सिटपछि दुर्गा र म बस्यौँ । नगेन्द्र हामी भन्दापछाडि बसे । प्लेनमा राष्ट्र बैंकका म्यानेजर पनि थिए । प्लेन उड्दा ककपिट छेउको मान्छे उठेर पछाडि गयो । त्यहाँ नगेन्द्र आएर बस्यो । हामीलाई एकदमै राम्रो भयो । 

प्लेनले हाइट लियो । विराटनगर घुमेर दुहबी मास्तिर पुगेपछि पारि कोशी देखियो । हाम्रो प्लानिङ कोशीमा पुगेपछि एक्सनमा जाने थियो । कोशी देखिएपछि मैले दुर्गालाई हातले धक्का मारेँ, ठेलेँ । दुर्गा सुवेदीले त्यसपछि गर्ने र ? भने । त्यसपछि मलाई त कहाँबाट जोस आयो । मैले बोकेको सानो ब्याग थियो । एक जोर लुगासँगै ब्यागमा रिभल्भर र ग्रिनेट पनि थियो । मैले आफ्नो हातमा ग्रिनेट र रिभल्भर कन्ट्रोलमा लिइसकेको थिएँ । दुर्गाले गर्ने र ? भन्नेबित्तिकै मैले ककपिटभित्र पसेर पाइलटको कन्चटमा पेस्तोल राखेँ । त्यो देख्नेबित्तिकै पाइलट आत्तियो । प्लेन त एकैपटक निक्कै तल झ¥यो । त्यसक्रममा मेरो टाउको मज्जाले ठोक्कियो । विमानभित्र होहल्ला सुरु भयो । तर, विस्तारै प्लेन कन्ट्रोलमा आयो । मैले त्यसवेला कुराकानी गर्ने सबै सेटहरू निकालेर भोल्युम घटाइदिएँ । हामीले त्यसबारे सामान्य प्राविधिक तालिम लिएका थियौँ । 

त्यसपछि पछाडि फर्केर हेरेको, विमान परिचारिकाको भूमिकामा रहेका जीबी राईले दुर्गालाई च्याप्प समातेर बसेको रहेछ । पहिले त्यो मान्छे को हो भन्ने थाहा भएको थिएन । म पनि पहिलो पटक विमान चढेको मान्छे । तर, दुर्गालाई झ्याप्पै पक्रेको पक्रेकै ग¥यो । उनलाई पक्रेको देखेपछि नगेन्द्र ढुंगेलले आएर ठेलेर लडाइदिए । अनि दुर्गा थरथर काँम्दै को–पाइलटकोमा आए । त्यति हुँदा कोशी कटेर प्लेन गइसकेको थियो । राजविराज कट्न लागिसकेको कुरा आयो । त्यसपछि पुनः प्लेन फर्काउन भनियो । फेरि विराटनगर एयरपोर्ट नजिक प्लेन आयो । पुनः घुमाउन भनियो र कोशीको ब्यारेजको नहरै नहर भारततर्फ लैजान भन्यौँ । त्यसवेला प्लेनलाई कोशी ब्यारेजबाट नहरै नहर जाने र फारबिसगञ्जमा पु¥याउन तयारी हामीले गरेका थियौँ । 

विमानका पाइलट केदारराज मानन्धर र को–पाइलट श्रीदेव वैद्य रहेछन् । हामीलाई उनीहरूको बारेमा थाहा थिएन । त्यसक्रमा उनीहरूले प्लेन कहाँ लाने भनेर सोधे । अनि दुर्गाले तिब्बत भने । पाइलटले फ्युल पुग्दैन भने । त्यसपछि भारतको फारबिसगञ्ज लैजा भन्यौँ । कुरा गर्दा गर्दै फेरि कोशी कटिसकेका थियौँ । हामी पनि प्रोफेसनल अपहरणकारी त थिएनौँ । धेरै प्राविधिक कुरा त थाहा थिएन । एक हिसाबले भन्ने हो भने हामी अनाडि नै थियौँ । अनि फेरि मैले विमान घुमाउन पाइलटलाई भनेँ । उसले रिसार भन्यो– तपाईंहरू घुमाएको घुमाइ गर्नुहुन्छ फ्यूल सकिसक्यो । मैले तँलाई मारिदिन्छु बढ्ता बोल्छस् भनेँ । त्यसपछि उसले जसो भन्यो, त्यसै गर्न थाल्यो । 

मैले पाइलटलाई को–पाइलटलाई दुर्गाले र प्यासेन्जरलाई नगेन्द्रले कभर गरेका थियौँ । एक प्याजेन्जरले बच्चा देखाउँदै भावनात्मक कुरा गरे । तर, त्यो मान्छेचाहिँ मलाई टिकट काटिदिने रहेछन् । त्यसपछि मैले तपाईंहरू आरामले बस्नुहोस्, हामीलाई सहयोग गर्नुहोस् भनेँ । तपाईंहरूले यताउता गर्नुहुन्छ भने हामीसँग ग्रिनेट छ, हामीलाई ज्यानको माया पनि छैन भनेँ । फेरि प्लेन घुम्यो । त्यसपछि त्यहीँ हामीलाई दिएको नक्सा पाइलटलाई दिएर फारबिसगञ्ज लैजान भन्यौँ । अनि प्लेन जमिनको नजिकै लगेर मिनिमम स्पिडमा हामीले भनेअनुसार नै लगियो । 

नहरै नहर गएपछि ठ्याक्कै हामी फारबिसगञ्ज पुग्यौँ । त्यहाँ जाँदा त सुशील कोइराला, मनोहर बराल, बिरु लामाहरूले सेतो कपडा हल्लाइरहेको देखियो । विमानस्थलमा खाण्डाखुल्डी नभएको र ठिक छ भनेपछि पाइलटले प्लेन ल्यान्ड गरे । प्लेनको ढोका खोलेर दुर्गा र नगेन्द्रले बक्साहरू निकाले । र सुशील कोइरालासहितले ल्याएको जिपमा हाले । मैले पाइलटलाई अडर गरिरहेँ । पैसाको बक्सा निकालिसकेपछि तलबाट मलाई पनि साथीहरूले निस्कन आग्रह गरे । म निस्कन लागेपछि को–पाइलट वैद्यले ‘बेस्ट अफ लक’ भनेका थिए । त्यसपछि म तल झरें ।

तल ओर्लिएपछि सुशील दाइलगायतले प्लेन एकछिन पनि रहन नदिनू भने । मैले पाइलटलाई सोहीअनुसार आदेश गरेँ । त्यो गर्नुको कारण कसैले पनि फोटो खिच्न नपाओस्, प्रमाण नै नहोस् भन्ने रहेछ । मैले उडाउन आदेश गरेपछि पाइलटले काग उडाएजस्तो गरेर विमान नेपाल फर्काए । यो दर्मियानमा २७ मिनेटको खेल भएछ । 

त्यसपछि हामी पैसासहितको जिपमा बस्यौँ । फारबिसगञ्जबाट सिमरा हाइवे छेउमा पुग्यौँ । त्यहाँ गिरिजाबाबु, देवेन्द्रबाबु सिंहका भाइसहित बसिरहेका रहेछन् । एउटा बक्सको केही पैसा निकालेर एउटा कारमा राखियो । दुर्गा सुवेदी र सुशील दाइको गाडीमा अर्को बक्स र हामी बसेको जिपमा अर्को बक्स राख्यौँ । तीन वटा गाडीमा छुट्टाछुट्टै हिसाबले पैसाको बक्स राखियो । 

त्यहाँबाट हामी सिलिगुडी हुँदै खार्सेङ पुग्यौँ । साढे १२ बजेको थियो । अति स्पिडमा गएका थियौँ । सिलिगुडी पुग्न त एक घण्टा पनि लागेन । हामी २ अढाइ बजेतिर दार्जिलिङमा लालबाबु शर्माको घर पुग्यौँ । त्यसपछि साढे ४ बजेतिर अर्काे जिप पनि आइपुग्यो । त्यहाँ बास बसेर पुनः हामी सिलिगुडी आयौँ र भोलिपल्ट राति ९ बजेतिर बनारसतिर लाग्यौं । त्यहाँ पुग्दा त प्लेन हाइज्याकको समाचार पत्रपत्रिमामा छ्याप्छ्याप्ती भएछ । 

भारतले हामीलाई त्यसवेला सहयोग गरेको भनेको फोटो नछापेर हो, भारतको गुप्तचरलाई त थाहा थियो होला । उनीहरू सियो पनि पत्ता लगाउन सक्थे । त्यसैको राति हामी सारनाथ पुग्यौँ । त्यहाँ सान्दाइ बस्ने (बीपी निवास) ठाउँ रहेछ । त्यहाँ नोना आमाले हामीलाई हेरिरहनुभएको रहेछ । सेक्युरिटीले रोक्न खोज्दा उहाँले छोड्न भन्नुभयो र बीपीकै खाटमा सुतियो । पर्सिपल्ट मनोहरी दाइ र बीपी दाई पनि आइपुग्नुभयो । त्यसअगाडि गिरिजाबाबुलाई विमान अपहरण गर्दा भएका घटनाबारे दुर्गाले सबै बताएको रहेछ । गिरिजाबाबुलाई बीपीले घटनाबारे कुरा सोधिसक्नुभएको रहेछ । पुनः मलाई सोध्न बीपी र नोना आमा कोठामा आउनुभयो । त्यसपछि बीपीले घटनाको बेलिबिस्तार लगाउन भन्नुभयो । मैले प्लेनमा भएको घटना र रहेका मानिसहरू सबैको बारेमा जानेको कुरा भनेँ । 

त्यहाँ दुर्गाले प्लेनमा भाषण गरे ? विदेशी प्लेनमा थिए ? भन्ने कुराहरू बीपीले सोध्नुभयो । मैले सत्य कुरा भनेको कारण बीपीले हात पड्काएर दुर्गा सुवेदीले किन मसँग झुट बोले भनेर रिसाउनुभयो । दुर्गालाई बीपीले मन नपराउनुको कारण पनि यस्तै यस्तै रहेछ । उनले नभएको कुरा गर्दा रहेछन् । 

त्यसपछि हामी दुर्गा र सुशील दाइ भएकै ठाउँमा गयौँ । त्यहाँबाट जयप्रकाशको जन्मथलोमा गयौँ । त्यहाँ एक महिना बस्यौँ । त्यहाँबाट मुगलसराय गएर टिकट काटेर मुम्बई लागियो । त्यहाँ बसेको केही समयपछि पुनः हामी दिल्ली गयौँ । दिल्लीमा पुग्दा दुर्गासँग भेट भयो । केही समयपछि दिल्लीमा इमरजेन्सी लागेको थियो । चक्र बाँस्तोला पक्राउ परे । त्यसपछि सुशील कोइराला, मनोहर दाइ पनि पक्राउ परे । त्यसको केही दिनमा हामी पनि पक्राउ प¥यौँ । त्यसवेला हामीलाई दुई वटा कुराले डर थियो । कि त नेपालबाट पञ्चायतका समर्थक गुण्डाले आक्रमण गर्छन् र लिएर जान सक्छन्, या गुण्डाले किडन्याप गर्न सक्छ । तर भारतीय प्रहरीले पक्राउ गरेको प्रमाणित भयो । हामीलाई रोदी थाना लगियो । त्यसपछि लालकिल्ला लगियो । त्यहाँ सीबीआईको ठुलो अफिस रहेछ । दुर्गा पनि पक्राउ परेको पछि थाहा भयो । त्यसपछि बीपीले राष्ट्रिय मेलमिलापको नीति लिएको र भारतमा इमरर्जेन्सी पनि हटाएको कारण विस्तारै हामीलाई छोडियो । त्यसपछि नेपाल आएर जनमतसंग्रहमा जुट्यौँ ।

०००

भट्टराईसँगको झण्डै तीन घण्टाको कुराकानीका क्रममा उनले आफूलाई त्यसक्रममा डर नलागेको पनि बताए । ‘प्लेनभित्र छिर्दा डर पनि लागेन । किनभने हामी मिसनको लागि गएका थियौँ । बैंक पनि हामीले कब्जा गरेका थियौँ । त्यसखालका जोखिमका कामहरू गरेका थियौँ । त्यो वेला सुनको मूल्य ३ सय रुपैयाँ तोला थियो होला । ३० लाख रुपैयाँ पैसा भनेको अहिलेको ३० अर्ब बराबरको हुन्छ,’ विमान अपहरणमा संलग्न वसन्त भट्टराई भन्छन् । 

Basanta Bhattarai (1)

‘२०२७ मा नै उहाँ (बीपी कोइराला)ले सैनिक बलमा टिकेको अधिनायकलाई फाल्न शस्त्र उठाउन आवश्यक रहेको बताउनुभएको थियो । त्यही संघर्षका लागि स्रोत अभाव भएकोले धन संकलनका लागि हामीले विमान अपहरण गरेका थियौं,’ सुवेदीले लेखेको उक्त पुस्तकमा उल्लेख छ । 

‘मसँग पैसा थिएन । अनि हवाईजहाज अपहरणको विचार आयो । म विस्तारमा भनूँ कि नभनूँ ? अहिले छोडिदिउँ, अब मान्छे पनि आइसके,’ बीपीले उक्त घटनाबारे आफ्नो आत्मवृत्तान्तमा उल्लेख गरेका छन् । त्यसका साथै विमान अपहरणको योजना कार्यान्वयन गर्ने मुख्य कमान्डर रहेका गिरिजाप्रसाद कोइरालाले भने यो भारतीय गुप्तचरको योजनामा भएको बताएका थिए । ‘भारतीय गुप्तचरको सहयोगमा अपहरण गर्ने, गराउने काम सम्पन्न भएको थियो,’ कोइरालाले कान्तिपुर टेलिभिजनलाई दिएको एक अन्तरवार्तामा भनेका थिए । 

विमान अपहरणबारे थुप्रै कथा र बयानहरू सार्वजनिक गरिएका छन् । प्रमाणको रूपमा धेरैले दुर्गा सुवेदीको ‘विमान विद्रोह’ नामक पुस्तकलाई लिएको पाइन्छ । तर उक्त पुस्तकमा धेरैजसो कुराहरू वास्तविकतासँग मेल नखाने विमान अपहरणमै संलग्न अर्का एक पात्र वसन्त भट्टराई बताउँछन् । भट्टराईले माथि उल्लेख गरिएका भन्दा कतिपय प्राविधिक विषयहरू सुवेदीले फरक ढंगले उल्लेख गरेका पाइएको छ । ‘त्यो ३० मिनेट’ भन्ने शीर्षकमा लेखिएको विमान विद्रोह पुस्तकमा दुर्गा सुवेदीले विमान अपहरणमा आफ्नो निर्णायक भूमिका रहेको उल्लेख गरेका छन् । 

०००

हामी जहाजभित्र पस्दा ककपिटनेरको एउटा सिट मात्र खाली थियो, अर्कोमा भने एकजना मान्छे बसिसकेका थिए । हाम्रो योजनाअनुसार एउटामा वसन्त भट्टराई र अर्कोमा म बस्नुपर्ने थियो । अब के गर्ने ?

म त्यो सिटमा बसिरहेका यात्रुनजिक गएँ र भनेँ– मलाई जहाज उडाएको हेर्न साह्रै रहर छ । तपाईं मेरो सिटमा बसिदिनुभयो भने म यहाँ बसेर हेर्न पाउँथेँ ।

उनले मेरो अनुरोध स्विकारे र सिटबाट उठेर पछाडि गए । अब योजनामुताबिक वसन्त र म ककपिट नजिक, हाम्रा अर्का साथी नगेन्द्र ढुङ्गेल अलि पछाडि अन्य यात्रुहरूसँगै भयौँ । हामी सबैले आ–आफ्ना हतियार बोकेका थियौं । मैले मोटो ज्याकेटमुनि रिवल्भर लुकाएको थिएँ । वसन्तले ग्रिनेड लिएका थिए भने नगेन्द्रसँग मेरोजस्तै रिवल्भर थियो ।

शाही नेपाल वायुसेवा निगमको त्यो सानो १९ सिटे ट्विनअटर विमान विराटनगरबाट काठमाडौँ जान भनेर उड्न लाग्दै थियो । विमानमा चालक दलका तीन जनाबाहेक हामी १४ जना यात्रु थियौँ । पछि थाहा पाएअनुसार त्यस दिन विमानका पाइलट केदारराज मानन्धर र को–पाइटल श्रीदेव वैद्य रहेछन् ।

हामी बसेको केही मिनेटमै जहाज उड्यो । जहाज उडेको पाँच मिनेटमा म सिटबाट उठेँ र वसन्तलाई भनेँ, भित्र हेर्न जाने होइन ? वसन्त पनि सिटबाट उठे । त्यस दिन जहाजमा पुरूष परिचारक थिए । हामी ककपिटमा छिर्न खोज्दा उनले रोक्न खोजे । वसन्त ती कर्मचारीसँग कुरा गर्दै थिए, म भित्र छिरिहालेँ । र, पाइलटको कुर्सीनजिक पुगे । त्यतिञ्जेलमा वसन्त पनि छिरे । को–पाइलटले वसन्तलाई रोक्न खोज्दै थिए, मैले पाइलटको घाँटीमा पछाडिबाट एक हातले अँगालो हालेँ र अर्को हातले कन्चटमा रिवल्भरको नाल तेस्र्याएँ । उनलाई सञ्चार यन्त्र बन्द गर्न भनेँ । आफ्नो कन्चटमा रिवल्भर तेस्र्याएको देखेर पाइलट बेस्सरी डराए, जुन स्वाभाविक थियो ।

के गरेको यस्तो भन्दै उनी अत्तालिए । उनले कन्चटमा तेर्सिएको रिवल्भर हटाउन खोजेँ । को–पाइलट वैद्यलाई वसन्तले नियन्त्रणमा लिइसकेका थिए । जहाजले भर्खरै उचाइ लिइरहेको हुनाले पाइलटको एउटा हात उडान संयन्त्रमा व्यस्त थियो । मैले बन्दुक झन् जोडले दबाएपछि उनले जहाज चलाइरहेको हात पनि हटाएर दुवै हातले रिवल्भर हटाउने प्रयास गरे । संयन्त्रमा दुवै हात नभएपछि जहाज एकाएक तलतिर झर्न थाल्यो । यसले गर्दा उनले फेरि एउटा हात रिवल्भरबाट हटाएर संयन्त्रमा नै लगे । जहाज फेरि माथि उड्न थाल्यो । मेरो रिवल्भर उनको कन्चटमै थियो । जहाज अलि माथि नै पुगिसकेपछि उनले फेरि एकपटक के गरेको भन्दै रिवल्भर हटाउने प्रयास गरे ।

त्यसैवेला कसैले पछाडिबाट मेरो कठालो समाएर जोडले तान्न खोज्यो । अब ककपिटमा साँच्चिकै लडाइँ सुरु भएको थियो । फर्केर हेर्छु, ती त परिचारक रहेछन् । वसन्तलाई ठेलेर उनी पाइलटलाई छुटाउन आएका रहेछन् । तर, एकै छिनमा वसन्तले तिनलाई कठालोमा समाएर तानिहाले । उनको नजिकै ग्रिनेड लगेर वसन्तले भने– हामीले भनेको मान्ने कि यो ग्रिनेड यहाँ खोलिदिऊँ ? हामी त क्रान्तिकारी हौँ, मरे मछौंँ । तिम्रो बेवकुफीले तिमी र सबै यात्रुको ज्यान जान्छ । के गरौ ?

त्यसपछि बल्ल को–पाइलटले पुरुष परिचारकलाई ककपिटबाट बाहिर जान भने । उनीहरूले सञ्चार यन्त्र बन्द गरे । अब एयरपोर्टसँगको सम्बन्धविच्छेद भयो । जहाज घरी तल, घरी माथि गरिरहेको थियो । त्यत्तिकैमा वसन्तले पाइलटले कानमा लगाएको माइक्रोफोन खोलिदिए ।

यतिञ्जेल मैले पाइलटलाई नियन्त्रणमा लिएको थिएँ तर केही भनेको थिइनँ । यसो बाहिर हेरेको त जहाज निकै पश्चिममा पुगिसकेजस्तो लाग्यो । अनि मैले पाइलटलाई भनेँ– हामीसित हतियार छन् । हामी ज्यानको माया मारेर देशका लागि लडिरहेका क्रान्तिकारी हौँ । हामीसँग लडेर न तपाईंले केही पाउनुहुन्छ, न जित्नुहुन्छ । त्यसैले हामीले भनेको मान्नुस् र यो जहाजलाई फर्काउनुस् । 

मेरो कुरा सुनेर पाइलट मानन्धर अलि शान्त भए । उनले काँपेको स्वरमा भने– तपाईंले मेरो कन्चटमा दुलो पार्ने गरी बन्दुक लगाउनुभएको छ । पहिले यो बन्दुक हटाउनुस् । तपाईंले भनेकै ठाउँमा जहाज लगिदिउँला ।

अनि, बल्ल मलाई याद भयो, जोस र डरमा मैले रिवल्भरको नालले उनलाई साह्रै घोचेको रहेछु । मैले रिवल्भर कन्चटबाट हटाएर टाउकोको पछाडिपट्टि लगाएँ । त्यतिवेलासम्म पनि जहाजका यात्रुलाई ककपिटमा के भइरहेको छ भन्ने थाहा थिएन । जहाज अस्वाभाविक तरिकाले तलमाथि गरेपछि केही गडबड छ भन्ने त लागेको हुँदो हो ।

मैले पाइलटलाई जहाज उतार्ने ठाउँबारे बताएँ – विराटनगरको दक्षिणमा भारतको फारबिसगन्जमा उतार्नुपर्छ । 

कहाँ कति टाढा छ हेरेर थाहा नहुने र जहाजलाई यत्तिकै नक्साकै नभई लैजान नसक्ने पाइलटले बताए । 

मैलै विराटनगरबाट ३० किलोमिटर दक्षिण हो भनेँ । उनले जहाज कोसी नदीतिर मोडे । अनि, मैले फारबिसगन्ज बजारको नक्सा कोरेको कागज निकालेर उनलाई देखाएँ । रेल्वे स्टेसनको ठीक पूर्वपट्टि एउटा घाँसे मैदान छ । त्यसको एक छेउमा ठुलो सिमलको रूख छ । रूखको टुप्पामा रातो झन्डा बाँधिएको छ । त्यही झन्डालाई खोज्दै हिँड्नुस् भनेँ ।

यति भन्दाभन्दै मैले तल हेरेँ । जहाजले एउटा सहरलाई पार गर्न लागेको देखेँ । कुन सहर हो भनेर पत्ता लगाउन म ककपिटबाट बाहिर निस्किएर जहाजको बिचको झ्यालमा आएर हेर्न थालेँ । ककपिटबाट अगाडि त देखिन्थ्यो तर तल के छ भनेर झ्यालबाट हेर्न मिल्दैनथ्यो । हातमा रिवल्भर लिएर म ककपिटबाट निस्किएको देखेपछि यात्रुमाझ हल्लीखल्ली भयो । सबै भयभीत र त्रस्त देखिए ।

यात्रुको बिचमा रिवल्भर लिएर बसेका भए पनि नगेन्द्रले केही भनेका थिएनन् । म ककपिटबाट रिवल्भरसहित आएको देखेपछि मानिसहरू आत्तिए । उनीहरूले हल्लाखल्ला गर्न थालेपछि नगेन्द्रले उठेर रिवल्भर देखाए । उनले सबैलाई राजनीतिक कारणले विमान अपहरण गरिएको, कसैलाई केही हानि नहुने भन्दै शान्त रहन भने ।

मैले झ्यालबाट जति नियाले पनि कुन सहर हो, पत्ता लगाउन सकिनँ । नसकेपछि म फेरि ककपिटतिर फर्किदै थिएँ । एउटी युवतीले दुर्गा दाइ के गरेको यस्तो ? लौ न भन्दै रूँदै थिइन् । मलाई चिनेकी रहिछन् । तर, उनी को हुन् भनेर सोधीखोजी गर्ने फुर्सद मलाई थिएन । म वेगले ककपिटभित्र छिरेँ । र, पाइलटलाई सोधेँ – हामी विराटनगरभन्दा कति टाढा छौँ ?

एक सय किलोमिटर दक्षिणमा उडिरहेका रहेछौँ । फारबिसगन्ज त जम्मा ३० किलोमिटरमा थियौँ । हामी धेरै टाढा पुगिसकेछौँ । लौ बर्बाद भयो ! फारबिसगन्ज पुग्न सक्ने भइएन भन्ने लाग्यो । त्यसैवेला पाइलटले जहाजलाई वीरपुरतिर फर्काएर लैजाऊँ भनेर सोधे । 

उनले नक्सामा वीरपुर देखाउँदै भने– वीरपुरको मैदानमा उतार्न सकिन्छ । 

उनको कुरा र आफ्नो सम्भावित असफलताले हामीलाई निकै उत्तेजित बनाएको थियो । हामी के गर्ने, कसो गर्ने भनेर यताउता गरिरहेका थियौँ । म ककपिटबाट बाहिर निस्किएर घरी झ्यालबाट बाहिर हेर्थेँ, घरी भित्र छिर्थेँ ।

वसन्त भने ककपिटमै बसे । उनको एउटा हातमा ग्रिनेड थियो, अर्को हातमा त्यसको पिन । हामीले भनेको नमाने जुनसुकै वेला पिन निकालिदिने धम्की दिएर उनले पाइलटलाई थर्काएपछि जहाज पूर्ण रूपमा हाम्रो नियन्त्रणमा थियो । तर, कहाँ गएर अवतरण गर्ने भन्ने तय नहुँदा जहाज आकाशमा चिलजसरी निरुद्देश्य उडिरहेको थियो ।

नगेन्द्रले बारम्बार यात्रुलाई धम्की दिइरहेका थिए । कोही उठ्यो कि गोली हान्दिन्छु भन्दै थिए । हाम्रो उत्तेजना र हतियार देखेर जहाज, चालक र यात्रुहरूले आत्मसमर्पण गरिसकेका थिए । जहाजमा निस्तब्धता छाइसकेको थियो । कसैले एक शब्द बोल्ने हिम्मत गरेका थिएनन् । धेरैजसो यात्रु मूर्ति बनेका थिए । कोही आँखा चिम्लिएर बसेका थिए, कोही भने आँखा चिम्लियो भने केही भइहाल्छ कि भनेझैं गरी ट्वाल्ल थिए ।

सबैका ओठ सुकेका र अनुहार पहेँलो भइसकेका देखिन्थे । नगेन्द्र रिवल्भरको ट्रिगरमा औंला राखेर कसैलाई ताकेजस्तो गरी उभिएका थिए । आँखा खुल्लै राख्नेहरूजति सबै एकाग्र भएर रिवल्भरको नाल हेरिरहेका थिए । नगेन्द्रले जता रिवल्भर फर्काउँथे, त्यसतर्फका यात्रु रिवल्भरको नाल हेरेर काँपिरहेका हुन्थे । मेरा हातमा पनि त्यस्तै रिवल्भर भएकाले मसँग कसैले आँखा जुधाइरहेका थिएनन् ।

म अत्तालिएर बाहिर–भित्र गरिरहेको यात्रुहरूलाई थाहा थियो । जहाज तल झर्ने र माथि जाने क्रम चलिरहँदा मैले एउटा यात्रुको कुर्सीलाई एक हातले पक्रेर उभिँदा रिवल्भर बोकेको हात उनको शरीरमा ठोकिएछ । यात्रुले कम्पित स्वरमा भने –तपाईंको हात काँपिरहेको छ, मेरो शरीरबाट रिवल्भरको नाल हटाइदिनुप¥यो ।

उनको त्यो कम्पित आवाजले सबैको ध्यानाकर्षण भयो । यात्रुहरूले आँखा चिम्लिए पनि कानलाई भने चनाखो राखेका रहेछन् । उनीहरूले बोल्ने मानिस र मेरो बन्दुकको नालतर्फ हेरेर केही भन्न थाले । जहाजमा आवाज बढ्न थालेपछि म सबैलाई शान्त रहन अनुरोध गर्दै चालकको कोठाभित्र पसेँ ।

पाइलट मेरो अनुहार नहेरी भन्न थाले –जहाजमा अब धेरै इन्धन छैन । हामी विराटनगर पुग्न सक्छौँ के गर्ने ? तपाईं जे भन्नुहुन्छ, म त्यही गर्छु । 

मैले उत्तेजित हुँदै पाइलटलाई भनेँ –अब विराटनगर फर्किएर आत्मसमर्पण गर्ने कुरै छैन । हामीले निर्धारित गरेको ठाउँमा पुग्नेसिवाय अरू विकल्प सोच्दै नसोच्नुस् । जहाजलाई जसरी पनि फारबिसगन्ज पु¥याउनैपर्छ । जहाजको इन्धन सकिएछ भने हाम्रो यात्राको अन्त्य हुने नै छ । त्यसैले हामीलाई साथ दिनुबाहेक अर्को उपाय तपाईंसँग पनि छैन ।

जहाजलाई फेरि कोसी ब्यारेजतर्फ मोड्न अनुरोध गरेँ । त्यसपछि म ककपिटबाट फेरि बाहिर आएँ । चालक र सह–चालकहरूले हाम्रो प्रतिकार गर्ने प्रयत्न छाडेर जहाजलाई नै व्यवस्थित गरिरहेका थिए । वसन्तको हातमा सैनिकले प्रयोग गर्ने शक्तिशाली ३६ ग्रिनेड थियो भने नगेन्द्र र मेरो हातमा ३२ रिवल्भर देखेर पुरुष परिचारक जहाजको ढोकानेर गएर निर्जीव भई उभिएका थिए । उनी आफ्नो दुवै हातले जहाजको ढोकाको फित्ता समातेर एकोहोरो बाहिर हेरिरहेका थिए ।

केही यात्रु भने साउती स्वरमा एक–आपसमा बोलेको सुनिन्थ्यो । १० मिनेटपछि हामी फेरि कोसी ब्यारेजमाथि उडिरहेका थियौँ । जहाजको बिचमा उभिएका नगेन्द्रले यात्रुलाई शान्त पार्ने प्रयास गरिरहेका थिए म निरन्तर उनको आवाज सुनिरहेको थिएँ ।

यस अपहरणमा तपाईंहरूलाई केही हुँदैन । जहाजबाट राष्ट्र बैंकको पैसा काठमाडौँमा जम्मा गर्न लगिँदै छ । हाम्रा नेता बीपी कोइरालाले घोषणा गर्नुभएको सशस्त्र क्रान्तिका लागि हामी यो पैसा लुट्दै छौं । त्यसपछि तपाईंहरू छुट्नुहुनेछ भनेँ ।

वास्तवमा त्यो नेपाली कांग्रेसको नेतृत्वमा पञ्चायती शासनविरूद्ध भइरहेको राजनीतिक विद्रोहको एउटा हिस्सा थियो । हामी सशस्त्र संघर्षको चरणमा थियौँ र त्यसलाई सञ्चालन गर्न पैसा चाहिएको थियो । त्यसैवेला नेपाल राष्ट्र बैंकले भारू ३० लाख विराटनगरबाट काठमाडौँतर्फ लैजान खोजेको थाहा पाएपछि हामीले बीपी र गिरिजाप्रसाद कोइरालाको निर्देशनमा त्यो विमान अपहरण गर्दै थियौँ ।

आफूहरूको उद्देश्य बताएपछि नगेन्द्रले बैंकका कर्मचारी दिलीपजङ्ग थापासँग विराटनगरबाट काठमाडौँ राष्ट्र बैंकमा जम्मा गर्न दिएको पत्र पनि मागेर लिए । उनी सुरुबाटै बैंकका ती कर्मचारीको सिटछेउ बसेका थिए ।

त्यसपछि यात्रुहरू शान्त देखिए । म ककपिटभित्र गएँ । जहाजका चालकले भन्न थाले –हामी ब्यारेजबाट अगाडि उड्दै छौँ । यहाँ नजिक एउटा सानो मैदान छ । त्यहाँ ल्यान्ड गरेर यात्रुलाई बचाउन सकिन्छ, हामी पनि बाँच्न सक्छौं । 

उनको कुरा सुनेर मलाई झनक्क रिस उठ्यो । मैले उत्तेजित भएर भनेँ–तपाईंलाई बाँच्न मन छ, बचाउन मन छ भने मैले भनेको मान्नुस् । किन यहाँ र त्यहाँ भनेर मेरो ध्यान भाँड्न खोज्नुहुन्छ ?

म पाइलटनजिकै उभिएको थिएँ । जहाज त कोसी पश्चिमको एउटा सानो सहरमाथि पुगेको देखियो । मैले पाइलटको कठालो समातें, किन अगाडि बढेको भनेँ । उनले मलीन स्वरमा जहाज आकाशमा उडिरहने वस्तु हो । बसजस्तो एक ठाउँमा रोक्न सकिँदैन । ल म फेरि उतै फर्काउँदै छु, तपाईं जे भन्नुहुन्छ, त्यही गर्छु भने । 

त्यसपछि म फेरि ककपिटबाहिर निस्किएँ । हाम्रो तनाव बढिरहेको थियो । पाइलटले पहिले नै इन्धन धेरै छैन भनिसकेका थिए । उत्रिनुपर्ने ठाउँ कहाँ हो, पत्तै लगाउन सकिएको छैन । जहाजमा निर्दोष मानिस छन् । हामीले यिनको जीवनसँग खेलबाड गरिरहेका छौँ भन्ने लाग्न थालिसकेको थियो ।

जहाज पुलमाथि उडिरहेको थियो । कसोकसो बाहिर हेर्दा मेलै पुल नजिकैबाट रेलको लिक पूर्वतिर गएको देखेँ । मलाई झट्ट याद आयो, यो लिक त फारबिसगन्ज जान्छ ! म एकदमै खुसी हुँदै चालकको कोठामा पसें र भनेँ –अब फारबिसगन्ज पत्ता लगाउन सकिन्छ । तपाईं जहाजलाई तल देखिएको रेलको लिक माथि–माथि उडाउनुस् । त्यो गएर फारबिसगन्जको रेल स्टेसन पुग्छ । त्यहीँबाट हामी उत्रने मैदान पनि देखिनेछ ।

यति भनेर म चालककै कुर्सीको डन्डीमा बस्न खोजें । तर, सकिनँ । मेरा खुट्टा एकदमै शून्य भइसकेका थिए । बस्न खोज्दा घुँडा नै दोब्रिएन । खुट्टा नदोबारी म त्यहाँ अडिएँ । जब उठ्न खोजें, सकिनँ । मर्ने डरले बाँच्ने उपाय सोच्न एकाग्र हुँदा मान्छेका अन्य अङ्गलाई मस्तिष्कले अरू आदेश दिँदो रहेनछ । त्यसवेला मलाई कसैले पक्रिन खोजेको भए ममा प्रतिकार गर्ने शक्ति थिएन । दायाँ हातको रिवल्भरलाई औंलाले यसरी कसेर पक्रिएको थियो कि मुट्ठी खोल्नै सकिरहेको थिइनँ । रिवल्भरको लिभरलाई दबाउन परेको भए चल्ने अवस्था थिएन । लामो समयदेखि दायाँ हातले समातेको हतियार बायाँ हातमा लिन खोज्दा मुठ्ठी खुलिरहेको थिएन । देब्रे हातको बलले औंला खोलेर रिवल्भर निकाल्नुपरेको थियो ।

चालकले जहाजलाई निकै तलबाट उडाइरहेका थिए । पाँच मिनेटपछि नै हामी फारबिसगन्ज स्टेसनको प्लेटफर्ममाथि पुग्यौं । म मूर्तिवत् उभिरहेको थिएँ । स्टेसनको पूर्वमा रहेको मैदानमाथि जहाज पुग्यो । मैदान छेउको ठुलो सिमलको रूखको टुप्पामा रातो कपडा पनि देखियो । मैले पाइलटलाई भनेँ, ‘यो मैदानमा विहार सरकारका साना जहाज उत्रिने गरेका छन् । यो जहाज पनि सानै छ, यहीँ उतार्नुपर्छ ।’

चालकले मतिर फर्केर हेर्दै भने – ‘एक राउन्ड लगाएर लोकेसन हेर्नुपर्छ । म जसरी पनि उतार्ने प्रयास गर्छु । 

अनि उनले जहाज घुमाउन थाले । जहाज घुमाउँदा घुमाउँदै क्याप्टेनले सोधे– के हो तलका मान्छेका हातमा पनि ग्रिनेड देखिन्छ । कृपया जहाज खाली गरेर मात्र एक्सन...

उनले बोली नसक्दै मैले तत्कालै भनेँ –हामी उत्रिएर सामान राखेको ठाउँबाट राष्ट्र बैकको बाकस निकालेपछि तपाईंले जहाजलाई तुरुन्तै उडाउनुपर्छ ।  जहाजलाई नोक्सान पु¥याउने हाम्रो योजना छैन । सबै यात्रु लिएर विराटनगर फर्किएर जाने मानसिकता बनाउनुहोस् ।

जहाजको चक्का झारेर चालकले उत्रने तयारी गरे । जहाजले मैदानको बिचमा जमिन छोएको आवाज आयो । मैदान उत्तर–दक्षिण फैलिएको थियो । उत्तरतिरको अन्तिम सीमामा जहाजलाई चालकले रोके । जहाज रोकिएपछि यात्रुहरू उठ्न खोजे । तर, नगेन्द्रले रिवल्भर माथि उचालेर कसैलाई पनि सिटबाट नउठ्न चेतावनी दिएपछि सबै बसे । नगेन्द्र र वसन्त हातमा हतियार लिँदै जहाजबाट ओर्लिन गेटमा पुगे । अघि मलाई समात्न झम्टने जहाजका कर्मचारीले नै ढोका खोलिदिए ।

मैले चालकलाई फेरि भनेँ –जहाजको इन्जिन चालु राख्नुहोस् र तलका साथीले सामान निकालेपछि तपाईंलाई जहाज उडाउने इसारा गर्नेछन् । अटेर गर्नुभयो भने उनीहरूले जे पनि कारबाही गर्न सक्छन् । 

पाइलटलाई यति भनेर म जहाजबाट झर्न ढोकातिर गएँ । म ढोकाको सिँढीमा पुग्दै थिएँ, जहाजका यात्रु एकै स्वरमा कराए– अब हाम्रो के हुन्छ ? हामी पनि यहाँ झर्छौँ ।’

मैले सम्झाएँ – पाइलटसँग हाम्रो कुरा भइसकेको छ । तपाईंहरूलाई केही हुँदैन । यो जहाज अब यहाँबाट विराटनगर नै फर्किन्छ । तपाईंहरू सकुशल पुग्नुहुन्छ । बरू, बाहिर निस्किन खोज्नुभयो भने बाहिर भएका हाम्रा साथीले कारबाही गर्न सक्छन् । यति भनेपछि कोही निस्किन खोजेनन् । 

मैले फेरि भनेँ – हाम्रो उद्देश्य तपाईंहरूलाई बन्धक बनाउने र खतरामा पार्ने कदापि होइन ।

म सिँढीबाट झर्न थालेँ । केही यात्रु उठेर फेरि आकाशमा उडिरहँदा हामीलाई बाँच्ने आशा थिएन । अब जहाज जमिनमा छ, हामीलाई बचाउनुस् भन्दै कराउन थाले । उनीहरूले यसो भनिरहँदा म जहाजबाट निस्किसकेको थिएँ । त्यहाँ पहिल्यैदेखि अरू साथीहरू हामीलाई पर्खेर बसेका थिए । जहाज अवतरण गर्नासाथ उनीहरूले राष्ट्र बैंकका सिलबन्द तीनवटा बाकस झिकेर जिपमा राखे, जसमा भारू ३० लाख थियो ।

मैले कर्मचारीलाई ढोका बन्द गर्न इसारा गर्दागर्दै उनले ढोका लगाइहाले । विराटनगरबाट बिहान ८ः१५ मा उडेको जहाज आकाशमा धेरै बेर रुमल्लिँदै ८ः४५ मा मात्र फारबिसगन्जमा उत्रिएको थियो । सीधा नाप्ने हो भने विराटनगरबाट फारबिसगन्जको दूरी जम्मा ३० किलोमिटरजति हो । तर, नक्सा नभएर आकाशमा रूमल्लिँदा हामीलाई ३० मिनेट लागेको थियो ।

जहाजबाहिर अगाडिपट्टि विनोद अर्याल उभिएका थिए । उनको हातमा ग्रिनेड थियो । उनले इसारा गरेपछि जहाज उड्न फारबिसगन्जको घाँसे मैदानमा गुड्न थाल्यो । र, छिनभरमा आकाशमा पुग्यो । त्यहाँबाट उत्तरतिरको दिशा समातेर आकाशमा कतै बिलायो । हामी भने मैदानमा तैनाथ गरिएका जिप चढेर फारबिसगन्जबाट टाढा अररियातिर लाग्यौँ । 

३० मिनेटको त्यो दुस्साहसले एउटा नयाँ इतिहास रचिसकेको थियो ।

सन्दर्भ सामग्रीः वसन्त भट्टराईसँगको कुराकानी, दुर्गा सुवेदीद्वारा लिखित ‘विमान विद्रोह’ र बीपीको आत्मवृत्तान्तलगायत

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप