शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वकप : मैदानभन्दा सामाजिक सञ्जालमा चर्को भीडन्त !

सोमबार, ०४ असार २०७५, १० : ३८
सोमबार, ०४ असार २०७५

‘हिँड्ने मान्छे लड्छ,’ पत्रकार सुशील पौडेल भन्छन्, ‘लियोनल मेस्सी लडेका हुन् । गन्तव्य हराएको होइन ।’

पत्रकार सइन्द्र राईको भनाइ छ, ‘मेस्सी इतिहास हुन् । उनलाई सम्मान छ ।’

नेपालले विश्वकप फुटबल नखेलुन्जेल अर्जेन्टिना छाडिन्न । पत्रकार ज्ञानेन्द्र खड्का सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, ‘हिजो म्याराडोना थिए । बाटिस्टा आए । अहिले मेस्सी छन् । हारजित र बराबरी खेलका नियम हुन् । कसैलाई केही भन्नु छ ?’

प्रतिउत्तरमा पत्रकार उजिर कार्की भन्छन्, ‘मलाई छ । मेरो पनि कुरा यही हो ।’

रूसको मस्कोमा रहेको स्पार्टाक रंगशालामा आइसल्यान्डले अर्जेन्टिनालाई झड्का दिएपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर ‘पोस्ट’ गर्ने कमी थिएन । अर्जेन्टिना समर्थकले आफूले समर्थन गरेको टिमको बचाउ गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखे भने विपक्षीले आ–आफ्नो तर्कसहित स्टाटस लेख्न कुनै आइतबार कुरेनन् । 

अर्जेन्टिना र आइसल्यान्डबीचको खेल १–१ को बराबरीमा रोकिएपछि अर्जेन्टिना पक्षधर र विपक्षीबीच फेसबुक स्टाटसमा दोहोरी चलेको थियो । दोहोरी आजसम्म पनि चलिरहेकै छ । रोकिएको छैन । दोस्रो हाफमा अर्जेन्टिनी कप्तान मेस्सीको पेनाल्टी आइसल्यान्डका गोलरक्षक हान्स पोर हाल्डरसनले बचाएपछि अर्जेन्टिना र मेस्सीलाई सान्त्वना दिने र गाली गर्नेको कमी छैन ।

अर्जेन्टिना र आइसल्यान्डको खेल सकिएलगत्तै पत्रकार दीपक खनालले लेखे, ‘मेस्सीहरूको पछि लाग्नेहरू यथास्थितिवादी हुन् । पश्चगामी हुन् । आफू त नौलो जनवाद ल्याउनुपर्छ भन्ने अग्रगामी मान्छे ।

कम्युनिस्ट सरकार भा बेंला पनि के बीचमा बस्नु । अहिलेसम्मको तटस्थता तोड्दै आइसल्यान्डलाई सलाम ठोकिन्च ।’

फेरि पनि हाम्रो हिरो मेस्सी नै हुन् । ‘उनी पनि मान्छे हुन्,’ प्रतिभा बोगटीको बुझाइ छ, ‘अनि हेक्का रहोस् । अस्तिको खेल हार होइन । बराबरीमा सकिएको छ ।’

‘अर्जेन्टिनाले लात्तेभकुन्डो जित्ला,’ पत्रकार केदार वाशिष्टको दाबी छ, ‘तर, मेस्सीको पराजय भइसक्यो ।’

पत्रकार डण्ड गुरुङले सुनाए, ‘विश्वकप जितिन्छ, ढुक्क हुनुहोस् पो भन्छ छोरोले ।’

पत्रकार गजेन्द्र बुढाथोकीले ट्वीट गरे, ‘छोराले झन्डै चुट्यो । नकराइस्यो । ब्याडलक । खराब त जसको पनि हुन्छ । हजुर हिँड्न नसक्ने होइसेला कहिले सोचिस्याथ्यो ? सिंहले रिसाउँदै भन्यो ।’

सामाजिक सञ्जाल फेसबुकमा राधिका ढकाल सोध्छिन्, ‘अर्जेन्टिनाका फ्यानको खबर ठीक छ नि ?’ 

‘फुटबललाई फुटबलकै रूपमा हेरेर मनोरञ्जन लिनू,’ पत्रकार मातृका पौडेल सुझाउँछन्, ‘बेलायती समर्थकजस्तो हुल्याहा र ब्राजिलियन समर्थकजस्तो अराजक नहुनू ।’ अर्जेन्टिना र आइसल्यान्डबीचको बहुचर्चित खेलमा आइसल्यान्डका खेलाडी ‘फुलफर्म’ मा थिए भने मेस्सी अन्तर्राष्ट्रिय दबाबमा रहेको पत्रकार पौडेलको ठम्याइ छ । 

अर्जेन्टिना । अर्जेन्टिना र फुटबल एकार्काका पर्याय । सन् १९७८ र १९८६ मा दुईपटक विश्वकप उचालिसकेको देश । सन् १९३०, १९९० र २०१४ मा उपविजेता बन्न सफल । ‘फुटबलको रणसंग्राममा यस्तो लामो र गौरवशाली इतिहास बोकेको अर्जेन्टिनाको सामुन्न बिचरा आइसल्यान्ड,’ नेकपा केन्द्रीय सदस्य अजम्बर राई काङमाङ भन्छन्, ‘अहिले भइरहेको छ, आइसल्यान्ड र अर्जेन्टिनाको रोमाञ्चक र बहुप्रतीक्षित प्रतिस्पर्धा । माफ गर अर्जेन्टिना र मेसी । म निर्धा आइसल्यान्डको पक्षमा उभिएँ । आखिर अजम्बरे जो, सबैखाले वर्चश्ववादको विपक्षमा उभिने गरेको छ ।’

महेश्वर फुयाल ‘विवेक’ को जिकिर छ, ‘मेसी आफैंमा विलक्षण प्रतिभाशाली खेलाडी हुन् । समकालीन विश्व खेलजगत्का एक विख्यात खेलाडी हुन् । तर, कुनै भगवान् वा दैवी शक्तिका प्रतीक होइनन् ।’ सामान्य मानिस नै हुन् । फुयालले थपे, ‘समर्थन गर्नेले देवत्वकरण गर्नु र विरोधीहरूले दानवीकरण गर्नु दुवै अतिवादी चिन्तन हो । केवल एक पेनाल्टी ‘मिस’ गर्दैमा मेसी मुसाचैं हुँदैनन् । यो कुराको हेक्का सबैले राख्दा राम्रो ।’ 

नायिका श्वेता खड्कासमेत अर्जेन्टिनाका समर्थक हुन् । उनले अंग्रेजीमा भनिन्, ‘आई एम सपोर्ट द टिम अर्जेन्टिना.... ह्वाट एबाउट यु अल ?????? किप काल्म एन सपोर्ट मेस्सी ???? एन्ड मी एज वेल ।’


‘आफू त एकपटक मुन पराछि परायो–परायो तालको मुन्छे परियो,’ साबित्रा राई सुनाउँछिन्, ‘आजको गेममा गोल नहान्दैमा पार्टी परिवर्तन अरिन्दैन । मेस्सीलाई गाली गर्दा त आफ्नो मुन कटक्कै भन्या । झन् मेस्सी सपोर्टरलाई पनि उडाउनु उडाएचन बाइ यतातिर ।’

भेडा भेडासित, बाख्रा बाख्रासित भन्ने नेपाली उखान त्यत्तिकै प्रचलित छ । एउटै पक्षधरलाई अर्जेन्टिनाको जर्सी लगाउने सबै आफ्नैजस्तो लाग्नु अनौठो होइन । ‘फ्रेन्ड रिक्वेस्ट पठाउँदा अर्जेन्टिनाको जर्सी लाको प्रोफाइल फोटो,’ ब्रुनाइमा रहेकी सुष्मा रूपाबुङ राईले अचम्म मानिन्, ‘रिक्वेस्ट एसेप्ट गरिसकेपछि प्रोफाइल फोटो ब्राजिलको जर्सी लाएको देख्छु । होइन मेरो दृष्टिभ्रम हो कि साथीको फ्रेन्ड रिक्वेस्ट एसेप्ट गराउने रणनीति हौ ?’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप