बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

त्रिपाठीले पार्टी बनाउँछन् कि राजपा सिध्याउँछन् ?

आइतबार, १० असार २०७५, १२ : ३९
आइतबार, १० असार २०७५

काठमाडौं– प्रतिनिधिसभा सदस्य ह्रदयश त्रिपाठीको समूहले ‘स्वतन्त्र राजनीतिक समूह’ लाई पार्टीको रुप दिने तयारीमा लागेका छन् । 

यद्यपी उनीसँग दुई विकल्प अहिले पनि कायमै छन् । 

राष्ट्रिय जनता पार्टी राजपा नेपाल छाडेर स्वतन्त्र राजीतिक समूह गठन गरि एमालेको चुनाव चिन्हबाट निर्वाचनमा भाग समेत लिएका त्रिपाठले छुट्टै पार्टी बनाउने एउटा विकल्प छ भने एमालेमा मिसाउने अर्को विकल्प । 

तर, समूह गठन भएपछि त्यसप्रति एमालेको जुन चासो थियो, अहिले त्यसमा कमी आएको छ । त्यतिबेला एमालेले नै एकीकरण गरौं भन्ने प्रस्ताव गरेको थियो ।

 त्यतिबेला नेता त्रिपाठीले अहिले हतार नगरौं भनि थामथुम पारेका थिए । 

तर, अहिले एमालेले वास्ता गर्न छाडेपछि समूहले पार्टीको रुप दिने  तयारी लागेको बताइन्छ । त्यसका लागि भेला बोलाउने तयारी भइरहेको छ । 

शुरुमा प्रदेशस्तरको भेला गर्ने त्यसपछि राष्ट्रिय भेला गरेर एउटा निर्णय लिने समूहका नेता ईश्वर दयाल मिश्रले बताए ।

उनले भने, ‘समूहलाई के गर्ने भनि समान्य छलफल चलेपनि कुनै ठोस निष्कर्ष निस्केको छैन, प्रदेशस्तरको भेलाहरु गरेर मात्र एउटा निर्णय लिन्छौं । अहिले कसैसँग मर्ज गर्न पनि हतार छैन, पार्टी बनाउने हतार पनि छैन ।’

कसैले पाँच नम्बर र दुई नम्बर मिलाएर पार्टी बनाउ भन्ने सल्लाह दिइरहेका छन् भने कसैले एक, दुई र पाँच मिलाएर पार्टी बनाउन सुझाव दिइरहेका छन् । 

कसैले राष्ट्रिय पार्टी बनाउ भनेका छन् भने कसैले कुनै पार्टीसँग एकीकरण गर्न सल्लाह दिइरहेको मिश्रले बताए ।

उनले अनौपचारिक छलफलहरुमा विभिन्न कुराहरु आइरहेका छन् तर कुनै निष्कर्ष निस्कन नसकेको बताए ।

समूहबाट चारजना प्रतिनिधिसभा र तीनजना प्रदेश सांसदमा सूर्य चुनाव चिन्ह लिएर निर्वाचनमा भाग लिएका थिए । 

त्यसमध्ये प्रतिनिधिसभामा दुईजना र प्रदेशसभामा तीनै जना चुनाव जितेका छन् ।  

प्रदेशसभामा तीनजना चुनाव जितेकामध्ये एकजना तत्कालीन एमालेमा प्रवेश गरिसकेका छन् ।

समूहका संयोजक त्रिपाठी नवलपरासी पश्चिम क्षेत्र नम्बर १ बाट चुनाव जितेका छन् भने वृजेश गुप्ता कपिलवस्तु २ बाट चुनाव जितेका छन् । 

दुईजना संघीय सांसद र दुईजना प्रदेश सांसद लिएर बसेको स्वतन्त्र राजनीतिक समूहलाई एमालेले वास्ता नगर्नुको एउटै कारण हो चुनाव चिन्ह ।

सूर्य चुनाव चिन्हबाट निर्वाचन जितेका उनीहरु चाहेर पनि एमालेको विरुद्धमा जान सक्दैन । एमालेबाहेक अरु कुनै पार्टीमा जान पनि सक्दैनन्। 

समूहसँग विकल्प छ, छुट्टै पार्टी बनाउने वा नेपाल कम्युनिष्ट पार्टीमा मर्ज हुने । 

छुट्टै पार्टी बनाएपछि अन्ततः पछि नेकपासँग नै मिसिनुपर्ने हुन्छ त्यहीँ भएर पार्टी बनाउन हतार नगर्ने एक पक्षको सोचाइ छ । 

प्रतिनिधिसभा सांसद एवं समूहका नेता वृजेश गुप्ताले भने, ‘शुरुमा एमालेसँग मर्ज गर्ने कुरा चलेको थियो, अहिले त्यो पनि हराएको छ, कहिलकाँही साथीभार्इमा अनौपचारिक कुराकानी भयो भने भयो नभए केही आगाडि बढेको छैन । केही कुराकानी भएपनि खासै प्रगति भएको नेता छैन्।’  

राजपाका नेता त्रिपाठीप्रति आकर्षित

त्रिपाठीले आफ्नो समूहलाई कुनै ठोस रुप दिए राजपा नेपालबाट थुप्रै नेताहरु त्यसमा सहभागी हुने बताइएको छ । 

राजपा नेपाल भित्रको यस्त व्यस्तता र अन्तरिक किचलोका कारण थुप्रै नेता त्रिपाठीतिर आकर्षित भएका छन् । 

राजपा नेपालकै कतिपय नेताहरुले त्रिपाठीलाई छिटो कुनै निर्णय दवाव दिइरहेका छन् । तर, त्रिपाठीले अझै केही पर्खौं भन्दै आएका छन् ।

राजपा नेपालका नेताहरु त्रिपाठीको निरन्तर सम्पर्कमा रहेका छन् ।

समूहका नेता वृजेश गुप्ताले भने, हामीले राजपा नेपालबाट अलग भएको बेलादेखि नै थुप्रै नेताहरु हाम्रो सम्पर्कमा आउनुभयो । पार्टी नै बनाउ पनि भन्नुभयो तर हामीले त्यतिबेला त्यतातिर ध्यान दिएनौ । त्यतिबेला हाम्रो आफ्नै कुनै ठेगान थिएन, त्यसमा अरु साथीलाई साथमा लिएको भए व्यवस्थापन गर्ने समस्या हुने देखिएको थियो । त्यतिबेला आआफ्नो तरिकाले अगाडि बढेको हो । ’ 

नेता इश्वार दयाल मिश्रले भने, अहिले पनि राजपा नेपालका नेताहरुसँग मात्र होइन, दुई नम्बर प्रदेशका विभिन्न दलका नेताहरुसँग कुराकानी भइरहेको छ, थुप्रै नेता हाम्रो समूहमा आवद्ध हुने चाहना राख्नुभएको छ तर अहिले हामीले रोकेका छौं । हामी एउटा कुनै निर्णयमा पुगेपछि मात्र केही गर्छौं ।’

संघीय संसदको अधिवेशन सकेपछि समूहको बैठक बस्ने बताइएको छ । प्रदेश ५–७, प्रदेश १–२ र प्रदेश ३ को छुट्टा छुट्टै भेला गर्ने तयारी भइरहेको छ । यो भेला पनि एउटा राष्ट्रिय भेला गरेर केही निर्णय लिने तयारीमा छ स्वतन्त्र राजनीतिक समूह ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप