शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय
अमूल्य अमूल

जो बाजा बजाएरै सेनाको जर्नेल भए, अमूल कार्कीको प्रेरणादायी कथा

शनिबार, २४ साउन २०८२, १५ : ५६
शनिबार, २४ साउन २०८२

सारांश

  • अमूल कार्की, नेपाली संगीतमा ४० वर्षदेखि सक्रिय, एक सफल संगीत साधक हुन्।
  • अमूल कार्की नेपाली सेनाको ब्यान्डको कमाण्डर बनेर नेपाली संगीतलाई विश्वसामु चिनाए।
  • उनले नेपाली सेनामा विभिन्न पदहरूमा रहेर संगीतको क्षेत्रमा योगदान पुर्याए, जसमा स्कटल्यान्डमा नेपाली संगीतको प्रस्तुति पनि समावेश छ।

नेपाली संगीत पारखीका लागि भारतीय गजल गायक जगजित सिंहको आवाजमा एउटा गीत बजारमा चर्चित भयो– कुन माया सदर भो मेरो माया बदर भो....। यो गीतलाई उत्कृष्ट बनाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए, संगीत संयोजक अमूल कार्की ढलीले ।

शब्द र संगीतको मर्मलाई बुझेर उनले बाजागाजाको उत्कृष्ट संयोजन नगरेको भए न त्यो गीत कर्णप्रिय पो हुँदैनथ्यो कि !  यसको अर्थ यो हैन कि जेबी संयोगीको शब्द कमजोर थियो वा आलोक श्रीको संगीत अथवा जगजित सिंहको आवाज नै फिका थियो । तर, गीतहरूको चर्चा हुँदा स्वरको मात्र चर्चा गर्ने परम्पराले गर्दा अमूल कार्की जस्ता अब्बल संगीत संयोजकहरु ओझेलमा पर्नु दुखद कुरा पक्कै हो । अझ वाद्यवादकको कुरा त कहाँ हो कहाँ । नेपालीको महान् पर्व दसैँको ‘सिग्नेचर सङ्ग’ दसैँ आयो.....पनि उनै अमूलकै संगीत संयोजनको गीत हो भन्दा झन् प्रष्ट हुन्छ उनको अब्वलता । 

दोलखाको चरिकोटबाट थातथलो छोडेर नेपाल खाल्डो (काठमाडौँ) पस्दा दिर्घसिंघ कार्की ढली बाजेले सायदै सोचे होलान् आफ्ना सन्ततिहरूले भरेको संगीतको धुनले नेपालको कुना कन्दरा घन्किनेछ, नेपाली सेनाले अजम्मरी स्रष्टाहरू पाउने छ र समग्र देशले सम्मानयोग्य छोराहरू पाउनेछ ।  सन्तानले पनि आफ्ना पिता पुर्खाले देखाएको बाटोमा नढल्मलाइकन हिँड्नु पर्छ र उनीहरूले सिकाएको धर्म नछोडे पुर्खाको आशीर्वाद लाग्नेछ भन्ने मर्मलाई कहिल्यै पनि बिर्सेनन् । र त चाहेको र देखेको सपनाले मूर्त रूप लिएको छ उनीहरूको । साधना नै सफलताको जननी हो भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै अघि बढेका कार्कीका चार पुस्ता नेपाली संगीत इतिहासमा नमेटिने नाम बनेका छन् । 

उनै चरीकोटे बाजे दिर्घसिंघ कार्की ढलीका पनाति अमूल कार्की विगत चालिस वर्षदेखि अनवरत संगीत साधनामा लिप्त एउटा सफल संगीत साधकको नाम हो । दिर्घसिंघ बाजेका छोरा टेक बहादुर, उनका चार भाइ छोरा मध्येका जेठा विश्वनाथ, उनका छोरा अमूल र अमूलका छोरा एलिस संगीत कर्मले पनि पुर्खाको नाम अमर बनाउन सकिन्छ भनेर लाग्ने संगीत सारथिहरू हुन् । यिनीहरूको जीवनशैली, पेसा, व्यवसाय, ख्यातिको कारण सबै सबै संगीत नै हो । यो परिवारको एक उत्कृष्ट सर्जकको रूपमा र उच्च ओहोदामा पुग्न सफल अमूल कार्कीको सेरोफेरोमा यो आलेख केन्द्रित रहनेछ । 

नेपाली सेनाको ब्यान्डमा सर्वोत्कृष्ट पदसम्मको कीर्तिमान राखेको यो परिवारलाई संगीत भन्दा बाहिरको संसारको कुनै मतलब छैन । नेपाली सेनाका पूर्व ब्रिगेडियर जेनेरल हुनु, संगीतकार अमूल कार्की ढली ।  आफ्ना सन्तान दर सन्तानले नेपाली संगीत आकाश यसरी सिँगार्न योगदान देलान् भन्ने अमूलका जिजुबाले सपना पो देखेका थिए कि ? र त त्यतिबेला नै नेपाल खाल्डोमा आफ्ना सन्तानलाई बसाइँ सारेर ल्याए । त्यो त्यही क्रूर समय हो, जहिले जातका आधारमा मानिसलाई उच्चा र निचा गरिन्थ्यो । तर अमूलको परिवारले आफ्नो क्षमताका आधारमा आफ्नो सामाजिक स्थान निर्धारण गरे । बाजागाजा बजाएर जीविकोपार्जन गर्ने समुदायलाई अझै पनि जुन व्यवहार गरिन्छ, आफ्नो परिवारले त्यस्तो भोग्नु नपरेको अमूल बताउँछन् । 

508240351_30380629821527930_1926466484036398946_n

टेक बहादुरका चार भाइ संगीत खम्बाहरू

चरिकोटे कार्की बाजेका छोरा टेक बहादुर त्यो जमानाका नामुद संगीतकार, कहलिएका संगीत गुरु अनि उम्दा वाद्यवादक । त्यो जमानाको सेनामा उनी संगीत शिक्षकको रूपमा काम गर्दथे । प्रतिष्ठित संगीत साधकहरूले पनि टेक बहादुरलाई गुरु मान्थे अरे । त्यही रगत जसमा संगीतको मात बगेको छ, आज पर्यन्त पनि बगिरहेकै छ । 

अमूलका पिता विश्वनाथ कार्की ढली, टेक बहादुरका जेठा छोरा पनि सुरुमा त तत्कालीन शाही नेपाली सेनामा बाद्यवादकका रूपमा जागिरे थिए । तर उनलाई जंगी जीवन मन नपरेरै त होला त्यहाँबाट बाहिरिए । त्यहाँबाट बाहिरिए पनि उनले संगीतबाट अलग हुने त कुरै भएन किनभने संगीत नै कार्की परिवारको धर्म थियो र हो । राष्ट्रिय नाचघरको वाद्य निर्देशक जस्तो गरिमामय पदसम्म पुगेर विश्वनाथ संगीतको कर्ममा रमाए । सम्भवतः विश्वनाथ नेपालबाट बाद्यवादकको रूपमा विदेश भ्रमण गर्ने पहिलो नेपाली हुन् । उत्तर कोरियादेखि रसियासम्म उनले आफ्नो कला कौशल प्रस्तुत गरेका थिए । बाजागाजासँग खेल्दै विश्वनाथले संसार छोडे ।

उसो त टेक बहादुरका बाँकी तीन भाइ छोरामध्ये माइला मोहन कृष्ण आज पनि एकल भ्वालिन वादनमा सक्रिय नाम हो । तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा वाद्य संगीत निर्देशकसम्मको जिम्मेवारी निभाएका मोहनकृष्ण यो क्षेत्रले बिर्सन नहुने नाम हो । 

साइँला नारायण दास नेपालका अब्बल ट्रम्पेट र भ्वाइलिन बादक हुन् । उनी सेनाका अवकाशप्राप्त प्रमुख सेनानी समेत हुन् । कान्छा कमल परियार नेपाली संगीत बजारका कुशल वाद्यवादक थिए । उनले चेलो नामक बाजा बजाउँथे । लामो समय रेडियो नेपालमा संगीत निर्देशक भएर काम गरेर नेपाली संगीताकाशमा आफ्नो नाम स्वर्णिम अक्षरले लेखाएर संसारबाट बिदा भए । बाजागाजाका यी सिद्धहस्त नामहरूले जुन उचाइमा नेपाली संगीतलाई पुर्‍याए, यो योगदान सायदै कुनै एउटा परिवारले पुर्‍याएको छ । त्यही हाँगो अमूल कार्कीले नेपाली सेनाको ब्यान्डका कमान्डर सम्म भएर नेपाली संगीतलाई विश्वसामु समेत चिनाए ।

अमूल जर्साव

सामान्यतया पुर्खाको पेसालाई अँगाल्नु स्वाभाविक नै हो तर अँगालेको पेसा आफ्नै रुचि अनुसारको मिल्नु चाहिँ संयोग नै होला । अमूलले पनि यही दुर्लभ संयोगलाई आफ्नो जीवन धान्ने माध्यम सँगसँगै कला मार्फत ईश्वर प्राप्त गर्ने बाटो बनाए । वामे सर्दादेखि नै संगीतका साधन स्पर्श गर्न पाउनु चानचुने भाग्यको कुरा पक्कै होइन नै । 

हुनु पर्ने भन्दा बढी चर्चाले थिचिएका धेरै मान्छेहरूको बिचमा गुमनाम जस्तै भएर एकोहोरो संगीत साधनामा रमाइरहेको एउटा जिउँदो इतिहासको नाम हो अमूल कार्की ढली । बागबजार काठमाडौँमा जन्मेको एउटा कलकलाउँदो केटो एघार वर्षकै उमेरमा तत्कालीन शाही नेपाली सेनामा प्रवेश गरेर सेनाको संगीत ब्याण्डको सर्वोच्च पदमा पुगेको उनी आफैँलाई सपना जस्तै लाग्दो हो । तर उनले गरेको संघर्ष र मेहनत नै उनको सफलताको कडी हो ।  तत्कालीन समयमा नेपाली सेनामा ब्वाइज विभागमा भर्ती गरेर सानै उमेरदेखि तालिम दिने चलन थियो जुन कालान्तरमा बाल अधिकार जस्ता प्रावधानहरूले खारेज भयो । 

अमूलले सेनाभित्र बजाएको पहिलो बाजा हो कन्सर्ट फ्लुट, एक किसिमको बाँसुरी । उतिखेरको चलन अनुसार रुचि अनुसारको बाजा आफ्नो भागमा पर्दैनथ्यो । जीउडाल हेरेर बाजाको आकार अनुसार उनको भागमा यो बाजा परेको थियो । कस्तो अचम्म, अरूले भिडाएर थमाई दिएको बाजा नै अमूलको व्यावसायिक जीवनको सफलताको माध्यम बन्यो । तर अहिले त्यस्तो छैन, रुचि अनुसारको बाजा छनोट गर्न पाइन्छ । कमान्डर थिए, त्यतिबेलाका सुप्रसिद्ध स्याक्सोफोन बादक मनश्याम वैजु । उनको कडा अनुशासनभित्र रहेर बाजागाजामा हातहरू सलबलाउँदा सलबलाउँदै अमूल सोह्र वर्षका भए र सुरु गरे सेनाको पूर्ण दर्जा सहितको सिपाहीको जागिर । 

501323426_30095533973370851_1885067073215933301_n

यतिबेलासम्म अमूल कन्सर्ट फ्लुटबाट सोलो क्लारिनेटमा दर्जान्तरण भइसकेका थिए । सुरुमा शरीरको आकारका आधारमा अरूले नै दिएको बाजबाट उनको यात्रा सुरु भएपनि क्लारिनेट उनको आफ्नै रुचिको बाजा थियो । बाबु विश्वनाथले सैनिकको जागिरबाट धेरै पहिले नै हात धोइसकेको कारण अमूलले आफू सेनाको ब्याण्डमा उपल्लो दर्जामा पुग्छु भन्ने कहिले पनि सोचेनन् रे । सायद त्यतिबेला आफन्तको सहारामा उपल्लो दर्जामा पुगेकाहरूको रवाफ अमूलले नजिकबाट देखेका थिए हुनन् । तर कर्मको निरन्तरताले उनलाई नेपाली सेनाको जर्नेल बनायो । यो उपलब्धिमा अमूल औधी सन्तुष्ट छन् । आफूले सकेको र भ्याएको दिन भने कहिले पनि चुकेनन् अमूल । 

जङ्गी अनुशासन, संगीतमा केही गर्नुपर्छ भन्ने हुट्हुटी अनि पुर्खाले रगतमै दिएको संगीतप्रतिको मोहले अमूल आजका अमूल भएका हुन् । जागिरकै सिलसिलामा उनले सन् १९९३ मा भारतबाट संगीतको विस्तारित तालिम लिएका हुन् । सेनाको ब्यान्डको सर्वोच्च पदमा पुग्न आवश्यक कोर्स, ब्यान्ड मास्टर्स भने उनले सन् १९९६ मा पाकिस्तानबाट लिएका हुन् । यो कोर्सले अमूललाई बाजा बजाउने, आफ्नो ब्यान्डको व्यवस्थापन गर्ने, कण्डक्टिङ्गको काममा उनलाई पोख्त बनायो । एसिया लगायत विश्वका धेरै देशबाट आएका पैँतिस सहपाठीहरुकाबीचमा अमूल सर्वोत्कृष्ट हुँदै स्वर्ण पदक समेत प्राप्त गरे । उसो त ती तालिमहरुको लागि पनि आफ्नो संगठनभित्र सबैलाई उछिनेर गएका हुन् उनी । यसरी तत्कालीन शाही नेपाली सेना हुँदै नेपाली सेनाको ब्यान्डको कमाण्डिङ गर्दै जर्नेल भएर जागिरे जीवनलाई विट मारे अमूल जर्सावले । जागिरलाई केवल तलब थाप्ने माध्यम मात्र बनाएनन् उनले बरु संगीत र बाजाहरूलाई जनमानसमा चिनाए । 

नेपाली संगीतको अन्तर्राष्ट्रिय प्रचार

नेपाली सेनाको जागिरसँगै नेपाली संगीतलाई अन्तर्राष्ट्रियकरण गर्न अमूलले गरेको योगदान पनि चर्चा गरेर नसकिने खालको छ । दक्षिण एसियाका सबै देशहरूमा अमूल र उनको समूहले प्रस्तुति दिइसकेका छन् । सन् २०१६ मा स्कटल्यान्डमा प्रस्तुत गरिएको नेपाली संस्कृति झल्कने उनको संगीत सृजनाले अबका कयौँ वर्षहरू स्कटल्यान्डको कार्यक्रमस्थलमा नेपालको झन्डा फहराउने छ । एकपटक त्यहाँ प्रस्तुति दिएको राष्ट्रको झन्डा नियमित रूपमा राख्ने चलन रहेछ । त्यस कार्यक्रममा नेपालीहरूले देखाएको बाजा कौशललाई बेलायतीहरूले मुक्तकण्ठले प्रशंसा गरेको अमूल अहिले पनि सम्झन्छन् । 

2f221ce1-5979-4754-a235-58aa62392a90

हरेक अगस्ट महिनामा एडिन्ब्रामा ‘एडिन्ब्रा मिलिटरी टाटु’ नामक साङ्गीतिक महोत्सव हुन्छ । विश्वका उत्कृष्ट संगीत ब्यान्डहरूले मात्र भाग लिन पाउने उक्त कार्यक्रममा अमूलले नेपालबाट ५५ जनाको टोलीको नेतृत्व गरेका थिए । त्यहाँ जानको लागि पनि उतैबाट नेपाल आएर प्रस्तुति हेरेपछि मात्र अमूलको टोलीलाई छनौट गरिएको थियो । यो कार्यक्रममा दक्षिण एसियाबाट पहिलो पल्ट नेपालले प्रस्तुति दिएको थियो । अझ गर्वको कुरा त त्यहाँको प्रस्तुतिपछि छानिएका नेपाल आर्मीको ब्यान्ड र न्युजिल्याण्ड आर्मीको ब्यान्डले स्कटल्यान्डमा अमिट छाप छाडेर आए । 

नारायण गोपाल र अमूल

नारायण गोपालको तिमी जुन रहरले ममा फुल्न आयौ गीतमा गितार बजाउन समेत मौका पाएका रहेछन् उनले । त्यसबेलाका वरिष्ठ गितार वादकहरू सुवर्ण लिम्बु, मदनसिं लगायत रेडियो नेपालको रेकर्डिङ तालिकाको दिनमा अन्य साङ्गीतिक प्रस्तुतिका लागि विराटनगर गएकाले अमूलले त्यो स्वर्ण अवसर पाएका रहेछन् । अनेकौँ प्रयास गर्दा पनि प्राविधिक कारणले त्यो दिन नारायण गोपालको उक्त गीत रेकर्डिङ भने भएनछ । भर्खर जुँगाको रेखी मात्र पलाएको एउटा फुच्चे गितार वादकका कलिला औँलाले बजाएको बाजाले नारायण गोपालको गीतलाई समेत सजाउने मौका पाएछ । हार्मोनियम लिएर भित्री कोठामा गीत गाउन तयार भएर बसेका नारायण गोपालको तस्बिर अझै अमूलको आँखामा कैद छ । 

नारायण गोपालको स्वर्गवास पछि म्युजिक नेपालले उनले गाएका संगीतकार दीपक जंगमका तीनवटा गीतहरू तिमीलाई म के भनूँ, एउटा मान्छेको मायाले कति र साउनको झरी बनी तिमी आऊ न लाई नयाँ बाजा संयोजन गर्ने अठोट गर्‍यो । नारायण गोपालको स्वरलाई गीतबाट अलग गराएर नयाँ संगीत संयोजन गर्ने काम उनै अमूलले गरेका थिए । नारायण गोपालसँग यसरी जोडिन पाउनु एउटा संगीत साधकका लागि गर्वको कुरा त हुने नै भयो नि ।

सिम्फोनीदेखि अवकाश जिन्दगीसम्म

नेपाली संगीत एनालग प्रविधीमै हुँदा अमूल कार्की संगीत संयोजनमा प्रवेश गरिसकेका संगीतज्ञ हुन् । गीत रेकर्डिङको लागि रेडियो नेपालको स्टुडियो मात्र एक मात्र विकल्प थियो लामो समय तर निजी क्षेत्रका केही उत्साही संगीतप्रेमीहरुले चालिसको दशकमा काठमाडौँमा रेकर्डिङ स्टुडियो खोलेका थिए । म्युजिक नेपाल, अल्ट्रा साउन्ड, सिम्फोनी आदि स्टुडियाले एनालग फोर ट्राक प्रविधिमा काम सुरु गर्दा सिम्फोनीमा आबद्ध भएर अमूल संगीत संयोजनमा लागिसकेका थिए । 

1cb90696-dcaa-4f14-a112-b3d913451483

त्यसताका दीप तुलाधर, भूपालमान सिंह डंगोल, सचिन सिंह, पासाङ शेर्पा जस्ता अब्बल र स्थापित संगीतज्ञहरुसँग उनको बसउठ सुरु भैसकेको थियो । बच्चु कैलाशदेखि प्रितम राईसम्म उनले सहकार्य गरेका कलाकार हुन् । नातिकाजीदेखि अहिलेका छोरा पुस्तासम्मका गीतलाई बुट्टा भरेका संगीतज्ञ अमूल अहिले पनि सबैभन्दा व्यस्त वाद्यवादक र संगीत संयोजक कहलिन्छन् । भारतीय कलाकार आशा भोश्ले, जगजित सिंह, सजीवनी सिंहहरुसँग पनि उनको सहकार्य जमेको थियो कुनै बेला । 

जागिरे जीवनको जङ्गी व्यस्तताबाट केही राहत मिले पनि उनलाई अहिले पनि बाजा बजाउन र बाजा संयोजन गर्न भ्याइनभ्याई छ । गितारदेखि, ड्रम र स्याक्सोफोन देखि क्लारिनेटसम्म सबै बाजामा पोख्त संगीतकार कोही छ भने त्यो अमूल कार्की मात्र हो । वरिष्ठ संगीतकार सुरेश अधिकारिको शब्द सापटी लिने हो भने अमूल कार्कीले कुनै पनि बाजा बजाउनु पर्दैन, बाजाहरू उहाँको इसारामा आफैँ बज्ने गर्दछन् । 

गोर्खा दक्षिण बाहु, जनसेवाश्री पदक, दीर्घ सेवा पदक, नातिकाजी संगीत सम्मान जस्ता प्रतिष्ठित मान पदवीबाट अमूलको कामको मूल्याङ्कन भैसकेका छन् । तत्कालीन दरबारका औपचारिक कार्यक्रमदेखि अन्तर्राष्ट्रिय मञ्चहरूमा आफ्नो प्रस्तुतिले सबैलाई मन्त्रमुग्ध पारेका अमूल अहिले काठमाडौँका स्टुडियोहरूमा औँला चलाइरहेका भेटिन्छन् । नेपाली चलचित्रको पार्श्व संगीतमा पनि अमूलको दक्ष हात चल्ने गर्छ । 

छोरा एलिस उनलाई पछ्याउँदै संगीत कर्म मै शिखर चढ्दैछन् । यसरी एउटा सफल संगीतज्ञको जिन्दगी व्यस्त संगीत बजारमा आफूलाई सर्वोत्कृष्ट सावित गर्दै भावी पुस्तालाई सिकाइरहेको छ, जगाइरहेको छ । अमूलको मनको भित्री कुनामा बजेको बाजाको झंकारले संगीतका पारखी सबैलाई आल्हादित पारिरहेको छ । संगीतका अमूल्य रत्न अमूल । सलाम अमूल जर्साब । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. निरञ्जन सापकोटा
डा. निरञ्जन सापकोटा
लेखकबाट थप