शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

टीकापुरका महिला सीप सिकेर आयआर्जन गर्दै

शनिबार, १३ असार २०८३, ०४ : १३
शनिबार, १३ असार २०८३

कैलाली । टीकापुर नगरपालिकाको सामी कार्यक्रमले यहाँका महिलालाई वित्तीय साक्षरता कक्षा दिएपछि सीप सिकेर आत्मनिर्भर बन्न थालेका छन् । वैदेशिक रोजगारीमा रहेका परिवारका महिलाले श्रीमान्को कमाइ बचत गर्नुका साथै सीपमार्फत आफूहरू स्वरोजगार बन्न थालेका हुन् ।

‘स्वदेशमा रोजगारी गरौँ, वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना र सीप सिकेर मात्र जाऔँ’ भन्ने नाराका साथ वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनका लागि सामी कार्यक्रमले सघाउँदै आएको छ । सामीले मनोसामाजिक परामर्श सेवा र वित्तीय साक्षरता कक्षामा सहभागी गराएपछि आफूहरूको जीवन फेरिनुका साथै आयआर्जनका कार्यमा लागेका महिलाहरू बताउँछन् ।

वित्तीय साक्षरता कक्षामा सहभागी भएपछि टीकापुरको सत्तीकी विपना गुरुङमा आत्मविश्वास बढेको छ । उनले दैनिक जीवनमा आइपर्ने व्यवहारिक ज्ञान, रकमको महत्वलगायत बारेमा बुझेको बताउँदै विदेश जानै परे सीप सिकेर मात्रै जानुपर्छ भन्ने जानकारी पाएको उल्लेख गरिन् ।

विपनाका श्रीमान् सुरुमा विदेश जाँदा तालिमबिना गएका थिए । उनले विदेशमा धेरै कठिन काम गर्नुपर्‍यो । सीप सिकेर मात्रै विदेश जानुपर्छ भन्ने सिकेपछि विपनाका श्रीमान् पछिल्लो पटक स्वदेश फर्किएर तालिम लिएपछि वैदेशिक रोजगारीमा गएको उनले बताइन् । “राम्रो कमाइ भइरहेको छ । वित्तीय साक्षरता कक्षापछि विपनाले टीकापुर नगरपालिकाले दिएको वेतबासका फर्निचर निर्माणसम्बन्धी ४५ दिने तालिम लिनुभयो”, उनले भनिन् ।

तालिमपछि सत्तीमा विपनाले रोजगारी पाएकी छन् । अहिले उनको कमाइले घर खर्च चलेको छ भने श्रीमान्को कमाइ बचत हुने गरेको छ । “पहिला घर खर्च धेरै हुन्थ्यो, श्रीमान्को कमाइ घर खर्चमै सकिन्थ्यो”, उनले भनिन्, “पालिकाले तालिम दिएपछि सीप सिकेर स्थानीय तिलगङ्गा बेतवास फर्निचर उद्योगमा काम गरिरहेकी छु । अब म घरमै बसेर बेतवासका फर्निचर बनाएर कमाउन सक्छु ।”

वित्तीय साक्षरता कक्षामा वैदेशिक रोजगारीमा जाने परिवारका महिला सदस्यलाई विदेशको कमाइ कसरी बचत गर्ने र स्वदेशमै आयआर्जन गरी आम्दानीका स्रोत कसरी बढाउने भन्ने विषयमा सिकाइन्छ । उनीहरूको अनावश्यक खर्च घटाउने, खर्च र आम्दानीको हिसाबकिताब राख्नेलगायत दैनिक अनावश्यक पर्ने विषयमा सचेत भइएको तालिममा सहभागी महिला बताउँछन् । यस वर्ष टीकापुरका दुई ठाउँमा वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको थियो ।

पना जस्तै टीकापुर नगरपालिका–२ कोठारपुरकी सीता चौधरीको वित्तीय साक्षरता कक्षापछि जीवन फेरिएको छ । श्रीमान् विदेशमा हुँदा उनको कमाइ पर्खेर बस्ने सीतालाई तालिमपछि खर्च र आम्दानीको लेखाजोखा, सीप सिकेर स्वरोजगार बन्नुपर्छ भन्ने ज्ञान भएपछि उनले पनि मेड्पा कार्यक्रमअन्तर्गत तालिम लिइन् ।

सुरुमा सिलाइकटाई तालिम लिएर अरुको पसलमा काम गरेकी सीता अहिले आफैँले टेलर सञ्चालन गर्दै आएकी छिन् । पसलबाट प्रशस्त आम्दानी भइरहेकाले दैनिक पाँच जनाले यहाँ नियमित रूपमा सिलाइकटाई सिकिरहेका उनले बताइन् । “अब म कपडा सिलाएर कमाइ गर्ने र अरूलाई पनि सिकाउने भएकी छु”, उनले भनिन्, “मैले समयमा सीप सिक्न पाएँ, कमाइ गर्न थालेपछि श्रीमान् पनि खुसी हुनुभएको छ ।”

वित्तीय साक्षरता कक्षामा सहभागी धेरै महिलाको पछिल्लोसमय जीवन फेरिएको छ । टीकापुरको अस्नेहरीकी सीता चौधरीले पनि वित्तीय साक्षरता कक्षामा सहभागी भएर नास्ता पकाउने तालिम लिएकी छिन् । योसँगै नजिकै रहेको विद्यालयमा भान्से पदमा रोजगारी गर्ने सल्लाह भइरहेको उनले बताइन् ।

सीताले खाना पकाउँदा बिजुलीको बचत कसरी गर्ने, आगोको बचत कसरी गर्ने, आफू सुरक्षित कसरी हुने र बालबालिकालाई गलत बाटोमा लाग्नबाट कसरी जोगाउने भन्ने बारेमा पनि सिकेकी छिन् । उनका श्रीमान् पाँच वर्ष मलेसिया बसेर घर फर्किएका छन् । अहिले काठमाडौँमा सीप सिक्दै छन् ।

सीप सिकेर फेरि विदेश जाने तयारीमा श्रीमान् रहेकाे सीताले बताइन् । “मैले घरमै पनि महिलाले अनावश्यक हुने खर्च कसरी बचत गर्न सक्छन् भन्ने सिकेँ”, उनले भनिन, “आजभोलि मेरो घरमा पानी र बिजुलीको बिल पनि पहिलेको तुलनामा घटेको छ ।”

टीकापुर–१ की उर्मिला खड्काले विदेश जाँदा राहदानी मात्रै चाहिन्छ भन्ने बुझेकी थिइन् । वित्तीय कक्षामा सहभागी भएपछि विदेश जाँदा अन्य कागजात पनि चाहिन्छ, कागजातको फोटोकपी परिवारका सदस्यले पनि राख्नुपर्छ भन्नेबारे जानकारी पाएको उनले बताइन् ।

परिवारका सदस्यले पनि आयआर्जनका कार्यमा लाग्नुपर्छ भन्ने बुझाइको विकास भएको खड्काले बताए । “विगतमा आफ्नो बारीमा फलेको तरकारी छिमेकीलाई बाड्ने, बचेको गाईवस्तुलाई खुवाउने गर्थेँ”, उनले भने, “आजभोलि बिक्री गर्न थालेकी छु । मैले पनि सिलाइकटाई तालिम सिकेकी छु । अब कामको खोजीमा छु । घरायसी खर्च घटाउन थालेको छु ।”

सामी परियोजनाका स्वयंसेवक धनबहादुर बुढामगरले विसं २०७० देखि निरन्तर रूपमा वैदेशिक रोजगारी सुरक्षित बनाउँदै परिवारको सहज जीवनका लागि सामी कार्यक्रममा काम गरिरहेको बताए । उनले भने, “१३ वर्षअघिको वैदेशिक रोजगारीको सुरक्षा र अहिलेको वैदेशिक रोजगारीमा जानेको अवस्था फेरिएको छ । हामी जस्ता स्वयंसेवकका बारेमा स्थानीय सरकारले विशेष कार्यक्रम ल्याएर सम्बोधन गर्नुपर्छ ।”

टीकापुर–१ का वडाध्यक्ष मोहनलुहार विकले सामी कार्यक्रमले वैदेशिक रोजगारीमा गएका परिवारको सुरक्षा र वित्तीय बचतमा सघाँएको बताए । उनले तालिम सिकिसकेकाहरू उद्यमी बन्ने तथा व्यवसाय सुरु गर्न सक्षम हुने उल्लेख गरे । “हामी सीप सिकेर व्यवसाय गर्नेलाई जहिले सघाउँछौँ । हामीसँग सीप सिकाउने रोजगार सेवा केन्द्र, मेड्पालगायत कार्यक्रम छन्”, उनले भने, “सीपपछि व्यवसाय गर्नेलाई समन्वय र अन्य सहयोग पनि जुटाइदिने छौँ ।”

वडा नं ७ का वडाध्यक्ष यज्ञप्रसाद न्यौपानेले हाम्रो समाजका पुरुष अधिकांश विदेशमा, केही कृषि कर्ममा लागेका र केही लागुऔषध दुव्यर्सनमा फसेका भन्दै यस्ता सीपले उनीहरूलाई व्यस्त बनाउँदै लागुऔषध दुव्यर्सन मुक्त बनाउन पनि सहयोग गर्ने बताए । उनले विदेशको कमाइ व्यवस्थापनमा महिलाको ठुलो जिम्मेवारी हुने बताउँदै वित्तीय कारोबार गर्दा सचेत र जिम्मेवार हुनका साथै फजुल खर्च घटाउन सुझाव दिए ।

टीकापुर नगरपालिकाका रोजगार शाखा प्रमुख दिनेशराज शर्माले पालिकाले एकीकृत रूपमा सीपमूलक तालिम दिन प्रयास गरिरहेको बताउँदै सङ्घ सरकारको कार्यविधि आइसकेकाले सहकार्य गरी एकीकृत रूपमा उद्यमी बन्न चाहने, सीप सिक्न चाहनेका लागि तालिमका अवसर सिर्जना गरिने जानकारी दिए ।

टीकापुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी ओडले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुका साथै कमाइ सही सदुपयोग गर्नुपर्नेमा परिवारका सदस्यसमेत सचेत हुनुपर्ने बताए ।

सामी कार्यक्रमका मनोसामाजिक परामर्शकर्ता मीना कुँवरले वैदेशिक रोजगारीले मानसिक समस्या हुनसक्ने भएकाले परिवारका सदस्य काममा व्यस्त रहनुपर्ने बताइन् । “हामीले समस्यामा रहेकालाई मनोसेवा दिने गरेका छौँ, यसका साथै वित्तीय साक्षरता कक्षामार्फत आयआर्जनका कार्यमा लाग्न हौसला दिन्छौँ”,उनले भनिन्, “विदेश र स्वदेशको कमाइ सही ठाउँमा लगानी गर्न, सुरक्षित कारोबार गर्न सिकाउने गरेका छौँ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप