शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

जेनजी आन्दोलनमा भागे, ब्राउन सुगरसहित फेरि समातिए

शनिबार, १३ असार २०८३, २० : १५
शनिबार, १३ असार २०८३

पोखरा । कास्की कारागारबाट फरार एक कैदीलाई प्रहरीले लागुऔषध ब्राउन सुगरसहित पुनः पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय शिशुवा र लागूऔषध नियन्त्रण ब्युरो पोखराको संयुक्त टोलीले पोखरा ३२ मजुवास्थित पृथ्वीराजमार्ग सडक खण्डबाट उनलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका १५ नयाँगाउँ बस्ने ३३ वर्षीय नरेश गुरुङ छन् । पोखरातर्फ आउँदै गरेको ग २ ख १४११ नम्बरको सार्वजनिक बसलाई रोकेर चेकजाँच गर्ने क्रममा गुरुङ शंकास्पद अवस्थामा फेला परेका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी वीरेन्द्र कुमार पासवानका अनुसार पक्राउ परेका गुरुङ यसअघि नै लागुऔषध मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय काटिरहेका व्यक्ति हुन् ।

उनलाई अदालतले २ वर्ष कैद र १ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । सोहीबमोजिम कारागार कार्यालय कास्कीमा कैद भुक्तान गरिरहेकै अवस्थामा उनी गत भदौ २४ गते जेन्जी आन्दोलनको मौका छोपेर भागेका थिए ।

प्रहरी टोलीले चेकजाँचका क्रममा गुरुङको साथबाट ब्राउन सुगर ६ ग्राम र एक थान मोबाइल फोन बरामद गरेको छ ।

फरार प्रतिवादी पुनः लागूऔषधसहित पक्राउ परेपछि प्रहरीले आवश्यक कानुनी प्रक्रिया बढाएको हो । पक्राउ परेका गुरुङलाई लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान गर्न जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिइएको छ ।

उनीमाथि फरार प्रतिवादीको रूपमा बाँकी कैद सजाय भुक्तान गराइने र नयाँ लागुऔषध मुद्दामा समेत छुट्टै अनुसन्धान गरी कानुनी कारबाही चलाइने पासवानले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप