मधेसमा आँप खेतीकाे क्षेत्रफल बढे पनि उत्पादन घट्यो
सारांश
- यस वर्ष मधेस प्रदेशमा आँप खेतीको क्षेत्रफल बढे पनि हावाहुरी र रोग–किराको प्रकोपले उत्पादन घटेको छ ।
- आर्थिक वर्ष २०८२/०८३ मा ३२,५७४ हेक्टर क्षेत्रफलमा २,९४,५६७ मेट्रिक टन आँप उत्पादन भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ४६,८७८ मेट्रिक टन कम हो ।
- उत्पादन घटे पनि बजार मूल्य यथावत रहेको छ, तर आर्थिक मन्दी र धार्मिक कारणले बिक्री प्रभावित भएको छ ।
जनकपुरधाम । मधेस प्रदेशमा आँप खेतीको क्षेत्रफल विस्तार हुँदै गए पनि यस वर्ष हावाहुरी र रोग–किराको प्रकोपका कारण उत्पादनमा उल्लेख्य गिरावट आएको छ । कृषि विकास निर्देशनालय नक्टाझिज, धनुषाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/०८३ मा प्रदेशभर ३२ हजार ५७४ हेक्टर क्षेत्रफलमा आँप खेती गरिएकोमा प्रतिहेक्टर औसत ९.०४ मेट्रिक टन उत्पादकत्व दरका आधारमा २ लाख ९४ हजार ५६७ मेट्रिक टन उत्पादन भएको छ ।
अघिल्लो आर्थिक वर्ष (२०८१/०८२) मा २९ हजार ८८० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ११.४३ मेट्रिक टन उत्पादकत्व दरले ३ लाख ४१ हजार ४४५ मेट्रिक टन आँप उत्पादन भएको थियो । तुलनात्मक रूपमा चालु वर्ष आँप खेतीको क्षेत्रफल २ हजार ६९४ हेक्टरले बढे पनि उत्पादन ४६ हजार ८७८ मेट्रिक टनले घटेको देखिएको छ ।
मधेस प्रदेशमा सबैभन्दा बढी आँप खेती हुने जिल्ला सिराहा र सप्तरी हुन् । त्यसपछि धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटमा व्यावसायिक रूपमा आँप खेती गरिन्छ । मधेस प्रदेशमा बम्बई, माल्दह, कृष्णभोग, जर्दा, अम्रपाली, बिजु, गुलाबखास, दशहरी र कलकतिया जातका आँप उत्पादन हुने गर्छन् ।
कृषिविज्ञ हृदयनारायण ठाकुरका अनुसार यस वर्ष हावाहुरी तथा रोग–किराको प्रकोपका कारण आँप उत्पादन घटेको हो । किसानहरूले उन्नत जातका बिरुवा प्रयोग गर्न थालेका छन् । बगैंचा व्यवस्थापन र सिँचाइ प्रणालीमा पनि सुधार आएको छ, तर प्राकृतिक विपद्का कारण अपेक्षित उत्पादन हुन नसकेको उनले बताए ।
महोत्तरीको पिपरा गाउँपालिका–३ का किसान रामबालक पाण्डेले यसपालि हावाहुरी र रोग–किराको प्रकोपले आँप नफलेको बताए । 'समयमै स्याहार–सुसार र हेरचाह गरे पनि विगत वर्षजस्तो उत्पादन भएन,' उनले भने, 'लगानीसमेत उठ्ने अवस्था छैन ।'
निर्देशनालयका अनुसार यस वर्ष सबैभन्दा बढी उत्पादकत्व बारामा प्रतिहेक्टर १३.८० मेट्रिक टन र सबैभन्दा कम सर्लाहीमा प्रतिहेक्टर ६.२० मेट्रिक टन छ । जिल्लागत रूपमा सप्तरीमा ८ हजार ३८७ हेक्टर क्षेत्रफलबाट ७५ हजार ५०० मेट्रिक टन, सिराहामा ९ हजार ५० हेक्टरबाट ७२ हजार ४०० मेट्रिक टन तथा रौतहटमा ४ हजार ७७ हेक्टर क्षेत्रफलबाट ५४ हजार ३७८ मेट्रिक टन आँप उत्पादन भएको छ ।
त्यसैगरी सर्लाहीमा २ हजार १०० हेक्टरबाट १३ हजार मेट्रिक टन, महोत्तरीमा ३ हजार हेक्टरबाट २९ हजार ७०० मेट्रिक टन, धनुषामा ३ हजार ३२४ हेक्टरबाट २३ हजार २७५ मेट्रिक टन, बारामा १ हजार ४९५ हेक्टरबाट २० हजार ६३१ मेट्रिक टन तथा पर्सामा ४४७ हेक्टर क्षेत्रफलबाट ५ हजार ९६३ मेट्रिक टन आँप उत्पादन भएको तथ्याङ्कले देखाउँछ ।

उत्पादन घटे पनि बजारमा आँपको मूल्य भने विगत वर्षकै हाराहारीमा रहेको व्यापारी बताउँछन् । मधेस प्रदेशमा वैशाखदेखि असारसम्म आँप बजारमा आउने गर्छ । सुरुमा बम्बई जातको आँप आउँछ भने त्यसपछि माल्दह र अन्य जातका आँप बजारमा पुग्छन् ।
फलफूल तथा तरकारी व्यवसायी संघ जनकपुरका उपाध्यक्ष रमन झाले यस वर्ष जेठ महिनामा पुरुषोत्तम मास परेकाले हिन्दू धर्मावलम्बीहरूका विवाह, व्रतबन्ध तथा अन्य धार्मिक कार्यक्रम कम हुँदा आँपको बिक्री प्रभावित भएको बताए ।
'व्यापारीहरूले फूल लागेकै बेला बगैंचा किन्ने गर्छन्, तर उत्पादन र बजारीकरण दुवै घटेकाले धेरै व्यापारी घाटामा परेका छन्,' उनले भने ।
फलफूल व्यवसायी कामेश्वर साहका अनुसार आर्थिक मन्दीका कारण पनि आँपको व्यापार प्रभावित भएको छ । पहिला घर–घरमा १०–२० किलोसम्म आँप लैजाने ग्राहक अहिले औसतमा एक–डेढ किलोमात्रै किन्ने गरेको उनकाे भनाइ छ । बिक्री नभएका आँप कुहिने र गोदामबाट फाल्नुपर्ने अवस्था समेत आएको उनले बताए ।
आँप व्यवसायी मुकेश साहका अनुसार किसानबाट प्रतिकिलो ४० देखि ५० रुपैयाँमा खरिद गरिएको आँप थोक बजारमा ६०–६५ रुपैयाँमा बिक्री हुने गरेको छ भने खुद्रा बजारमा यसको मूल्य ८० देखि १०० रुपैयाँसम्म पुगेको छ ।
मधेस प्रदेशमा उत्पादन भएका आँप प्रदेशका विभिन्न जिल्लासहित काठमाडौँ उपत्यका र देशका अन्य प्रमुख बजारमा समेत आपूर्ति हुँदै आएको छ । उत्पादन घटे पनि दीर्घकालीन रूपमा आँप खेतीको व्यावसायीकरण र उत्पादकत्व वृद्धि गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको कृषि क्षेत्रका सरोकारवाला बताउँछन् ।
फलफूल व्यवसायी संघ जनकपुरका अनुसार असारभित्र मधेसकै आँप बजारमा उपलब्ध हुनेछ । त्यसपछि श्रावण महिनादेखि भारतको उत्तर प्रदेश (यूपी) बाट आँप आयात हुने गर्छ । यस वर्ष आयातसम्बन्धी सरकारी नीतिका कारण यूपीको आँप आउँछ वा आउँदैन भन्ने विषयमा व्यवसायीहरू अन्योलमा छन् ।
सम्बन्धित निकायले समयमै प्राविधिक सहयोग, रोग नियन्त्रण, सिँचाइ सुविधा विस्तार तथा किसानलाई आवश्यक अनुदान उपलब्ध गराउन सके आगामी वर्षहरूमा आँप उत्पादन वृद्धि गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटभित्रको विभेदमाथि कर्णालीका सांसदले गीत र उखान–टुक्कामार्फत यसरी पोखे असन्तुष्टि
-
अङ्गालोमा बेरिएर खुसी साट्दै नवनिर्वाचित पदाधिकारी, तस्बिरहरू
-
नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन
-
न्यायिक समाचार सम्प्रेषणमा थप अध्ययन, सावधानी र जिम्मेवारी आवश्यक: प्रधानन्यायाधीश
-
टीकापुर क्याम्पसको अतिक्रमित ३०० बिघा जग्गा प्रयोगमा ल्याइने : मन्त्री पोखरेल
-
स्थानीय सरकारका बजेट : बाली हेरालुदेखि विवाह र सन्तान भत्तासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण