नर्वेका स्टार स्ट्राइकर हालान्ड फ्रान्सविरुद्ध बेन्चमा, यस्तो छ कारण
सारांश
- विश्वकप समूह चरणको फ्रान्सविरुद्धको खेलमा नर्वेका स्टार स्ट्राइकर एर्लिंग हालान्डलाई बेन्चमा राखिएको छ ।
- नर्वेले यसअघिका दुवै खेलमा जित हासिल गरी नकआउट चरणमा स्थान पक्का गरिसकेकाले प्रशिक्षकले खेलाडीको स्वास्थ्यलाई ध्यानमा राख्दै टोलीमा व्यापक परिवर्तन गरेका हुन् ।
- जारी विश्वकपमा हालान्डले दुई खेलमा ४ गोल गरिसकेका छन् र उनी गोल्डेन बुटको दौडमा छन् ।
काठमाडौँ । विश्वकप समूह चरणको अन्तिम तथा निकै प्रतीक्षित खेलमा नर्वेका स्टार स्ट्राइकर एर्लिंग हालान्ड फ्रान्सविरुद्ध मैदानमा नउत्रने भएका छन् । अमेरिकाको बोस्टन स्टेडियममा जारी खेलमा हालान्डलाई सुरुआती ११ मा समावेश नगरी बेन्चमा राखिएको छ ।
नर्वेले यसअघिका दुवै खेलमा जित दर्ता गर्दै ‘राउन्ड अफ ३२’ मा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । समूहको शीर्ष टोलीको टुंगो लाग्ने यो खेलमा नर्वेका प्रशिक्षक स्टेले सोल्बाकेनले रणनीतिक रूपमा टोलीमा व्यापक परिवर्तन गरेका छन् । उनले फ्रान्सविरुद्धको खेलका लागि अघिल्लो खेलको तुलनामा १० जना खेलाडी परिवर्तन गरेका छन् ।
प्रशिक्षक सोल्बाकेनको यो निर्णयले नर्वे समूहको शीर्ष स्थानभन्दा पनि आफ्ना मुख्य खेलाडीहरूको स्वास्थ्य र फिट्नेसप्रति बढी सचेत रहेको संकेत गरेको छ । नकआउट चरणका महत्त्वपूर्ण खेलअघि हालान्डजस्ता मुख्य खेलाडीलाई चोटबाट बचाउन उनलाई आराम दिइएको बुझिएको छ ।
जारी विश्वकपमा हालान्ड उत्कृष्ट लयमा छन् । उनले दुई खेलमा ४ गोल गरिसकेका छन् । गोल्डेन बुटको दौडमा उनी केलियन एम्बाप्पे र लियोनल मेस्सीपछि तेस्रो स्थानमा छन् । हालान्डले नर्वेका लागि खेलेका पछिल्ला १२ प्रतिस्पर्धी खेलमा लगातार गोल गरेका छन् । उनले इराक र सेनेगल विरुद्धको खेलमा दुई–दुई गोल गरेका थिए । तथ्याङ्क अनुसार हालान्डले गोल गर्दा नर्वेले पछिल्ला १५ खेलमा लगातार जित निकालेको छ ।
उता फ्रान्सका प्रशिक्षक डिडियर डेश्याम्प्स पनि यस खेलमा मैदानको टचलाइनमा देखिने छैनन् । आमाको निधनका कारण उनी घर फर्किएकाले सहायक प्रशिक्षक गाय स्टेफनले टोलीको जिम्मेवारी सम्हाल्नेछन् ।
नर्वे र फ्रान्सबिचको यो रोमान्चक खेल नेपाली समय अनुसार शनिबार बिहान १२:४५ बजे सुरु भएकाे हाे ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण